All about Sunuwar

किराँत सुनुवार सेवा समाज युकेको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

गत ५ जनवरी २०१३ शनिबारको दिन किराँत सुनुवार सेवा समाज (किसुसेस) युकेको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भयो । संस्थाका अध्यक्ष जंग सुनुवारको सभापतित्वमा बसेको उक्त सभा हेरो लण्डन फुटवल क्लबको हलमा सम्पन्न भएको थियो । अध्यक्ष र महासचिव छत्र सुनुवारले सभालाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
वर्षभरि संस्थाले गर्दै आएको गतिविधि तथा प्रगति प्रतिवेदनलाई महासचिव छत्र सुनुवारले पेश गरेका थिए । यसैगरी कोषाध्यक्ष पूर्णकुमार सुनुवारले आय–व्यय विवरण तथा आर्थिक प्रतिवेदनलाई पारदर्शितापूर्वक प्रस्तुत गरेका थिए । जसलाई सर्व सम्मतिबाट अनुमोदन गरिएको थियो ।
यही आउँदो २०१३ डिसेम्बरमा वर्तमान कार्य समितिको कार्यकाल पूरा हुने र नयाँ कार्य समिति चयन गरिने विषयमाथि वृहत छलफल गरिएको थियो । किसुसेस संस्थाका सल्लाहकार तथा जनजाति महासंघका कोषाध्यक्ष होम सुनुवारले आदिवासी जनजाति महासंघ युकेको उद्देश्यमाथि सविस्तार प्रकाश पारेका थिए ।
सदस्य नवीकरण र नयाँ सदस्यसम्बन्धी नीति निर्धारणको बारेमा पनि वृहत छलफल गरिएको थियो । कार्ययोजनालाई बढी प्रभावकारी र गतिशील रूप दिने उद्देश्यले छुट्टै उपसमिति बनाउनुपर्ने कुरा पारित भयो । उक्त उपसमितिको संयोजकमा प्रकाश सुनुवार छनौट भएका छन् ।
बेलायतमा संस्थाको निजि भवन खरीद गर्ने गुरु योजनालाई मूर्तरूप दिनको निम्ति छिट्टै नै भवन खरीद समिति गठन गरिने कुरा पनि सभामा पारित गरिएको थियो । यसैगरी कार्य समितिका सदस्य र उपस्थित कोइँच बन्धुहरूको बीचमा विभिन्न विषयमाथि अन्तरकृया समेत गरिएको थियो । अध्यक्ष जंग सुनुवारले सभालाई धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन गरेपछि पहिलो चरणको कार्यक्रम समापन भएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा गायिका रेश्मा सुनुवार र गायक अविनास घिसिङलाई स्वागत गर्दैै विदाई सम्मान गरिएको थियो । गत सेप्टेम्वर २७ मा किसुसेस युकेको निमन्त्रणामा यी कलाकारद्वय बेलायत आएका थिए । फार्नबोरो, वैलस, लण्डन, असफोर्ट, फोक्सटन, रेडिङ, निङटङ, आयरल्याण्ड, स्कटल्याण्ड, ग्रेस आदि बेलायतका विभिन्न स्थानमा गीत सङ्गीत प्रस्तुत गर्दै निकै नै व्यस्त रेश्मा र अविनासलाई वरिष्ठ सल्लाहकार मेजर (रिटायर्ड) विर ब. सुनुवारले खादा तथा पुष्प गुच्छाले सम्मान गरेका थिए । यसैगरी संस्थाको तर्फबाट अध्यक्ष जंग सुनुवारले रेश्मा र अविनासलाई प्रशंसा पत्र, नगद उपहार र मायाको चिनो दिएर सम्मान गरेका थिए । अन्तमा राष्ट्रका सङ्गीत विधाका यी दुई चर्चित कलाकारहरूलाई उपस्थित सबैले सम्मान गरेका थिए । यही आउँदो जनवरी १३ तारिख आइतबारको दिन यी कलाकारद्वय स्वदेश फर्कँदै छन् । बेलायतमा सुन्दरता भन्दा पनि सुविधा बढी भएको र नेपालीहरूले नेपाल झल्काएर कला र संस्कृति भाषालाई जोगाउँदै अघि बढेको कुराप्रति आफ्नो सकारात्मक विचार पोखेका थिए रेश्मा र अविनासले । कार्यक्रमको अन्त्यमा आफ्नो पुरानो र नयाँ गीतहरू गाएर निकै मनोरञ्जन दिलाए उनीहरूले । मध्यान्ह १२ः०० मा सुरु भएको कार्यक्रम साँझ ७ः०० बजे समापन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *