सुख शन्ति र समृद्धिको लागि किराँत चाड शाँदार

“सुख शन्ति र समृद्धिको लागि किराँत चाड शाँदार
– उत्तम सुनुवार, कात-६ चुप्लु ओखलढुङ्गा

कोइँच् (सुनुवार/मुखिया/शिकारी) आदिवासीले व्यक्तिगत रुपमा प्रत्येक दिन शाँदारको पूजा आराधना गर्दछन् । तर सामूहिक रुपमा मनाउँदा शाँदार पिदारलाई स्थानभेदानुसार छ महिना एक वर्ष तीन वर्ष पाँच वर्षमा एक पटक धुमधामसँग मनाउँछन् । विश्व मानव समुदायको सुख शान्ति तथा समृद्धिको कामना गर्दै प्रकृति र पितृलाई पूजा आराधना गरिने यो चाड भावनाले ओतप्रोत हुन्छ । शाँदार पिदार व्यवस्थित र प्रणालीगत चेतपूर्ण सामाजिक चाड हो । यस चाडलाई केन्द्रीय विषय वस्तु बनाइ गहिरो अध्ययन अनुसन्धान गर् यो भने किराँतकालीन सभ्यता तथा राज्य व्यवस्थाको जीवित अवशेष भेट्टाउँछौं । शाँदार पिदारको परम्परागत संगठन तथा सामाजिक जनजीवनले किराँतकालीन राज्य व्यवस्था कस्तो थियो भन्ने कुरा थाहा पाउन सक्छौं । मुक्दुम आफैंमा किराँती ऐतिहासिक सभ्यताको उत्खनन हो, कलात्मक साहित्य हो नीति र दर्शन हो । ढुंगा पुज्नु माटो पुज्नु आकाश पुज्नु धर्ती पुज्नु पानी पुज्नु हावा पुज्नु पशुपंक्षीलाई पुज्नु पितृ पुज्नु किराँतकालीन सभ्यताको नीतिगत र दार्शनिक प्रमाण हुन् । शाँदार पिदार किराँत सभ्यता र दर्शनको ऐतिहासिक खुला दस्तवेज हो । यो चाड न त कसैले स्थापना गरेको चाड हो न कसैको अस्तित्व जोगाई राख्न गुणगाण गाएर भोजभतेर लगाउने चाड । यो चाड त किराँती जीवनपद्धतिको यथार्थलाई पुनःस्मृति गराउने चाड हो । जसलाई सामुहिक रुपमा एकै ठाउँ जम्मा भएर मनाउने गरिन्छ । एक व्यक्ति वा एक परिवारले मनाउँछु भनेर यो चाड मनाउन सकिँदैन । यो मनाउन समाजमा सामाजिकीकरण हुनै पर्दछ भन्ने मान्यता राख्दछ ।

[ad#ad-1][ad#ad-1]
शाँदार सम्वन्धि कथन तथा शाँदार मन्दिरहरु

कथन १,
उहिले किराँतीहरु राइ लिम्बु याक्खा कोइँच् सुनुवार भनेर छुट्टिनु अगाडि नै सिमाङगडा भन्ने स्थानमा बसेका बेला उनीहरुले आफ्नो पूर्खा तथा इष्टादेवीको आराधना गर्न ढोल बनाएर नाचगान गर्न थाले । शाँदारदेयि खुशी भई होमाचिरि सुनको ढुकुर उपहार दिइन् । पछि भाइभाई छुट्टिँदा होमाचिरि कस्ले लैजाने भन्ने झगडा भयो । यसरी झगडा गरेको देखेर सहकी देवी होमाचिरि स्वयं उडेर वेपत्ता भइन् । उही होमाचिरिको खोजीमा िहंड्दा िहंड्दै किराँती भाइहरु छुट्टिन पुगेर आआफ्नो थाँतथलो अनुसार किराँत चाड मनाए । कोइँच्हरुले भने लिखु खिम्कु ङाकु मोलङ वरिपिर आइ आफ्नो इष्टदेवी र पूर्खाको पूजा आराधनाको लागि शाँदार पिदार गर्न थाले ।

कथन २,
किराँत राज्यलाई यलाखोमबाट विस्थापित गरेपछि पूर्वतिर लाग्ने क्रममा बनेपा पुगे । शाँदार देयिलाई नित्य बली दिनु पथ्र्यो । एक दिन एक किराँतीले अर्ना समाएर ल्यायो र वली दिइ पूजा गरियो । तर कान मान भने समूहको पाको किराँतीलाई दिएकोले त्यो किराँती रिसाइ झगडा गर् यो । यसरी झगडा हुँदा शाँदारदेयि तँ लाने र म लाने भनेर खोसाखोस हुँदा जमीनमा भासिइन् । तत् पश्चात उनीहरुले त्यसै देयिको अवशेष शिला मात्र लिएर पूर्व लागे । दाजुभाई छुट्टिएर आआफ्नो खोलाटोला अनुसार शाँदार पिदार गर्न थाले ।

