All about Sunuwar

किरात उभौली पर्ब एक, नाम र मनाउने तरीका अनेक

सोम सुनुवार
इलाम, बैशाख ३०/बैशाख पूर्णिमा बुद्ध जयन्ति अनि किरातहरुको उभौली पर्ब पनि । उभौली पर्ब बिभिन्न किरात समुदायले फरक फरक तरिकाले मनाउने गरेका छन् । राई समुदायले ‘साकेला,’ सुनुवार समुदायले ‘स:लिवा–ष्यांदर पिदार’, लिम्बू समुदायले ‘यक्वा तङ्नाम’ र याक्खा/देवान समुदायले ‘चसुवा’ नामले यो पर्ब मनाउदै आएका छन् । त्यस्तै भुजेल समुदायले यस पर्बलाई ‘भुजेली पर्ब’ नामले मनाउने गर्दछन् ।
खेती वालि लगाउने तथा सोको व्यवस्थापन कार्य गर्ने मुख्य र उपयुक्त सिजन हो यो । त्यस्तै जनावर, पंक्षीहरुको प्रजनन समय पनि हो । अथवा भनौ–न्यानो र उपयुक्त भएका कारण सबै खाले जैविक बिबिधताको अश्थित्वकालागि प्रकृतिको बरदान सरह छ यो उभौली सिजन ।
यस्तो अनुकुल समयमा जोकोही हर्षित हुनु स्वभाविक हो । मुख्य गरी आदिवासी किरातहरु परम्परादेखि खेती बालि र पशु पंक्षीसित नजिकको सम्बन्ध राख्दै आएका हुन् । त्यसैले खेतीवालि अनि पशु पंक्षी आदिको बिभिन्न अवस्थाका बारेमा अभिनयात्मक नाच तथा कलाहरु प्रस्तुत गर्दै आएका छन् । जसलाई हामी फरक फरक नामबाट पहिचान गर्दछौं । तर सबै किरातहरुले मनाउने उभौली पर्बको सार भने समग्रमा एकै किसिमको हुन्छ ।
यस पर्बमा किरातहरु प्रकृतिको पूजा गर्दछन् । त्यस्तै कृषि कर्मका बिभिन्न अवस्था र पशु पंक्षीहरुको अभिनयसहितको नाच गानहरुसमेत प्रस्तुत गर्दछन् । उभौली पर्बमा किरातहरुको यो नै मुख्य बिशेषता हो ।
सो अवसरमा आआफ्नो समुदायको निर्धारित धार्मिक थानहरुमा जम्मा भएर एकार्कामा शुभकामना आदानप्रदानसमेत गर्दछन् ।
इलामको सनदर्भमा किरात–सुनुवारहरुले पुवामझुवा–८ को चैतेस्थित ष्यांदर थानमा भव्य रुपमा ‘स:लिवा–ष्यांदर पिदार’ तथा ‘कोइंच सिल’ कार्यक्रमको आयोजना गरेका छन् । सो कार्यक्रमलाई सम्बोधन गर्न सुनुवार सेवा समाज केन्द्रीय समितिका अध्यक्ष मनप्रसाद सुनुवार मङ्गलबार बिहानै इलाम पुगिसकेका छन् । आयोजकका पृथसिंह सुनुवारका अनुसार सुसेस केन्द्रीय समितिका महासचिव उत्तम का:तिचा पनि इलाम आउदै छन् । मेचीको इलाम, पााचथरका बिभिन्न गाउ तथा इकाइहरुबाट सो पर्बमा कोइंचहरुको उल्लेख्य उपस्थिती रहने आयोजकले जनाएको छ ।
उभौली (यक्वा तङ्नाम) को अवसरमा लिम्बूहरुले सदरमुकामको बालान गाउास्थित थानमा मुख्य र अन्य बिभिन्न भागमा पूजाआजा तथा शुभकामना कार्यक्रम गर्दैछन् । किरातको अर्को समुदाय–राईहरुले सदरमुकामको ओपी धारास्थित साकेला थानमा मुख्य र अन्य बिभिन्न गाउहरुमा साकेला पर्ब मनाउछन् । साथमा शाकेला नाच प्रतियोगिता तथा सम्मान कार्यक्रम पनि आयोजना गर्ने यायोक्खा केन्द्रका कृष्ण खालिङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *