All about Sunuwar

सुनुवार राष्ट्रिय सांस्कृतिक सम्मेलन सम्पन्न ।

सुजन सुनुवार, काठमाण्डौं ।
सुनुवार राष्ट्रिय सांस्कृतिक सम्मेलन सम्पन्न भएको छ । शनिबार सुनुवार सेवा समाजको आयोजनामा पहिलो पटक राष्ट्रिय सांस्कृतिक सम्मेलन भएको हो ।
कोटेश्वर स्थित सुनुवार सेवा समाजको सभाहलमा आयोजित सम्मेलनको उद्घाटन आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रतिष्ठानका उपाध्यक्ष गुरुङले आदिवासी जनजातिहरुको महत्वपुर्ण विषय भनेको पहिचानको विषय भएको धारणा राख्नुभयो । उहाँले प्रतिष्ठानले आदिवासी जनजातिहरुको संस्कारसंस्कृति संरक्षणका लागि हरेक तवरबाट काम गरिरहेको समेत जानकारी दिनुभयो ।
उक्त सांस्कृतिक सम्मेलनमा विभिन्न जिल्ला र स्थानिय तहका सुनुवारहरुको उपस्थिति रहेको थियो । सांस्कृतिक सम्मेलनले विशेषगरि सुनुवार भाषा संरक्षण र प्रबर्दनमा सघाउ पुग्ने सुनुवार सेवा समाजका अध्यक्ष तथा कार्यक्रमका अध्यक्षता गरिरहनुभएका अमृत बहादुर सुनुवारले बताउनुभयो । उहाँले पछिल्लो समय सुनुवार भाषा तिब्रगतिमा लोप हुँदै जानु, सुनुवार समुदाय आफ्नो भुमि भुभागबाट टाडिँनुले चुनौती थप्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

सोही अवसरमा सुनुवार अभियान्ता डा. लाल रापचा सुनुवारले सुनुवार भाषा लोप हुँदै जानुले सुनुवार समुदायमा चुनौती बढ्दै गएको बताउनुभयो । उहाँले भाषालाई संरक्षण र दस्ताबेजिकरण गर्नका लागि शिक्षा र अनुसन्धानमा जोडदिनुपर्ने बताउनुभयो ।
यसैगरि सम्मेलनमै बोल्नुहुँदै नेपाली सेनाका अवकास प्राप्त साहयक रथी राजेन्द्र सुनुवारले नयाँ पुस्तामा भाषा संस्कारसंस्कृति पुस्तान्तरण गर्न नसके केही वर्षमा सुनुवार जाति हुँ भनेर चिनाउन कठिन हुने बताउनुभयो । उहाँले भाषा संरक्षणमा सुनुवार समुदायनै लाग्नुपर्नेमा जोडदिनुभयो ।
अर्का वक्ता नेपाल सरकारका सहसचिव रामप्यारी सुनुवारले भाषा जोगाउनको लागि आफ्ना बालबालिकालाई घरबाटै भाषा सिकाउन आवश्यक भएको भनाई राख्नुभयो । उहाँले वर्तमान प्रविधि र विश्वसंगको प्रतिष्पर्धाले गर्दा मातृभाषा भन्दा पनि अंग्रेजी भाषाको मोहमा अहिलेका पुस्ता लागिरहेको बताउनुभयो ।

दुई सत्रमा भएको कार्यक्रमको दोस्रो सत्रमा सुनुवार आदिवासीहरुको मुर्त अर्मुत सम्पदाहरुको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पुरातत्व अधिकृत भिष्म बास्कोटा र सुनुवार सेवा समाजका महासचिव उत्तम कुमार सुनुवारले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *