लुतो र राँकेसँगै वेथिति र वेइमानीलाई पनि फाल्ने कि !

– जेँःत–आम शोभा सुनुवार
कोइँच सुनुवार समुदायमा बिशेष अर्थ बोकेको विशेष दिन साउन एक गते । यो दिनलाई कोइँच समुदायमा छुट्टै तरिकाले मान्ने चलन छ । यस दिनलाई राँके पिदार पनि भनिन्छ । धान रोपाइँको मैजारोको दिनको रुपमा पनि लिने गरिन्छ । असारको झरीमा रोपाइँ सकेर सबै परिवार एकसाथ बसेर रमाइलो गरि मिठो मसिनो पकाएर खाने चलन छ । कामको व्यस्तताले परिवारमा एकआफसी टाढा भएको अवस्थामा राँके पिदारले नजिक बनोने काम गर्छ । पारिवारिक दूरी कम गरी सामिप्यताको अनुभूति प्रदान गर्छ ।
झरी–बादल हिलो–माटोसँग पौंठेजोरी खेल्दै थकित ज्यानलाई आराम दिन बिहानै नुहाई धुवाई गरी सफा भई लुतो फाल्ने हिन्दू चलन भएपनि कोइँच समुदायमा भने बालीनालीमा रोग नलागोस् भनेर राँकेको आराधना गरि विदाई गर्ने एक बिशेष दिन हो । राँके भनेको मकैबाली लगायत अन्यबालीमा डढ्ने रोग लगाउने एक वृद्धाको रुप हो । यस दिने राँके बुढालाई एरि प्लेत नामक विशेष किसिमको कोइँच खाना पकाइ चढाउने र त्यही खाना सबैले राँकेको प्रसादका रुपमा खाने चलन छ । प्लेत वा एरि बनाउँदा गहुँको पिठोलाई डो बनाएर केही समय राखिन्छ अनि त्यसलाई दुई हातले एरि वा प्लेत बनाई पानीमा उसिन्नुपर्छ । यसरी उसिनेको एरि वा प्लेतलाई तारेर इच्छानुसारको मसला राखी घिउमा भुटेर आलुको चानासँग खाने चलन छ । प्लेत वा एरि लाम्चो अकारको हुन्छ । साउन १ गते जसले प्लेत वा एरि खाँदैन उसलाई राकेँ बुढाले राती सुतेको बेला पोद (गड्यौँला) खुवाउँछ भन्ने भनाई छ । राती सुतेको बेला राँके बूढाले घरघरमा घुमेर जोख्छ, जसको वजन कम हुन्छ उसलाई राके बुढाले सजिलै उठाएर लान्छ भन्ने सजिलै उठाएर लान्छ भन्ने जनविश्वास छ । जसले एरि वा प्लेत खाँदैन त्यो मान्छेलाई राँके बुढाले गड्यौला खुवाउँछ भन्ने पनि चलन छ । त्यसैले साउनको पहिलो दिन सबै कोइँचको घर घरमा प्लेत पाकेकै हुन्छ ।
राती प्लेत खानेबेला पहिला राँके बुढालाई खुशी पार्ने र सबै दुःखकष्ट हरण गरिदिन अनुनय विनयसँगै घरभित्रबाट बाँसको सिटा बालेर राकेँलाई विदाइ गर्ने चलन छ । त्यसरी फालेको सिटालाई सँगालेर जतनसाथ राखेर माघ १ गतेका दिन खिर पकाएर नयाँ वर्ष मनाउँदै सामिबु पिदार मनाउने चलन यथावत छँदै छ । हिन्दू परम्परामा आइन परिवर्तनको दिन पनि हो साउन १ गते । आजैबाट हिउँद लागेको मानिन्छ । आजको दिन विशेगरेर गोर्माली पकाएर खाने चलन पनि छ । नयाँ दुधे मकैको फेक्लो पीठो बनाएर भुँबुरचाँदे र सेलरोटी पकाएर खाने पनि गरिन्छ । हुने खानेले सुँगुर काटेर भोज पनि गर्दछन् । नजिक भएका चेलीबेटीहरुलाई बोलाएर टिका लगाई दक्षिणा दिने र पाल्ने गरिन्छ ।
परम्परा र संस्कृतिका धनी कोइँच समुदायमा राँके पिदार गरेपछि रातभरि राँके जात्रा भर्ने चलन छ । यसरी राँके जात्रा भर्दा जुवातास खेल्न, जुवारी खेलेर नाचगान गर्न सबैलाई छुट हुने गर्दछ । राती निदाउँदा राँके बुढाले जोख्ने र जोख्दा तौल पुगेन भने राँके बुढाले लान्छ अर्थात् मरिन्छ भन्ने जनविश्वासको कारण पनि रातभरि नाचगान गर्ने र अन्य रमाइलो गर्ने गरिएको हो । तर यस्ता परम्परागत कोइँच संस्कृति अहिले लोप हुँदै गएको छ । राज्यमा संघीयता आयो भनिन्छ तर कोइँच गाउँघरको लागि गाउँगाउँमा सिंहदरवारको बेथिति र बेइमानी मात्रै पुगेको छ । अहिलेसम्म कुनै पनि कोइँच गाउँमा न साँस्कृतिक सर्भेक्षण भएको छ न मातृभाषामा शिक्षा लागु गरिएको छ । एकतिर हामी कोइँच भाषा संस्कृतिको संरक्षणको वारेमा कराइरहेका छौं अर्कोतिर दिनदिनै संस्कृति लोप हुँदै छ । संस्कृति संरक्षणको मिहिनेत बालुवामा पानी हालेसरह भएको छ । राँके र लुतो फाले जस्तै हामीसँग भएका वेथिति, बेइमानी र भ्रष्ट्राचारलाई पनि सबै मिलेर आजैदेखि फाल्ने पो हो कि !
–कुपिण्डे, लिखु तामाकोशी १, रामेछाप । हाल ः काठमाडौं ।

Share

Leave a Reply

Your email address will not be published.