All about Sunuwar

जलवायु परिवर्तनसम्बन्धी २ दिने सचेतना कार्यक्रम सम्पन्न

ओआरजी सम्वाददाता
गुप्तेश्वर, रामेछाप । सुनुवार सेवा समाज र जलवायु परिवर्तन रेड परियोजनाको संयुक्त रुपमा आयोजना गरिएको २ दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । रामेछाप जिल्ला गुप्तेश्वर गाविसस्थित श्री कैलेश्वर उच्च माध्यमिक विद्यालय परिसरमा गरिएको कार्यक्रममा सिन्धुली, ओखलढुङ्गा र रामेछापका ३५ जना प्रतिनिधिहरु सहभागी जनाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सुनुवार सेवा समाजका केन्द्रीय उपाध्यक्ष श्री मनप्रसाद सुनुवारले यो जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम सुविधासम्पन्न ठाउँमा मात्र गरिएको र सम्बन्धित सरोकारवालाहरुको पहुँचमा पुग्न नसकेकाले यसपटक सम्बन्धित क्षेत्रमा गर्नुपर्छ भन्ने सोच बनाएर यहाँ कार्यक्रम गरिएको कुरा जनाउनुभयो ।
जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय रणनीति बन्दाखेरी हामीलाई पुनः अधिकारसम्पन्न बनाइदैन कि भन्ने शंका व्यक्त गर्दै विगतमा भएका वनसम्बन्धी नीति नियममा सरोकारवाला आदिवासी जनजातिहरुलाई विमुख बनाएको उदाहरण अगाडि रहेको बताउँदै अबको दिनमा कुनै पनि नीति नियम बनाउँदा स्थानीय सरोकारवालालाई पूर्ण स्वीकृति लिनुपर्ने कुरामा सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमका सहभागी स्थानीय शिक्षक प्रदीप सुनुवारले सुनुवार सेवा समाजले हाम्रो स्थानीयस्तरमा पनि यस्तो कार्यक्रम ल्याएर हामीजस्ता स्थानीयलाई जलवायु परिवर्तनसम्बन्धी अझ थप सचेतना दिनुभएकोमा धन्यवाद दिनुभयो । यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री चन्द्रबहादुर सुनुवारले सधै शहरमुखी बन्दै आएका कार्यक्रम यसपटक हाम्रो सम्बन्धित गाउँमा नै भएकोले अब पनि यस्ता कार्यक्रम गाउँमै आयोजना गर्दा अझ स्थानीय जनताहरु बढी सचेतना हुने कुरा व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहमागी सिन्धुली जिल्ला प्रतिनिधि धनु सुनुवारले सधै सदरमुकाम र शहर केन्द्रित कार्यक्रममा मात्रै सहभागी भएको तर यसपटक गाविसमा कार्यक्रम सहभागी हुँदा अझ प्रभावकारी र सूसुचित भएको कुरा बताउनुभयो । यस सचेतना कार्यक्रममा सिकेका कुरालाई आफ्नो गाउँ तथा जिल्लामा पनि सकेसम्म सचेतना फैलाउने कुरामा प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सुनुवार सेवा समाज ओखलढुङ्गा जिल्ला समितिका सचिव देविभक्त सुनुवारले दुईदिने सचेतना कार्यक्रमले हामीलाई अझ सचेत बनाएको बताउँदै अबका दिनमा आदिवासी जनजातिले अझ सचेत भएर आफ्नो निकट सम्बन्ध रहेको वनलाई संरक्षणमा लाग्नुपर्ने कुरा बताउनुभयो ।
यसैगरी अर्का प्रतिनिधि रामेछाप जिल्ला समितिका सदस्य तोरण सुनुवारले जलवायु परिवर्तनसम्बन्धी जति पनि कुराहरु सुन्दै आएका थियौ आज हामीमाझ यससम्बन्धी कार्यक्रममा सहभागी हुँदा अझ स्पष्ट भएको कुरा बताउनुभयो ।
यसैगरी प्रिति गाउँ समितिका अध्यक्ष सन्जितकुमार सुनुवारले आदिवासी जनजातिले जलवायु परिवर्तनसम्बन्धी कुरा बढी से बढी सूसुचित गराएर सचेतना गराउनुपर्ने कुरामा जोड दिँदै अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि धारा १६९ अनुसारको जल, जमिन र जंगलको पूर्ण स्वामित्व आदिवासी जनजातिमा हुनुपर्ने बताउनुभयो ।
भूजि गाविसका प्रतिनिधि सुनिता सुनुवारले हामी आदिवासी जनजातिको अस्तित्वलाई अझ बचाइ राख्न हामी आफै सचेत हुनुपर्ने कुरामा जोड दिँदै प्रकृतिसँग विशेष सरोकार राख्ने आदिवासीलाई प्रकृतिलाई कसरी बचाउनुपर्छ भन्ने ज्ञान हामीलाई मात्र भएको कुरा बताउनुभयो ।
कार्यक्रममा सुनुवार सेवा समाज रामेछाप जिल्ला समितिका अध्यक्ष श्री रमेशकुमार सुनुवारले जलवायु परिवर्तनसम्बन्धी सचेतना कार्यक्रम आफ्नो जिल्लाको स्थानीयस्तरमा सञ्चालन भएकोमा धन्यवाद दिँदै हामीले आफ्नो अस्तित्व बचाउन हामी आफैं सचेत हुनुपर्ने कुरा बताउनुभयो ।
प्रमुख अतिथि सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष श्री मनप्रसाद सुनुवार तथा सुनुवार सेवा समाज रामेछाप जिल्ला समिति अध्यक्ष श्री रमेशकुमार सुनुवारको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *