All about Sunuwar

हिउं–पानी पर्दा स्थानीयमा खुशी

सोम सुनुवार (काःतिच)
सुनुवार डट ओआरजी, इलाम प्रतिनिधी, ६ फागुन ।
मेची मार्ग अन्तर्गत पाँचथरकोे पौवा भञ्ज्याङ खण्डमा गएको आइतबारदेखि बर्षातसँगै हिमपात भएपछि स्थानीय हर्षित भएका छन् । यसै पनि पौवामा हिउं परेको सुन्नासाथ मेचीका धेरै भागबाट चिप्लेटी खेल्न मानिसहरु ओइरिने गर्छन् । ‘हिउं पर्यो, रिम्स्योन दुम्त (राम्रै भयो)’ स्थानीय रुद्र सुनुवार भन्छन्–‘मानिस आउनु भनेको यहां दमी (रुपैंयां) फल्नु हो ।’ अधिकांश कोइंच र केही मात्रामा शेर्पालगायतको समुदायका मानिसहरुको वसोबासो रहेको छ सो स्थानमा । उनीहरुले होटल अनि व्यापार चलाएका छन् ।
होटल व्यवसाय गर्नेकालागि त राम्रो भयो नै । खेतीपाति गर्ने किसानकालागि पनि हिउं–पानीले अझ खुशी थपेको छ । ‘हिउं पर्यो, यो बर्ष वालिनाली सप्रिन्छ’ पाँचथरकै नाम्दु–मजुवाकी कर्णमाया सुनुवार खुशी व्यक्त गर्दै भन्छिन्,‘ यस भेगमा लगाइएको आलु बालीलाई फाइदा पुगेको छ ।’
यता इलामको बाघखोर, चैते, जौवारी, चनाउटे, नयाँ बजार, माइमझुवालगायत लेकाली भागमा समेत हिउ परेको छ । केही कष्टकर जनजीवनका बाबजुद यहाँका मानिस पनि हिमपातका कारण हर्षित छन् ।
पुवामझुवा–८ का धनबहादुर सुनुवारका अनुसार चैतेमा आलु बालीकालागि राम्रो भएको छ । त्यस्तै सोही गाविस वडा नम्बर–९ की डिल्लीमाया सुनुवारले बिभिन्न थरिका कोपीको नर्सरी गुम्मजमै भएकाले समस्या नभएको बरु अव तत्कालैदेखि वेमौशमी कोपी लगाउन मिल्ने गरी जग्गा भिजेको छ ।
‘लेकतिर हिउ खेल्ने मानिसहरुको आवतजावतले ग्रामीण वजारहरुमा अहिले साना होटलहरु राम्ररी चलेका छन्’ इलाम, बाघखोरकी लालमाया सुनुवार भन्छिन्–‘हिउं पर्दा रमाइलो पनि छ ।’
चिसोमा लाउने अनि खाने र पिउनेको उचित व्यवस्थापन गर्न सके यस्ता व्यापारीक केन्द्रमा बसोवास गर्ने कोइंचले मात्रै नभई सबैले राम्रो आर्थिक लाभ लिन सक्ने सम्भावना छ । यस्तो मौकामा पाहुनालाई ‘फाल्गी’ (सुनुवारी खाना¬¬) खुवाउन सके कति माज्जा आउंथ्यो होला ? तत् क्षेत्रका कोइंचह्ररुले पहिचानसहित यस्ता खाद्य तथा पेय पदार्थ प्रस्तुत गर्नेतिर ध्यान पुर्याउन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *