Archives

now browsing by author

 

किल्लोको बोली र पिपलडाँडाको ओडार

–शोभा सुनुवार ‘जुलियट’
थिँःकाप पिपल डाँडा स्कुलको डिल । दारको रुख नजिकै एउटा ठूलो ओढार । ओढारबाट मान्छे आवाज जावात गर्न सजिलै सकिन्छ । बेला मौकामा केसरासी फिजाएर ओढारमाथि सिरिरी हावामा कावा खेल्नुको मज्जा नै बेग्लै । यही मौकामा इत्रिएर पिपलका पातहरु फेर फेर आवाज दिन्छन् । ओडारमाथि खुट्टा हल्लाउँदै उ पारि चुप्लु (ओखलढुङ्गा) को रागन, लेःति, जिलि, चप्लेटीका गरागरा र कान्लाकान्ला रमिता हेर्नु र मनमनै लिकु (लिखु नदी) को नागबेली बहव पच्छाउँदै ढाँडे, सिरिसे र थोलो मामाघरमा खेल्न पुग्नुको असिम आनन्द अविस्मरणीय लाग्छ । बिसाउँदै बिसाउँदै कानमा ठोकिन आउने लिखुको सुस्केरासँगै पाकेका पिपलका दानाले जिस्किएर टुक्क जिउमा हान्दा झसङ्ग तर्सिएर होसहवास उड्छ ।

आदिवासीको लागि हेरका खोलानाला, रुखविरुवा, ढुङ्गा, ओडार, पहारा हावा पानी नै देवीदेवता हुन् । यसैले हामी प्रकृतिपूजक हौं ।

चिँकुम (धोब्नी), सारौं (सारु) अनि तुँःतुकुर्मा (ढुँकुर) आएर ओडारमा विसाउँछन् । पखेटा फिजाउँछन । फट्फटाउँछन् । अनि खुट्ट तन्काउँदै उडेर जान्छन् । कहाँ पुग्छन् थाहा छैन । उनीहरुसँग उड्न पाए ? मनमा हातको पाताबाट पखेटा उम्रेको कल्पनामा चुर्लुम्म डुबेर दिन जान्छ । तर हरेक बिहानको सुर्यको किरणसँगै जहिल्यै त्यो ओढारमाथिको डिलमा बसेर यताउता गर्दै घुम्दै चोफ्ले (चिबे) खुब चिर्बिराउँछ । के बोल्छ के । बुझ्न सकिन्न । किल्लो (कल्चुडा) विहानै चिच्चाउँछ । हाम्रो घर ओढार नजिकै भएकोले घरभित्रैबाट चराको संवाद, विलौना सजिलै सुन्न सकिन्छ । म सुत्ने बार्दलीबाट सधैं सुन्छु । र, मनमा कुरा खेल्छ, यि चराचुरुङ्गीहरले के भनेका होलान् ? मनमा भएको कोतुहल सधैं मनमा दबाएर राख्न सक्दिन र एक दिन आमालाइ सोध्छु, ‘आमा त्यो किल्लो बिहानै किन कराएको ?’
‘छि छि आके तामी चैमी मार दुम्मा , ना दाब्शा ते जादिम्मे मुलै काका ब्लाक गोल्शा रेलो पा इप्शो बातेम छि गो दा मार पाङ माइ उने श्यादा दुम्ता आ दुखी कर्मा’ भन्दै सासुले छोरी बुहारीलाई बर्बराउने गरेको हो । सासु एकदम जाँगरे थिइ । घरको सबै काम उसैले गर्थि । अनि गोठको काम पनि भ्याउँथिन् । तर छोरी बुहारीहरु भने गोठमा घाम झुल्किँदासम्म सुत्थे । अनि आफुले आधा काम सक्दा पनि छोरी बुहारी मस्त सुतेको सुतेकै गरेको देखेर पुच्छर फिजाएर बर्बराउने गर्थि । यसरी बर्बराउँदै गोठ नजिकै गाईभैंसीहरुको लागि खोलाखोल्सा घाँस काट्दै जाँदा ओडारको ढिस्कोमाथि डालेघाँस काट्दा लडिन । र, त्यहीँ उनको प्राण गयो । पछि उनले किल्लोको जुनी लिइन । यसैले हरियो घाँस र पानी भएको ठाउँ र ओडारमा बास बस्ने विहान घामको झुल्कोमा बर्बराउने गरेको हो । यता उता हलाएर घुम्दै उसले गाली गरेको हो । भावाना सधै यो ओढार माथिको ढुङ्गा मा बिहानै आएर पोख्छ ।’
किल्लोले पनि कसरी कोइँच लोः बोलेको होला ? मनमा अति कौतुहल भयो । त्यही दिनदेखि बिहानै पिच्छे किल्लो बर्बराएको सुन्ने गरेँ । र, उसको बोलीसँग गोठमा सुतीरहेको छोरीबुहारीको कल्पना गर्छु ।
………..
किल्लो कराउँने वित्तिक्कै आमा थोलोच टंककुमारी सुनुवारबाट पुस्तान्तरण भएकोे त्यही मिथक मेरो मानसपटलमा चलचित्र जस्तै सलल बग्छ । मानौ आमाले काखमा लिएर मेरो कपाल सुम्सुमाउँदै किल्लोको मिथक सुनाइरहनुभएको छ । म उहाँको काखमा आनन्दले उँघ्दैछु । आदिवासीको लागि हेरका खोलानाला, रुखविरुवा, ढुङ्गा, ओडार, पहारा हावा पानी नै देवीदेवता हुन् । यसैले हामी प्रकृतिपूजक हौं ।

