सुनुवार कलाकार समाजमा नयाँ नेतृत्व, चौथो महाधिवेशन ऐतिहासिक रूपमा सम्पन्न ।
२१ असार, काठमाडौं । “कला र संस्कृति राष्ट्रको वहिचान हुन्, यसको जगेर्ना गर्नु हामी सबैको दायित्व हो” भन्ने मूल नाराका साथ सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, केन्द्रीय समितिको चौथो महाधिवेशन भव्य र उत्साहपूर्ण वातावरणमा २० असार सुनवार सेवा समाज कोटेश्वर, काठमाडौंमा सम्पन्न भएको छ।
देशभरबाट आएका कलाकार, स्रष्टा तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिताबीच सम्पन्न अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गर्दै संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
महाधिवेशनबाट लक्ष्मी सुनुवार अध्यक्षमा निर्वाचित हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा इन्द्रकुमार कोईँच सुनुवार , महासचिवमा निर्भीक सुनुवार मुखिया , सचिवमा सगिना सुनुवार , कोषाध्यक्षमा मणिराज सुनुवार किरात तथा सदस्यहरूमा अशोक सुनुवार , सुजु सुनुवार , नवीन कुमार सुनुवार र रोशन राप्चा सुनुवार सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।
कार्यक्रमभर सुनुवार समुदायको मौलिक कला, संस्कृति र परम्परा झल्काउने विविध सांस्कृतिक प्रस्तुतिहरूले उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए।
