All about Sunuwar

सुसेस मलेशियाको प्रथम सम्मेलन सम्पन्न

malayसुनुवार डट ओआरजी संवाददाता ।
क्वालालम्पुर, २६ माघ । सुनुवार सेवा समाज मलेशिया शाखाको प्रथम सम्मेलन सम्पन्न भएको छ । चिनिया नयाँ वर्षको अवसरमा जोहोरबारुस्थित ठूलो शहरमा अवस्थित आमन्सरी होटलमा सम्पन्न सम्मेलनले गंगाबहादुर सुनुवारको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ । मलेशियास्थित विभिन्न पेशामा आवद्ध रहेका सुनुवारहरु भेला भएर आफ्नो समुदयको हितका लागि गत वर्ष देवराज सुनुवारको संयोजकत्वमा संगठित भएका थिए ।
सम्मेलनमा शुभकामना मन्तव्यको क्रममा नेपाल मगर संघ मलेशियाका सल्लाहकार गोपाल रानामगरले आदिवासी जनजातिहरुका लागि राज्यले छुट्याएको बजेटको सक्दो उपयोग गर्नुपर्ने कुरा बताए । शुभकामना मन्तव्यको क्रममा संघीय लिम्बुवान मलेशियाका अध्यक्ष मातृका धिमालले राज्यको विभेदकारी राजनीतिका कारण आदिवासी जनजातिको विकास हुन नसकेको कुरा बताउँदै आविासी जनजातिलाई राष्ट्रिय राजनीतिमा समावेश नगरिएकै कारण पछाडि परेको जिकिर गरे ।
त्यस्तै आदिवासी जनजाति महासंघ मलेशियाका उपसचिव मिना तामाङ, हेभन्ली निर्वाणा पाथका अध्यक्ष एन्जेल सुनुवारले शुभकामना मन्तव्य दिएका थिए भने मलेशिया शाखा उपाध्यक्ष लालविर सुनुवारले स्वागत भाषण तथा गोकर्ण सुनुवार सुनुवार इतिहासको बारेमा चर्चा गरेका थिए । त्यस्तै समाजका संस्थापक टेकबहादुर सुनुवार (जोहन)ले आदिवासी जनजातिहरुको एकताको खाँचो रहेको कुरा बताउँदै साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने सम्पूर्ण कलाकारहरुलाई धन्यवाद दिए ।
सम्मेलनका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ मलेशियाका सदस्य भिम तामाङले मलेशियामा रहेका जुनसुकै संघसंस्थाहरु आपसी सहयोगका लागि सक्रिय रहनुपर्ने कुरा जोड दिँदै यहाँको राजनीतिमा हामी सजकता अपनाएर काम गर्नुपर्ने बताए ।
सम्मेलनका सभापति देवराज सुनुवारले पहिचान र समानताका लागि प्रतिबद्धता नारालाई सार्थक बनाउन देश विदेशमा रहेका सम्पूर्ण सुनुवारहरु जागरुक हुनुपर्ने कुरा बताए । सम्मेलनमा मलेशियास्थित विभिन्न जातीय संघसंस्थाका ३० भन्दा बढी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने विविध साँस्कृतिक कार्यक्रम तथा नृत्य पनि प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *