Archives
now browsing by author
संस्कृति पुस्तान्तरणको निर्मम श्रृङ्खला : केदार सङ्केतको ‘अन्तिम साँझ’ लोकार्पित ।

–काःतिच
१३ पौष, ललितपुर । गमलाको विरुवामा पानी चढाउँदै पछिल्लो समय चलेको क्लाइ–फाइ विश्वव्यापी साहित्यिक प्रवृति अर्थात मुक्दुमि (प्रकृति) पथको साङ्केतिक समर्थनसहित बरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ लगायतका श्रष्ट्राहरुले सङ्युक्तरुपमा कवि तथा यात्रा स्पर्श अभियान्ता केदार सङकेतको नवौं कृति अन्तिम साँझ ललितपुर मानभवनको अइला लन्जमा लोकार्पित गरियो । मिलाप पब्लिकेसनले प्रकाशन गरेको कथा सङ्ग्रह अन्तिम साँझमा पहिचानजनित कथासहित समसामायिक १५ वटा कथाहरु सङ्ग्रहित छन् ।
साहित्य जस्तो विशुद्ध क्षेत्रमा पनि धेरै राम्रा लेखकहरु गुमनाम भएकाे गुनासाे गर्दै प्रमुख अतिथि श्रीओम श्रेष्ठ राेदनले भर्खरै सम्पन्न १२ खरी कथा प्रतियोगिताको प्रथम पुरस्कार पाउने युवा नवागान्तुक कथाकारको उदाहरण दिँदै यो समय प्रविधिले साथ दिएको समय पनि हो कहिल्यै नसुनिएका नचिनिएका साहित्यकारलाई अचानक एउटै कथाले सबै माझ चिनाउन सकिने तर त्यसको लागि अलिकति मिहिनेत र धैर्यता चाहिने १२ खरीमा पुरस्कृत कथाका कथाकारले कैयौं पटक उनकाे कथा सम्पादन गरेको उनको अन्तरवार्ताबाट थाहा भएको साथै उहाँ एकदम परिपक्व देखियोको बताउँदै अन्तिम साँझको श्रष्ट्रा कथाकार केदार सङ्केतका वारेमा भन्नुभयो, ‘हामीले रामायण लेख्ने भानुभक्तको वारेमा धेरै सुनेका छौं । र उनका धेरै सालिकहरु पनि बनेको छन् । सबैले चिन्छन् तर महाभारत लेख्ने सुब्बा होमनाथ र केदारनाथलाई कसैले चिन्दैन । कारण भानुभक्तका पछाडि मतिराम भट्ट थिए तर सुब्बा होमनाथ र केदारनाथका पछाडि कोही थिएनन् । यसैले सबै माझ चिनिनको लागि चर्चा पाउनको लागि मतिरामहरु हुनेपर्ने रहेछ । तै पनि सुब्बा होमनाथ र केदारनाथहरु समुन्द्र हुन् । कसैले चर्चा गरोस नगरोस समुद्र आफ्नो शान्तभावमै विश्वलाइ कब्जा गरेर आफ्नो वर्चश्व कायम गरेर बसेको हुन्छ । हो त्यस्तै हुन केदार सङ्केत । उनको यो कथा सङ्ग्रहले उनलाई समुन्द्र बनाइदिएको छ । उनले पक्कै पनि यो कथा सङ्ग्रहबाट सम्मान पाउने छन् ।’
कथा सङ्ग्रहको समालोचनात्मक चिरफारमा साहित्यकार प्रगति राईले १२ वटा कथाहरु उस्तै उस्तै रहस्यमयी भएको, एक कथामा आपैm नै कथाको पात्र भए जस्तो बताउँदै भन्नु भयो, ‘यस कथा सङ्ग्रहमा सुनकोशीको कथा छ, जुन कथाले सुनुवार जातिको इतिहास उत्खनन मात्रै गरेको छैन आम नेपाली समाजमा घटेको वास्ताविक घटना पनि पस्केको छ । सानो नातिले बाजेलाई प्रश्न गर्छ कि बुबा भन्नु हुन्छ अंग्रेजी पढ, अंग्रेजी भविश्य हो, तपाइँ भन्नुहुन्छ हाम्रो संस्कृति बुझ यो भविश्यमा तँलाई काम लाग्छ । मेरो सानो दिमागले यति धेरै कुरा कसरी एकै पटक गर्नसक्छु । तर बाजेले नातिलाई सजिलै चित्ता बुझाउँछ । एक कथा एक उत्कृष्ट फरक र चाखलाग्दो कथाहरु समेटिएको छ । र शिर्ष कथा अन्तिम साँझमा मार्मिक छ, युद्धले कसरी समाज पिल्सीएको छ भन्ने समसामायिक यथार्थ पस्किएको छ । यति हुँदा हुँदै पनि कथाकारले कथा भनिसकेपछि पनि कथालाईथप प्रष्टाउन खोजेर जबर्जस्ती कथा लम्बाउन खोजेको हो कि । ध्यान दिने कि !’ सँगसँगै सुझाव पनि दिनुभयाे ।
त्यसैगरी कथा सङ्ग्रहको समिक्षा गर्दै सन्तोष श्रेष्ठले भन्नुभयो, ‘साहित्यकारले कृति जन्माउनु र मानिसले बच्चा जन्माउनु उस्तै कुरा हाे । अन्तिम साँझ कथा सङ्ग्रहकाे १२ औं कथाले आध्यात्मिक चेतना जागृत भएर शान्तिको खोजी गरेको छ । कोलाहलबाट मुक्ति खोजेको देखिन्छ । उनको कथाले नेपाली साहित्यलाई विश्वव्यापी यात्रा गराउने छ । कथाहरु प्रगति ज्युले भने जस्तै एकदमै श्रृङ्गारिक र रहस्यमय छन ।’
सबैको शुभकामना र समिक्षा सुनेपछि कथाकार केदार सङ्केतले आफ्नो कथाका सबै पात्रहरुसँग धेरै कुरा गरेकाे र सबै पात्रहरुलाई आफ्नै जन्मभुमि फर्काएको बताउँदै साथसहयोग गर्ने सबैमा आभार व्यक्त गर्नुभयो ।
लोकार्पण कार्यक्रमका सभाध्यक्ष वरिष्ठ साहित्यकार ख्यामनाथ दहालले कथा सङ्ग्राहको सबै कथाको शिर्षकगत छोटो समिक्षा गर्दै निस्कर्षमा स्वन्त सुखयः भने जस्तै अन्तत मान्छे आफुले भोगेको संस्कारमै फर्किने रहेछ भन्दै अगाडि थप्नुुभयो, ‘केदार संकेत पनि गीताको ‘स्वधर्म निधनम् परोधर्म भयवह’ कै बाटोमा हिड्नुभएको सुनकोशीको कथाले प्रष्ट पार्छ । उहाँ विश्वको जुनसुकै कुनामा पुगे पनि घुमे पनि आफ्नै संस्कार संस्कृति प्यारो लाग्छ भन्ने प्रमाणित गरेको छ ।’ कार्यक्रमको समापन भने आफुले समापन नगरी पत्रकार कृष्ण भुषाललाई समापन गर्न माइक हस्तान्रण गर्नुभयो ।
भाषा सम्पादक रमेश दहालले कार्यक्रममा औपचारिक स्वागत र प्रकाशक तथा सम्पदाक गीता अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने प्रतिक घिमिरे, उत्तमकुमार सुनुवारले कथाकार सङ्केतको कथा सङ्ग्रहले आम नेपाली कथा अनुरागीको मन जित्न सफल होस् भन्ने शुभकामना दिँदै आगमी दिनमा पनि नेपालीपनको मौलिक कथाको अपेक्षा गर्नुभयो ।
घर परिवार

-कोइँच बु काःतिच (उकुसु)
रिदुमले बाजेको हातमा रहेको चोयातिर हेर्यो, अनि उसको मनमा अघिको कथाले फेरि डेरा जमायो। “बाजे, आज कथा सकिएन नि! कपडा बुन्ने कुरा कसरी सुरु भयो?”
“अँ, त्यसको पनि आफ्नै कथा छ, तर त्योभन्दा अघि तिमीले एउटा अर्को महत्त्वपूर्ण कुरा बुझ्नुपर्छ,” बाजेले भन्नुभयो। “हाम्रो कोइँच समुदायमा ‘जाँडरक्सी’ भन्ने एउटा पवित्र कुरा हुन्छ, जसलाई ‘लेलेक चुङ देलेकचुङ अराकु जिराकु’ भनिन्छ। तिमीलाई थाहा छ, त्यो कसरी सुरु भयो?”
रिदुमले टाउको हल्लायो, “थाहा छैन बाजे। त्यो त ठूला मान्छेले पिउने कुरा होइन र?”
“मात्रै पिउने कुरा होइन, मेरो नाति। यो हाम्रो संस्कार र संस्कृतिसँग जोडिएको छ,” बाजेले भन्नुभयो। “धेरै पहिले, ‘सुरी नाअसो’ भन्ने एकजना नाअसो (ऋषि) थिए। उनले दावुदावुको सहयोगमा ‘जाँडरक्सी’ बनाएको कुरा इतिहासमा उल्लेख छ। त्यसैले अहिले पनि जसले पुरानो भातलाई जिवन दिन्छ, उसलाई ‘सुरी नाअसो’ भनेर दोलखुम लगाएर शिर उठाउने गरिन्छ।”
“पुरानो भात किन जीवित राख्ने ? किन बाजे?” रिदुमले अचम्म मान्दै सोध्यो।
“उहिले, ‘खापोनिपो’ हरुले,” बाजेले कथालाई जोड्दै भन्नुभयो। “आफ्ना पुर्खालाई चढाएको भात कुहिएर दुर्गन्ध फैलियो । यो देखेर सुरी नाअसोलाई असाध्यै चिन्ता भयो।”
“चिन्ता? किन चिन्ता भयो र बाजे?” रिदुमको जिज्ञासा बढ्यो।
“किनकि, पुर्खालाई चढाएको कुरा कुहिनु भनेको राम्रो भएन नि होइन र,” बाजेले स्पष्ट पार्नुभयो। “त्यसपछि सुरी नाअसो र सारा (न्यास ध्यान) मा बसरे दुनशेर छर्किएर पिदार गर्दै प्राणी रक्षक दावुदावुलाई आव्हान गरे । दावुदावुले ‘पाःर्मोःसिरी’ र ‘अग्निःसिरी’ ले उहिले मन्छेको मुखमा थुक्दा मरेकाले ‘बेल्जेम लिःख सुवा’ (चितु) जडीबुटी लिएर खुवाएर ब्युँताए थिए । त्यही लिँख सुवाले भातलाई जीवित राख्छ । ‘लिःख सुवा खोजेर भातसँग मोल्नु भन्नु भो । अनि सुरि नाअसोले पनि दावु दावुले भने जस्तै गरेर ढोइँमा राखेर आगोके कोइलाले लिक्यु तालुबाट ताप दिनु भयो ।”
“अनि के भयो?” रिदुम उत्साहित भयो ।
“केही दिनपछि त्यो भात कुहिनुको सट्टामा मगमग बासना आयो,” बाजेले मुस्कुराउँदै भन्नुभयो। “यो पितृहरूको आशीर्वादले मिठो बासना आएको हो भन्दै सुरी नाअसोले पितृ प्रकृति आकाश धर्तीलाई चडाएर चाखिन् । मगमग बासना आएको त्यो भातमा अचम्मको स्वादिष्ट भएको देखेर सुरी नाअसो ‘दावुदावु, दावुदावु’ भन्दै खुसीले उफ्रिन थाले।”
“ओहो, बाजे! यो त जादु जस्तै पो लाग्यो!” रिदुमले भन्यो ।
“यही कारणले,” बाजेले थप्नुभयो, “अहिले पनि जाँड ओथरो राख्दा भाँडोको बीच भागमा आगोको कोइला राखेर तीन पटक चिम्टाले खराबी दुष्ट आत्म पर जाउ भन्दै फालाक्दै ‘दावुदावु’ भनेर तीन पटक जाँडको अथारा राख्ने भाँडोमा ठोकिन्छ । लिँखबाट बनेको जाँडलाई पवित्र मानिन्छ। यसैले कोइँचको हरेक संस्कारमा जाँडरक्सी अनिवार्य हुन्छ ।”
“भनेपछि, यो ‘जाँडरक्सी’ त धेरै महत्त्वपूर्ण रहेछ नि बाजे!” रिदुमले आश्चर्यचकित हुँदै भन्यो । “यो केवल पिउने कुरा मात्रै होइन रहेछ ।”
“हो नि मेरो नाति,” बाजेले भन्नुभयो, “जाँडरक्सी मनोरञ्जनको साधन मात्र होइन । यो कोइँच समुदायको लागि पुर्खाको सम्मान, अदृश्य शक्तिहरूसँग सम्पर्क गर्ने माध्यम, शक्ति र साहसको प्रतीक, शुभ-अशुभ थाहा पाउने सूचक, कानुनको सम्मान, मेलमिलापको साधन, सत्कारको शोभा, औषधि, आम्दानीको स्रोत, र सम्बन्ध विस्तार गर्ने एउटा सेतु हो ।”
“यति धेरै अर्थ रहेछ यसको !” रिदुमले अचम्म मान्दै भन्यो “मैले त सोचेकै थिइनँ ।”
“यही कारणले तिमीले हाम्रा कुराहरू सिक्नुपर्छ, मेरो नाति,” बाजेले स्नेहपूर्वक भन्नुभयो। “हाम्रा संस्कृतिमा हरेक कुराको गहिरो अर्थ छ । दावुदावुले कसरी मानिसलाई कपडा बुन्न सिकायो, त्यो कथा अझै बाँकी छ।”
रिदुमले बाजेको कुरा ध्यानपूर्वक सुन्यो । उसको बाल्यकालीन मनमा नयाँ जानकारीहरूले ठाउँ बनाउँदै थिए । बाजेले उसलाई केवल एउटा कथा मात्र सुनाइरहेका थिएनन्, बरु आफ्नै समुदायको इतिहास र गहिरो संस्कृतिसँग जोड्दै हुनुहुन्थ्यो । साँझको शान्त वातावरणमा बाजे र नातिको यो संवादले उनीहरूको सम्बन्धलाई अझै गाढा बनाउँदै थियो ।
सुनुवार राष्ट्रिय सांस्कृतिक सम्मेलन सम्पन्न ।

सुजन सुनुवार, काठमाण्डौं ।
सुनुवार राष्ट्रिय सांस्कृतिक सम्मेलन सम्पन्न भएको छ । शनिबार सुनुवार सेवा समाजको आयोजनामा पहिलो पटक राष्ट्रिय सांस्कृतिक सम्मेलन भएको हो ।
कोटेश्वर स्थित सुनुवार सेवा समाजको सभाहलमा आयोजित सम्मेलनको उद्घाटन आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रतिष्ठानका उपाध्यक्ष गुरुङले आदिवासी जनजातिहरुको महत्वपुर्ण विषय भनेको पहिचानको विषय भएको धारणा राख्नुभयो । उहाँले प्रतिष्ठानले आदिवासी जनजातिहरुको संस्कारसंस्कृति संरक्षणका लागि हरेक तवरबाट काम गरिरहेको समेत जानकारी दिनुभयो ।
उक्त सांस्कृतिक सम्मेलनमा विभिन्न जिल्ला र स्थानिय तहका सुनुवारहरुको उपस्थिति रहेको थियो । सांस्कृतिक सम्मेलनले विशेषगरि सुनुवार भाषा संरक्षण र प्रबर्दनमा सघाउ पुग्ने सुनुवार सेवा समाजका अध्यक्ष तथा कार्यक्रमका अध्यक्षता गरिरहनुभएका अमृत बहादुर सुनुवारले बताउनुभयो । उहाँले पछिल्लो समय सुनुवार भाषा तिब्रगतिमा लोप हुँदै जानु, सुनुवार समुदाय आफ्नो भुमि भुभागबाट टाडिँनुले चुनौती थप्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
सोही अवसरमा सुनुवार अभियान्ता डा. लाल रापचा सुनुवारले सुनुवार भाषा लोप हुँदै जानुले सुनुवार समुदायमा चुनौती बढ्दै गएको बताउनुभयो । उहाँले भाषालाई संरक्षण र दस्ताबेजिकरण गर्नका लागि शिक्षा र अनुसन्धानमा जोडदिनुपर्ने बताउनुभयो ।
यसैगरि सम्मेलनमै बोल्नुहुँदै नेपाली सेनाका अवकास प्राप्त साहयक रथी राजेन्द्र सुनुवारले नयाँ पुस्तामा भाषा संस्कारसंस्कृति पुस्तान्तरण गर्न नसके केही वर्षमा सुनुवार जाति हुँ भनेर चिनाउन कठिन हुने बताउनुभयो । उहाँले भाषा संरक्षणमा सुनुवार समुदायनै लाग्नुपर्नेमा जोडदिनुभयो ।
अर्का वक्ता नेपाल सरकारका सहसचिव रामप्यारी सुनुवारले भाषा जोगाउनको लागि आफ्ना बालबालिकालाई घरबाटै भाषा सिकाउन आवश्यक भएको भनाई राख्नुभयो । उहाँले वर्तमान प्रविधि र विश्वसंगको प्रतिष्पर्धाले गर्दा मातृभाषा भन्दा पनि अंग्रेजी भाषाको मोहमा अहिलेका पुस्ता लागिरहेको बताउनुभयो ।
दुई सत्रमा भएको कार्यक्रमको दोस्रो सत्रमा सुनुवार आदिवासीहरुको मुर्त अर्मुत सम्पदाहरुको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पुरातत्व अधिकृत भिष्म बास्कोटा र सुनुवार सेवा समाजका महासचिव उत्तम कुमार सुनुवारले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो’ सुनुवार भाषाको भिडियो सार्वजनिक।

काठमाडौः ‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो ’ भाषाको यो म्यूजिक भिडियो अमरदीप सुनुवारको यूट्यूव च्यानलबाट सार्वजानिक गरिएको छ । शुक्रबार शंखमूलको एक होटलमा गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा र वरिष्ठ संगीतकार शान्तिराम राईले सार्वजनिक गरेको यस गीतमा अमरदीप सुनुवारको रचना, रामकुमार पौडेलको संगीत र कल्पना सुनुवारको स्वर रहेको छ।
भिडियोले सुनुवार युवा-युवतीहरू बजारमा भेटघाट भई नाचगान गरेर रमाइलो गरेको कथा प्रस्तुत गर्ने प्रयास गरेको छ। पहिलो वर्ष बजारमा भेट हुँदा युवा-युवतीबीच एकअर्कालाई मन पराए पनि लाजले भन्न नसकेको र अर्को वर्ष युवतीले मनको कुरा व्यक्त गरेको भिडियोमा देखाइएको छ। यस गीतमा सुनुवार जातिको परम्परागत पोसाकलाई राम्ररीदेखाउन खोजिएको छ।
भिडियोमा सुजन सुनुवार, कल्पना सुनुवार लगायत अन्य कलाकारहरूको अभिनय रहेको छ। गीतकार अमरदीप सुनुवार स्वयंले निर्माण गरेको यस भिडियोको निर्देशन पनि सुनुवारलेनै गरेका हुन् ।

पीआर प्रोडक्सनको व्यानरमा बनेको यस म्यूजिक भिडियोमा बृहसमान सुनुवारले कोरियोग्राफी गरेका छन् भने छायांकनमा सनम तामाङ, सम्पादनमा रमेश राई, टेक्निकल हेडमा तईलन राई र श्रृंगारमा सर्मिला सुनुवार रहेका छन् ।
