All about Sunuwar

यायोक्खाको २३ औं स्थापना दिवस: तीन विद्यावारिधिसहित सम्मान

गणेश राई
काठमाडौं, २२ साउन २०६७ ।
किरात राई यायोक्खाले आफ्नो २३ औं स्थापना दिवसका अवसरमा समुदायका विभिन्न व्यक्तित्वलाई सम्मान तथा विद्यार्थीलाई छात्रवृत्ति र पुरस्कार प्रदान गरेको छ । यसैगरी यायोक्खाका संस्थापक १८ सदस्यलाई सम्मान गरेको छ । ललितपुरको मानवभवनमा आयोजित समारोहका प्रमुख अतिथि एवं आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष जितपाल किरात, यायोक्खाका केन्द्रीय अध्यक्ष चतुरभक्त राईलगायतले प्रदान गरेका हुन् ।
सम्मान समारोहमासंस्थापकमध्ये कार्यवाहक अध्यक्ष जितमान राई, पूर्वमन्त्री मन्त्री तथा सभासद् गोपाल किराती, विक्रम राई, उद्धव राई, वेदना थुलुङ राई, डा.सन्तमान राई, देविका राई, तेज राई र माओ यलुङ राई उपस्थित थिए । कावा अध्यक्ष राईले तात्कालीन पंचायत व्यवस्थालाई चुनौती दिंदै २०४५ साल साउन २२ गते ‘किरात राई सांस्कृतिक संघ’ स्थापना गरेको उल्लेख गर्दै पटक पटक राज्य प्रशासनबाट धम्की र जेलसमेत हालेको बताए । २०४६ सालको राजनीतिक परिवर्तनसँगै २०४७ सालमा संघको प्रथम राष्ट्रिय सम्मेलन उक्त संघको नाम परिवर्तन गरी ‘किरात राई यायोक्खा’ (किराया) राखिएको हो । यायोक्खा आज संसारभरि रहेका किरात राई जातिको एकमात्र सामाजिक धरोहर गौरवशाली संस्था बनेको छ । यसको देशभरि १७ जिल्लामा कार्यसमिति छन् । किरात राई यायोक्खा संस्थाको नामबाट हङकङ, ब्रुनाई, बेलायत, अमेरिका, जापान, कतार, साउदीलगायतका मुलुकमा किरात राईहरु संगठित छन् ।
यसैगरी समुदायबाट विभिन्न विषयमा विद्यावारिधिप्राप्त तीन व्यक्तित्वलाई कदरपत्र प्रदान गरिएको छ । सम्मानित हुनेमा प्राध्यापक डा. नारायणप्रसाद राई, डा. कविराज बान्तावा र  डा. राजकुमार राई छन् ।
यसैगरी पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्व सम्मान गर्ने उद्देश्यले स्थापित ‘किराया, धनकेशर–अतम्बरी पत्रकारिता पुरस्कार’ विराटनगर निवासी पत्रकार तथा लेखिका मधु राईलाई प्रदान गरिएको छ । पुरस्कारको राशि १० हजार रुपैयाँसहित ताम्रपत्र रहेको छ ।
भाषा, संस्कृति, संस्कारको विकासमा फिल्ममार्फत् योगदान पु¥याउनु भएका डिक बान्तावा राईलाई ‘मदनश्वरी राई स्मृति पुरस्कार’ प्रदान गरिएको छ । पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ । इतिहास, भाषा, संस्कृतिमाथि लेखिएको कृति ‘हतुवा राज्यको संक्षिप्त इतिहास’ पुस्तकलाई ६ हजार रुपैयाँ राशिको ‘किराया, छत्र–विष्णु राई कृति सम्मान’ प्रदान गरिएको छ । पुस्तकका लेखक कमजजंग राई र इन्द्रदेव राई हुन् ।
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा अध्ययनरत छात्रा राधा राईलाई पुरस्कार राशि ६ हजार ५ सय रुपैयाँ राशिको ‘किराया पदमबहादुर–भीमशोभा राई छात्रवृत्ति’ प्रदान गरिएको छ ।
यसैगरी एसएलसी–२०६६ मा किरात राई छात्रातर्फ सर्वोत्कृष्ट निशा चाम्लिङ र दोस्रो छात्रा सोनी राईलाई ‘किराया, सरस्वती राई नारी शिक्षा पुरस्कार’ प्रदान गरिएको छ । पुरस्कारको राशि क्रमशः ११ हजार ५ सय र ९ हजार ५ सय रुपैयाँ रहेको छ ।
सरकारी विद्यालयबाट सर्वोत्कृष्ट छात्र सन्तोष राई र छात्रा शशिकला राईलाई ‘किराया, भीमबहादुर–माया राई छात्रवृत्ति पुरस्कार’ दिइएको छ । पुरस्कारको राशि जनही १७ हजार रुपैयाँ रहेको छ । साथै सरकारी विद्यालयबाट छात्रामध्येबाट दोस्रो सरस्वती राईलाई ‘किराया, सुमित्रा बान्तावा स्मृति पुरस्कार’ दिइएको छ । पुरस्कारको राशि ८ हजार रुपैयाँ रहेको छ ।
गरिब तथा टुहुरा विद्यार्थीलाई १ कक्षादेखि १० कक्षासम्मै निरन्तर अध्ययनका निम्ति सहयोग गर्ने उद्देश्यले ‘किराया, विष्णु बान्तावा छात्रवृत्ति’ कोषबाट भोजपुरको नेपालेडाँडा निवासी छात्रा मनिषा राईलाई ८ हजार रुपैयाँ र ओखलढुंगाको मोलीकी छात्रा दिलकुमारी राईलाई ६ हजार रुपैयाँ प्रदान गरिएको छ ।
त्यस अवसरमा साहित्यकार मदन राई ‘लामाखुले’को नियात्रा संग्रह ‘नबिर्सिएका सम्झनाहरू’ र युवा अनुसन्धाता निराजन बतास राईको अनुसन्धान कृति ‘खोक्चिलिपा’ (किराती मिथक) सार्वजनिक गरिएको छ ।
त्यस अवसरमा प्रमुख अतिथि किरात, पूर्वमन्त्री किराती, किरात याक्थुङ चुम्लुङका महासचिव योगराज लिम्बु, सल्लाहकार ध्यानबहादुर राईलगायतले जातीय मुक्ति र आदिवासीहरुको अधिकार तथा किरात राज्यको मागबारे विचार व्यक्त गरेका थिए । किरात राई सांस्कृतिक कलाकार संघका कलाकारहरुले जागरणका गीत प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *