All about Sunuwar

Articles

now browsing by category

Articles

 

बिर्सने बानीको शत्रु: प्लेँःकास

प्लेँ:कास

–कोइँच बुः काःतिच (उत्तम)
‘प्लेँःकास’लाई खस भाषामा ‘बुद्धिगाँठो’ वा चेतगाँठो नामले बुझ्ने गरेको पाइन्छ । प्लेँः र कास दुई शब्द मिलेर बनेको यस शब्दको अर्थ भनेको बिर्सिना वा बिर्सिने अबस्थालाई थारखरीको जराभित्र थुन्नु भन्ने हुन्छ । प्लेँः भनेको बिर्सना हो र कास भनेको कहिल्यै ननिस्कीने गरी थुन्नु वा जडान वा ढलान गर्नु हो । जस्तै चुबुमि लाहा काअ्चा । यसैले प्लेँःकास बनाउन थारखरी नै चाहिन्छ भन्ने विश्वास छ । जसरी खुकुरीको बिँड फुक्लिँदा बिँड काअ्चा लाहा चाहिन्छ त्यसरी नै प्लेँः वा भुल्ने वा बिर्सने बानी काअ्चा थार्खरी नै चाहिन्छ । यसैले थारखरीको जरामा भुल्ने बानी थुन्दा कुनै पनि कुरा बिर्सने बानी लाग्दैन भनेर थारखरीको जराबाट तीनकुने, पाँचकुने र सातकुने आकारमा प्लेँःकास बुनेर गहना वा चिनो वा बुटीको रुपमा कोइँच रुयापरुइमिले लगाउने गर्दछन ।

ससि मुक्दम
उहिले मानव उत्पत्ति हुँदा सुयुकि र सुयुपि मात्रै थिए । उनीहरुले आफु एकै आमाको सन्तान भन्ने कुरा नै बिर्से र अनैतिक क्रियाकलाप गर्न उद्दत्त भए । यस्तो क्रियाकलाप आफ्नै सामु हुन लागेको देखेर इँगिले फरे बज्र प्रहार गरे । ९यसैले कोइँचमा नाता साइनो पर्नेमा विवाह गर्नु हुँदैन । देउदण्ड बेहोर्नुपर्छ । त्यसरी अनैतिक सम्बन्धबाट जन्मेकालाई चट्याङले हान्छ भन्ने मान्यता रहिआएको र हालसम्म जनविश्वास छ ।० इँगिको आक्रोशमा बज्रको मार खाएपछि उनीहरु हाड नभएको मान्छे जस्तै लालङ्ने सुसुङ्ने भए र चेत नै आएन । के गर्ने नगर्ने कुनै बुद्धिविवेक नभएको बच्चा जस्तै भएर बाँच्नु परेउ । धेरै समयसम्म बच्चालाई जस्तै स्याहार सुसार गर्नु परेको हुँदा कलिमामालाई साह्लै चिन्ता भयो । ९कोइँचमा कलिमामा वा कलिपिपिले छ महिनासम्म मात्रै स्याहार सुसार गर्नु हुन्छ भन्ने जनविश्वास छ । त्यो भन्दा बढी स्याहार्नु परेउ वा स्याहार्न जिम्मा दिँदा बच्चा हुँदैन । बच्चा हुनको लागि कलपिपला ख्योल्चा वा निकाल्नुपर्छ भन्ने मान्यता छ ।० अनि अनि उनीहरुको बुद्दिबिवेक स्थिर राख्न वा परिपक्वा बनाउनको लागि विभिन्न जडीबुटी र उपायहरु खोजिन र इँगिलाई सम्झिइन । इँगिले फेद पनि होइन टुप्पा पनि होइन लेक पनि होइन बेँसि पनि होइन वीचको खर्की घाँस थार्खरीको जरामा बिर्सना थुनिदिनु अनि सुयुकि र सुयुपिको चेत स्थिर रहने उपाय बताए । इँगिकै बचनको पालना गर्दै कलिमामाले बिर्सना प्लेँः थारखरीको जरामा काःनाकाःन थुन्दै सम्झना तलै तला बुन्न वा थप्न प्लेँःकास बुन्ने सिकाइन । यो क्रम पटक पटक दोहरीरह्यो । सोही प्लेँःकास साङधुप गरेर प्रकृति र पितृ भाकेर लगाइदिएपछि अन्ततः सुयुकि र सुयुपिमा बुद्दिविवेक चेतको विकास भयो । के गर्ने के नगर्ने चेत आयो । (उही सुयुकि र सुयुपिको सन्ताान नै अहिलेका दुमा मुइलि कोइँच सुनुवार हुन् । यसैले दुमामुइलिका सुनुवारले दुम्सि मार्नु हुँदैन भन्ने जनविश्वास छ ।) सोही समयदेखि कोइँचमा कुनै कुरा बिर्सिने बानी लाग्यो भने प्लेँःकास लगाउने वा लगाइदिने वा लगाउन सल्लाह दिने गरिएको हो भनिन्छ । यसरी सम्झना रही रहने कारण आजकाल प्रेमी प्रेमिकाहरुले पनि माया अमर रहीरहोस् , कहिल्यै नबिर्सियोस् भनेर मायाको चिनोर स्वरुप क्योङ, प्लुप्से सँगसँगै प्लेँःकास पनि दिने वा लगाइदिने चलनको विकास भएको पाइन्छ ।

मान्यता र प्रयोग
प्लेँःकासको कुना र सुर अनुसार फरकफरक मक्दुमी मान्यता वा महत्व रहेको पाइन्छ । तीनकुने तीन चुलाको प्रतिक, पाँचकुने पाँच तत्वको प्रतिक सातकुने सात तलाको प्रतिक र नौकुनेको नौ तलाको प्रतिकका रूपमा मानिन्छ । यसलाई धारण गर्ने वा लगाउनाले मानसिक सन्तुलन ठीक रहने तथा स्मरणशक्ति बढ्ने विश्वास गरिन्छ । पछिल्लो समयमा ब्याज, किरिङ आदिको रूपमा समेत प्रयोग गर्ने गरेको पाइन्छ । आजकाल थारखरीको अलावा मालिङ्गो, निगालो बाँसलगायतको चोयाबाट समेत प्लेँःकास बनाइन्छ । साँस्कृतिक प्लेँःकास भने थार्खरीकै चाहिन्छ ।

के हो थारखरी
थारखरी १८०० सयदेखि २२०० मिटरको उचाइमा पाइने घाँस प्रजातिको वनस्पति हो । यो धेरै अग्लो त हुँदैन तर मकैको बोटमा माटो भन्दा बाहिर जसरी कलिलो जरा निस्केर भुइँमा गाडिन्छ त्यस्तै थारखरीको पनि दुइ तीन फिट माथिसम्मको आँख्लाबाट जरा निस्केर भुइमा पैmलिन्छ । सो जरालाई नै बटुलेर उहिले गोठ बस्दा थारखरिहरु बनाउने र आफ्ना मनपरेको मान्छे साथी आफन्त र प्रेमीप्रेमिकालाई दिने गर्दछन् ।

सम्झनामा लिखु!

✍️दिल भुजेल
रामेछाप उमाकुण्डको शिर बाट बग्ने लिखुरिमाई र हिमगँगामाई केही तल आएर एक भए जुन संगमस्थलमा एउटा धार्मिक तिर्थस्थल ओमातिर्थ बन्यो त्यसैले जहाँ हरेक तिर्थयात्री हरु पुग्छन पुजा,आजा,श्राद्धा गर्छन धेरैले आफ्ना पितृको अस्तु अर्पण गर्छन त्यसैले यी एक पबित्र लिखुरिमाईको रुपमा परिचित छिन शक्तिशाली छिन।
समय सँगै आफ्नै गतिमा आफ्नै ईच्छामा क्यामा र बालदिङ्गको काख हुँदै पारी रामेछापको चरिपतकरी,पेकानास,रोशी,कोरन्दु,नेका,कास्थली,प्रीती भुजी सैपु,दुरागाउँको फेदि ढाँडे सिरिसे हुँदै र वारि सोलुखुम्बुको किन्जा,सिरुवा बुकुदोभान अनि ओखल्ढुङ्गाको सिस्दिङ्ग,ढुङ्गे,गोफा,साब्रा,काती,चण्डेश्वरी,रगनी,लिम्ती,गाम्नुङ टारको काख हुँदै शितल हावा दिंदै आफनै सुरमा सुसेली हाल्दै कोशी भेट्न केही वारिका साथी किन्जाखोला,बुकुखोला,साब्राखोला,फरफोलाखोला,पुस्पतखोला,खिंजिखोला,साल्पुखोला,लेतिखोला अनि पारिबाट रामदिङ्ग झर्ना,ठाडोखोला,रोसिखोला,साप्सुखोला,चन्डिथानखोला,भुजिखोला,दुरागाँउखोला दायाँ बायाँ लिएर हिंड्थ्यौ तर दुष्टहरुको कुदृष्टी परे पछि दायाँबायाँ हुने साथी कसैको पनि केही नलाग्दो रहेछ!!
तिमिलाई तिम्रो उदगम स्थल देखि नै दुष्टहरुले नजरबन्दमा हालिदिए तिम्रो बाटो फेरिदिए ठाउँ ठाँउमा रोकेर राखेर शान्त बनाए झैँ गरेर धेरै ठाँउमा उतेजित बनाए,तिमी नजर बन्द हुँदा अनि गाउँ बस्तिको मुटु छेडेर विभिन्न गाउँ बस्तिलाई रोगी बनाउँदा दुष्टहरु एका दुईको स्वार्थ पूरा हुँदा अनि सोझा सिधा जन्ताको बिचल्ली हुँदा दुष्टहरुको भाषामा त्यस्लाई बिकाश भन्दो रहेछन!!
अझ हाम्रो गाउँ भन्दा माथिको तिम्रो कथा धेरै गर्न चाहिन किनकी लामो हुन्छ।तिमि हिड्ने बाटोमा कमिला हिंडिरहेका छन,गुम्देल र कोरेम धरापमा छ धेरै परिवारहरु बिचल्लिको अबस्थामा छन।अब पालो हाम्रो गाउँको खिजिदेम्वा गाउँपालिकाको 7 नं रावादोलुको फेदि गोफा र रामेछापको उमाकुण्ड प्रीतिको फेदिमा तिमिलाई थुनेर नजरबन्द गर्दैछन हाम्रो नाजुक बस्ती मुनि तिमिलाई हिडाउँने नाममा मिसिन र बम बारुदको सहायताले प्वाल पार्दैछन।नजाने तिमिलाई जति दुख दिए त्यति नै तिम्रा पुजक आदिवासी देखि सबैलाइ शास्ती दिईरहेका छन।
भोकाएको ब्वाँसोले सिकार भेटाएको जस्तो जहाँ बाट भेट्यो त्यहीँ बाट चिथोरेको छन लुछेको छन तिम्रो अस्तित्व त सखाप पारे नै हाम्रो गाउँ बस्ती पनि उत्तिकै नाजुक र जोखिम पारे,खि.दे.१ रगनिको तल्लो भु-भाग बिमिरे,होल्पु,फुलडाँडा,जिलि,लिम्ती थिलथिलो पारे त्यहींँ तल ढाँडे र सिरिसे बिचमा पुरै तिम्रो आन्द्रा भुँडीको अप्रेसन गरे भन्दा बढि गरेको छन त्याहँ तिम्रो हालत देखेर जो कोहि निरास हुन्छन हेर्न सकिन्दैन त्यतिले नपुगेर अझै साँगुटार सम्म नि तिमिलाई छोडेको छैनन खोइ कसरी लेखौं तिम्रो कथा!!जति लेख्यो त्यति कम हुन्छ।
तिमिले दिएको त्यो शितल हावा अब हामिले कहाँ पाउने?तिमी आफ्नै बहावमा सुसेली हाल्दै कहिले वारि कहिले पारी गर्दै विभिन्न रुप रँगामा बहेको कहाँ देख्ने?तिम्रो शितलताले गर्दा माथी सम्म भएको हरियाली कहाँ देख्ने?एकादशिमा फुल तार्न कहाँ जाने?माघी नुहाउन अनि कोशी पुजा गर्न कहाँ जाने?हाम्रा अग्रजले फुल,पाती भेटी लगेर लिखुको बिचमा चाढाउ है भनेर सिकाएका थिए अब त्यो कहाँ चढाउने?त्यो सिस्दिङ्ग र नेकामा फुल्ने तिते माछा कहाँ देख्ने?तिम्रो नजिकै तिम्रै भरमा बाँचेका दाजु भाईले जाल कहाँ हान्ने फाँदा कहाँ थाप्ने?झट्टारे अनि बल्छी कहाँ खेल्ने?अनन्त बाटो (बैकुण्ठ बास)रोज्नेहरुको चिता केले पखाल्ने पित्रीलाई जल के दिने?तिम्रो बर्णन जति गर्‍यो झन कम हुन्छ।
तिमी नजरबन्दमा छ्यौ,तिमिलाई परिबन्धमा पारेर तिम्रो हाम्रो सम्बनध प्रकृति र संस्कृती माथी खेलबाड गर्ने जो कोहि दुष्टलाई तिमिले दिन सक्ने जति आशीर्वाद अथवा श्राप जे दिनु मन लाग्छ दिनु किनकी तिमी सँग अदृश्य शक्ति अदभूत छ लिखुरी माई🙏🙏

#जयहिमगँगा_लिखुरिमाई

को हो स्ट्राइकर क्यारमबोर्डको गोट्टी चलाउने ?

साङथेम जिजिच

जनमत नै छैन, झट्ट हेर्दा अरू अधार पनि केही देखिँदैन, तथापि प्रचण्ड यसपालि मलाई प्रधानमन्त्री हुने इच्छा छ भन्दै हिँड्थे । यहाँसम्म कि यसपालि प्रधानमन्त्री हुने म नै हो समेत भन्थे ।
रवि लामिछानेको पार्टीको र रवि लामिछानेको समेत राजनीतिक वृत्तमा कुनै आधार नै बनेको छैन, तथापि रवि लामिछानेले प्रचण्डकै निर्वाचन क्षेत्रमा उठेर प्रचण्डलाई टार्गेट बनाए । र प्रचण्ड लुरुलुरु गोरखा गए । के प्रचण्ड रविको लोकप्रियतालाई मात्रै देखेर गोरखा गएका थिए त ?
सुरुमा रवि लामिछाने स्वयंले अहिले सदनलाई दर्बिलो प्रतिपक्ष जरुरत भएकाले आफ्नो पार्टी सरकारमा नजाने र प्रतिपक्ष भएर आवाज उठाउने अभिव्यक्ति मिडियामै दिएका थिए । अर्कोतिर पार्टीको विचारधारा के हुने भन्ने सवालमा केन्द्रीय तहका नेताहरूबाटै दुईथरीको कुरा आएपछि पार्टीको वैचारिक धारको विषयमा तत्काल नबोल्न लामिछानेले उर्दी नै जारी गर्नुपर्‍यो । पार्टीको वैचारिक धार टुंगो नलागेकै अवस्थामा लामिछानेले फेरी आफै विचार मिल्ने पार्टीसँग समन्वय गरेर सरकारमा जाने कुरा सार्वजनिक गरे । यहाँसम्म कि रवि लामिछाने त देउवाकोमा गृह मन्त्रालय दिनुपर्‍यो भनेर माग्नै पुगेका थिए अरे ।
गगन थापालाई आफ्नै गुटकाले समर्थन गरेनन् । के त्यो गगन मन नपरेर वा देउवा लोकप्रिय भएर होर ? या पैसाकै खेल मात्रै होर ?
गठबन्धनबाटै सरकार बनाउने भन्दै आएका देउवाले एक्कासि सभामुख, प्रधानमन्त्री र राष्ट्रपति तीनवटै मुख्य पदमा दावी कसरी गरे ? के यस्तो प्रस्तावमा प्रचण्ड मान्नेवाला छ भन्ने देउवालाई लागेको थियो र ? के देउवा यतिसम्म उल्लू छन् ?
विगतमा सभामुखले नमान्दिँदा एमसिसी सदनमा टेबुलै हुन सकेन । बल्लतल्ल टेबुल भएको पनि सिफारिस त भयो तर राष्ट्रपतिले अनुमोदन नगर्दिँदा किचलो भयो । एसपिपी योजना अमेरिकाले कार्यान्वयन आइसक्यो भनिरहेको छ । तथापि राष्ट्रिय सहमति हुन सकिरहेको छैन ।
यूक्रेन संकटले अन्तर्राष्ट्रिय वृत्तमा अमेरिकाको साख धूलिसाथ भएको मात्रै छैन, अमेरिकाको मुखुण्डोसमेत उत्रिएको छ । ‘रूस हाम्रो लागि तत्कालीन समस्या भए तापनि दीर्घकालीन समस्या चीन हो’ भन्ने बहाना झिकेर अमेरिका यूक्रेन संकटबाट भागिसकेको छ ।
अहिलेको सत्ता समीकरणमा देखिएको उलटपुलट राष्ट्रिय नेतृत्वको आत्मनिर्णयले किञ्चित् होइन । क्यारमबोर्डको गोट्टी चलाउने स्ट्राइकर त अरू नै कोही छ । आजलाई यत्ती…

राँके पिदार र मानव स्वास्थ्योपचार ।

गर्मी र बर्षाको महिनाहरुमा पानीमा भिज्नु, माटोमा जोतिनु अनि हिलो उछिटिनु सामान्य नै हो । गर्मी र बर्षामा छालासँग सम्बन्धित रोगहरु जस्तै लुतो, दाद, घमौरा या खटिराहरु आउनसक्ने संभावना अत्यधिक हुन्छ । सायद यसैले साउनको पहिलो दिनलाई “राँके पिदार (शरीरको पूजा)” चाडकै रुपमा मनाउने चलनको विकास भएको हुनुपर्दछ । । राँके पिदारलाई कसै कसैले लुतो फाल्ने रुपमा पनि लिने गरेको पाइन्छ । तर राँके पिदार र लुतो फाल्ने परम्परामा फरक छ । लुतो फाल्ने आ–आफ्नै खालका चलन रहेको पाइन्छ । कतै माटो दलेर नुहाएर लुतो फालिन्छ भने कतै भान्टालाई दूलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा लुतोबाट छुटकारा पाइने जनविश्वाश छ । Read More

नजिकको देउता हेला : नोब्लाले झस्कायो ।

–कोइँचबु काःतिच
जब हामी (सुनुवार सेवा समाज सचिवालय समूह) कोइँच किपटीय मुखिया तथा पुर्व प्रधानपञ्च चन्द्रबहादुर सुनुवारको प्रस्तर सालिक अनवरनको लागि रामेछापको लिखुतामाकोशी १ सा्ब्ला कुपिन्डे पुगियो अनयसै फर्किँदा नोब्रा लेक हुँदै फर्किने सल्लाह भयो ।

कार्तिक ३० गते । जगमनेडाँडामा मुखिया चन्द्रबहादुरको सालिक अनुवरण बजार बसेको थियो । उहिले एकराते बजारको सम्झना गराउँथ्यो । सबै सहभागीहरु नाचगानमा स्वःस्फुर्त सहभागी थिए । तस्वीरमा भेटी चढीरहेकै थियो । अझै पनि मुखियाप्रति आस्था घटेको थिएन । वास्तवमा कोइँचको मुखिया अन्य मुखिया जस्ता शोसकी मुखिया थिएनन् । धेरैको सोँचाइ हुन्छ मुखिया भनेको रैती मारा हुन्छन् । तर वास्तममा मुखिया शब्दमा घोत्लिनु अलिकति न्याय हुन्छ होला । मुखिया चार किसिमको पाइन्छ १. थर मुखिया : तराइको विन, कुमाल, मगर (सुनेको) को थर मुखिया हुन्छ । २. मालअड्डा अर्थात् सरकार अफिसको मुखिया : सरकारी काम गर्ने मालअड्डामा मुखिया पद हुनेगर्छ अहिले यो पद खारेज भइसक्यो । ३. ठेकेदार वा छपेली मुखिया : अहिलेको पार्किङ शुल्क उठाउने वा बालुवा खनी निकाल्ने ठेकेदार जस्तै जग्गाको तिरो (कर) उठाउने छपेली मुखिया । यी मुखियाहरुमा जनताप्रति कुनै उत्तरदायित्व हुँदैन । काेइँच किपटमा आएर मुखिया बनेका अन्य जातिकाे मुखिया वा अन्य ठाउँका मुखिया । ४. किपटीय मुखिया : परापूर्वकालदेखि जंगल खोरिया फाँडेर मानिस बस्न लायक बनाउने आदिवासी पहिलो बासिन्दाको सुरक्षा र व्यवस्थापन गर्न समुहले चुनेको चक्रीय प्रणाली अनुसार नीति नियाम कार्यान्वयन गराउने किपटीय मुखिया । यस्ता मुखियाले नराम्राे जनता मारा काम गरे दाजुभाइ मिलेर मुखिया खाेसेर अरुलाइ सुम्पिने परम्परा छ । काेइँच किपटीय मुखिया निरंकुश र हैकमी बन्न पाउँदैनन् । उनीहरु माथि संस्कृति निरन्तरताकाे दायित्व पनि थपिएकाे हुन्छ । त्यसकाे अवशेष अझै प्लेत्तिमा शाँदार गर्दा गुठेर राँगा  बस्नेतले बाँधी दिने चलन छ । चन्द्रबहादुर तीनै किपटीय मुखिया थिए । यसैले उनीमाथि गाउँलेको सम्मान देखिन्थ्यो ।

चिसो सिरेटो चल्दै थियो । जम्मा भए गाउँले दाजुभाइ नाचीरहेका थिए । सुनुवार सेवा समाजका उपाध्यक्ष र महासचिव कार्यक्रमबाट नोब्रा हुँदै फर्पु घरतिर लाग्नुभयो । त्यसरी उहाँहरुको आगमन र प्रस्थान २६ सय मिटर अग्लो नोब्राबाट भएपछि हामी (रणवीर सुनुवार, शोभा सुनुवार र मेरो) पनि त्यही बाटो समाउने कि भन्ने कुरा भयो । तर हामीसँग मोटरसाइकालको साथसाथै स्कुटर थियो । कच्ची भर्खरै खनेको लेकको बाटो । त्यसमाथि कोही मानिस नहिड्ने जंगलको ठाउँ । तर हामीलाई कोइँच किपटको दृश्यपान गर्नुथियो । उपाध्यक्ष अमृतले मंसिर १ गते विहानै अध्यक्षलाइ खबर गर्नुभयो “बाटो एकदम सही छ । एकघण्टामा फर्पु आइपुगिन्छ । मोटरसालकलमा चाहिँ एक दुइ ठाउँ कुपिण्डेबाट उकालो आउँदा नोब्रा निस्किनुभन्दा तल ओर्लिनुपर्छ तर स्कुटर चाहिँ के हुन्छ मलाइ अलिकति भेउ भएन ।” त्यसपछि हामीलाई जोश आयो । एकदुइ ठाउँ मात्रै हो भने बोकेर पनि स्कुटर कटाउँछौं । Read More

किल्लोको बोली र पिपलडाँडाको ओडार

–शोभा सुनुवार ‘जुलियट’
थिँःकाप पिपल डाँडा स्कुलको डिल । दारको रुख नजिकै एउटा ठूलो ओढार । ओढारबाट मान्छे आवाज जावात गर्न सजिलै सकिन्छ । बेला मौकामा केसरासी फिजाएर ओढारमाथि सिरिरी हावामा कावा खेल्नुको मज्जा नै बेग्लै । यही मौकामा इत्रिएर पिपलका पातहरु फेर फेर आवाज दिन्छन् । ओडारमाथि खुट्टा हल्लाउँदै उ पारि चुप्लु (ओखलढुङ्गा) को रागन, लेःति, जिलि, चप्लेटीका गरागरा र कान्लाकान्ला रमिता हेर्नु र मनमनै लिकु (लिखु नदी) को नागबेली बहव पच्छाउँदै ढाँडे, सिरिसे र थोलो मामाघरमा खेल्न पुग्नुको असिम आनन्द अविस्मरणीय लाग्छ । बिसाउँदै बिसाउँदै कानमा ठोकिन आउने लिखुको सुस्केरासँगै पाकेका पिपलका दानाले जिस्किएर टुक्क जिउमा हान्दा झसङ्ग तर्सिएर होसहवास उड्छ ।

आदिवासीको लागि हेरका खोलानाला, रुखविरुवा, ढुङ्गा, ओडार, पहारा हावा पानी नै देवीदेवता हुन् । यसैले हामी प्रकृतिपूजक हौं ।