भाषा सङ्स्कृति सङ्रक्षणको लागि मकावनपुर कोइँचहरु एक जुट हुँदै ।

सुनुवार डट ओआरजि समाचारदाता
२०१२ सालमा मकावनपुरगढीको बडाहाकिम हुँदा डबल कप्तान खड्काबहादुर सुनुवारले शायदै सोचेका थिए होला मकावनपुरमा पनि कोइँच सुनुवारहरु सङ्गठित भएर आफ्नो भाषा सङ्स्कृतिको लागि अगाडि बढ्ने छन् । मकावनपुरमा प्रशासकीय अधिकृत भएर गएको ७० वर्षपछि हेल्टुँडाको चौकोटोलस्थित ओम बृद्धाश्रम हलस्थित मकावनपुरे कोइँचहरुले सुनुवार सेवा समाज मकावनपुर प्रथम जिल्ला सम्मेलन भव्यरुपमा सम्पन्न गरेको छन् । थाहा नगरपालिका वकैया र भिमफेदी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकामा बसोबास गर्दै आएका कोइँचहरु एकै ठाउँ जम्मा भएर कोइँच शाँदार नाच नाच्दै आदारपिदार गरेर पुर्खा र प्रकृति भाक्दै कोइँच भाषा सङ्स्कृति सङ्रक्षणको लागि अर्जुन बहादुर सिकारीको अध्यक्षामा एघार सदस्यीय सुनुवार सेवा समाज मकावनपुर जिल्ला समन्वय समिति गठन भएको छ । विशेषगरी ९ पुस्ता अगाडिदेखि रामेछाप ओखलढुङ्गाबाट बसाइ सरेर आएका कोइँचहरुको बाहुल्य मकावनपुरमा देखिँदोरहेछ ।
अध्यक्ष जेस्पुच अर्जुन बहादुर सिकारी हेटौडा १
उपाध्यक्ष जेस्पुच दिपक सुनुवार थाहा २
सचिव देब्बाच रामबहादुर सिकारी बकैया १२
सहसचिव याअता चन्द्रबहादुर सिकारी भिमफेदी ९
कोषाध्यक्ष याअता नारायण सुनुवार हेटौडा १
सदस्य रुपाच लक्ष्मी सिकारी थाहा १
सदस्य क्युइँतिच सीता सिकारी हेटौडा १
सदस्य क्युइँतिच नीता सिकारी हेटौडा १
सदस्य क्युइँतिच रबी सिकारी हेटौंडा १
सदस्य क्युइँतिच प्रेमबहादुर सिकारी बकैया २
सदस्य जिजिच श्यामकुमार सिकारी थाहा ११
सङ्घीय प्रतिनिधि जेँतिच इश्वरी बहादुर सिकारी हेटौडा १
सङ्घीय प्रतिनिधि क्युइँतिच उर्मिला सुनुवार बकैया ३
आकाश सुनुवारको अध्यक्षतामा ‘सुनुवार सेवा समाज युके’को नयाँ कार्यसमिति ।

सुनुवार सेवा समाज युकेको आठौं अधिवेशनले आकाश सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यस्तै उपाध्यक्षमा केदार सुनुवार र प्रकाश सुनुवार, सचिवमा परिष्पा सुनुवार तथा कोषाध्यक्षमा खजेन्द्र बिक्रम सुनुवार चयन भएका छन् । नयाँ कार्यसमितिले प्रथम बैठक बोलाई बाँकी रहेका थप पदाधिकारीलाई आवश्यकतानुसार छिट्टै मनोनयन गर्ने बताइएको छ । कार्यक्रममा सुनुवार सेवा समाज बेलायतका संस्थापक तथा पूर्वअध्यक्ष विजयकुमार मुखियाले सन् २०१७ देखि २०२५ सम्म संस्थामा कार्यरत सबैलाई विशेष धन्यवाद दिए । संस्था सानै किन नहोस् त्यहाँ बसेर काम गर्न सजिलो नभएको कुरामा उनले जोड दिए । पूर्वअध्यक्ष जंगबहादुर सुनुवारले जो मनोनित भए पनि संस्थाको पारित विधानलाई आधार मानेर संथालाई आगामी दिनहरूमा सकारात्मक तरिकाले अगाडि डोहोर्याउने सवालमा ढुक्क भएको बताए । नवगठित कार्यसमितिलाई कार्यकाल सफलताको लागि निवर्तमान अध्यक्ष मनोजकुमार सुनुवारले शुभकामना व्यक्त गरे ।कार्यक्रम सचिव गीतराज सुनुवारले खुल्ला र बन्द सत्र गरी दुई भागमा सञ्चालन गरेका थिए ।

सुनुवार समाज हङकङको छैटौ अधिबेशन सम्पन्न ।

२४ नोभेम्बर २०२४ आईतवार जोर्डन स्थित बगैँचा रेष्टुरेण्ट एण्ड बारमा सुनुवार समाज हङकङको छैटौ अधिबेशन सम्पन्न भएको छ । समितिका अध्यक्ष श्यामकर्ण सुनुवार अध्यक्षतामा दीप प्रज्वलन गरि सुरु भएको उक्त कार्यक्रममा समितिका बरिष्ठ सल्लाकार तथा किराती कोईच मुक्दुम बिद अतीत मुखिया सुनुवारले जोर सगुन राखी कोईच पित्रि र प्रकृतिलाई पिदार नम्दारगरि कार्यक्रम प्रारम्भ गरिएको थियो । समितिका सह सचिब देबराज सुनुवारले सन्चालन गरेको कार्यक्रममा समितिका सल्लाकार लोक बिक्रम सुनुवाले स्वागत मन्तब्य राखेका थिए । यसै गरि समितिका सह सचिब देबराज सुनुवारले सुनुवार समाज हङकङको पाचौं अधिबेशनबाट गठित कार्य समितिको प्रारम्भ देखि हालसम्मका संस्थाले गरेको प्रगती बिबरण पेश गरेका थिए भने समितिका कोषाध्यक्ष रबिना थापा सुनुवारले समितिको कार्यकाल भरिको आर्थिक बिबरण सविस्तार पेश गरेका थिए । दोस्रो चरनको कार्यक्रममा समितिका सल्लहाकार- अतीत मुखिया सुनुवार, नरेश कुमार सुनुवार र एल बि मुखिया सुनुवारको ३ सदस्य निर्वाचन मण्डलले राम सुनुवारको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमिति गठन गरेको छ । जस अनुसार उपाध्यक्ष र सदस्यहरू पहिलो बैठकमा मनोनयन गर्ने गर्ने गरि पदाधिकारि चयन गरेको छ: अध्यक्ष- राम सुनुवार, सचिव- देवराज सुनुवार, सहसचिव- प्रकाश सुनुवार, कोषाध्यक्ष रविना थापा सुनुवार, सहकोषाध्यक्ष- ओम प्रकाश सुनुवार र सदस्यहरु- संयोग सुनुवार र इन्दु सुनुवार रहेका छन् । नयाँ कार्य समितिका पदाधिकारीहरूलाई बरिष्ठ सल्लाहाकार तथा मुक्दिम बिद अतीत मुखिया सुनुवार ज्यूले पद तथा गोपनिएताको सपथ गराएका थिए । नव निर्वाचित कार्य समितिलाई सम्मान गर्दे निवर्तमान अध्यक्ष श्यामकर्ण सुनुवार, सल्लाहकार ईश्वर किरण सुनुवार, नरेश सुनुवार लगायतले सफल कार्यकालको लागि सुभकामना मन्तव्य ब्यक्त गरेका थिए भने नव निर्वाचित अध्यक्ष राम सुनुवारले संस्था र समाजको हितमा काम गर्ने प्रविवद्धता जाहेर गरे ।