-लिखु तामाकाेशी १, कुपिण्डे ।।

Share

उन्मुक्त पुस्त म

–जेँःतिच हितराज सुनुवार

यो खासमा,
मेरो सवालमा भन्नुपर्दा,
बाल्यकाल र किशोरावस्थाको
आफैंले नउब्जाएको, तर खेदो गरिरहने
एउटा ठुलै पहाड हो अथाव एउटा ठुलै समस्या हो
को हुँ म सुनार हुँ कि सुनुवार हुँ ?

म सानो हुँदा
विद्यालयमा पढ्दा
अरूहरूले जातभात सोध्थे
जातभात नमान्ने रैथाने भुमिपुत्र
सुनुवार हुँ भनेर मेरो चिनारी पस्किँदा नि,
शिक्षकहरुले
विधार्थीहरुले
स्टाफहरुले
सहपाठीहरुले नै
वरिष्ठले
कनिष्ठले
पत्रकारले
लेखकले
सप्पै सप्पैले
मलाई जबर्जस्ति सुनार बनाउन खोज्थे
र, बनाउँथे नै
ताजुब लागेर आउँथ्यो मलाई, म को हुँ ?

आजकल समेत त्यस्ता प्रश्नहरू ओइरीरहन्छन्
जुन प्रश्नले मलाई मेरो चिनारीमाथि शंका गरीरहेको हुन्छ,
मेरो असली चिनारी माथि थप गलगाँड लाधीदिन खोज्छ
र प्रतिउत्तरमा आगो ओकाल्न मन लाग्छ
हुन त यो पक्कै नि मेरो दोष होइन, न त कुनै कोइँचको नै
यसैले
प्राण प्रतिज्ञा गर्दैछु
पहिलाको जस्तो म मात्रै रहिन
म मौलाएर हामीमा जवान भईसकेको छु ।
म सचेत बनेर हामी भईसकेको छु ।
हाम्रो चिनारीमा दाग लगाउँने
तिम्रो नियत बुझीबुझी निम्छरो भएर बस्न सक्दिन
अब न म तिमीसित भयवित नै छु ।

अब मलाई तिम्रो
खोटो तर्कसँग डर छैन
किन डराउँनु ?
के म अपराधी हो र ?
के हामी अपराधी हौ र ?
कसैलाई किन चासो ?
कसैलाई किन टाउको दुःखाइ ?
म सुनार हुँ कि सुनुवार ?
मेरो चिनाजानी मैले गराउने हो
मेरो व्यवहार मेरो बोली मेरो संस्कृतिले
म को हुँ भनेर चिन्न सकेनौ र !
तर तिमी बुझ्दैनौ जति नै भने पनि
तिमी बुझेर पनि बुझ पचाउँदै छौ
कि
म सधैं तिम्रो अगाडि हिनताबोध बाँचुँ ।
…………………………
अनारमुनि, विर्ता बजार, झापा

Share

गुइँदा

–शोभा सुनुवार जुलियट
गुइँदा कोइँच समाजमा मानसिक उपचार पद्धति हो । विशेषगरी कुनै पनि छोरी मान्छे निरन्तर विरामी भयो भने विरामी बनाउने अनिष्ठकारी दुरात्मालाई छक्काउने एक किसिमको तान्त्रिक मानसिक उपाचार विधि हो । यस्ता विधिहरु कोइँच समुदायमा धेरै छन् । वास्तवमा संसारका जुनसुकै जातजातिमा यस्ता स्वास्थोपचारकै लागि विभिन्न संस्कार संस्कृतिको जन्म भएको पाइन्छ । कोइँच समुदायमा पनि यस्ता धेरै जन्म, विवाह, मृत्यु संस्कारदेखि जीवनशैली र परम्पराहरुमा विविधता छ । ती हरेक साँस्कारिक कार्यको अर्थ हुन्छ, विधि छ । त्यही परम्पराले नै दैनिक जीवन चलेको छ । अन्नबाली लगाउनेदेखि उठाउनेसम्म विभिन्न संस्कार छन् । हरेक महिना फरक फरक विधि र परम्पारिक संस्कार छन् । खाँदा, बस्दा, बिरामी पर्दा उपचार गर्ने समेत विभिन्न खाले संस्कार पद्दतिहरु छन । कोइँचमा पोइँब ग्याँमिबाट राम्रो नराम्रो काम गर्ने चलन छ ः बिरामी पर्दा दबाइमुलो गर्ने जडिबुटी उपचार, धेरै थलिएर बिरामी हुँदा बाँदो उठाउने, एक क्षणमा बिरामी भएमा रोल्चा, सुइच्चा परम्परा । यसैले कोइँच समुदायमा सर्वप्रथम नाडी विचार र लिँक्यु हेरेर विमारको पहिचान गर्ने र त्यसको उपाय खोज्ने गरिन्छ । यस्तै यस्तै उपचार मध्ये गुइँदा (कतै कतै गोइँदा पनि भनिन्छ।) पनि एक हो । जब सानो उमेरमा बच्चा बिरामी पर्छ जति उपचार गर्दा पनि निको नहुँदैन, जडिबुटी, झारफुक पनि लाग्दैन त्यतिबेला अब बाँच्दैन भन्ने लागेपछिको अन्तिम उपचारको उपाय भनेकै गुइँदा हो । खासमा गुइँदाको अर्थ ग्लुइँचा हो । कसै कसैले यसलाई गुइ बÞार्चा भन्ने पनि गर्दछन् । यसको खास अर्थ भनेको आफ्नु कुल परिवारबाट छुटाएर वा निकालेर अर्काको हातमा थमाउनु भन्ने बुझिन्छ । मानसिक रुपमा अब मेरो होइन । मलाई किन दुःख दिइरहन्छस् । ल मैले निकाली सकेँ । अर्काको हातमा सुम्पेँ । मेरो कुनै पनि ग्रहदशाले उसलाई अब असर गर्दैन भन्नको खातिर गुइँदा उपचार गर्ने चलन रहँदै आएको छ । खासमा यो नराम्रो ग्रह दशा फाल्ने उपाय हो । यो जो पायो त्यहि घरमा गरिँदैन । जसको घरमा कास गरेको छ, त्यो घरमा तारा लगा हुन्छ । तारा लागाभित्र गुइँदा राखिन्छ । जसको घरमा ख्येँगु मात्रै गरेको छ त्यस्तो घरमा कालपिपि लगामा गुइँदा राखिन्छ र जसको घरमा कास ख्येँगु नै गरिएको हुँदैन त्यस्तो घरमा भने बाहिर कतै कसैले नछुने गरि चोखो स्थान खोपा वा मारुमा गुइँदा राखिन्छ वा फालिन्छ । बिरामी बच्चालाई भाकेर, बिरामी निको होस भनेर पोइँब ग्याँमिले आफ्नो कुलदेउता जगाएर रातको समयमा गुइँदा फाल्ने गरिन्छ । यसरी यो विधि गरेपछि बच्चा निको भएर ठूलो भएपछि फेरि गुइँदा फिर्ता लिने गरिन्छ । कुनै पनि बच्चामा पोइँबो ग्याँमिको थुङ देखियो भने पनि गुइँदा फाल्ने गरिन्छ । गुइँदाबाट फिर्ता नगरेमा बिहेबारी भएपछि जायजन्म हुँदैन भन्ने जनविश्वास छ । त्यसैले यसरी गुइँदा हालेको मान्छेलाई विहे गर्नुपूर्व नै गुइँदा फर्काउने गरिन्छ । गुइँदा फर्काएपछि जायजन्म हुने बिश्वास रहेको छ । यसरी गुइँदा निकाल्दा जुन पोइँबो ग्याँमिले गुइँदामा हुलेको छ उसैले निकाल्नुपर्दछ । यदि पोइँबो ग्याँमि मरिहाल्यो भने उसकै चेलाले त्यो गुइँदा फर्काउने जिम्मा हुन आउँछ । गुइँदा फर्काउँदा गुइँदा राखे जसरी नै रातमा चिन्ता बसेर विशेष विधिविधान पुरा गर्नु पर्दछ । जहाँ गुइँदा हुलिएको छ त्यस स्थानलाई छोप्न सेतो कपडा चाहिन्छ अनि एक पाथी वा बोतल रक्सी, भेटी अनि फेटा चाहिन्छ । त्यो गुइँदा ढाकेको सेतो कपडा झिकेर घरमा ठूलो मुलि बागे, बागे नभए आमालाई आमा पनि नभए पोइँब ग्याँमिलाई फेटा बाँधी दिनुपर्दछ । गुइँदामा महिलाको भुमिका अहम् रहेको हुन्छ । कुनै पनि जिनिएको कुनै रोग हो भनेर पत्त नलागेको अति नराम्रो बिमारलाई सदा सदाको लागि विदा गर्ने वा रोगोपचार गर्ने कोइँच समुदायको उपचार पद्धति अहिले विरलै प्रयोगमा आएको पाइन्छ ।
…………………………………………………………………………………..
स्रोत : उत्तमकुमार सुनुवार, काःत, चुप्लु । पोइब प्रेमबहादुर सुनुवार लामागाउँ साब्ला । यामबहादुर सुनुवार वाइबि दार्खा राष्नाइलु ।
Share

लोभी मन : आशिष मागी रहेछु

–शोभा सुनुवार जुलियट

बुबाले दिएका गाली र अतीर्का वचनहरू
सन्तानको लागि खपेको भोकहरू
थाप्लोको नाम्लोले गर्दा
निधारबाट बगेको पसिनाहरू
हात समाइ कालोपाटीमा
खरीले लेखेर कखरा फारेका दिनहरु
कलम, कापी, किताब
जसोतशो जोरजाम गरि दिएको
एक दुई जोर भए पनि
नयाँ लुगा किनेर दिएको
सन्तान भोकमारीमा नपरुन भनेर
अन्नको भकारी साँचेको
आफु जेसुकै खाए पनि
सन्तानलाई जसरी पनि
चाडवाड मीठोमसिनो खान दिएको
सबै सबै कुराहरू मानसपटलमा घुमीरहन्छन्
बल्ल पो बुझ्दै छु
म पनि आमा भएपछि ।

जतिबेला बुझ्नुपर्ने थियो, बुझ्नै सकिएन
अहिले बुझेर के भो र !
आखिर गुनासो सुन्ने बुबा नै नभएपछि
नसुन्ने ठाउँमा दुनियाँबाट टाढा गएपछि ।

खोलानाला बढेर आउँदा तर्नै नदिने
दुख बिमारीमा सधैं चिन्ता बोक्ने
सन्तानलाई कसरी उँभो लगाउने भनेर
आफ्नो इच्छाहरू मार्ने
कन्तुरको लुगा कन्तुरमा नै राखेर
सन्तानकै निम्ति पेटारो कस्ने
सन्तानकै उज्यालो भविस्य खोज्दै
आपैंm अँध्यारोमा कैयान रात काट्दै
सन्तानको लागि बलिदान दिने बुबा
सम्झिने गर्छु र आफैंलाई धिक्कार्दछु ।

सायद
आज बुबा भए सबै गुनासो माफी सुनाइ हुन्थे
बुबाको वलिदानको मूल्य चुकाउथेँ
तर
नहुँदाको खोक्रो सम्झनामा केही गर्न चाहिन
केवल बुबाले दिएको
सँस्कार, शिक्षा, त्यागहरूलाइ सम्झेर
सम्मान गर्न चाहेँ
जहाँ भएपनि बुबा
यो लोभी मन
आशिष मागी रहेछु
हरेक पल सम्झीरहेकी छु
एक अञ्जुली जल
र, श्रद्धाका पुष्पागुच्छा ।

Share

काेइँच चुप्लुकर्मी शाेभा सुनुवार कविता वाचनकाे लागि छनाैट ।

यस वर्षकाे UNESCO, काेरियाद्वारा सिओलमा आयोजना हुने 2nd International Academic Forum (Sustainable Development of Indigenous Languages) मा Literature Activities in Indigenous Languages विषयक सम्मेलनमा सहभागी भई आदिवासी भाषाकाे कविता वाचनका लागि नेपालबाट आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ, काेइँच राज्य समितिका संयाेजक सुनुवार सेवा समाज स‌ंघीय समितिका काेषाध्यक्ष काेइँच चुप्लुकर्मी प्रथम काेइँच भाषी महिला कवि शाेभा सुनुवार ज्यू छनाैट हुनुभएकाेमा हार्दिक बधाई छ !

नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न आदिवासी भाषाका कविहरु मध्ये मातृभाषा लेखन र प्रकाशनकाे निरन्तरताकाे आधारमा कवि शाेभा सुनुवार अर्का एक जना वैकल्पिक कविलाइ भाषा आयाेगमा सिफारीस गरेकाे थियाे । साेही सिफारीसका आधरमा भाषा आयाेगले कविहरुकाे व्यक्तिगत विवरण र भाषासेवाकाे आधारमा कवि सुनुवारलाइ आदिवासी जनजाति आयाेगमा अन्तीम नाम सिफारीस गरेउ । आदिवासी जनजाति आयाेगले पुन कविकाे पृष्ठभुमिलाइ अध्ययन गरेपछि युनेस्काे नेपाललाइ सिवलमा हुने सम्मेलनमा कविता वाचनकाे लागि सिफारीस गरेकाे छ । युनेस्काे नेपालले युनेस्काे काेरियालाइ कवि सुनुवारकाे नामसहितकाे व्यक्तिगत विवरण पठाउने छ । कविहरुले सिवल सम्मेलनकाे लागि १० वटा कविता अङ्ग्रेजीमा अनुवाद सहित पठाउनुपर्ने छ । कविता प्रतियाेगितामा विजयी कविले युएस डलर ३००० हजार नगद पुरस्कार पाउने छ । कार्यक्रम नाेभेम्वरमा हुनेछ ।

Share

झोलामा खोला बोकेर बसेको पिके हाइड्रोपावर विरुद्ध युवाहरु जागे

ओखलढु्रगाको खिँजीदेम्बा ४ का युवाहरु झोलामा खोला बोकेर जनताको मानवाधिकार हनन् गर्दै आएको पिके हाइड्रोपावर विरुद्ध संगठित भएका छन् । राजनीतिक पहुँचको आधारमा गाउँका जनताहरुलाई ढाँट्दै किर्ते कागजपत्र बनाएर जलविद्युत उत्पादन सर्भेक्षण भएको देखाउँदै पावर पर्चेस एग्रिमेन्ट (पिपिए) गरिसकेको लिखुखोला हाइड्रोइलेक्ट्रिक प्रोजेक्टले जनतासँग कुनै पनि छलफल गरेको देखिँदैन । न त सार्वजानिक सूचना गरेको पाइन्छ । सुरुङमाथि बस्नुपर्ने भएपनि विकासको नाममा गरिएको विभिन्न किसिमको जालसाँजीको विरुद्ध युवाहरु एक भएर जलविद्युत व्यवसाय गर्न लागेको पिके हाइड्रोपावरले शुरुमै वदमासीपूर्ण काम गरेको पाइएको युवाहरुको आक्रोश देखिएको छ । यो हाइड्रोपावरको मालिक को हो ? यसको आधिकारीक कार्यालय कहाँ छ कुनै पनि जानकारी गाउँलेहरुलाई थाहा छैन ।

Share

सुनुवार डट ओआरजिका सञ्चालक पाम सुनुवार पुरस्कृत

कोइँचहरुको भाषा संस्कृति प्रवद्र्धन गर्न २००७ देखि निरन्तर सञ्चालनमा रहेको एक मात्र वेवसाइड सुनुवार डट ओआरजिका सञ्चालक पामबहादुर सुनुवार टेकबहादुर सुनुवार विष्णुमाया सुनुवार स्मृति पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । यस वेभसाइड मार्पmत पाम सुनुवार कोइँच भाषा संस्कृतिसम्बन्धि निरन्तर समाचार, साँस्कृतिक लेखरचना, विभिन्न साहित्यीक सिर्जनाका साथै कोइँच भाषाको पहिलो रेडियो कार्यक्रम किङ–लो चुप्लु, टेलिभिजन कार्यक्रम कोइँच चुप्लु, कोइँच म्युकि भिडियो, वृत्तचित्र प्रसारण, दोमोका दार्शो सेरेम फु, नाम्सि फु गीति एल्वमहरुको उत्पादन गर्नुका साथै कोइँचा भाषा लिपी प्रशिक्षणमासमेत अहम् भूमिका निर्वाह गर्नु भएको छ । यही वेवसाइडबाट सन्सारमा छरिएर रहेका कोइँचहरुले कोइँचहरुको वारेमा धेरै सूचनाहरु प्राप्त गर्नुभएको छ ।

Share