कथन ३,
यलाखोमबाट पूर्व लागेपछि बुदाहाङ दोखा नामक राजाले दोलखा किराँतीछापमा राज्य गर्थे । त्यसै समय उनको सपनामा आपुनो इष्टदेवी शाँदार देयि उडेर लिखुकोशीमा गई घोप्टो परी बसिन् । यसरी बस्दा हालको रामेछापको कुँबुकँस्थली र सोलुखुम्बुको ग्लोलि सिर्वामा टाउको ओखलढुंगाको कातीमा मुख र खुट्टा ओखलढुंगाको पलापु र रामेछापको बसन्तपुर नाङथलीमा पर् यो । जुनजुन ठाउँमा शाँदार देयिको जीउ पर् यो तत् तत् ठाउँमा शाँदार उत्पत्ति भयो । हुन पनि सोलुखुम्बुको सेबे ओखलढुङ्गाको काती खिँची सेनी रगनी चप्लेटी वाच्पु रामेछापको वसन्तपुर नाङथली फर्पु, नमाडी राश्नाइलु साइपु साब्रा सत्गाउँ साब्रा खापिङ भुजी कटगाउँ र कोलडाँडा पि्रती प्डेथ्ती चारम कस्तेल र कुँबुमा शाँदार पिदार गर्दछन् । अहिले खिँजी रगनी सइपु भुजी पि्रती कास्थली कुँबुमा मात्रै शाँदार पिदार गरिन्छ । बरु देशको राजनीतिक परिवर्तनपछि सोलुको गार्मा पाँचथरको नाम्दु इलामको माइपोखरी झापाको अनारमुनी सैनिक वस्ती सुनसरीको धरान सिँधुलीको चिसापानी झोडा काठमाडौंको लब्सीफेदी ललितपुरको हात्तीवन दार्जिलिङ र सिक्किममा नयाँ संस्करणको शाँदार पिदार गर्ने चलन बनेको छ ।

शाँदार पिदारको किसिम

शाँदार पिदार बुभुन सबैभन्दा अगाडि मुइलि बुझ्नु पर्दछ । मुइली भन्नाले कोइँच् जातिभित्रको वंशक्रम हो । कोइँच आफु आफुमा भेट हुँदा ुतेको मुइलिङा ननि ु भनेर सोध्ने गर्दछन् । मुइलि मुख्यतः तीन किसिमको हुन्छ- जत्नमुइलि दुमामुइलि अनि सरिङ मुइलि । सारिङ मुइलि शाँदारलाई सिरि शाँदार भनिन्छ जसको बली दिने पशु राँगा हुन्छ । जत्नमुइलिको शाँदारलाई जसि शाँदार भनिन्छ । जसि शाँदारमा सुँगुर र राँगा बली दिने गरिन्छ भने दुमा मुइलि शाँदारमा भेडा र सुँगुर बली दिने गरिन्छ जसलाई गिल शाँदार भनिन्छ । गिल शाँदार खिँचीमा मात्र छ । पहिला गिल शाँदार कातीमा थियो । मुइलि अनुसारको शाँदारको पूजा गर्ने विधिविधान तथा वाद्यवादनमा केही भिन्नता पाउँछौं । आठ भाइ भनेर शाँदार पिदार गरिन्छ । तर यो कुन कुन नामका आठ भाइ हुन भन्ने नाम भने प्रष्ट नभएको देखिन्छ ।

शाँदार पिदारको पूर्व तयारी तथा शाँदारमा चाहिने सामाग्रीहरु

शाँदारको गर्भकाल शाँदार पूर्णिमा भन्दा एक महिना अगावै मानिन्छ जुन दिन शाँदार पिदार व्यवस्थापन समितिको बैठक बसेपछि शाँदार गर्ने तयारी हुन्छ । शाँदार पिदार व्यवस्थापन समितिले शाँदारको नाम गरेर अघिल्लो वर्षमा मुईल न्हासोले अण्डाले हानेर राखेको राँगा सुँगुर भेडाको स्वास्थ्य स्थिति धुपको लागि घिउ तथा अन्य सरसामान खोजी तथा व्यवस्था गर्दछ । शाँदार पूर्णिमा भन्दा अघिल्लो औँशीको भोलिपल्टदेखि घरघरमा शाँदार शाँम पकाउने मेलो हुन्छ । यो शाँदार शाँम पकाएपछि शाँदार रोकिँदैन । यसपछि शाँदार गर्ने गाउँमा कसैगरी मानिस मर् यो भने पनि रहिकि्रया शाँदार सकेपछि काजकि्रया गर्नु गर्दछन् । यो कोइँच्हरुको परम्परागत सामाजिक नियम हो । शाँदार थान बनाउने सिगार्ने सरसफाई गर्ने नयाँ दुले ढोल बनाउने मुइलि शुसि फोअ्काको जोहो गर्ने मातहतको न्हासो तथा चफोनिफोहरु वीच सम्पर्क स्थापित गर्ने काम हुन्छ ।

परमपरागत रुपमा शाँदार पिदार गर्नुपर्दा अनिवार्य चाहिने आवश्यक सामाग्रीहरु

१.  ढोल (दुले दुमो/गुइँगुइँ)
यो ढोल पनि विभिन्न किसिमको बनाउनु पर्दछ । प्रत्येक ढोलले प्रत्येक न्हासो पाछा र गाउँको के काम कस्ले गर्ने हो भन्ने उत्तरदायित्व र जिम्मेवारी बताउने गर्दछ । ढोलभित्र मन्त्रोच्चारण गरी अक्षेता शेर्दालु जिजिपुपुल कलल रखी मृग घोरलको छालाले ढोल तान्ने गर्दछन् । (क) शारि दुले – यो शारि न्हासोले चलाउने ढोल हो । यसलाई जसी ढोल पनि भनिन्छ । यसको काम शाँदारको उठान गर्नु हो । यो कोइरालो रुखको बनाइन्छ । (ख) वाअ्श दुले – वाअ्श न्हासोले चलाउने यो ढोलले शाँदार पिदार गर्दा मन्दिरमा विधिवत पूजाको उठान गर्दछ । यो मलेगिरी रुखको बनाइन्छ । (ग) मेसेल्मि दुले – यो मेसेल्मि न्हासोले चलाउने ढोल हो । यसको काम शाँदारको वरिपरि देवीदेवाताको पूजा आराधना गर्दा अगुवा भएर बाटो देखाउनु हो । यो रातो सिरिस रुखको बनाइन्छ । (घ) फोअ्का दुले – यो फोअ्का न्हासोले चलाउने दुमो हो । यसको काम मन्दिरमा मुइलि राँगा बाँध्ने ठाउँमा चाहिने फोअ्का ल्याउने तथा थरिकुति देवी देवतालाई डाक्ने तथा व्यवस्थित गनुर्ं हो । यो मौवा जातको रुखको बनाइन्छ । (ङ) न्हासो दुले – यसलाई शुसि ढोल पनि भनिन्छ । यो ढोल शुसी न्हासोले चलाउने ढोल हो । मुइलि राँगा बाँध्न ल्याएको मुइलि शुसि गाड्दा उखाल्दा र राँगा बली दिँदा यस ढोलको मुख्य भूमिका रहन्छ । यो सेतो खलमको रुखको बनाइन्छ । (च) लाँका दुले – शाँदारमा बजाइने मुख्य ढोल मध्येको एक ढोल हो जसलाई मुइलि सरिङ्गि दुमा जत्न ढोल पनि भनिन्छ । यो ढोल मुइलि न्हासोले चलाउँछ । यो ढोल खयर रुखको बनाइन्छ । (छ) आमदुले – शाँदारमा बजाइने मुख्य ढोल मध्येकै अर्को ढोल हो जसलाई मुइलिको स्त्री रुप बरिङ्गि ग्लुमा रत्न ढोल पनि भनिन्छ । यो आमदुले र लाँकादुले एउटै रुखको बनाउनु पर्दछ । फेदपट्टिको गिँड लाँका र त्यो भन्दा माथिको गिँड आमदुले बनाइन्छ । (ज) शेन्मा दुले – यस दुलेको काम लाँकादुले र आमदुलेको कोङ्पी लमि गर्नुहुन्छ । यो फोअ्का दुलेको पछिपिछ हिड्ने गर्दछ । यो शेन्मा न्हासोले चलाउने ढोल हो । (झ) खरिङ्गि दुले – यो खरिङ्गी न्हासोले चलाउने ढोल हो । यो भूमिको नाममा बनाइएको ढोल हो ।  नाम्सालु दुले – यो देवीदेवताको नाम भन्दा पनि रमाइलो गर्न बनाइएको वा चफोनिफो जनता ले शाँदारको नाममा चढाएको ढोल हो । यस्तै किसिमको रुखको बनाइनु पर्छ भन्ने कुनै नियम छैन । ढोलको एकातिर किराती हतियार साँफे र अर्कोतिर फूलको चिन्ह रातो सेतो चन्दनले रङ्गाउने गर्दछन् ।

२. खरङ्ग : ढोल र झ्याम्टाको सुरलाई सफा पार्ने काँस धातुबाट बनाइएको थाल जस्तो बाजा । पृथ्वीको कल्पना गरेर बनाइएको बाजा ।
३. बुप्थेल/गुदुल्मा : नाच्दा वा पूजामा ढोलको ताल परिवर्तन गर्दा मूख्य भूमिका खेल्ने काँसाको बाजा । यस बाजाले नयाँ सिर्जनाको आवाजको प्रतिनिधित्व गर्छ ।
४. कुतुसिरि : सानो झ्याम्टा जस्तै काँसको झ्याली ।
५. रातो सेतो चन्दन/निबुवा : यो ढोल झ्याम्टा र खरङ्गा सिँगार्दा प्रयोग गरिने रंग ।
६. बली दिने पशुपन्छी : मुइलि अनुसारका बली दिने पशुपन्छी ।
७. थापो : शाँदार पिदार गर्दा चाहिने थपो अर्थात् पुूलहरु । थापो मुइलि र मुइग्यो अनुसार फरक फरक चलाउने चलन छ । थापोहरु क पादाम ख लाली ग सेसेर घ दुमा ङ ब्लेँजि च सेर्फा होल्फा गिल्फा छ खालाम ज सेसेर्तुलि झ बोक्यपात  शाँदार सेसेनजरि ।
८. फोअ्का : तीनपाटा ताछेर नौ वटा अख्टा काटिएको मौवा काठको १३ वटा संगीन आकारको काठको बिटा । यो मौवा रुखको बनाइन्छ जुन शाँदार मन्दिरमा मुइलि राँगा बाँध्ने मौला शुसिमा बाँधेर राखिएको हुन्छ । उधौिल शाँदारमा सात अखटा हुन्छ । यो फोअ्का खगोलीय पक्षलाई प्रतिनिधित्व गर्दछ ।
९. शुसि : मुइलि राँगा बाँध्ने खालाम रुखको किला । जसलाई मौलो पनि भनिन्छ । यो न्हासो र शाँदार मन्दिरमा राँगा बाँध्न तथा ढोल झुण्डाउन भनि हाँगा सहितको गाडिन्छ ।
१०. ध्वजापतका : आलाममा लगाउन शाँदारको मन्दिरमा चढाउने रातोसेतो ध्वजापतका ।
११. पोतखमे : एक माना एक मुडी चामालको पकाइएको भात ।
१२. शाँबु : शाँदार मन्दिरमा चढाउन एक पोङ वा पुँपु शाँबु ।
१३. डाली : पोत खमे राख्ने भाँडो ।
१४. सेर्फा : शाँदार पिदारमा चाहिने पातहरु । ठाउँ वा मुइलि अनुसार फरक फरक पात चलाउने गरिन्छ ।
१५. चिरो : शाँदार पिदारमा चढाउने सागसब्जीको आचार ।
१६. नविन फस : शाँदारमा रेखी हाल्न चाहिने चामलको पिठो ।
१७. साङ : शाँदारको प्रार्थना गर्दा आगोमा पोल्ने धुप ।
१८. ग्लोमि : धुप हाल्न चाहिने आगोको कोइला ।
१९. आलाम : शाँदार मन्दिरमा चढाउन टुप्पोमा रातो सेतो ध्वजा झुण्डाइएको निगला वा बाँसको लिँगो ।
२०. सोली : पोँतखमे दुनशेर शाँबु बोक्न चाहिने भाँडो ।
२१. दुनशेर : पूजा आराधना गर्न चाहिने अक्षेता ।
२२. किँदा नु पला : विभिन्न उपयोगको लागि शाँदारमा चाहिने बाँस वा निगाला ।
२३. लिब्ला : मुइलि पशुलाई बली दिने हतियार । यो लिब बनाउँदा उत्तरतिर फर्केको मालु बासलाई एक जोर भालेपोथी बली दिइ जरैदेखि खनेर आँख्ला गनी वीचको भागबाट लिब बनाइन्छ र फेद भने अर्को ठाउँमा सारिन्छ ।
२४. खुकुरी वा खुँडा : बली दिन प्रयोग गरिने हतियार ।
२५. बाँस तथा काठका घोचाहरु : मन्दिर सजाउन बार बार्न चाहिने बाँस तथा काठका साटाघोचाहरु ।
२६. झापन : सोली छोप्न चाहिने कपडा ।
२७. पग्री : न्हासोको शिर उठाउन चाहिने सेतो कपडा ।
२८. स्याउली : नाच्दा हातमा लिने विभिन्न रुखको हरियो पातसहितको हाँगाको डाला । यो वर्ष वा हराभरा प्रकृति तथा सहकालको प्रतीक स्वरुप लिने गरिन्छ ।
२९. निकअ्वाक : पवित्र पानीको भाँडा । यो पानी चढाउन प्रयोग गरिने गरिन्छ ।
३०. चित्र/भकारी : पूजा गर्दा ओच्छाउने बाँसबाट बुनेको सामान ।

शाँदार व्यवस्थापन

शाँदार पिदार व्यवस्थापन गर्न कोंइँच्मा परापूर्वककालदेखि चल्दै आएको परम्परागत संगठनलाई चुप्लु भनिन्छ भने त्यसले बस्ने बैठकलाई चुम्लुङ भनिन्छ । खफोनिफो वा चफोनिफोको सकि्रय सहभागितामा उक्त संगठनको निर्माण हुन्छ । यो
संगठन चुनावबाट छनौट नभई चकि्रय प्रणाली अन्तर्गत चल्ने संगठन हो । यो सा-साना उपपाछादेखि राज्यसंयन्त्रसम्म फैलिएको प्रणालीगत संगठन हो । तोँकुच/नोम्लिच/ङावाच (जेठबुढा), न्हासोच (कुलपुरोहित), गाउरोच (गौरुङ), मुलिच/मुलुमि (मुखिया)को कार्यकारी व्यवस्थापनमा आमगाउँलेहरुको रायसल्लाहमा शाँदार पिदार कहिले कसरी किन गर्ने भन्ने टुँगो तथा शाँदारमा सहभागी न्हासोहरुको पारिश्रमिकको निर्णय गरिन्छ । मुलिचले भूमि व्यवस्था गाउरोचले साचार तथा सामन्वय न्हासोले भाषा धर्म-संस्कृति तथा तोँकुचले सरसल्लाह दिने काम गर्दछ । त्यस्तै गरी विशेष परामर्शदाताको रुपमा पोइँब तथा ग्यामि रहन्छन् । चुप्लु कार्यात्मक संगठन हो भने शाँदर आयोजना गर्ने न्हासोहरुको संगठन म्याटि्रक्स/आयोजना संगठन हो । शाँदारको व्यवस्थापन गर्ने मुख्य कार्यकारी अधिकृत मुइलि न्हासो भएको हुँदा उसैको मातहातमा उत्तरदायित्व र जिम्मेवारी सहितको देहाय बमोजिमको न्हासोहरु शाँदार पिदारमा सकि्रय हुन्छन् ।
१. मुइलि न्हासो : शाँदार पिदारको प्रमुख कार्यकारी अधिकृत मुइलि न्हासो हो । मातहतको अन्य न्हासोहरुलाई संयोजन गरि उनीहरुको काम बाँडफाँड गर्नु र सबैलाई निर्देशन दिनु मुइलि न्हासोको काम कर्तव्य र अधिकार हुनेछ । जस बापत चफोनिफोहरुले घरवारी किनीदिने बाली पाक्दा एक पाथी अन्न र दुई जना खेतला बुझाउने गर्दछन् । पाँच हातको पगरी र बली दिएको पशुपंक्षीको टाउको मुटु कलेजो भाग लाग्छ । मुइलि राँगा सुँगुर भेडाको वली मुइलि न्हासो आफैं वा उस्ले तोकेको न्हासोले बलि दिन्छ । अन्य न्हासोहरुलाई पनि बाली भाग बुझाउनु पर्दछ ।
२. क्योर्फा न्हासो : बोका कुखुराको भाले बली दिने न्हासो हो यो । क्योर्फा न्हासोलाई मेसेल्मि वा शेन्मा न्हासो पिन भनिन्छ ।
३. शुसि न्हासो : शाँदारलाई चाहिने किला काठपातको व्यवस्था गर्ने न्हासो । यस न्हासोलाई फोअ्का न्हासो पिन भनिन्छ ।
४. वाअ्श न्हासो : हावा वातावरण तथा सिमेभुमे चाइँशिखरीको पुजा गर्ने न्हासो ।
५. खरिङ्गि न्हासो : बाँस तथा निगला पानी काठपात आगोको व्यवस्था गर्ने तथा भूमिको पुजा गर्ने न्हासो ।
६. सेर्फा न्हासो : शाँदारमा चाहिने पात ल्याउने न्हासो । सेर्फा न्हासोलाई मुइलि अनुसारको चाहिने पातको आधारमा होल्फा गिल्फा न्हासो पनि भनिन्छ ।
७. सुरि न्हासो : सातो/आत्मा तथा बाली पूजा गर्ने र शाँदार शाँबुको दक खोल्ने न्हासो । सुरि न्हासोलाई सुरो न्हासो पनि भनिन्छ ।
८. काइँता न्हासो : उल्लेखित न्हासोहरुको सहायक न्हासोको रुपमा काम गर्ने न्हासो । तर शाँदार थानमा उनीहरुको काम त्यति हुँदैन सुरो चोःतेक कार्यमा काइँता न्हासोको भूमिका बढी रहन्छ ।

शाँदार सिल तथा ढोलका तालहरु

शाँदार पिदार गर्न आध्यात्मिक पक्षको जे जस्तो महत्व छ त्यत्तिकै शाँदार सिल र ढोलका तालहरुको पनि महत्व रहन्छ । यसरी शाँदार नाच गर्दा नाच गीत प्रधान भन्दा पनि ताल प्रधान रहेको हुँदा तालको आधारमा नाच्नु पर्ने हुन्छ । शाँदार नाच जम्मा १६ ताल हुन्छ भनिन्छ ।
१. बुल्फे/शारा पोअ्तेकः बुल्फे गर्दा शाँदारको उठान भयो भन्ने आसयले बजाइने ताल ।
२. राँगा दोःतेक : शाँदार पिदार गर्नु पूर्वसान्ध्यमा राँगालाई टाउँकोमा अण्डाले हानेर राँगाको वरिपरि घुम्दै नाच्दा बजाइने ताल ।
३. लाँ गाअ्तेक : बाटो हिँड्दा बजाइने ताल ।
४. ग्योर हिर्तेक : शाँदार मन्दिर घुम्दा बजाइने ताल ।
५. राँगा प्लेँतेक : मुइलि राँगालाई शाँदार मन्दिरमा पुर् याइ बाँध्दा बजाइने ताल ।
६. लाँकादुले आमदुले ग्लुम्तेक : भाले र पोथी मुइलि भेट्दा बजाइने ताल ।
७. मेसो वा पिदार : पूजा गर्दा बजाइने ताल ।
८. पिदार नोले : बली दिएपछि वजाइने ताल ।
९. जसी क्लुकुम् ब्लुकुम् : गाउँ तथा मन्दिर घुमेर नाच्दा वजाइने एक ताल ।
१०. सुरो योःतेक : शाँदार मन्दिरमा पूजा सकिएपछि सुरो बाँड्दा बजाइने ताल ।
११. गाअ्चि खेम : शाँदार मन्दिर वा घरबाट पूजा सकी हिँड्ने बेला बजाइने ताल ।
१२. थरिकुति जाअ्तक : सुरो चोअ्चा अगाडि नाच्दा बजाइने ताल ।
१३. सुरो चोअ्तेक : शाँदार पिदार गरेर सह मागी गाउँ-गाउँ घुम्दा बजाइने ताल ।
१४. चिँकुम : गाउँ घुमेर चिँकुम चराको नक्कल गर्दै नाच्दा बजाइने ताल ।
१५. मालिङ्गि धोब्नी : धोविनी चराको नक्कल गर्दै नाचिने नाचमा बजाइने ताल ।
१६. थोप्ला/चुर्मु : यो नाच झिँगाले फुर्ति गरे जस्तै गरि नाचिने नाच हो ।
१७. दुमा : गाउँ घुम्दा ३२ जना मिलेर ढाँडढाँड जोडेर नाचिने नाचमा बजाइने ताल ।
१८. काइश : गाउँ घुम्दा दुम्सी र सिकरी वीचको अभिनयाकत्मक नाच नाच्दा बजाइने ताल ।
१९. लाँका जसि : गाउँ घुम्दा रमाइलो गरि नाचिने नाचको ताल ।
२०. चिँकुम सिल : चिँकुम नामकको चराको नक्कल गर्दै नाच्दा बजाइने ताल ।
२१. दुमो हेअ्तेक : ढोलझ्याम्टा थन्काउँदा बजाइने ताल ।

शाँदार पिदारको विधि तथा देविदेवताहरु

देवी देवता प्रसन्न होउन् र अन्नवाली सप्रोस रोगव्याधी नलागोस् दीर्घायू सुख समृद्धि आवोस् भन्ने विश्व मानव समुदायको कल्याणार्थ पूजा गरिने शाँदार कोइँच् समुदायमा अझै लोकपि्रय छ । शाँदार पिदार पूजा प्रकि्रया प्रणालीगत छ ।
१. बुल्फे पिदार : शारि न्हासोले विधिवतरुपमा पूजा गरि शाक्करपोः भनि शाँदार भएको उद्घोष गर्ने गरिन्छ । यस पूजालाई बुल्फे पिदार भनिन्छ । बुल्फे गरेपछि शाँदार पिदारको शुरुआत भएको मानिन्छ ।
२. राँगा दोःचा : मुइलि न्हासोको घरमा गाउँका सबै चफोनिफोबाट ल्याएको पूजा सामाग्री राखी १६ रेखी हाली पूजा आराधना गरेपछि शुसि न्हासोले ल्याएको चिमलको किला गाडेर मूइलि राँगा बाँधेर मन्त्रोच्चारण गर्दै मुईल न्हासोले अण्डाले राँगाको टाउकोमा हानी ढोलझ्याम्टा बजाउँदै राँगालाई घुमेर नाचिन्छ । यस रीतिलाई राँगा दोःचा भन्दछन् ।
३. शाँदार पिदार : काइँत वा सुरि न्हासोले शाँदार पिदार शाँबुको बिर्को खोली घरको कुल देवता पुजा गर्दछन् । यो सबै कोइँच्को घरमा गर्दछन् । त्यस पछि आ-आफ्नो पाछा वा गाउँ टोलको न्हासोको घरमा गई सबैभन्दा अगािड बाँसको लिङगो त्यसपछि सोली बोक्ने केटा वा केटी बलीको लागि भाकल गरिएको पशुपँक्षी अगाडि लगाएपिछ क्रमवद्धरुपमा ढोल झ्याम्टा बजाउँदै नाच्दै बाटोमा पर्ने घरमा पसेर एकोहोरो सगुन पिदार लिँदै मन्दिर पुग्ने गर्दछन् । मन्दिर जाँदा पनि ढोल वा न्हासो पुग्ने मर्यादाक्रम प्रणालीगत पाइन्छ । पुरुष प्रतीक भाले ढोल पट्टिका समुह अगाडि नै पुग्ने गर्दछन् । त्यस पछि मात्र पोथी ढोलको समुह पुग्दछन् । शाँदार मन्दिर पुगेर क्रमबद्ध रुपमा निम्नानुसार पिदार न्हासोहरुले गर्दछन् ।

(क) वाअ्श पिदार : फापरका पिठोको तोमर्् अण्डा ब्लम बुक्लु ध्वजापतका धुप तथा पुूलहरुले ६४ वा सो भन्दा माथि लिङ्गा गाडी मुइलि अनुसारको पात ओच्छाई वाअेश न्हासोले वाअ्श पिदार गर्दछ । कोँइच् जातिमा वाअ्श पिदार गरेपछि मात्र अन्य पूजाको शुरुवात हुन्छ । वाअ्श पिदारमा चाँइ शिकारी िस¢गया नागनागिनीको पुजा गरिन्छ ।
(ख) सुरोम पिदार : अन्नको अधिपति तथा सहलक्षिणकी देवी १६ वैनी सुरोमलाई खोल्मा बनाई अण्डाको बाबर खट्टेचिरो चेप्फुशाँबु रिब्दो पोँतखमे फाँक राखी १६ रेखी हालेर सुरोम न्हासोले सुरोम पिदार गर्दछ ।
(ग) शुसिदेयि : नौ तले फोअ्कामा जीउँदो भालेको तल्लो च्यापुमात्र काटी उँधोमुन्टो पारी झुन्डाइ शुसी न्हासोले शुसि पिदार गर्दछ ।
(घ) जत्नमुइलि पिदार : राँगा र भेडा वली दिइ जत्नमुइलि पिदार गर्दछन् ।
(ङ) दुमामुइलि पिदार : सुँगुर र भेडा बली दिइ दुमामुइलि पिदार गर्दछन् ।
(च) सरिङ्गि मुइलि पिदार : राँगा बली दिइ सरिङ्गिमुइलि पिदार गर्दछन् ।
(छ) सिदा पिदार : भुनी सुँगुर र दुम्सी कुखुरा बली दिइ सिदा पिदार गर्दछन् ।
(ज) मेसेल्मि पिदार : चारवटा रातोभाले चारवटा रातोपोथी र रातो पाठी बली दिइ मेसेल्मी पिदार गर्दछन् । यसरी मेसेल्मी पिदार गर्दा देउला थादी मेसेकुसे होपोहोमो फल्शि होपोको पनि पिदार गर्दछन् ।
(झ) शेन्मा पिदार : भाले पोथी बोका बली दिइ बुदेनी रगन् पोइँब ग्यामिको पूजा गर्दछन् ।
(ज) कात ग्यामि : जोर भालेपोथी बली दिई यो पूजा गरिन्छ ।
(झ) दश ग्यामि : जोर भालेपोथी बली दिइ पूजा गरिन्छ ।
फाचे ग्याामि : अण्डासहित जोर भालेपोथीको बली दिइ पूजा गरिन्छ ।
(ट) अयानारु पिदार : भालेपोथीको बली दिइ अयानारुको पूजा गरिन्छ ।
(ठ) गुथुल ग्याँमि पिदार : गुथुल ग्यामिको पूजा पनि दश ग्यामि सँगै गरिन्छ ।
(ड) हेल्मोदुत्मो पिदार : यो पिदार पनि शेन्मा पिदारभित्र पर्ने हुनाले ग्यामि पोइब सँगै गरिन्छ ।
(ढ) बुल्नु पिदार : यो अगति परि मरेका भाड्केको आत्माको पिदार हो । भाले काटेर घाँटीबाट रगत बाहिर निस्कन नदिइ बली दिइ पूजा गर्दछन् । यो पूजा गिल शाँदार गर्ने गाउँमा मात्र गरिन्छ ।
(त) एकोपेको पिदार : सबै देवीदेउताको पूजा गरिसकेपछि गरिने पूजा नै एकोपेको हो । यो पूजा गर्दा २ वटा पोथी बली दिइ पूजा गरेको पाइन्छ । यसरी बली दिएको पशुको मुटु कलेजो सुँगुरको गोम्बल गर्धन पुच्छार बोँसे जाली अनि भेडा बोका पाठीको दुधे अन्द्रामा हावा भरि फेरि पूजा गर्दछन् । जसलाई पिदार लेशशो भन्ने गर्दछन् । यसरी पिदार सकेपछि शाँदार व्यवस्थापक मुलिच तोँकुच/नोम्लिच/ङावाच, गाउरोचहरुले न्हासोहरुलाई पगरी बाँधी दक्षिणा दिइ जाँडरक्सी राखी फाँक खट्टेचिरो तथा मिठो मिठो खानेकुरा दिइ सिर उठाइदिएको पाइन्छ । न्हासोको शिर उठाइसकेपछि सबै घरगाउँलेहरुले आ-आफ्नो घरबाट लगेको खाजाहरु आफन्तजन् पाहुनाहरुलाई बाँड्ने क्रम शुरु हुन्छ । शाँदारमा रमाइलो गरी नाच्ने ढोलका बाँकी तालहरु बजाउँन पिन खुल्ला भएको मानिन्छ ।

४. सुरो योअ्चा : सबै घरगाउँलेहरुलाई शाँदार पिदार गरीसकेपछि न्हासोहरुले सबै चफोनिफोहरु तथा दर्शनार्थीहरुलाई प्रसाद बाँड्ने चलन पाइन्छ । शाँदार मन्दिरको दुनशेर फलफुल ध्वजापतका तथा फूलपाती चफोहरुलाई सोलीमा र अन्य दर्शनार्थीहरुलाई न्हासोले हातमा सुरो दिने गर्दछन् । न्हासोले दिएको शाँदार देयिको सह/लक्षिण घरको कोठो भकारी वा सम्पत्ति राख्ने ठाउँमा राख्दछन् । सुरो बाँड्दाको क्षण शाँदार पिदारमा लाँकादुले आम्दुले भेट्दा पछिको अर्को रमाइलो क्षण हो । एकातिर सुरो चोर्ने प्रतिस्पर्धा भइरहन्छ भने अर्कोतिर न्हासो चोर्ने मौका चफोहरु ढुकीरहेका हुन्छन् । यसरी न्हासो चोरियो भने शाँदार पिदार नसकुाजेल चोरेर लगेको गाउँमै न्हासो बस्नु पर्ने हनुछ । र त्यही गाउँमा सह जान्छ भन्ने विश्वास देखिन्छ । उता शाँदार चोरिएका गाउँको ढोले भने न्हासोविहीन भएर गाउँ घुम्नु पर्दछ ।

५. सुरो चोःचा : न्हासोले शाँदार पिदार गरेर वर सह मागेर आफ्नो चफोनिफोको घरघरमा ढोल झ्याम्टा बजाउँदै नाच्दै पुर् याउँदछ । गाउँ घुम्दाको रमाइलो छुट्टै हुन्छ । स्याउली सहित एक गाउँको थरिकुतिहरु अर्को गाउँमा गइ गाउँ घुमेर सुरो बाँड्दै नाचेर हिँड्दा विभिन्न पशुपंक्षीको नक्कल गरी नाच्दछन् । यसरी अर्को गाउँमा गएर नाच्नु कोइँच् युवाहरुको लागि आफ्नो सीप तथा कला कौशल देखाउने उपयुक्त अवसर मानिन्छ ।

६. दुमो होअ्चा : पुरै गाउँमा चफोनिफोलाई सुरो बाँढीसकेर विशेष विधिविधान सहित ढोल झ्याम्टा थन्काउने पूजालाई दुमो होअ्चा भन्दछन् । यसबेला ढोल बोकेर नाच्ने ढोलेहरु बलिया हुनुपर्दछ । गतिशील रुपमा एकहोरो घुमेर नाच्दा लडियो भने गिवत्चिब्ब भन्ने मान्यता र विश्वास रही आएको पाइन्छ । गिवत थिचियो भने छ महिना भित्र त्यो लड्ने मानिस मर्छ भन्ने मान्यता राखेको पाइन्छ । यसरी ढोल झ्याम्टा खरङ्ग थन्काए पछि अर्को पटक शाँदार नगरेसम्म चलाउनु छुनु निकाल्नु हुँदैन ।

७. पाच्हु पुइँचा : शाँदार पिदार गरिसकेपछि फेरि बुद्धिजीवि न्हासो मुखिया गौरुङ् जेठबुढा भद्रभलाद्मी सहित एक एक सेलेवा/पुँपु वा पोङ जाँड फाँक खट्टेचिरो लगी शाँदार मन्दिरमा कोरा पूजा आराधना गरी क्षमा माग्ने गर्दछन् । यही पूजालाई पाच्हु पुइँतेक पिदार भन्दछन् । यसरी शाँदार सकेपछि अर्को समयसम्मको लागि विधिवत शाँदार पिदार विसर्जन भएको मानिन्छ । शाँदारमा वर्जित कुराहरु ढोल झ्याम्टा निकालेर रङ्गयाई विधिवत शाँदार पिदार शुरु भएपछि भुइँमा राख्नु हुँदैन । छोरी मान्छे मन्दिरभित्र पस्नुहुँदैन यो नियम बालिकाहरुको लागि लागु हुँदैन र स्थानभेदानुसार यो नियम फरक पनि रहेको छ ढोल झ्याम्टालाई लात्ताले हान्नु वा थुक्नु हुँदैन । बली दिने स्थान सामुन्ने कुनै पनि बस्तु राखिनु हुँदैन । शाँदार गर्ने दिनदेखि तीन वा पाँच दिनसम्म गाउँमा गोरु जोत्नु वा खन्नु हुँदैन । यस समयमा बारी जोतियो भने भूमिले सराप्छ र बालीमा फसल लाग्दैन भन्ने विश्वास रहीआएको छ ।

अन्त्यमा, कोइँच्हरुमा शाँदार पिदार गर्दा सहकाल भइ कुनै पनि दैवी वा प्राकृतिक प्रकोप नहुने विश्वास छ । यस चाडले सामाजिक तथा साँस्कृतिकरुपमा मानवीय एकता शान्ति सद्भाव र सामन्वय स्थापित गरेको पाइन्छ । रिसइवी छाडेर व्यक्तिगत हितबाट माथि उठेर ‘हामी भावना’ ले ओतप्रोत भइ सामूहिक हितको लागि ऐक्यवद्धता जनाउने यस चाडको महत्वपूर्ण पक्ष भनेको सहभागितामूलक समन्वय हो । न ठूलो न साना न धनी न गरिब हरेक वर्ग र तहका मानिसहरुको समान सहभागिताबाट मात्रै पूर्णता पाउने यस चाडले प्रकृति तथा पूर्खाको पूजा आराधना गरेर मानिने कुनै जातजाति विशेषको नभइ आम मानव समुदायको सामूहिक चाड हो भन्दा अपत्ति नहोला भन्न सकिन्छ ।

सन्दर्भ सामाग्रीहरु:
सुनुवार कालीबहादुर
सुनुवार जातिद्वारा मनाइने चण्डी पूजा एक परिचय ५२-६१ कोइँचबु वर्ष ३ अंक १,  चैत्र २०४९

सुनुवार खडोस
चण्डी पर्व : एक गौरवपूर्ण संस्कृति पृष्ठ ३७-४७ कोइँच बु वर्ष ७ अंक १, २०५५

सुनुवार उत्तम
प्राकृतिक पूजा : किराँत चाड ष्याँदर स्पेशटाइम दैनिक, २०५८

सुनुवार उत्तमकुमार लिम्बु अर्जुन रोगु लिलाबहादुर किराँत जीतपाल
किराँत सुनुवारहरुको महान् चाड फोल शाँदार १०-१४ किराँत चाड -चासुवा फोलशाँदार चासोक ताङनाम र उधौली साकेला २०५८

सुनुवार चन्द्रकान्त
बाकिन है बाकिन … सहकाल ल्याउने पर्व : चण्डी पृष्ठ १९-२१ चेतना वर्ष २ अंक ३, २०५९

सुनुवार लोकपि्रय
गील शाँदर पृष्ठ १-७ कोइँचबु वर्ष ११ अंक १, २०५९

हतुवाली चन्द्रकुमार
किराँत कोइँच सुनुवार शिल -सिली पृष्ठ १७ साकेन्वा किराँतहरुको महान चाड वान्तवा अनुसन्धान प्रतिष्ठान २०६४
[ad#body]

Share

6 Comments to सुख शन्ति र समृद्धिको लागि किराँत चाड शाँदार

  1. Prakash Sunuwar says:

    uttam ji ko yo lekhlai padehere baut prayogatmak lagyo. yasle haraudai gako sunuwarko shyandar lai bachna ko laagi kehi baal dinchha nai bhanne ashaa rakheko chhu.

    tapai dhannebaadko paatra hunuhunchha UTTAM ji,

  2. chandra says:

    Very good job uttam ji,

  3. Prakash SUNUWAR says:

    ehoina lalu mukhe inke comment bresh panein, marchha inke bichar ? ngan ngan baso chhau fusu mi koun desa madenung goi inkali, library me kerraa chesma dhalkesa paden paden baso chhauki korem ha.

    fresh dumchaa malataw shya

    ani uttam jo lai aba shyanda aaunu laageko ma yo lekh sahayogi hune nai chha dhanyabaad

    inke warcha
    prakash

  4. asim says:

    aafno sanskriti jogaune chetana ka laagi suchana haru ko bhumika mahatwa ati nai hunchha. sathi harule ramro kam garnu vako chha. tara, nikai kam sunuwars ko access matra e-media raheko chha, yo fact ho. kati le response nai nagarne habit chha.

    Sunuwar ko syadr chad ko kura garda padhda nikai janiyo. Lop hudai gayeko Syadar preservation karya naya places ma start vayeko khabar utsahi chha. purana basti haru ma lop hudai chan. Ajha, purano sunuwar ko basti Buj ma praya yo lop hune awasta ma chha. Kinaki, Buj/Bhuji ma bahiriya haruko sanskriti le displace gareko fact hami samu chha. Teha ko jana jiwan ra manchhe ma bahiri sanskriti le atikraman gari sakeko chha vannu parda X-tianity ko lahad ma samasta sunuwar haru aafulai paribartan gareka chhan. Huna ta tyo uniharuko maulik adhikar ko kura ho even sunuwar haru ko kartabya vannu AFFNO PAN/self identity sunuwar hunu ma nai chha.

    tapai jasta front line ma kalam chalaune media persons, leaders, social workers infact ma scholars le nirantar hami sunuwar haruko akha inner sense.. kholna saknu hunechha.

    Researchers, workers, activists sabai lai jutna Financial Support ko Kacho chha. Yas ka laagi hamro PRAYAS huna sakeko chhaina. Kina nasochne? kina najutne ? YO PROPOSAL HAMI SHARE GARAUN.

  5. Prakash SUNUWAR says:

    thopa thopa le saagar banchha … proposal k hola sabailai yahi http://www.sunuwar.org ma sampresan gareko khanda ma upayukta hola …

  6. Kormoch says:

    Great JOB!

Leave a Reply

Your email address will not be published.