All about Sunuwar

बेलायतमा शाँदर पिदार उभौली सम्पन्न

२० मे आइतबारको दिन, फान्ब्रोरो स्थित वकफम स्कुलको कम्यूनिटी हलमा शाँदर पिदार (चण्डी पूजा) उभौली पर्व भव्यताको साथ सम्पन्न भयो । उक्त उभौली शाँदर पिदार कार्यक्रम किराँत सुनुवार सेवा समाज यु.के.को आयोजना तथा संस्थाका अध्यक्ष जंग सुनुवारको संयोजकत्वमा सम्पन्न भएको थियो ।
सचिव छत्र सुनुवारले स्वास्थ्य र सुरक्षा सम्बन्धी जानकारी गराउनुका साथै चण्डी पर्वको सांस्कृतिक महत्व माथि प्रकाश पार्नुभएपछि संस्थाका अध्यक्ष जंग सुनुवारले आमन्त्रित अतिथि तथा सम्पूर्ण सहभागीहरूलाई स्वागत मन्तव्य तथा येले सम्बत ५०७३ शाँदर पिदारको शुभकामना व्यक्त गर्नुभएको थियो । “किराँतीहरू पितृ, प्रकृति र आत्माको पूजक हौ । भुमी पुत्र किराँतीहरूको साझा पर्व उभौली मनाउनुको सार र महत्व सबै किराँतहरूको एउटै हो । सामुहिक रूपमा पितृदेवको आराधना उपाशना गरी पाकेको नयाँ अन्न बालीको परिकार बनाई चढाउने र नौगी खाने गरिन्छ । प्रकृतिको सबै तत्वहरूलाई भगवान मानी पूजन गरिन्छ । सुख, शान्ति र सम्बृद्धिको कामना गरिन्छ । आफन्त, इष्टमित्र मात्र नभएर गैर किराँत छिमेक साथीभाइलाई पनि डाँकी शाँदर सिल (चण्डी नाच) नाची सँगै पर्व मनाइन्छ । उभौली वैशाखे पूर्णिमा र उधौली मंसिरे पूर्णिमा वर्षको दुई पटक सम्पूर्ण किराँतहरूमा पितृ, प्रकृति तथा आत्माको पूजन स्मरण गरी उक्त पर्व मनाउने चलन छ । आफ्नो थाँत थलोमा जस्तै खाँटी तरिकाले पर्व मनाउन प्रवास जीवनमा असम्भव छ । तर पनि आफ्नो धर्म–संस्कृतिको रक्षा गर्ने हेतुले किराँतीहरूको उभौली÷उधौली पर्व हाल विश्वव्यापी हुँदै गएकोमा हामी सम्पूर्ण नेपालीहरूले गौरव मान्नु पर्छ” आफ्नो मन्तव्यको क्रममा अध्यक्ष जंग सुनुवारले भन्नुभयो ।
यसै गरी सप्त रंगी झुम्के रुमाल, कम्मरी पेटी पुरुषहरूको पोषाक र सप्तरंगी नै झुम्के थैली, कुप्नी, अन्य पोषाक महिलाहरूको बिषयमा लगाउनुको खास कारण र महत्वमाथि सल्लाहकार मुकुन्दराम सुनुवारले बताउनुभयो । सुनुवार जातिहरूको उक्त शाँदर पर्वको सांस्कृतिक र सामाजिक महत्वमाथि प्रकाश पार्दै सोनिया सुनुवार राईले कार्यक्रम सञ्चालन गरेकी थिइन ।
रङ्गीचङ्गी जातीय पोषाक र गरगहनामा किराँत सुनुवार महिला–पुरुष सबै झकिझकाउ देखिन्थे । यसैगरी पोक्चे सोप्ले, वाल्सो रेब, ऐरी, पोशे, फन्के सोप्ले, चिरमा खमे, जिरमा आदि जस्ता जातीय खानाका परिकारहरू पनि आकर्षणको केन्द्रबिन्दु बनेका थिए ।
कार्यक्रमको शुभारम्भ पोइब (पुजारी) बाट साङसो साङसो ऽऽ भन्दै किराँत मन्त्र उच्चारण गर्दै पूजन गरेर भएको थियो । पुजारी पदम ब. सुनुवारले पूजनको बिधि पिदार सकाएपछि ढोल र झ्याम्टालाई पनि पुज्नुभयो र त्यसपछि ढोल झ्याम्टा बजाई शाँदर सिल (चण्डी नाच) नाचेका थिए सांस्कृतिक समूह र अन्य सहभागीहरूले ।
बद्रि सुनुवारले शलाक गाएर शाँदर सिललाई रोचक बनाएका थिए । सम्पूर्ण अतिथि र उपस्थित गैर किराँतीहरू पनि शाँदर सिलमा हा हा हासल हासल … गर्दै नाची रमाइलो गरेका थिए ।
उक्त शाँदर पिदार कार्यक्रममा किराँत राई यायोखाका अध्यक्ष रामधन राई, बुद्धिष्ट समाज युकेका अध्यक्ष काजी शेर्पा, थकाली समाज युकेका सल्लाहकार मेजर खिम शेरचन, राई यायोखाका सल्लाहकार रत्न राई, आदिबासी जनजाति महासंघका अध्यक्ष थर्क राना, किराँत याक्थुम चुम्लुङका पदाधिकारी तथा अन्य नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
पुजनको व्यवस्थाको निम्ति श्रीमती नन्दा सुनुवार, भावना सुनुवार र प्रतिमा सुनुवारले मुख्य भूमिका निर्वाह गरेका थिए र यसैगरी प्रसाद समूहमा हेमकुमारी सुनुवार, साम्बिरा सुनुवार, विष्णु कु. सुनुवार, रीता सुनुवार, कमला सुनुवार, पार्वती सुनुवार, पवित्रा सुनुवार र अन्य सहभागीको भूमिका रहेको थियो । बिहान दश बजेबाट सुरु भएको शाँदर पिदार कार्यक्रम साँझ आठ बजे सुरु चोतेक (लक्ष्मी हुल्ने) कार्यक्रम र अन्तिम पूजन, प्रार्थना र क्षमा याचना विधिपछि प्रसाद फूलपाति वितरण गर्दै समापन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *