हर्षोल्लास सहित समापन भयो नेपाल खाल्डोमा शाँदार पिदार

-कोइँचबु काःतिच
मर्छु कि बाँच्छु म हाँस्छु
यसपाली शाँदार म नाच्छु
हा हा हाँसाल हाँसाल, हा हा हाँसाल हाँसाल
हेर हेर नाचेको
बारुली कम्बर भाँचेको
हा हा हाँसाल हाँसाल, हा हा हाँसाल हाँसाल
थारी कुति जाताका
सुरो गासो चाताका
बाकेन बाकेन बाकेन
बाकेन हाइ बाकेन ।
थारिकुति जम्मा भएर सुरो गाअसो भित्राउने महौला । आकाशमा हल्का बादल । शितल शितल मौसम । टुँडीखेलको घाँसे मैदान । सुनुवार सेवा समाज र वल्लो किरात प्रदेशको ध्वजा बोकेर ढोल झयाम्टाको ब्लु ब्लु ब्लुकुम ब्लुकुम चर्को तर कर्णप्रिय आवाजमा रणभूमिमा वैरी माथि जाइलागेका सेना जस्तै इन्द्रेनीमय रंगीबिरंगी मानिसहरुको हुल । झुण्डा झुण्डा मानिस । हर्सोल्लासमय वातावरण । के युवा, के बालबालिका, के वृद्धा । सबैले आ-आफ्नै भावभंगी । मन्द मन्द शितल वतास । थुम थुमका कोइँचको साँस्कृतिक भेला । आ-आफ्नै लवज, आ-आफ्नै शान । जेठ १८ को मदहोस शनिवार, उपत्यकामा मनाइने शाँदार पिदारको अन्तिम दिन ।
हो, यस वर्षको महान् राष्ट्रिय चाड शाँदार पिदारको समापनका दिन नेपाल खाल्डोमा देशभरिका कोइँचहरुलाई नजिकबाट सुम्सुम्याउन पाइयो ।
‘सिनादो ला जाशो नाङ । ओमो कोइँचआनकालि मिस पाचा मादाङ मिनु राल-शो नाङ दायु ।’ सिङ्गपुरबाट सपरिवार टुँदिखेल आइपुगेकी मेनुका सुनुवारले भनिन् ।
‘यहाँ आएर कोइँचको भेषभूषा र खानपानको मौलिकता अनि खालिङको फरक नाचलाई मैले नौले माने ।’ इलामबाट आइपुगेका आदिवासी जनजाति महासंघका किरण सुनुवारले आफ्नो अनुभूति पोखे ।
‘तपाइँ कोइँचहरुको नाच त अचम्मैको छ हाउ । भेषभूषा पनि उस्तै । हामी हेर्नेलाई पनि नाचौं नाचौं लाग्ने ।’ झापाका धिमाल उत्थान समितिका उपाध्यक्ष तथा अनुसन्धाता सोम धिमाल फोटो खिच्दै प्रतिक्रिया दिँदै थिए ।
कलाकार तथा लेखक प्रविन पुमा पटक पटक तस्बिर लिँदै भन्दै थिए- ‘होइन हाउ एक पटक फोटो पो लिनु पर्‍यो । उहाँ सर त्रि.वि.को प्रोफेसर हुनुहुन्छ । अलिकति जानकारी गराउँ न ।’
विभिन्न किसिमका मानिस । विभिन्न किसिमको विचार । विभिन्न किसिमको इच्छा । एक किसिमको साँस्कृतिक जीवित किराती संग्राहलय ।
हुन त कोइँच बन्न नसकेका बाहुनवादी पार्टी लिप्सामा आफ्नो स्व त्यग गर्नेहरुका लागि यो शाँदार पिदार नौटङ्की बाहेक केही हुन सक्दैन । खाँटी कोइँचहरुका लागि यही हो पहिचानको आधार । जुन देश, समाजको आफ्नो निदर्ृष्ट संस्कृति हुँदैन त्यस्तो देश र समाज कहिल्यै स्थिर रहँदैन । हाम्रो आफ्नै संस्कृति छ, भाषा छ, भेषभूषा छ र मात्र हामीलाई पटक पटक राज्यले दमनशोशन गर्दा पनि हाम्रो संस्कृति, भाषा, भेषभूषा बाँचेको छ आफ्नै अद्वितीय शक्ति साँचेर । यो संस्कार संस्कृति मार्न हाम्रै कोइँचहरु बाहुनवादीहरुको एजेण्ट बनेर पटक पटक छिरे । पटक पटक म पनि कोइँच हुँ नि मैले भनेको चाहिँ नहुने भन्दै अर्काको धर्म दर्शन र विचार काखी च्यापेर व्रि्रोह पनि गरी टोपले । कहिले धार्मिक मारमा कोइँच पिल्सियो । कहिले राजनीतिक मारमा ।
र, पनि कोइँच पहिचान हत्तपत्त, लर्तरो तवरले मर्दैन । अब त यो मर्दै मर्दैन । यसले धेरै कुरा अभिलेखन गरिसकेको छ । गरिरहेको छ । टुँडीखेलमा कोइँचहरुको असोचनीय र अकल्पनीय नयाँ अनुहारको उपस्थितिले यही संकेत गर्दछ । चौर भरि कोइँच भेषभूषा मात्र पाइन्थ्यो भन्दा अतिरञ्जित हुन्छ तर अधिकांश मानिसको भीडमा कोइँच भेषाभूषाको उपस्थिति भने अबश्य थियो । र, मौसमले पनि बढो साथ दियो न घाम न पानी कोइँच उपस्थितिको लागि ।
किरात र्राई यायोक्खा, जिल्ला समिति काठमाडौंको आयोजना तथा सुनुवार सेवा समाज जिल्ला समिति काठमाडौको संयोजनमा सम्पन्न यस वर्षो शाँदार पिदारले अवश्य पनि आउँदो दिनमा राजनीतिक स्थिरता भए आदिवासी जनजाति कोइँचको पहिचान अक्षुण्ण रहने छ भन्ने झिनो आशा जगाएको छ । इतिहास जित्नेहरुको हो तर इतिहासमा एउटै जाति समुदाय राज गरिरहेको कहीँ कतै भेटिँदैन देखिँदैन । यसैले अबको इतिहास हामी निम्छरा, वहिष्करणमा पारिएकाहरुको हो । जागौं लेखौं हाम्रो इतिहास हामी आफैं । हाम्रो पहिचानको लागि हामी कोइँच ऐक्यवद्ध हौं । इतिहास लेख्ने अब हाम्रो पालो हो ।

Share

Leave a Reply

Your email address will not be published.