उत्तर बेलायतमा किराती एकताको भव्य उदाहरण उभौली साकेला र स्याँदर उत्सव २०२६ भव्य रूपमा सम्पन्न
क्याट्रिक ग्यारिजन, उत्तर योर्कशायर — किरात राई तथा सुनुवार समाज क्याट्रिक योर्कशायरको आयोजनामा यलम्बर सम्बत ५०८६ को उभौली साकेला र साकेन्वा र स्याँदर उत्सव शनिबार, ९ मे २०२६ का दिन अत्यन्त भव्य, सभ्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा उत्तर बेलायतका विभिन्न शहरहरू — कार्लाइल, लिड्स, न्युक्यासल, हडर्सफिल्ड तथा डार्लिङ्ग्टनबाट किराती समुदाय, नेपाली समुदाय, सेवारत सैनिक परिवार, विशिष्ट अतिथि, छिमेकी समुदाय तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
ीभ ऋबतभबग ऋयmmगलष्तथ एचष्mबचथ क्अजयय,ि ऋबततभचष्अप न्बचचष्कयल मा सम्पन्न कार्यक्रममा करिब १५० भन्दा बढी महानुभावहरूको उपस्थिति रहेको थियो। कार्यक्रमले किरात राई तथा सुनुवार समुदायको भाषा, धर्म, संस्कृति, भेषभूषा, परम्परा, मौलिक पहिचान तथा सामुदायिक एकताको सशक्त सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।
कार्यक्रमको उद्घाटन अग्रज पुजारी श्री गजुरमान राई र संस्थाका अध्यक्ष श्री नन्दराज राईले साकेला थानमा स्थापित पारुहाङ–सुम्निमा तथा यलम्बरका तस्बिरहरू अगाडि पितृहरूको स्मरण गर्दै तीन चुला मानी तीन वटा पानस दीप प्रज्वलन गरी गर्नु भएको थियो।
उत्सवमा साकेला सिली, स्याँदर नृत्य, विविध सांस्कृतिक प्रस्तुति, सामूहिक भेटघाट तथा परम्परागत किराती परिकार मुख्य आकर्षणका रूपमा रहेका थिए। विशेषगरी ताजा सुँगुरको भुटुवा, सेलरोटी, अचार, चट्नी तथा घरमै बनाइएका विभिन्न मौलिक परिकार र पेय पदार्थले उपस्थित सम्पूर्ण पाहुनाहरूलाई नेपाली तथा किराती स्वादको विशेष अनुभूति गराएको थियो।
श्रीमती अनिला राईको नेतृत्वमा सिलिमोमा–सिलिमोपा तथा ढोलेहरूले कार्यक्रमभरि नृत्य र सांस्कृतिक प्रस्तुति मार्फत सम्पूर्ण सहभागीहरूलाई किरात संस्कृतिको मौलिक अनुभव गराएका थिए। त्यस्तै सुनुवार कोइञ्च किरात संस्कृतिको मौलिक स्याँदर सिलको पनि भव्य प्रस्तुति गरिएको थियो, जस मार्फत उपस्थित जनसमुदायलाई सहभागी गराई यसको विशेष सांस्कृतिक अनुभूति दिलाइएको थियो।
कार्यक्रमका क्रममा समाजका अध्यक्ष नन्दराज राईले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण कार्य समिति, सल्लाहकार, स्वयंसेवक, सिलिमोमा–सिलिमोपा, ढोले, पुजारी, जलपान संयोजक, सरसफाइ तथा यातायात सहयोगी, संगीत तथा प्राविधिक टोली, प्रायोजक, दाता तथा सम्पूर्ण समुदायप्रति हार्दिक आभार व्यक्त गर्नु भयो।
उहाँले विदेशमा रहेर पनि किराती सभ्यता, संस्कार तथा पहिचानलाई जीवन्त राख्न यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो। उहाँका अनुसार, “उभौली, स्याँदर र साकेला केवल चाडपर्व मात्र होइनन्, यी हाम्रो अस्तित्व, एकता, प्रकृतिप्रतिको सम्मान तथा पुर्खाहरूको स्मरणसँग जोडिएका अमूल्य सांस्कृतिक धरोहर हुन्। यस्ता कार्यक्रमहरूले विदेशमा जन्मँदै र हुर्कँदै गरेका नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कार, भेषभूषा, गरगहना तथा पहिचानसँग जोड्ने महत्वपूर्ण कार्य गरिरहेका छन्।”
बहुभाषिक तथा बहुजातीय नेपाली समाजको विविधता र मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन यस्ता सांस्कृतिक कार्यक्रमहरूले महत्वपूर्ण योगदान पुर्याइरहेका छन्। नेपाल र नेपालीपनसँग भावनात्मक सम्बन्ध कायम राख्दै भविष्यका पुस्तासम्म संस्कृति हस्तान्तरण गर्नु सम्पूर्ण समुदायको साझा दायित्व भएको आयोजकहरूको भनाइ रहेको छ।
कार्यक्रम भरि आपसी सद्भाव, भाइचारा, सम्मान तथा एकताको वातावरण देखिएको थियो। सहभागीहरूले विदेशको भूमिमा पनि आफ्नोपन, पारिवारिक भावना तथा सामुदायिक आत्मीयता महसुस गरेको प्रतिक्रिया दिएका थिए।
कार्यक्रमको समापनमा सुम्निमा–पारुहाङ, पुर्खा तथा प्रकृतिको आशीर्वादले सम्पूर्ण मानव समुदायमा शान्ति, सुख, समृद्धि, स्वास्थ्य तथा एकता कायम रहोस् भन्ने कामना गरिएको थियो।
— राम कृष्ण सुनुवार ‘आँकाला’
