All about Sunuwar

घर परिवार

-कोइँच बु काःतिच (उकुसु)
रिदुमले बाजेको हातमा रहेको चोयातिर हेर्यो, अनि उसको मनमा अघिको कथाले फेरि डेरा जमायो। “बाजे, आज कथा सकिएन नि! कपडा बुन्ने कुरा कसरी सुरु भयो?”
“अँ, त्यसको पनि आफ्नै कथा छ, तर त्योभन्दा अघि तिमीले एउटा अर्को महत्त्वपूर्ण कुरा बुझ्नुपर्छ,” बाजेले भन्नुभयो। “हाम्रो कोइँच समुदायमा ‘जाँडरक्सी’ भन्ने एउटा पवित्र कुरा हुन्छ, जसलाई ‘लेलेक चुङ देलेकचुङ अराकु जिराकु’ भनिन्छ। तिमीलाई थाहा छ, त्यो कसरी सुरु भयो?”
रिदुमले टाउको हल्लायो, “थाहा छैन बाजे। त्यो त ठूला मान्छेले पिउने कुरा होइन र?”
“मात्रै पिउने कुरा होइन, मेरो नाति। यो हाम्रो संस्कार र संस्कृतिसँग जोडिएको छ,” बाजेले भन्नुभयो। “धेरै पहिले, ‘सुरी नाअसो’ भन्ने एकजना नाअसो (ऋषि) थिए। उनले दावुदावुको सहयोगमा ‘जाँडरक्सी’ बनाएको कुरा इतिहासमा उल्लेख छ। त्यसैले अहिले पनि जसले पुरानो भातलाई जिवन दिन्छ, उसलाई ‘सुरी नाअसो’ भनेर दोलखुम लगाएर शिर उठाउने गरिन्छ।”
“पुरानो भात किन जीवित राख्ने ? किन बाजे?” रिदुमले अचम्म मान्दै सोध्यो।
“उहिले, ‘खापोनिपो’ हरुले,” बाजेले कथालाई जोड्दै भन्नुभयो। “आफ्ना पुर्खालाई चढाएको भात कुहिएर दुर्गन्ध फैलियो । यो देखेर सुरी नाअसोलाई असाध्यै चिन्ता भयो।”
“चिन्ता? किन चिन्ता भयो र बाजे?” रिदुमको जिज्ञासा बढ्यो।
“किनकि, पुर्खालाई चढाएको कुरा कुहिनु भनेको राम्रो भएन नि होइन र,” बाजेले स्पष्ट पार्नुभयो। “त्यसपछि सुरी नाअसो र सारा (न्यास ध्यान) मा बसरे दुनशेर छर्किएर पिदार गर्दै प्राणी रक्षक दावुदावुलाई आव्हान गरे । दावुदावुले ‘पाःर्मोःसिरी’ र ‘अग्निःसिरी’ ले उहिले मन्छेको मुखमा थुक्दा मरेकाले ‘बेल्जेम लिःख सुवा’ (चितु) जडीबुटी लिएर खुवाएर ब्युँताए थिए । त्यही लिँख सुवाले भातलाई जीवित राख्छ । ‘लिःख सुवा खोजेर भातसँग मोल्नु भन्नु भो । अनि सुरि नाअसोले पनि दावु दावुले भने जस्तै गरेर ढोइँमा राखेर आगोके कोइलाले लिक्यु तालुबाट ताप दिनु भयो ।”
“अनि के भयो?” रिदुम उत्साहित भयो ।
“केही दिनपछि त्यो भात कुहिनुको सट्टामा मगमग बासना आयो,” बाजेले मुस्कुराउँदै भन्नुभयो। “यो पितृहरूको आशीर्वादले मिठो बासना आएको हो भन्दै सुरी नाअसोले पितृ प्रकृति आकाश धर्तीलाई चडाएर चाखिन् । मगमग बासना आएको त्यो भातमा अचम्मको स्वादिष्ट भएको देखेर सुरी नाअसो ‘दावुदावु, दावुदावु’ भन्दै खुसीले उफ्रिन थाले।”
“ओहो, बाजे! यो त जादु जस्तै पो लाग्यो!” रिदुमले भन्यो ।
“यही कारणले,” बाजेले थप्नुभयो, “अहिले पनि जाँड ओथरो राख्दा भाँडोको बीच भागमा आगोको कोइला राखेर तीन पटक चिम्टाले खराबी दुष्ट आत्म पर जाउ भन्दै फालाक्दै ‘दावुदावु’ भनेर तीन पटक जाँडको अथारा राख्ने भाँडोमा ठोकिन्छ । लिँखबाट बनेको जाँडलाई पवित्र मानिन्छ। यसैले कोइँचको हरेक संस्कारमा जाँडरक्सी अनिवार्य हुन्छ ।”
“भनेपछि, यो ‘जाँडरक्सी’ त धेरै महत्त्वपूर्ण रहेछ नि बाजे!” रिदुमले आश्चर्यचकित हुँदै भन्यो । “यो केवल पिउने कुरा मात्रै होइन रहेछ ।”
“हो नि मेरो नाति,” बाजेले भन्नुभयो, “जाँडरक्सी मनोरञ्जनको साधन मात्र होइन । यो कोइँच समुदायको लागि पुर्खाको सम्मान, अदृश्य शक्तिहरूसँग सम्पर्क गर्ने माध्यम, शक्ति र साहसको प्रतीक, शुभ-अशुभ थाहा पाउने सूचक, कानुनको सम्मान, मेलमिलापको साधन, सत्कारको शोभा, औषधि, आम्दानीको स्रोत, र सम्बन्ध विस्तार गर्ने एउटा सेतु हो ।”
“यति धेरै अर्थ रहेछ यसको !” रिदुमले अचम्म मान्दै भन्यो “मैले त सोचेकै थिइनँ ।”
“यही कारणले तिमीले हाम्रा कुराहरू सिक्नुपर्छ, मेरो नाति,” बाजेले स्नेहपूर्वक भन्नुभयो। “हाम्रा संस्कृतिमा हरेक कुराको गहिरो अर्थ छ । दावुदावुले कसरी मानिसलाई कपडा बुन्न सिकायो, त्यो कथा अझै बाँकी छ।”
रिदुमले बाजेको कुरा ध्यानपूर्वक सुन्यो । उसको बाल्यकालीन मनमा नयाँ जानकारीहरूले ठाउँ बनाउँदै थिए । बाजेले उसलाई केवल एउटा कथा मात्र सुनाइरहेका थिएनन्, बरु आफ्नै समुदायको इतिहास र गहिरो संस्कृतिसँग जोड्दै हुनुहुन्थ्यो । साँझको शान्त वातावरणमा बाजे र नातिको यो संवादले उनीहरूको सम्बन्धलाई अझै गाढा बनाउँदै थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *