‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो’ सुनुवार भाषाको भिडियो सार्वजनिक।

काठमाडौः ‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो ’ भाषाको यो म्यूजिक भिडियो अमरदीप सुनुवारको यूट्यूव च्यानलबाट सार्वजानिक गरिएको छ । शुक्रबार शंखमूलको एक होटलमा गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा र वरिष्ठ संगीतकार शान्तिराम राईले सार्वजनिक गरेको यस गीतमा अमरदीप सुनुवारको रचना, रामकुमार पौडेलको संगीत र कल्पना सुनुवारको स्वर रहेको छ।
भिडियोले सुनुवार युवा-युवतीहरू बजारमा भेटघाट भई नाचगान गरेर रमाइलो गरेको कथा प्रस्तुत गर्ने प्रयास गरेको छ। पहिलो वर्ष बजारमा भेट हुँदा युवा-युवतीबीच एकअर्कालाई मन पराए पनि लाजले भन्न नसकेको र अर्को वर्ष युवतीले मनको कुरा व्यक्त गरेको भिडियोमा देखाइएको छ। यस गीतमा सुनुवार जातिको परम्परागत पोसाकलाई राम्ररीदेखाउन खोजिएको छ।
भिडियोमा सुजन सुनुवार, कल्पना सुनुवार लगायत अन्य कलाकारहरूको अभिनय रहेको छ। गीतकार अमरदीप सुनुवार स्वयंले निर्माण गरेको यस भिडियोको निर्देशन पनि सुनुवारलेनै गरेका हुन् ।
पीआर प्रोडक्सनको व्यानरमा बनेको यस म्यूजिक भिडियोमा बृहसमान सुनुवारले कोरियोग्राफी गरेका छन् भने छायांकनमा सनम तामाङ, सम्पादनमा रमेश राई, टेक्निकल हेडमा तईलन राई र श्रृंगारमा सर्मिला सुनुवार रहेका छन् ।