चिँकुम (धोब्नी), सारौं (सारु) अनि तुँःतुकुर्मा (ढुँकुर) आएर ओडारमा विसाउँछन् । पखेटा फिजाउँछन । फट्फटाउँछन् । अनि खुट्ट तन्काउँदै उडेर जान्छन् । कहाँ पुग्छन् थाहा छैन । उनीहरुसँग उड्न पाए ? मनमा हातको पाताबाट पखेटा उम्रेको कल्पनामा चुर्लुम्म डुबेर दिन जान्छ । तर हरेक बिहानको सुर्यको किरणसँगै जहिल्यै त्यो ओढारमाथिको डिलमा बसेर यताउता गर्दै घुम्दै चोफ्ले (चिबे) खुब चिर्बिराउँछ । के बोल्छ के । बुझ्न सकिन्न । किल्लो (कल्चुडा) विहानै चिच्चाउँछ । हाम्रो घर ओढार नजिकै भएकोले घरभित्रैबाट चराको संवाद, विलौना सजिलै सुन्न सकिन्छ । म सुत्ने बार्दलीबाट सधैं सुन्छु । र, मनमा कुरा खेल्छ, यि चराचुरुङ्गीहरले के भनेका होलान् ? मनमा भएको कोतुहल सधैं मनमा दबाएर राख्न सक्दिन र एक दिन आमालाइ सोध्छु, ‘आमा त्यो किल्लो बिहानै किन कराएको ?’
‘छि छि आके तामी चैमी मार दुम्मा , ना दाब्शा ते जादिम्मे मुलै काका ब्लाक गोल्शा रेलो पा इप्शो बातेम छि गो दा मार पाङ माइ उने श्यादा दुम्ता आ दुखी कर्मा’ भन्दै सासुले छोरी बुहारीलाई बर्बराउने गरेको हो । सासु एकदम जाँगरे थिइ । घरको सबै काम उसैले गर्थि । अनि गोठको काम पनि भ्याउँथिन् । तर छोरी बुहारीहरु भने गोठमा घाम झुल्किँदासम्म सुत्थे । अनि आफुले आधा काम सक्दा पनि छोरी बुहारी मस्त सुतेको सुतेकै गरेको देखेर पुच्छर फिजाएर बर्बराउने गर्थि । यसरी बर्बराउँदै गोठ नजिकै गाईभैंसीहरुको लागि खोलाखोल्सा घाँस काट्दै जाँदा ओडारको ढिस्कोमाथि डालेघाँस काट्दा लडिन । र, त्यहीँ उनको प्राण गयो । पछि उनले किल्लोको जुनी लिइन । यसैले हरियो घाँस र पानी भएको ठाउँ र ओडारमा बास बस्ने विहान घामको झुल्कोमा बर्बराउने गरेको हो । यता उता हलाएर घुम्दै उसले गाली गरेको हो । भावाना सधै यो ओढार माथिको ढुङ्गा मा बिहानै आएर पोख्छ ।’
किल्लोले पनि कसरी कोइँच लोः बोलेको होला ? मनमा अति कौतुहल भयो । त्यही दिनदेखि बिहानै पिच्छे किल्लो बर्बराएको सुन्ने गरेँ । र, उसको बोलीसँग गोठमा सुतीरहेको छोरीबुहारीको कल्पना गर्छु ।
………..
किल्लो कराउँने वित्तिक्कै आमा थोलोच टंककुमारी सुनुवारबाट पुस्तान्तरण भएकोे त्यही मिथक मेरो मानसपटलमा चलचित्र जस्तै सलल बग्छ । मानौ आमाले काखमा लिएर मेरो कपाल सुम्सुमाउँदै किल्लोको मिथक सुनाइरहनुभएको छ । म उहाँको काखमा आनन्दले उँघ्दैछु । आदिवासीको लागि हेरका खोलानाला, रुखविरुवा, ढुङ्गा, ओडार, पहारा हावा पानी नै देवीदेवता हुन् । यसैले हामी प्रकृतिपूजक हौं ।

