टेकबहादुर–विष्णुमाया सुनुवार स्मृति कोषद्वारा भाषाविद् तथा अनुसन्धाता डा. लाल रापचालाई प्रदान ।
काठमाडौं । सुनुवार सेवा समाजअन्तर्गतको टेकबहादुर–विष्णुमाया सुनुवार स्मृति कोषद्वारा प्रदान गरिने भाषा, साहित्य तथा कला पुरस्कार २०८३ भाषाविद् तथा अनुसन्धाता डा. लाल रापचालाई प्रदान गरिएको छ ।
काठमाडौंको कोटेश्वरस्थित सुनुवार सेवा समाज संघीय समितिको कार्यालयमा आयोजित विशेष समारोहमा प्रमुख अतिथि तथा संविधानसभा सदस्य यज्ञराज सुनुवारले डा. रापचालाई दोसल्ला, नगद राशि र सम्मानपत्र प्रदान गर्दै सम्मान गरे ।
सुनुवार सेवा समाज संघीय समितिका अध्यक्ष अमृतबहादुर सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पा, फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवार, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष निमा लामा ह्याल्मो, सुनुवार राष्ट्रसेवक समाजका अध्यक्ष अमरद्विप सुनुवार, सल्लाहकार रणबीर सुनुवार, पूर्वअध्यक्ष मनप्रसाद सुनुवार र संस्थापक सदस्य प्रेमबहादुर सुनुवारलगायतको उपस्थिति थियो ।
सुनुवार (कोइँच) भाषा, साहित्य, संस्कृति तथा अनुसन्धानका क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानको कदरस्वरूप डा. रापचालाई यस वर्षको पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । उनी किराती भाषा, मुन्धुम तथा विशेषगरी सुनुवार भाषा–साहित्यको अध्ययन र अनुसन्धानका लागि परिचित छन् । उनका अनुसन्धानले सुनुवार समुदायको भाषा, इतिहास, संस्कृति र मौलिक ज्ञानको दस्तावेजीकरणमा महत्वपूर्ण योगदान पु¥याएको बताइएको छ ।
समारोहमा सुनुवार समुदायको भाषा, संस्कृति तथा सामाजिक विकासमा योगदान पु¥याएको भन्दै खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पा र फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारलाई समेत सम्मान गरिएको थियो ।
आयोजकले पुरस्कारले सुनुवार भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा योगदान पु¥याउने व्यक्तित्वलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ । कार्यक्रममा वक्ताहरूले मातृभाषा संरक्षण, पुस्तान्तरण र अनुसन्धानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।
