हुस्सु भन्छ रे साह्रै चुस्छु : सभासदहरुको नालीबेली प्रियासीलाई ।

मेरी प्रिय,
तिमीलाई अविरल मिम-सि ।
हिजोआज काठमाडौं, हरेक विहानी शीतमय अनौठो हुस्सुको घुम्टोले सजिएर आउँछे । र, एक झोक्का चिसो सिरेटो उपहार थमाउँदै बढो भद्रतासाथ बाटो लाग्छे । उसको भद्रतामा न मेरो कुनै दिलचस्पी छ न उसको आवश्यकताको महसुश । नामै हुस्सु । जातै हुस्सु ।
यसैले हुस्सुको कुनै प्रवाह नगरी एकाविहानै म एक जना कोइँच अग्रजको घरमा पाहुन लाग्न पुगेँ । बहाना थियो, फागुन १० र २४ मा हुने कार्यक्रमको निम्तो ।
कुराकानीको क्रममा उहाँले भन्नुभयो, ‘भाईले भनेको कुरा सही रहेछ ।’
म झसङ्ग भएँ । त्यस्तो कुरा त केही गरेको थिइँन । के पो भनि पठाएँ नि । किरातीको छोरा अँध्यारोमा हानेको घुयेँत्रोले ट्याक्र्‍याक्कै कसलाई पो लाग्यो नि ! – ‘के पो कुरा गरे पठाएँ नि दाग्यु -‘
छ-सात वर्षअगाडिको गफगाफको पुनरुक्ति गराउँनु भयो, ‘त्यही त हो नि, – हामीलाई जान्ने भन्दा नजान्ने तर नेतृत्व गुण भएको सभासद् भए पुग्छ । हामीले भनेको कुरा बोकेर संविधान सभामा जस्ताको तस्तै राखोस् । जान्ने बुझने हुँ भन्नेले त हाम्रो कुरा के को संविधानसभामा उठाउँछ र ! बाटैमा तुहिँन्छ, विचैमा संशोधन हुन्छ र अर्कै कुरा बन्छ । अलिकति आफ्नो कुरा मिसाउँछ । पार्टी कुरा घुसाउँछ । हामी त रित्तै । हाम्रो कुरा निडरता साथ राख्न सक्नेको खाँचो छ हामीलाई । नेताको कमी होइन । कोइँचपन बोकेको नेताको चाहिँ कमी छ । हाम्रो कुरा संविधानमा कहाँनेर राख्ने भन्ने कुरा त प्राविधिक कुरा हो । त्यो त कानुञ्चीहरुले गरी हाल्छन् नि । राज्यले कानुनविद राखेकै छ नि – भनेको होइन । हो, साँच्चीकै सही रहेछ । यसपालीका सभासदले न त आफ्नो भाषा, संस्कृति, भेषभूषा, रहनसहन, माटोको कुरा सम्झे न त जनताले दिएको म्यान्डेट । बरु सत्ता साझेदारीमै दिनहरु काटी रहेका छन् । पार्टी सोझो गरेका छन् । गर्नेछन् ।’
उत्सुकता बढ्यो । शायद अरु मेरो ठाउँमा भएको भए पनि यस्तै जिज्ञासा राख्थे होला, मैले सोधेँ, ‘किन र, दाग्यु -‘
‘पहिले नियम कानून केही नजान्ने सभासद थिए । संविधानसभामा पुगे । सोचेभन्दा बढी नै काम गरे । जुन कार्यकुशलताले एक वर्ग, समुदायलाई संविधानसभाको अन्त्य नगरे आफ्नो भविश्य अन्यौल छ भन्ने देखे । तर अहिले हाम्रै वर्ग समुदायका अलिकति पढेलेखेका जान्नेबुझने सभासद संविधानसभामा आएका छन् । उनीहरुलाई न आफ्नो भेषभूषाले अर्थ राख्छ न त मातृभाषा र संस्कार संस्कृतिले । उनीहरु र हिजाका निरंकुश उत्पीडक जाति वीच कुनै वार देखिँदैन । कुनै भिन्नता पाइँदैन । भाइले भने जस्तै हाम्रा नेता त जान्ने बुझने भन्दा पनि सही समय सही निर्णय गर्न सक्ने परिपक्व मान्छे नै चाहिने रहेछ । अरुको विचारले गिदी भुटिएकाले हामी कोइँचको कुरा उठान गर्छन भन्नु मुखता रहेछ । खोइ त यस वर्षसंविधान सभामा कोइँच भाषा र भेषभूषा । कोइँचको प्रतिनिधित्व नै भयो कहाँ -‘
प्रिय !
ती दाग्युको विचार विमर्शले मलाई पनि एक क्षण गम्न बाध्ये बनायो । सुनियोजित अन्त्य भएको संविधानसभाका सभासदको चयनको विश्लेषणमा भनेको कुरा वास्तवमा सत्य सावित पो भो क्यार !
हुन पनि, अबका दिनमा, संविधान सभामा आदिवासी जनजाति, महिला, दलित, मधेसी, मुस्लिम र पिछाडा वर्गको कुरा उठ्ने छैनन् । त्यहाँ सहभागी सभासद् र पार्टी प्रकृति र प्रवृति त्यस्ता कुराको टुँगो लगइसकेको छ ।
तर प्रिय,
हाम्रा कुरा संविधानसभामा उठेन भनेर चिन्ता नगर्नु । हाम्रो कुरा अब बन्ने संविधान सभामा समेटिएन भने हामीले यो संविधान सभाले दिएको संविधान मान्न वाध्ये छैनौं । किन भने कानुनतः हाम्रो प्रतिनिधि नै त्येँ छैन । ‘एक युगमा एक चोटी आउँछ’ भन्नेहरु अहिले दोस्रो पटक संविधानसभाको चुनावमा होमिएका छन् । भोलि अर्को संविधानसभा पनि देखौंला गरौंला । तर, अब बन्ने संविधानलाई आजैबाट उलंघन गर्ने मनस्थिति बनाउ । अर्को जनआन्दोलनको लागि तयारी गर । हाम्रो मुक्ति सडक आन्दोलनबाट मात्र सम्भव छ ।
त्यसैले आउ प्रिय ! आउ ।
आजको रात,  एउटा सुन्दर वीर कोइँच (सुनुवार), किराती यलम्वरको विजारोपण गरौं । युगौं दमित कुण्डलाई एक झोक्का उच्छवासमा पोखौं । कति वलवान रहेछ उत्पीडन जोखौं । अवश्य हामी भूमि मानव किपटीय किराती, पानीका फोकाहरुसँग हार्ने छैनौं । प्रयास जारी राखौं निरन्तर निरन्तर … । हामी चट्टान हौं । हामी धर्ती हौं । हामी आकाश हौं । हामी आगो हौं । हामी पानी हौं । हामी हुरी वतास हौं । हामी पञ्चमहाभूत ।
प्रिय ! सम्झयौ नि ।
हुस्सु भन्छ रे साह्रै चुस्छु । अब हुस्सुलाई चुस्न दिने कि हुस्सुलाई प्रतिकार गर्न तातो-तातो कपडा, न्यानो-न्यानो कोठाको व्यवस्था गर्ने – सोच प्रिय !
हवस् त, बाँकी अर्को लेखानीमा ल !
उही तिमीलाई माया गर्ने
-कोइँचबु काःतिच ।

Share

Leave a Reply

Your email address will not be published.