All about Sunuwar

अन्डर–१५ मा सुनुवार सेवा समाजको टीम

ओआरजी समाचारदाता, news fotoचैत्र ३१ । अखिल नेपाल फुटबल संघको आयोजनामा नेपाल बैंक लिमिटेडद्वारा प्रायोजित ‘नेपाल बैंक जुनियर (U-15) फुटबल प्रतियोगिता २०६९’मा सुनुवार सेवा समाजले पनि भाग लिएको छ । सुनुवार टिमका लागि गुप्तेश्वर निवासी श्री केबि सुनुवारले २४ सेट ट्रयाकसुट सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारलाई हस्तान्तरण गर्नुभयो । सोही अवसरमा ट्रयाकसुट प्रदान गर्नुहुने केबि सुनुवारलाई सुनुवार सेवा समाजको तर्फबाट प्रमुख अतिथि तथा पूर्व संविधानसभा सभासद् श्री दालकुमारी सुनुवारले ‘Letter of Appriciation’ प्रशंसपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा छैटौं समितिका पूर्व अध्यक्ष ले. मानबहादुर सुनुवारले खेलकुदले सामाजिक सद्भाव कायम गर्नुका साथै समाज विकासमा अग्रणि भूमिका रहेको कुरा औंल्याउँदै हाम्रो सामाजिक विकासका खेलकुद महत्वपूर्ण रहेको कुरा व्यक्त गर्नुभयो । यसै क्रममा मुद्दा मामिला गरी आठौं समितिमा झमेला गरेर पुनः निर्वाचित भएर आएका पदाधिकारीहरुको सधैजसो उपस्थिति नभएको कुरा बताउँदै काम गर्न नसक्ने खाली पद मात्र ओगटने व्यक्तिहरुले तुरुन्त राजीनामा दिएर अन्यलाई बाटो खुला गर्नुपर्ने कुरा पनि व्यक्त गर्नुभयो ।
आजका यी साना भाइहरुले राम्रो अवसर पाएको खण्डमा राष्ट्रिय टिममा छनौट हुने तथा विभिन्न राष्ट्रियस्तरका क्लबमा आवद्ध हुने मौका मिल्ने कुरा बताउँदै गाउँले परिवेशमा रहँदा आफूले खेलसम्बन्धी चासो राखिरहने भएको हुनाले हाम्रो समाजमा खेलकुदलाई प्राथमिकता दिएकोमा स्वःस्फूर्त सहयोग गरेको केबि सुनुवारले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि दालकुमारी सुनुवारले खेल एउटा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चिनिने माध्यम भएको हुनाले हामीले आफूसँग भएको प्रतिभालाई प्रस्फुटन गर्न सकेमा चर्चाका साथै आर्थिक उन्नति हुने कुरा बताउनुभयो ।
कार्यक्रममा सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले सामाजिक विकासका लागि खेलकुद एउटा सजिलो माध्यम भएको र यसले आजका यी युवाहरुलाई भोलि आफ्नो प्रतिभा प्रस्फुटन गरी विभिन्न राष्ट्रियस्तरका क्लब तथा टिमका पर्दा सुनुवार सेवा समाजले गर्व गर्ने कुरा बताउनुभयो ।
उक्त कार्यक्रमपश्चात सानो गौचरणस्थित खेलमैदानमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतद्वारा कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो । यसै क्रममा नेपालभरिबाट ६३ टिमको सहभागिता रहेको र मार्चपास प्रदर्शनमा ३३ टिम सहभागी भएको कुरा अखिल नेपाल फुटबल संघका बिराटकृष्ण श्रेष्ठले बताउनुभयो । समूह ‘क’ मा रहेको सुनुवार सेवा समाजको पहिलो खेल २०७० बैशाख ५ गते दिनको २ः०० बजे सानो गौचरणमा हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *