All about Sunuwar

गाउलेहरुलाई अधिकारका कुरा सिकाउन पाउदा दङ्ग छन् पृथसिंह

सोम सुनुवार
इलाम, चैत १०/आफूले सिकेका कुरा गाउंघरमा गई अरुलाई सिकाउन पाउदा पुवामझुवा–३ का पृथसिंह सुनुवार दङ्ग परेका छन् । गाविस कार्यालयको सहयोगमा स्थानीय मानव अधिकार तथा मेलमिलाप समितिले आयोजना गरेको मानव अधिकार मेलमिलाप जानकारी तथा सचेतना कार्यक्रम सफलतापूर्बक सम्पन्न गरेपछि उनले आफू निकै उत्साहितसमेत भएको बताएका छन् ।
सुनुवारले मानव अधिकार मञ्च नेपाल इलामले २०६८/६९ मा बर्ष दिनभरि बिभिन्न चरणमा सञ्चालन गरेको प्रशिक्षक प्रशिक्षण (टिओटी) तालिममा प्राप्त ज्ञान, शिपलाई आफ्नै गाउलेहरुबिच वाडेका हुन् । त्यसो त उनी एक्लैले सबै तालिम सम्पन्न गरेका भने होइनन् । साथमा थिए मानव अधिकार मञ्च नेपाल, इलामका गायत्रा रेग्मी र पुवामझुवा गाविस कार्यालयकी सामाजिक परिचालक शान्ति गुरुङ पनि ।
गाविस कार्यालयको ३३ हजार रुपैंयाको आर्थिक सहयोगमा समितिले बिभिन्न चार स्थानमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा गाविसका ८७ महिलासहित एकसय ४५ जनाले भाग लिएका थिए । पुवामझुवाको वडानम्बर–१ स्थित लक्ष्मी दुग्ध सहकारी संस्थामा सञ्चालित कार्यक्रममा ४२ जनाको सहभागिता थियो । वडानम्बर–४ स्थित शिद्धार्थ प्राविमा भएको तालिममा ३८ ले भाग लिएका थिए । त्यस्तै पुवामझुवा–५ को वालमिकी निमाविको कार्यक्रममा ३६ जनाको सहभागिता थियो भने वडा नम्बर–८ को बाघखोर स्थित जनहित दुग्ध सहकारी भवनमा भएको कार्यक्रममा २९ जनाले भाग लिएका समितिले जनाएको छ ।
मानव अधिकार र अधिकारभित्र के कस्ता कुराहरु पर्छन्, न्यायिक र अर्धन्यायिक मुद्धा के के हुन्, स्थानीय स्तरमा कस्ता मुद्धा मात्रै जिम्मा लिएर मिलाउन सकिन्छ आदि जस्ता बिषयको जानकारी दिलाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरेको समिति अध्यक्षसमेत रहेका सुनुवारले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *