All about Sunuwar

जाडोमा तातो मन पर्छ तर तातो काल पनि डाक्छ

सुनुवार डट ओआरजि, काठमाडौं ।
जाडोको मौसम । कतै तपाईँ पनि कोठाभित्र आगो ताप्दै हुनुहुन्छ कि ! हजुर त्यसो गर्दै हुनुहुन्छ भने अलिकति होसियारी अप्नाउने पो हो कि ! आज (पौष २५) को कान्तिपुर पृष्ठ ३ मा एउटा समाचार छापिएको छ, निस्सासिएर आमाछोरीको मृत्यु । हो, जाडोको मौसम सबैलाई न्यानो मन पर्छ । त्यस माथि त सुत्केरीलाई त न्यानो चाहिन्छ नै । कसलाई मन नलाग्ला र आफ्नो सन्तान र मायालु जीवन संगिनीको माया । जाडोमा कठिङ्गराएर राख्न सक्ने कुरा नै भएन । तर त्यही मायाले काल पनि निम्त्याउन सक्छ । हिजो राती ललितपुर चापागाउँ निवासी २९ वर्षीय तुलसी घिमिरे र उनको छोरीले अकालमै मर्नु परेउ । उनका पतिले श्रीमती र छोरीलाई माया गरेर न्यानो बनाउन आगोको जोहो त गरे तर त्यही मायाले आफ्नी श्रीमती र छोरीको ज्यान गयो ।
यस्तो घटना काठमाडौंमा हरेक जाडोको मौसममा घटीरहन्छ । यसर्थ कोठामा आगो फुक्दा वा कोइला बालेर नानी वा सुत्केरी सेक्दा झेल ढोका सधै खुला राख्नु पर्ने हुन्छ । बच्चा वा बुढाबुढी, सुत्केरीलाई सेकीसकेपछि आगोका कोइलालाई कोठा बाहिर निकालेर निभाउनु पर्दछ । चिकित्सकका भनाई अनुसार कोठामा आगो बाल्दा हावा चलखेल गर्ने बाटो बन्द भएमा अक्सिजन कमी भई कार्वन मोनोअक्साइड ग्याँस उत्पन्न भई मानिसको मृत्यु हुन सक्दछ ।

के हो कार्वन मोनोअक्साइड ?
कार्वन मोनोअक्साइड ग्याँस रंगहीन, गन्धहीन विषलु ग्याँस हो । यसलाई न देख्न सकिन्छ न त चाख्न वा सुँघ्न नै । कार्वन मोनोअक्साइड त्यतिखेर उत्पन्न हुन्छ जब ग्याँस, तेल, कोइला, पेट्रोल वा दाउराबाट निक्लने कार्वनयुक्त इन्धन हावाको कमीका कारण पूर्णरुपमा डढ्न सक्दैन । यसको विषक्त प्रभावबाट बच्न सम्बन्धित उपकरण उपयोगका बेला घरभित्र हावाको ओहोरदोहोर कायम राख्नुपर्छ । पूरै वा आंशिक बन्द स्थान वा कोठामा कार्वन मोनोअक्साइड बढ्छ । यो विषलु ग्याँस सासको माध्यमबाट रगतमा मिसिएपछि अक्सिजनलाई सोस्नबाट रोक्छ । यो प्रक्रियाले शरीरलाई नोक्सान मात्र पुराउँदैन, ज्यानै जान सक्छ । ( के हो कार्वन मोनोअक्साइड ?, कान्तिपुर दैनिक पृ. ३)

Leave a Reply

Your email address will not be published. Required fields are marked *