सम्झनाका फुलहरुका सालिन विद्रोह

–काःतिच
“जीवनको यो पछिल्लो दुई दशकमा समाज परिवर्तनका लागि चालिएका यात्रा र जीवन भोगाइको प्रतिबिम्ब नै प्रस्तुत कृति हो । लिपिबद्ध गर्दै प्रकाशनको अवस्थामा आइपुग्दा कवयित्रीका जीवन भोगाइ र समाज परिवर्तनका लागि खर्चिएका जुझारु समयको यथार्थ चित्रण पाइन्छ । दृष्टिकोणमा हुने फरक अर्को यथार्थ हो । समयक्रममा हुने समालोचनाले यो खाडल पक्कै भरिनेछ भन्ने मेरो विश्वास रहेको छ ।” इन्द्रमणि अधिकारीको भनाइले सम्झनाका फुलहरुको सार अनुभूत गर्न सकिन्छ ।
“जलजला देख्या छैन बयान खुबै सुनेको छु ।
यसैपाला घुम्न जाने धोको मैले गुनेको छु ।
आज मेरो सम्झनामा पहिलो फूल बनेका छन् यी हरफहरू । सम्झनाका फूलहरूमध्ये पहिलो फूलको पहिलो सेर यिनै हरफहरू मार्फत ढङ्ग नहुँदा नहुँदै पनि गजल कोर्ने रहर जागेको थियो र यिनै हरफहरूलाई ललित साहित्य परिषद् रोल्पाको साप्ताहिक कार्यक्रममा बाचन गरेकी थिएँ । नियम र परिधिबारे कुनै जानकारी नहुँदै गजलको नाम दिएका कारण पनि यी पङ्क्तिहरूलाई सधैँ सँगाल्न मन लाग्छ । जस्तो लेखेँ त्यस्तै वाचन गर्दा श्रोताहरूले केही नमिलेको महसुस गरेका थिए तर मलाई केही भनेका थिएनन् । पछि मलाई यो थाहा भयो कि मैले गजल भनेर पढेको सिर्जनाको फेद टुप्पो केही नमिलेको रहेछ । तृष्णा जाग्नु र व्यवहारमा उतार्नु संयोग हुँदो रहेछ । यसपछिका दिनमा मैले गजलहरू सुन्ने, लेख्ने प्रयास गरेँ र आज यो ‘सम्झनाका फूलहरू’ यहाँहरूको माझमा पस्कन सकेको छु ।” गजलकार तारादेवी सुनुवारले आफ्नो इमानदारिता पस्किनु भएको छ ।
उहाँले थप प्रष्ट पार्नु भएको छ, “पश्चिमाञ्चलको रोल्पाबाट फक्रिन सुरु भएका ‘सम्झनाका फूलहरू’ले पर्वतहुँदै काभ्रे र भक्तपुरमा प्रजनन गरी काठमाण्डौमा आयोजित टेक बहादुर विष्णुमाया सुनुवारको तेस्रो स्मृति दिवसको अवसरमा जन्म लिएको छ । कुनै पनि कुरालाई मनमा मात्रै राखेर बाहिर उजागर गरिएन भने सडेर, गलेर जान्छ । मैले लेख्ने हरेक सिर्जनाहरू चाहे कविता, मुक्तक, गजल या लेख नै किन नहोस् ती सबै मेरा आफ्नै कार्यक्षेत्रसँग सम्बन्धित रहने गरेका छन् । जीवनमा आफैले हिँडेका घुम्तीहरूलाई जति बिर्सन खोजे तापनि यादहरूले सताइरहँदा ती यादहरू, भोगाइहरू, पलहरू, आक्रोशहरू तथा समाजमा देखिएका विकृति विसङ्गतिहरूको विरुद्ध मनमा लागेका भावहरू कलमको सहारले कापीमा बग्दछन् । तीनै भावहरूलाई कहिले कविताको रूपमा त कहिले गजलको रुपमा पोख्ने गर्दछु ।”
अग्रज साहित्यकार अतीत मुखियाका अनुसार “सम्झनाका फुलहरू” को पोष्टमार्टम रिपोर्ट यस्तो छ, “तारा बहिनीको गजल लेखन प्रथम प्रयास यस सङ्ग्रहमा समेटिएका गजलहरू सर्सर्ती हेर्दा केही गजलमा पूर्णअनुप्रास (काफिया)को प्रयोग देखिन्छ भने अधिकांस गजलका सेरहरू प्राय एकाक्षरी वा शब्दांश अन्त्यानुप्रास (काफिया)को प्रयोग भएको देखिन्छ । केही गजलहरूमा सहायक अन्त्यानुप्रास (हमकाफिया)को समेत प्रयोग भएको पाइन्छ ।
सधँैभरी साथमै दिन काट्ने बाचा गरेर छेउ लाग्यौ ।
हात थाम्ने भनी मन साट्ने बाचा गरेर छेउ लाग्यौ ।
यस गजलको मतलामा काट्ने शब्दको अनुप्रासमा ‘साट्ने’ शब्द पूर्णअनुप्रासको रूपमा प्रयोग भएर ‘बाचा गरेर छेउ लाग्यौ’ सहायक अन्त्यानुप्रासको प्रयोग पाइन्छ ।
देखिएनौ छितिज पारि नियाल्दा किन बैगुनी ।
देखिएनौ हिमाल पारि चिहाउँदा किन बैगुनी ।
यहाँ एकाक्षरी अनुप्रास ‘दा’ को सहायक अन्त्यानुप्रास (हमकाफिया)को रूपमा ‘किन बैगुनी’ प्रयोग गरिएको छ ।
पालुवामै चुँडेर किन टुक्रायौ मेरो यौवनलाई ?
चुँडाएर लुछेर किन टुक्रायौ मेरो यौवनलाई ?
यहा ‘चुँडेर’ र ‘लुछेर शब्दको ‘एर’ शब्दांश अनुप्रासमा ‘किन टुक्रायौ मेरो यौवनलाई’ सहायक अन्यानुप्रास (हमकाफिया)ले गजल सजाइएको देखिन्छ । यसरी नै मन लागेको छ, नाम थियो, घायल छु, दिन हजुरलाई जस्ता हमकाफिया भएका गजलहरु देखिन्छन् । तर केही गजलहरुमा भने मूल अनुप्रासको गडबडी पनि भएको पाइन्छ ।

जिन्दगी त किताब रैछ जति पढेनी सकिने ।
जिन्दगी नै गणित रैछ जति जोडेनी सकिने ।
यहानेर किताब शब्दको अनुप्रास गणीत शब्दलाई राखिएको देखिन्छ जुन अमिल्दो अनुप्रास हो । यो गणीत शब्दको ठाउँमा हिसाब राखिएको भए अतिउत्तम हुने थियो । यसो नभएर हमकाफियामा गएर शब्दांश अनुप्रास मिलाउने प्रयत्न गरिएको देखिन्छ । एकाक्षरी वा शब्दांश अनुप्रास विम्वात्मक गजलमा घतलाग्दा हुन्छन् । सरल शब्दका गजलमा पूर्णानुप्रासले नै वाहवाही बटुल्ने भनाइ दिग्गज गजलकारहरूको पाइन्छ ।
तारा बहिनीका गजलहरू सरल भएरै सरस छन् । उहाँका गजलमा प्रेम, कौतुहलता, पीडा, जिज्ञासा एवम् भ्रमजस्ता विषयवस्तुलाई कलात्मक तवरले उनेर सङ्ग्रहको माला तैयार पार्ने प्रयास गरिएको देखिन्छ । गजल जटिल शब्दले भन्दा सरल शब्दले नै सुन्दर र सरस हुने विधा मानिन्छ, जुन यो गजल सङ्ग्रहमा पाइन्छ । लेख्दै नलेखि बस्नुभन्दा केही लेखेर पस्कनु राम्रो हो । यात्रा थालेपछि मात्र गन्तव्यमा पुगिन्छ । जतिजति पाइला चालिन्छ उतिउति नै अनुभव बटुल्न सकिन्छ ।”

समग्रमा भन्नुपर्दा सम्झनाका फुलहरु एउटा विद्रोह हो । जतिसुकै समनताको भाषण हाँके पनि व्यवहारमा समानता हुननसेको नेपाली समाजप्रतिको प्रतिविम्ब हो । अनि महिला पूरुषको खाडल पुर्ने जमर्को हो, । गजलको व्याकरणिक संरचनामा स्त्रीलिङ्ग र पुलिङ्गको भेद गरिएको छैन । यसैले गजलको विषय वस्तु जेसुकै होस् । गजलको व्याकरण जेजस्तो होस, सम्झनाका फुलहरु आफैँमा एक आन्दोलन हो ।

Share

Leave a Reply

Your email address will not be published.