-लिखु तामाकाेशी १, कुपिण्डे ।।

गुइँदा

–शोभा सुनुवार जुलियट
गुइँदा कोइँच समाजमा मानसिक उपचार पद्धति हो । विशेषगरी कुनै पनि छोरी मान्छे निरन्तर विरामी भयो भने विरामी बनाउने अनिष्ठकारी दुरात्मालाई छक्काउने एक किसिमको तान्त्रिक मानसिक उपाचार विधि हो । यस्ता विधिहरु कोइँच समुदायमा धेरै छन् । वास्तवमा संसारका जुनसुकै जातजातिमा यस्ता स्वास्थोपचारकै लागि विभिन्न संस्कार संस्कृतिको जन्म भएको पाइन्छ । कोइँच समुदायमा पनि यस्ता धेरै जन्म, विवाह, मृत्यु संस्कारदेखि जीवनशैली र परम्पराहरुमा विविधता छ । ती हरेक साँस्कारिक कार्यको अर्थ हुन्छ, विधि छ । त्यही परम्पराले नै दैनिक जीवन चलेको छ । अन्नबाली लगाउनेदेखि उठाउनेसम्म विभिन्न संस्कार छन् । हरेक महिना फरक फरक विधि र परम्पारिक संस्कार छन् । खाँदा, बस्दा, बिरामी पर्दा उपचार गर्ने समेत विभिन्न खाले संस्कार पद्दतिहरु छन । कोइँचमा पोइँब ग्याँमिबाट राम्रो नराम्रो काम गर्ने चलन छ ः बिरामी पर्दा दबाइमुलो गर्ने जडिबुटी उपचार, धेरै थलिएर बिरामी हुँदा बाँदो उठाउने, एक क्षणमा बिरामी भएमा रोल्चा, सुइच्चा परम्परा । यसैले कोइँच समुदायमा सर्वप्रथम नाडी विचार र लिँक्यु हेरेर विमारको पहिचान गर्ने र त्यसको उपाय खोज्ने गरिन्छ । यस्तै यस्तै उपचार मध्ये गुइँदा (कतै कतै गोइँदा पनि भनिन्छ।) पनि एक हो । जब सानो उमेरमा बच्चा बिरामी पर्छ जति उपचार गर्दा पनि निको नहुँदैन, जडिबुटी, झारफुक पनि लाग्दैन त्यतिबेला अब बाँच्दैन भन्ने लागेपछिको अन्तिम उपचारको उपाय भनेकै गुइँदा हो । खासमा गुइँदाको अर्थ ग्लुइँचा हो । कसै कसैले यसलाई गुइ बÞार्चा भन्ने पनि गर्दछन् । यसको खास अर्थ भनेको आफ्नु कुल परिवारबाट छुटाएर वा निकालेर अर्काको हातमा थमाउनु भन्ने बुझिन्छ । मानसिक रुपमा अब मेरो होइन । मलाई किन दुःख दिइरहन्छस् । ल मैले निकाली सकेँ । अर्काको हातमा सुम्पेँ । मेरो कुनै पनि ग्रहदशाले उसलाई अब असर गर्दैन भन्नको खातिर गुइँदा उपचार गर्ने चलन रहँदै आएको छ । खासमा यो नराम्रो ग्रह दशा फाल्ने उपाय हो । यो जो पायो त्यहि घरमा गरिँदैन । जसको घरमा कास गरेको छ, त्यो घरमा तारा लगा हुन्छ । तारा लागाभित्र गुइँदा राखिन्छ । जसको घरमा ख्येँगु मात्रै गरेको छ त्यस्तो घरमा कालपिपि लगामा गुइँदा राखिन्छ र जसको घरमा कास ख्येँगु नै गरिएको हुँदैन त्यस्तो घरमा भने बाहिर कतै कसैले नछुने गरि चोखो स्थान खोपा वा मारुमा गुइँदा राखिन्छ वा फालिन्छ । बिरामी बच्चालाई भाकेर, बिरामी निको होस भनेर पोइँब ग्याँमिले आफ्नो कुलदेउता जगाएर रातको समयमा गुइँदा फाल्ने गरिन्छ । यसरी यो विधि गरेपछि बच्चा निको भएर ठूलो भएपछि फेरि गुइँदा फिर्ता लिने गरिन्छ । कुनै पनि बच्चामा पोइँबो ग्याँमिको थुङ देखियो भने पनि गुइँदा फाल्ने गरिन्छ । गुइँदाबाट फिर्ता नगरेमा बिहेबारी भएपछि जायजन्म हुँदैन भन्ने जनविश्वास छ । त्यसैले यसरी गुइँदा हालेको मान्छेलाई विहे गर्नुपूर्व नै गुइँदा फर्काउने गरिन्छ । गुइँदा फर्काएपछि जायजन्म हुने बिश्वास रहेको छ । यसरी गुइँदा निकाल्दा जुन पोइँबो ग्याँमिले गुइँदामा हुलेको छ उसैले निकाल्नुपर्दछ । यदि पोइँबो ग्याँमि मरिहाल्यो भने उसकै चेलाले त्यो गुइँदा फर्काउने जिम्मा हुन आउँछ । गुइँदा फर्काउँदा गुइँदा राखे जसरी नै रातमा चिन्ता बसेर विशेष विधिविधान पुरा गर्नु पर्दछ । जहाँ गुइँदा हुलिएको छ त्यस स्थानलाई छोप्न सेतो कपडा चाहिन्छ अनि एक पाथी वा बोतल रक्सी, भेटी अनि फेटा चाहिन्छ । त्यो गुइँदा ढाकेको सेतो कपडा झिकेर घरमा ठूलो मुलि बागे, बागे नभए आमालाई आमा पनि नभए पोइँब ग्याँमिलाई फेटा बाँधी दिनुपर्दछ । गुइँदामा महिलाको भुमिका अहम् रहेको हुन्छ । कुनै पनि जिनिएको कुनै रोग हो भनेर पत्त नलागेको अति नराम्रो बिमारलाई सदा सदाको लागि विदा गर्ने वा रोगोपचार गर्ने कोइँच समुदायको उपचार पद्धति अहिले विरलै प्रयोगमा आएको पाइन्छ ।
…………………………………………………………………………………..
स्रोत : उत्तमकुमार सुनुवार, काःत, चुप्लु । पोइब प्रेमबहादुर सुनुवार लामागाउँ साब्ला । यामबहादुर सुनुवार वाइबि दार्खा राष्नाइलु ।