All about Sunuwar

सुधारिएको चूलो अभियानमा धमिराको योगदान

सोम सुनुवार
इलाम, चैत १६/मानिसभित्रको उत्सुकताले हामीलाई धेरै कुराहरु दिलाएको छ । असहज र निकम्मा जस्ता लाग्ने बिषय पनि उसभित्रको सृजनशिलताले उपयोगी वनाएको हुन्छ । मानिस प्रकृतिमा भएका कतिपय यस्ता चिजवस्तुलाई प्रयोग योग्य वनाई छाड्छ । जसको उपयोगिता अनि महत्व पनि उत्तिकै वढी हुने गर्दछ ।
त्यस्तै हेर्दा सामान्य लाग्ने एक प्राकृतिक वस्तुको प्रयोग गरेर फाइदा लिइरहेका छन् इलाम, नामसालिङ, सोयाकलगायत गाविसका बासिन्दाले । त्यो हो–धमिराको देवल । हो, धेरैले झरि परेका बेला उम्रिएको मिठो देवले च्याउ खान पाइने भएकाले त्यसलाई उपयोगी ठान्दथे होलान् । तर, अहिले सुधारिएको चूलो वनाउने अभियान चलेकै बेला धमिराले उठाएको देवलको माटो प्रभावकारीसिद्ध भएको छ ।
‘नरम हुने भएर सुधारिएको चूलो बनाउन धमिराको देवलको माटो प्रयोग गऱ्यौं’–नामसालिङ–६ की गृहिणी सिता सुवेदी भन्छिन्–‘अनि, चुलो लिप्न पनि हामी त यही प्रयोग गर्छौं ।’
गाउमा धेरैले यसको प्रयोग गरिरहेका छन्’–नामसालिङ–८ की शर्मिला देवान अगाडि भन्छिन्–‘यहां त देवल पनि प्रसस्तै पाइन्छ । चूलो र भान्सा घर दुबैमा लिप्न साह्रै राम्रो छ देवलको माटो ।’
यता गाविसकै वडा नम्बर–४ की टङ्ककुमारी घिमिरे पनि देवले माटोकै प्रयोग गरी सुधारिएको चूलोको पुन: निर्माण गर्ने पक्षमा छिन् ।
त्यस्तै जिल्लाको सोयाक–७ निवासी प्रेम सुनुवारले पनि यसको प्रयोग बारे सुनेका वताए । साथै उनले गाउमा छिमेकीहरु धमिराको देवलको माटोबाट सुधारिएको चूलो वनाउने योजना बनाइरहेकासमेत बताए ।
नामसालिङ, सोयाक, दानाबारीलगायत दर्जनौ गाविस तुलनात्मक रुपमा गर्मी क्षेत्रमा पर्दछन् । यहां धमिराको प्रकोप निकै रहेको स्थानीय बताउछन् । धमिराको पर्याप्ततासंगै देवलको संख्या पनि अनगिन्ती पाइन्छ । त्यसैले गाविसका धेरैले देवलको माटो प्रयोग गर्न थालेका स्थानीयको भनाई छ । त्यही प्राकृतिक वस्तुको प्रयोगले आज एउटा महत्वपूर्ण अभियानलाई नै सघाउ पुगेको छ ।
सन २०१७ सम्म नेपाललाई भान्सा घरभित्रको धुवां प्रदुषण मुक्त देश वनाउन सरकारले चलाएको अभियानलाई सफल पार्न धमिराकोसमेत योगदान उल्लेख गर्न पाउदा हामीलाई गर्ब लाग्नु स्वभाविकै हो ।
जिल्लाका बिभिन्न गाविसका वासिन्दा यतिखेर सो अभियान सफल पार्न लागिपरेका छन् । इलाममा अपनाइएको यस्तो प्रबिधि देशका बिभिन्न भागमा किन नअपनाउने ? अभियान चलेका सबै भागमा मानिसका लागि समेत यो सनदेश लाभकारी हुन सक्तछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *