Recent Comments

कोइँचको सूचना प्रणालीको आवश्यकता किन?

-काःतिच
आधुनिक समयमा हरेक चीज, ज्ञानलाई व्यवसायिक गर्दै लैजाने प्रचलनको विकास भएको छ । पहिला हरेक धर्म, संस्कार तथा जातजातिहरुको ज्ञानहरु गोप्य राख्ने चलन थियो । आजकाल समयानुसार हरेक चीज र ज्ञानको व्यवस्थान ढाँचा फेरिएकोे छ । कुनै समय अग्लो डाँडाबाट कटुवाल बोलाउँदा जम्मा हुने चलन थियो । मान्छे पठाएर उर्दी लगाउने चलन थियो । चोक गल्लीगल्ली, चौबाटो, सार्वजनिकस्थलमा सूचना टाँसेपछि मान्छेहरु जम्मा हुने सम्बन्धित ठाउँमा पुग्ने जमना पनि थियो । तर अहिले धेरै कुराहरु परिवर्तन भएर कतिपय प्रचलनहरु समयानुसार आधुनिक सञ्चार प्रणालीसँग सम्मिलन भए भने कतिपय लोप भएर गएका छन् । कतिपय आदिवासी जनजाति सूचना सञ्चार प्रणाली राज्यको कोल्टे नीति निर्माणका कारण पनि लोप भएर गए ।
वर्तमान परिप्रेक्ष्यमा आदिवासी जनजाति कोइँच पहिचानको लागि परम्परागत मौलिक प्रणाली अति आवश्यक छ । अभैm पनि कोइँच समाजमा रेडियो, टेलिभिजन, पत्रपत्रिकाको सूचनालाई आधार मानेर आफ्नो उपस्थिति जनाउने गरेको पाइँदैन न त एसएमएस, इमेल, चिट्ठीबाट दिएको सूचनालाई आधार मानेर कामकारवाही अगाडि बढाएका नै छन् । उनीहरुमा अभैm पनि यी माध्यममा पूर्ण विश्वास नरहेको अनुभूति गर्न सकिन्छ । सम्बन्धित मानिस वा आधिकारीक प्रतिनिधिको उपस्थितिलाई मात्र विश्वासनीय ठान्ने चलन भएको हुँदा पनि राज्यले पस्केको कतिपय महत्वपूर्ण सूचनाबाट कोइँचहरु बञ्चित छन् । कतिपय राज्यको सूचना प्रणाली आदिवासी जनजातिमैत्री छैनन् । आधुनिक सूचना प्रणालीबाट प्रसारित सूचनामा कोइँचको पहुँच पुग्न सकेको छैन ।
आधुनिकताको बल मिचाइमा च्यापिएको कोइँचहरुको परम्परागत सूचना सञ्चार प्रणालीलाई पनि समयानुसार व्यवसायिकरण गर्न सकिएको अवस्थामा चौतरो निर्माणमा मृतकको हुवाहु चित्र कपेर अक्षर लेख्नु, टोपी, रुमाल, थैली, क्योङ, माचिङ्गा, बर्को, फिपि, तोलो, सिप्रीङ्गे बुनेर प्रेमीप्रेमिका वीच चिनो साट्नु, ढोल झ्याम्टा, पुद्हरु बजाएर विभिन्न चाडपर्व र अवसरहरुमा गीत गाउँदै रमाइलो गर्नु जस्ता संस्कारगत सञ्चारमाध्यमलाई राज्य र सम्बन्धित निकायले चासो दिने हो भने आदिवासी जनजाति कोइँचको सूचना सञ्चार प्रणालीले पनि राज्यको सूचना सञ्चारमा मात्रै होइन देशको आर्थिक, साँस्कृतिक र राष्ट्रिय गौरबको लागि उपलब्धिमूलक काममा टेवा दिन सक्ने थियो ।
राज्यले योजनाबद्धरुपमा आदिवासी जनजाति कोइँच सूचना सञ्चार प्रणालीलाई सञ्चार क्षेत्रमा मात्र नभएर साँस्कृतिक पर्यटनको रुपमा समेत विकास गरी आदिवासी जनजाति सूचना सञ्चार प्रणालीबाट अधिकतम लाभ लिन सक्ने छ ।
यस सन्दर्भमा राज्यले विशेष किसिमको नीति तथा कानुन बनाई आदिवासी जनजाति सूचना सञ्चार प्रणालीको अध्ययन गरी मान्यता दिन सकेको अवस्थामा आदिवासी जनजाति सूचना तथा सञ्चार प्रणालीले आधुनिकतामा फड्को मार्दा राज्यको हितानुकूल नै हुने छ । आदिवासी जनजातिको सूचना सञ्चार प्रणालीलाई राज्यको मुलाधारको सञ्चार प्रणालीसँग जोड्दा सामाजिक जीवनशैलीमै असर पर्दछ । जसले मानिसको सोच्नेशैलीमै परिवर्तन हुनेछ । नेपाली मौलिकपनको साख बाँचीरहने छ ।
आधुनिक सूचना पत्रिका पसल, घर, चिया पसल, प्रहरी चौकी, सरकारी तथा गैर सरकारी कार्यालय, प्रेस विज्ञाप्ति, टि.भी. वा रेडियो, मोबाइल, चौतारो, वाचनालय पसलमा पाइन्छ । तर विश्वास्नीयता भने कम हुन्छ । हल्लीखल्ली मच्चाउन, सस्तो प्रचार र चर्चा कमाउन आधुनिक सञ्चार प्रणाली आवश्यकता भए पनि भरपर्दो र विश्वासनीयताको लागि आदिवासी जनजाति सञ्चार प्रणालीको विकल्प देखिन्न । आधुनिक सञ्चार प्रणालीको प्रयोग गर्न सकिएला तर विश्वासनीयता र प्रमाणिकताको लागि भने आदिवासी जनजातिको परम्परागत मौलिक सञ्चार प्रणाली अपरिहार्य देखिन्छ ।

Share

Leave a Reply

Enable Roman to Nepali languages (To type in English, press Ctrl+g OR just Click on the letter)

Subscribe
Archives
Facebook