All about Sunuwar

सुनुवार सेवा समाजको राष्ट्रिय जनगणना– २०६८ सम्बन्धी अभियान

सुनुवार सेवा समाज केन्द्रीय समितिको आह्वानमा देशव्यापि सञ्चालित अभियान “जाति, थर, भाषा, धर्म, संस्कृति आदिवासी कोइँच सुनुवारको पहिचान, राष्ट्रिय जनगणनामा सही सूचना दिई गरौं आफ्नो पहिचान” भन्ने नारासहित “राष्ट्रिय जनगणना– २०६८ सम्बन्धी सचेतना अभियान कार्यक्रम” सुनुवार सेवा समाज सिन्धुली जिल्ला कार्य समितिको आयोजनामा सम्पन्न भयो ।
उक्त सचेतना अभियान कार्यक्रम सुनुवार सेवा समाज सिन्धुली जिल्ला कार्य समितिका कार्यवहाक अध्यक्ष श्री तोरणबहादुर सुनुवारज्यूको सभापतित्व केन्द्रीय समितिका अध्यक्ष मनप्रसाद सुनुवार, महासचिव खडोस सुनुवार, केन्द्रीय सदस्य समीर मुखिया (सुनुवार)को उपस्थितिम सञ्चालन भएको हो ।
सुनुवार सेवा समाज सिन्धुली जिल्ला समितिको आयोजनामा भएको उक्त कार्यक्रममा आमन्त्रण गरिएको जिल्ला सदरमुकामदेखि अभेगका सुनुवार समुदाय बसोबास गरिरहेका गाविसका सुनुवार अघिल्लो दिनको वर्षात्का कारण प्रतिनिधिहरू उपस्थिति हुन नसकेको आयोजक समितिले बताउनुभयो । उहाँहरू अनुपस्थित भए तापनि छलफल तथा अन्तरक्रिया कार्यक्रमबाट प्राप्त निचोडलाई र जनगणनामा सुनुवार समुदायले लेख्नुपर्ने मुख्य मुख्य विषयहरूलाई बुँदागत रूपमा टिपोट गरी पत्राचार गरिने र सम्भव भएसम्म उहाँहरू आफैं त्यस भेगमा गएर जनचेतना जगाउने कुरा आयोजक समितिले प्रष्ट पार्नुभयो ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले सुनुवार सेवा समाजको आगामी दिन निकै चुनौतिपूर्ण रहेको बताउँदै “निकट भविष्यमै सुरू हुने राष्ट्रिय जनगणनामा प्रत्येक सुनुवारले आफ्नो जातिको महल ‘कोइँच सुनुवार’, थरको महलमा ‘आ–आफ्नो थर जस्तैः क्याःबा, मुलिचा, जेस्पुचा, नोम्लिचा, ब्डमिचा, कोर्मोचा, दसुचा, याता, विज्ञा आदि’ र विवाहित महिलाको हकमा ‘माइतिमा रहँदाको थर’, धर्ममा– ‘किरात’, सुनुवार भाषामा ‘सुनुवार’ र दोस्रो भाषामा ‘बाहिङ’ लेख्न कहिल्यै नबिर्सनुहोला” भन्दै “आफ्नो घरको आर्थिक अवस्था, सामाजिक अवस्था, रिति–रिवाजहरू खुलस्त रूपमा यथारूपमा बताउनुहोला” भन्नुभयो ।
यसैक्रममा उहाँले सुनुवार सेवा समाजका जनगणना २०५८ को तथ्याङ्क अनुसार ९५२५२ जनसङ्ख्या देखाएको भए तापनि यसअघिका सुनुवार सेवा समाजका पदाधिकारीहरूले सदस्यता वितरण त्यसको डाटा अपडेट गरेको पाइएन । जुन सही हुन वा गलत ५०० जति सदस्य रहेको लिस्ट पाइयो त्यो जथाभावि रूपमा फालिएको पाइयो । यसैले अबको दिनमा प्रत्येक गाउँ समितिले साधारण÷आजीवन सदस्य वितरण गरी त्यसको एकप्रति सुनुवार सेवा समाज जिल्ला समितिलाई र एकप्रति केन्द्रलाई पठाई सदस्यता सङ्ख्या यकिन र सही तथ्याङ्क राख्नको लागि सहयोग गर्नुहुन पनि अनुरोध गर्नुभयो । यसरी सही सदस्यता सङ्ख्या संस्थामा ‘अप–टु–डेट’ राख्न सकियो भने आगामी दिनमा सुनुवार सेवा समाजमा कुनै किसिमको झन्झट नहुने बताउनुभयो । उहाँले– ‘अहिले केन्द्रीय समितिको जुन विवादित कुराहरू सुनिरहनुभएको छ, त्यो परिणति भनेको सदस्य सङ्ख्या सही तथ्याङ्क नहुनु, गलत किसिम र मनोमानी ढङ्गले संस्था सञ्चालन गर्न खोज्नुको परिणति हो’ भन्दै ‘तर उहाँहरूले त्यसलाई तोडमोड गर्दै राजनीतिक रूपले अगाडि बढिरहनुभएको छ जसको सोझै अर्थ सुनुवार सेवा समाजलाई पार्टीको मुखुण्डो बनाउन खोज्नुतर्फ उद्दत भइरहेको देखिन्छ’ भन्नुभयो ।
सुनुवार सेवा समाजको उद्देश्यलाई छर्लङ्ग पार्दै उहाँले– “त्यसैले तपाईंहरूले आफ्नो प्रत्येक गाउँ समितिमा साधारण÷आजीवन सदस्यहरू तदारूकताका साथ बनाउनुहोस् । गाउँ समिति, जिल्ला समिति, नगर समितिलाई चुस्तदुरूस्त राख्नुहोस् । केन्द्रीय समितिले आह्वान गरेको साधारण सभा÷राष्ट्रिय सम्मेलनमा सम्बन्धित गाउँकै पदाधिकारी÷प्रतिनिधिहरूले भाग लिनुहोस् । यसरी भाग लिनुभएको खण्डमा केन्द्रीय समितिले गरेको निर्णय, नीतिगत कुराहरू, प्रगति प्रतिवेदनहरू सोझै तपाईं समुदायहरू माझ आइपुग्छ र केन्द्रीय समितिलाई भावी, नीति तथा योजनाहरू निर्माण गरी सहज रूपमा कार्यान्वयन गर्न सजिलो हुन्छ । अहिलेको जस्तो राजधानीमा बसेर गाउँको प्रतिनिधि बनेर साधारण सभा÷राष्ट्रिय सम्मेलनमा भाग लिने, हलमा आफूलाई राजनेताजतिकै सम्झिने, होहल्ला गर्ने, अनावश्यक प्रश्नाहरू खडा गर्ने, सभा÷सम्मेलन समापनपछि निस्क्यो, त्यसपछि न त केन्द्रीय समितिले सभा÷सम्मेलनबाट पास गरेका कुराहरू गाउँ अर्थात् सम्बन्धित निकायमा आइपुग्न पाउँछ न त केही जानकारी नै पाउन सक्छ । केन्द्रले पारित गरेको नीतिगत कुराहरू पनि राजधानीमा बसेर गाउँको प्रतिनिधित्व गर्ने नक्कली प्रतिनिधिकै हातमा पोका परेर थन्किन्छ । त्यसपछि ऊ फर्केर न त केन्द्रीय समितिमा कुनै चासो राख्न आउँछ, न त गाउँ समिति अर्थात् माताहतका समितिलाई जानकारी गराउँछ एकैपटक अर्को सभा÷सम्मेलनमा उही व्यक्ति भाग लिन आइपुग्छ । केन्द्रीय समितिसँग मातहतका समितिहरूसँग सम्बन्ध÷सम्पर्क÷खबर हुन नसक्नु नै यही कारण हो ।”
यसैगरी महासचिव खडोस सुनुवारले केन्द्रीय समितिको स्थापनाकालदेखि वर्तमान अवस्थासम्मका कार्य समितिहरूले विविध कार्यक्रमहरू लगायत ठोस रूपमा भएका कार्य प्रगतिका बारेमा विस्तृत जानकारी दिनुभयो । र, सुनुवार समुदाय रहेका गाउँ, क्षेत्रका विद्यालयहरूमा सुनुवार भाषाको ऐच्छिक पाठ्यपुस्तक कसरी पठन पाठन गर्न सकिन्छ भन्ने सम्बन्धमा नीतिगत कुराहरू जानकारी गराउनुभयो ।
अर्का केन्द्रीय सदस्य समीर मुखिया सुनुवारले सुनुवार सेवा समाज केन्द्रीय समितिले हालसम्म वितरण गरेको सदस्यतालाई स्थगित गरी नयाँ ढङ्गबाट रसिद र सदस्यता–पत्र वितरण गरिने रणनीति अपनाएको जानकारी गराउनु भयो । यसभन्दा अघि वितरण गरिएका सदस्यता रसिदहरूलाई वैज्ञानिक तरिकाबाट तथ्याङ्किकरण गर्न गारो पर्ने र आफ्नो सदस्यताबारे सदस्यले पनि अनभिज्ञ रहनुपर्ने जटिल समस्यालाई मध्यनजर गरी अबको दिनमा जिल्ला, गाउँ र नगर समितिका साधारण÷आजीवन सदस्यले आफ्नो सदस्यता अद्यावधि छ÷छैन भन्ने कुरा आफैंले थाहा पाउने किसिमले डिजिटल सिस्टमबाट सदस्यता–पत्र वितरण गरिने जानकारी दिनुभयो । आइ.एल.ओ अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि १६९ तथा यू.एन.ड्रिप. घोषणा–पत्रलाई आधार मानेर आदिवासीको स्थानीय भूमि तथा प्राकृतिक स्रोतको अधिकार स्वयम्मा नै हित रहनुपर्ने आधार तथा संघीयताको परिकल्पनाबमोजि परिचय–पत्र वितरण गरिने जानकारी गराउनुभयो ।
उक्त सचेतना कार्यक्रममा स्वागत मन्तव्यका क्रममा सुनुवार सेवा समाज सिन्धुली जिल्ला समितिका सल्लाहकार एवं नेकपा एमाले सिन्धुली जिल्ला समितिका उपाध्यक्ष टंकमाया सुनुवारले केन्द्रले यस्तो महत्वपूर्ण जानकारी लिएर आउनुभएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । यसअघिका जुनसुकै कार्यसमितिका पदाधिकारीहरु यदाकदा आए तापनि अनौपचारिक रुपमा आउने र संस्थासम्बन्धी ठोस नीतिगत जानकारीहरु नदिइ फर्केकोमा गुनासो व्यक्त गर्दै नवनिर्वाचित पदाधिकारीहरुले यस्तो व्यवहार नगर्न अनुरोध गर्नुभयो ।
अर्का वक्ता केन्द्रीय सदस्य एवं सुनुवार सेवा समाज सिन्धुली जिल्ला समितिका सल्लाहकार नरबहादुर सुनुवारले सुनुवार सेवा समाज सिन्धुलीको भए गरेका विवरणहरु प्रस्त पार्नुका साथै विविध समस्याहरु दर्शाउनुभयो । २०४८ सालमा सुसेसको कार्यालय स्थापना भए तापनि हालसम्म आफ्नो भवन नभएको दुखेसो राख्दै जग्गादाता सिन्धुलीबासीको पहलमा उपलब्ध गराउने र भवनको लागि केन्द्रले पहल गरिदिन आह्वान गर्नुभयो । यसैगरी सुनुवार समुदायको महत्वपूर्ण पर्व शाँदार थानको लागि सल्लाहकार एवं नेकपा एमाले सिन्धुली जिल्ला समितिका उपाध्यक्ष टंकमाया सुनुवारले एक कठ्ठा जग्गा उपलब्ध गरिदिनु भइ चन्दी स्थापना गरिएको भए तापनि उक्त जग्गा संस्थाको नाममा नामसारी गर्न र चन्दी व्यवस्थापन गर्नका लागि आर्थिक कठिनाइ परेको हुनाले केन्द्रीय समितिले सम्बन्धित निकायमा पहल गरिदिनुहुन अनुरोध गर्नुभयो ।
अर्का वक्ता बस्तीपुर गाउँ समितिका पूर्व प्रधानाध्यापक कृष्णमुरारी सुनुवारले सुनुवार सेवा समाज आउने समय अहिले होइनजस्तो लाग्यो, समाज स्थापनाकालदेखि नै जिल्ला, गाउँ भ्रमण गरी संगठन विस्तार गर्नुपथ्र्यो भन्दै “जरा राम्रो फैलिए मात्र रुख दह्रो हुन्छ । त्यसैगरी जिल्ला, गाउँ समितिहरु सशक्त भएमात्र केन्द्र बलियो हुन्छ । ढिलै भए पनि आफ्ना मातहातका संस्थालाई सम्झेर सशक्त बनाउन आउनुभएकोमा धन्यवाद छ” भन्नुभयो ।
यस्तैगरी बस्तीपुरकै बासिन्दा ढोडेनी निमाविका प्रअ महिन्द्रबहादुर सुनुवारले जनगणनाको लागि सिन्धुली जिल्लामा केन्द्रीय तथ्यांक विभागको तर्फबाट निर्वाचन क्षेत्रअनुसार तीनवटा स्टेशन खडा गरिसकेको छ । त्यसबाट हामीलाई पनि केही तालिमहरु दिइसकेको छ । जसमध्ये सुनुवारको कुरा पर्दा सुनुवारको भाषा के हो ? भनी प्रश्न गर्ने र “सुनुवार” भनी जवाफ आएमा “सुनुवार भाषा आउँछ ?” भन्ने प्रतिप्रश्न गर्दा समस्या आइ पर्ने देखिन्छ । यही कारणले पनि अबको राष्ट्रिय जनगणना २०६८ बाट पनि सुनुवारको सही तथ्यांक आउनेमा शंका छ । यसलाई केन्द्रदेखि नै सशक्त रुपमा पहलकदमी गरी निदान गर्नुपर्ने सुझाव दिनुभयो ।
अर्का वक्ता भारतीय गोर्खा सैनिकका सुवेदार मेजर उत्तरबहादुर सुनुवारले आफू भारत सरकारको सेवामा रहे पनि आफ्नो भाषा, संस्कृतिलाई कहिल्यै भुल्न नसकिने कुरा व्यक्त गर्दै सुनुवार हुनुमा गर्व लागेको बताउँदै सेवा निवृत्तपश्चात आफ्नो जाति, भाषा र संस्कृतिलाई टेवा पुग्ने कार्य गर्ने कुरा व्यक्त गर्नुभयो ।
अर्का वक्त प्रधानाध्यापक दुर्गादेवी सुनुवारले पनि राष्ट्रिय जनगणना २०६८ लाई सफल बनाउन केन्द्रदेखि यसरी खटिनु भएकोमा धन्यवाद भन्दै केन्द्रको निर्देशन अनुसार आ–आफ्नो क्षेत्रबाट सकेसम्मको बुद्धि–विवेक प्रयोग गरी सफल बनाउन मद्दत गर्ने बताउनुभयो ।
अर्का वक्ता एवम् महिला वौद्धिक वर्गबाट आफ्नो मन्तव्य व्यक्त गर्ने क्रममा अजनवी सुनुवारले सुनुवार सेवा समाज सिन्धुली जिल्ला समितिको आफ्नो कार्यालय नभएकोले समाजको हितमा विभिन्न क्रियाकलापहरू गर्न कठिनाई भइरहेको बताउनुभयो । सुनुवार सेवा समाजको आफ्नो हल तथा कोठा भइदिएको भए महिला दिदीबहिनीहरूका आर्थिक आयआर्जनका सीपहरू, सुनुवार जातिको सांस्कृतिक भेषभुषाका सिलाईबुनाई तथा नृत्यको प्रशिक्षणसमेत दिन सकिन्थ्यो ।
यसैगरी श्री शारदा निमाविका प्रधानाध्यापिका श्री दुगादेवी सुनुवारले सुनुवार सेवा समाजले संस्थागत कार्यनीति केन्द्रीय तहबाट जिल्ला तथा गाउँ समितिलाई स्पष्ट निर्देशन नगरिएको गुनासो राख्दै स्थानीयस्तरमा हुने कार्यक्रममा हामीले सशक्त रुपमा कार्यक्रम गर्न नसकेको बताउनुभयो । साथै केन्द्रीय स्तरबाट प्रकाशन हुने विभिन्न प्रकाशनहरु मातहात समितिमा आइ नपुगेकोले अबका समितिले संस्थागत प्रकाशनलाई सम्पूर्ण मातहातमा समितिमा पुग्ने व्यवस्था गर्नुपर्ने कुरा पनि राख्नुभयो ।
उक्त कार्यक्रम सुनुवार सेवा समाज सिन्धुली जिल्ला समितिका सचिव श्री रामकुमार सुनुवारले सञ्चालन गर्दै सिन्धुली जिल्लामा बसोबास गरिरहेका सुनुवार समुदायको भौगोलिक वातावरणलाई प्रष्ट पार्नुभयो । संस्थाले हालसम्म गरेको गतिविधिहरुलाई मौखिक रुपले प्रस्ट पार्दै लिखित रुपमा केन्द्रीय समितिलाई पठाउने जानकारी गराउनुभयो । कार्यक्रममको सभापतित्व गरिरहनुभएका सुनुवार सेवा समाज सिन्धुली जिल्ला समितिका कार्यवाहक अध्यक्ष श्री तोरणबहादुर सुनुवारले केन्द्रबाट पाल्नुभएका अतिथिहरुको समयको पावन्दीलाई ख्याल गर्दै धेरै बोल्न मन लागे पनि कतिपय कुराहरु अग्रिम वक्ताहरुले बोल्नु भइदिएकोमा धन्यवाद भन्दै अबका दिनमा सुनुवार सेवा समाज केन्द्रीय समिति र यस जिल्लालगायत अन्य जिल्ला समितिहरु गाउँ समितिहरु र नगर समितिहरुसँग हातमा हात काँधमा काँध मिलाएर सशक्त रुपमा अगाडि बढ्नुपर्ने धारणा राख्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *