July, 2021

now browsing by month

 

लुतो र राँकेसँगै वेथिति र वेइमानीलाई पनि फाल्ने कि !

– जेँःत–आम शोभा सुनुवार
कोइँच सुनुवार समुदायमा बिशेष अर्थ बोकेको विशेष दिन साउन एक गते । यो दिनलाई कोइँच समुदायमा छुट्टै तरिकाले मान्ने चलन छ । यस दिनलाई राँके पिदार पनि भनिन्छ । धान रोपाइँको मैजारोको दिनको रुपमा पनि लिने गरिन्छ । असारको झरीमा रोपाइँ सकेर सबै परिवार एकसाथ बसेर रमाइलो गरि मिठो मसिनो पकाएर खाने चलन छ । कामको व्यस्तताले परिवारमा एकआफसी टाढा भएको अवस्थामा राँके पिदारले नजिक बनोने काम गर्छ । पारिवारिक दूरी कम गरी सामिप्यताको अनुभूति प्रदान गर्छ ।
झरी–बादल हिलो–माटोसँग पौंठेजोरी खेल्दै थकित ज्यानलाई आराम दिन बिहानै नुहाई धुवाई गरी सफा भई लुतो फाल्ने हिन्दू चलन भएपनि कोइँच समुदायमा भने बालीनालीमा रोग नलागोस् भनेर राँकेको आराधना गरि विदाई गर्ने एक बिशेष दिन हो । राँके भनेको मकैबाली लगायत अन्यबालीमा डढ्ने रोग लगाउने एक वृद्धाको रुप हो । यस दिने राँके बुढालाई एरि प्लेत नामक विशेष किसिमको कोइँच खाना पकाइ चढाउने र त्यही खाना सबैले राँकेको प्रसादका रुपमा खाने चलन छ । प्लेत वा एरि बनाउँदा गहुँको पिठोलाई डो बनाएर केही समय राखिन्छ अनि त्यसलाई दुई हातले एरि वा प्लेत बनाई पानीमा उसिन्नुपर्छ । यसरी उसिनेको एरि वा प्लेतलाई तारेर इच्छानुसारको मसला राखी घिउमा भुटेर आलुको चानासँग खाने चलन छ । प्लेत वा एरि लाम्चो अकारको हुन्छ । साउन १ गते जसले प्लेत वा एरि खाँदैन उसलाई राकेँ बुढाले राती सुतेको बेला पोद (गड्यौँला) खुवाउँछ भन्ने भनाई छ । राती सुतेको बेला राँके बूढाले घरघरमा घुमेर जोख्छ, जसको वजन कम हुन्छ उसलाई राके बुढाले सजिलै उठाएर लान्छ भन्ने सजिलै उठाएर लान्छ भन्ने जनविश्वास छ । जसले एरि वा प्लेत खाँदैन त्यो मान्छेलाई राँके बुढाले गड्यौला खुवाउँछ भन्ने पनि चलन छ । त्यसैले साउनको पहिलो दिन सबै कोइँचको घर घरमा प्लेत पाकेकै हुन्छ ।
राती प्लेत खानेबेला पहिला राँके बुढालाई खुशी पार्ने र सबै दुःखकष्ट हरण गरिदिन अनुनय विनयसँगै घरभित्रबाट बाँसको सिटा बालेर राकेँलाई विदाइ गर्ने चलन छ । त्यसरी फालेको सिटालाई सँगालेर जतनसाथ राखेर माघ १ गतेका दिन खिर पकाएर नयाँ वर्ष मनाउँदै सामिबु पिदार मनाउने चलन यथावत छँदै छ । हिन्दू परम्परामा आइन परिवर्तनको दिन पनि हो साउन १ गते । आजैबाट हिउँद लागेको मानिन्छ । आजको दिन विशेगरेर गोर्माली पकाएर खाने चलन पनि छ । नयाँ दुधे मकैको फेक्लो पीठो बनाएर भुँबुरचाँदे र सेलरोटी पकाएर खाने पनि गरिन्छ । हुने खानेले सुँगुर काटेर भोज पनि गर्दछन् । नजिक भएका चेलीबेटीहरुलाई बोलाएर टिका लगाई दक्षिणा दिने र पाल्ने गरिन्छ ।
परम्परा र संस्कृतिका धनी कोइँच समुदायमा राँके पिदार गरेपछि रातभरि राँके जात्रा भर्ने चलन छ । यसरी राँके जात्रा भर्दा जुवातास खेल्न, जुवारी खेलेर नाचगान गर्न सबैलाई छुट हुने गर्दछ । राती निदाउँदा राँके बुढाले जोख्ने र जोख्दा तौल पुगेन भने राँके बुढाले लान्छ अर्थात् मरिन्छ भन्ने जनविश्वासको कारण पनि रातभरि नाचगान गर्ने र अन्य रमाइलो गर्ने गरिएको हो । तर यस्ता परम्परागत कोइँच संस्कृति अहिले लोप हुँदै गएको छ । राज्यमा संघीयता आयो भनिन्छ तर कोइँच गाउँघरको लागि गाउँगाउँमा सिंहदरवारको बेथिति र बेइमानी मात्रै पुगेको छ । अहिलेसम्म कुनै पनि कोइँच गाउँमा न साँस्कृतिक सर्भेक्षण भएको छ न मातृभाषामा शिक्षा लागु गरिएको छ । एकतिर हामी कोइँच भाषा संस्कृतिको संरक्षणको वारेमा कराइरहेका छौं अर्कोतिर दिनदिनै संस्कृति लोप हुँदै छ । संस्कृति संरक्षणको मिहिनेत बालुवामा पानी हालेसरह भएको छ । राँके र लुतो फाले जस्तै हामीसँग भएका वेथिति, बेइमानी र भ्रष्ट्राचारलाई पनि सबै मिलेर आजैदेखि फाल्ने पो हो कि !
–कुपिण्डे, लिखु तामाकोशी १, रामेछाप । हाल ः काठमाडौं ।

Share

छात्रवृत्ति कोष स्थापना : कोइँच पहिचानको लागि नयाँ पुस्तालाई लगानी

–काःतिच
आज दुईवटा छात्रवृत्ति कोष बालहरि सुनुवार स्मृति कोष र नव टंकराम सुनुवार स्मृति कोष स्थापना भएको छ । उक्त कोषको लागि एक एक जना गरिव, जेहन्दार र फरक क्षमता भएको विद्यार्थी खोजी छनौट गरि छात्रवृत्ति वितरण गर्न सुनुवार सेवा समाज र कोषको सम्झौता भएको छ । लिखुतामाकोशी गाउँपालिका वडा नं. १ का हरिकाजी सुनुवारले आफ्नो बुबा जेँःतिच हरिबहादुर सुनुवारकाे पुण्य तिथिको अवसरमा आमा जेस्पुच बालकृष्ण सुनुवारसहितको स्मृतिमा उक्त कोष स्थापना गरेका हुन् । त्यसैगरि उमाकुण्ड गाउँपालिका वडा नं. ७ का मनोजकुमार सुनुवारले आफ्नो बुबाआमा बुजिच मुलिच रामबहादुर सुनुवार र थोलोच टंकमाया सुनुवार साथै अल्पआयुमै असमायिक निधन भएका भाई बुजिच मुलिच नवराज सुनुवारको स्मृतिमा गरिव, जेहन्दार र फरक क्षमता भएको एक जना विद्यार्थीलाई छात्रवृत्ति वितरणको लागि कोष स्थापना गरेका हुन् ।
सुनुवार सेवा समाज संघीय समितिसँग गरेको सम्झौतानुसार आउँदो वर्षदेखि आधारभूत विद्यालयका एक एक जना विद्यार्थीलाई नियामितरुप उच्च माध्यामिक शिक्षासम्मको लागि उक्त छात्रवृत्ति प्रदान गरिने कोष स्थापनाको लागि पहल गर्ने संघीय समितिका कोषाध्यक्ष शोभा सुनुवारले वताउनुभयो ।
सुनुवार सेवा समाजले कोइँच पहिचानको लागि बालबालिकाहरुको शैक्षिक विकासमा लगानी गर्नुपर्ने योजना तथा कार्यक्रम बनाएको हुँदा यस्ता काेषकाे स्थापनाले आम काेइँच बालबालिकाहरु लावन्धित हुने विश्वास लिएकाे संघीय समितिका अध्यक्ष रणवीर सुनुवारले बताउनुभयो । अहिलेसम्म सुनुवार सेवा समाजको सिफारीसमा पाँच जना विद्यार्थीहरुले स्नातक गरिसकेका छन् भने तीन जना विद्यार्थीहरुलाइ स्नाकोत्तर तहमा अध्ययन फेलोसिप समेत प्रदान गरिसकेको छ ।
मानबहादुर–विष्णुमाया सुनुवार स्मृति शैक्षिक कोष, बालहरि सुनुवार स्मृतिकोष, नव टंकराम सुनुवार स्मृति कोष गरी तीनवटा शैक्षिक कोषले सुनुवार सेवा समाजसँग सहकार्यका लागि सम्झौता गरिसकेका छन् । सुनुवार सेवा समाजले पहिचानको लागि बालबालिकाहरुको बौद्धिक विकासमा लगानी गर्नुपर्ने अभियान सञ्चालनको घोषणा गरेको छ ।
सुनुवार विद्यार्थी समाजले पनि सिंगपुर पुलिस फोर्समा कार्यरत कोइँचहरुको सहयोगमा छात्रवृत्ति कोषबाट कोइँच विद्यार्थीहरुलाई सहयोग गरिरहेको छ ।
सुनुवार सेवा समाजले प्रत्येक वर्ष यस्तो कोष स्थापनाको लागि मनका धनी कोइँचहरुलाई झक्झकाउने काम गरिरहेको छ । वार्षिक रुपमा २० जनाभन्दा बढि बालबालिकाहरुलाइ पढाउन सकेमा अबकाे पचिस वर्षमा उनीहरु काेइँच समाजकाे बलियाे खम्बा हुनेमा सुनुवार सेवा समाजकाे पुर्ण विश्वास रहेकाे बताउँदै सुनुवार सेवा समाजका सचिव उत्तम सुनुवारले यस्ता काेष स्थापना गरीदिन मनकारी इच्छुक पवित्र काेइँच मनहरुलाइ अनुराेध समेत गर्नभएकाे छ । त्यसैगरी पहिचानकाे लागि शिक्षा अबकाे अपरिहार्य अभियान रहेकाे सुनुवार सेवा समाजका उपाध्यक्ष अमृतबहादुर सुनुवारले बताउनुभयाे ।

Share