मालिङ्गोको बोटमा मौलाएको फेन्चेम माया : इलामे कोइँचको पवित्र हरित मनसँग

img_0284–कोइँच बु काःतिच
खस्रुको बोटमुनि गाईगोरु, बाख्रा चराएर गोठाले जीवन बाँचेका कोइँचहरु, मालिङ्गो घारीमा मायालाई क्योङ्मा खिपेर हाँसेका डाकेडाले कोइँचहरु, बिटे आलुमा फेन्चेम माया चोपेर जिन्दगी धानेका एर्म कोइँचहरु । मेची राजमार्गको किनारमा दिनाहु दुध ओसार्दै उकालीओराली खेपेका कोइँचहरु । अब आफ्नो दैनान्दिनी, जीवनशैली र संस्कृति पाहुनालाई पस्किने सपना बुनीरहेका छन् ।
हुन पनि इलाम घुम्नेहरुका लागि पुवा मझुवा कोइँच गाउँ पुगिएन भने इलाम गएको कुनै सार्थकता हुँदैन ।
इलामका पर्यटनविद् तथा सञ्चारकर्मी धर्म गौतम भन्नुहुन्छ, मलाई इलाममा एउटा कुरा खट्कीरहेको थियो, इलाम पुगेर घर फर्किँदा घरमा वा आफ्नो मायालुलाई चिनो के लैजाने ? त्यस्तो सम्झना रहीरहने चिनो इलाममा केही थिएन । जो आए पनि चिया, ललीपप, छुर्पी लिएर जाने । लाग्यो खायो सकियो । खप्ने खालको चिनो के हुनसक्छ भनेर मनमा कुरा खेलीरहेको थियो । त्यो अभाव कोइँच गाउँको हेण्डिक्राफ्टले पुरा गरेको छ । हाम्रा कोइँच दाजुभाईसँग यस्ता राम्रा राम्रा हेण्डिक्राफ्ट रहेछ । यसलाई प्रोमोट गर्न सकिन्छ ।
पुख्र्यौली थलोमा निख्रीसकेको परम्परागत सीप अझै इलाममा जीवित रहेकोछ । पानी नचुहिने, भुने, डेली, सोली, थुन्से, नाङ्लो, डोको, डालो बुन्ने कोइँच इलाममा छँदैछन् । मायालुको अमर चिनो प्लेँकास, क्योङ्, लुजेबास, माचिङ्गा बास यहाँका कोइँचले बनाउन छाडेका छैनन् । वार्दे, दुवाँली थापेर सिकार गर्ने चलन जीवित छँदै छ । त्यति मात्र होइन आधुनिक कृषि प्रणालीमा पनि पोख्त छन् । नगदेबालीहरु लगाउन पौरखी हातहरु माटोसँग सल्बलाइरहेका छन् । हेर्दा हामीलाई अचम्म लाग्छ । शहरबजारको व्यूटीपार्लरमा गएर पार्टीमा चिटिक्क परेर हिड्ने कृत्रिम सुन्दरीभन्दा सयौं गुण सुन्दर देखिन्छन् इलामे कोइँच युवायुवतिहरु । कसरी आफ्नो सौन्दर्य स्याहारसंभार गरे होलान् ? पुख्र्यौली थलोका युवायुवातीहरुले शहरबजारको सुन्दरतासँगै पढ्नलेख्न, खेतीपाती, व्यापार व्यवासाय र पुख्र्यौली पेशा कसरी जीवित राख्ने भन्ने शिक्षा सिक्न इलाम, पाँचथरको सुनुवार गाउँ एक पटक पुग्नै पर्ने हुन्छ । परम्परागत पेशालाई गर्वसाथ युवा पुस्ताहरुले अँगालीरहेका छन् इलामे हरित पवित्र मनका कोइँचहरुले ।
२०७१ साल वैशाख । पुवा मझुवाको कोइँच गाउँ, चैते । शाँदार पिदारमा कम्मर मर्काई मर्काई नाचेको याद ताजै छ । म र मेरो साला राजेश सुनुवार (हाल सुनुवार सेवा समाज कतारका सचिव हुनुहुन्छ ।) टी सर्टको भरमा पाँचथर शाँदारथानको सुसेस भवन उद्घाटन गर्न फिदिम नाम्दोखोला गएका थियौं । तर कोइँच संस्कृति सम्बन्धि अन्तरक्रिया भएको हुँदा शाँदारपिदारकै दिन पुवा मझुवा चैते आइपुग्नु पर्ने भन्ने तत्कालीन अध्यक्ष मनप्रसाद सुनुवारको खबरले भवन उद्घाटन गर्ने वित्तिक्कै हामी, बुद्ध मुखिया सिवा, बुद्ध मुखिया लुम्दे, राजेश सिरहा र म हिड्दै पौवा भन्ज्यङ पुगेर ट्रक चढेर राँके पुगियो र त्यहाँ बागखोरसम्म चार सयमा ट्याक्सी रिजर्भ गरी पुवा मझुवा चैते पुग्यौं । हामी पुग्दा शाँदार पिदार सकेर मन्दिरबाट हिड्न लाग्नुभएको रहेछ । बेलुकी चैत शुशुच कोइँचको घरमा क्याम्प फायरसहित अन्तरक्रिया भयो । लेकको ठाउँ जाडोले इन्तु न चिन्तु बनायो र लुम्दे बुद्ध मुखियाको कोट मागेर ओड्दै अन्तरक्रिया गर्दाको क्षण जति अविस्मर्णीय थियो । खोइ कुन्नि किन हो ? यो मनलाई च्वस्स चिमोटीरहेको छ पुवा मझुवाको कोइँच गाउँले । झरिलो सिस्नुले झम्झमाए जस्तै मन फेन्चेम रनाह रहीरह्यो आजसम्म । यस वर्षको कोइँच इको कल्चरल टुरिजम भिलेज स्थलगत भ्रमणमा झनै धेरै कुरा पुवा मझुवाले सिकायो । मालिङ्गोको बोटमा मौलाएको फेन्चेम (चिङ्फिङ) माया अति रसिलो बनेर यो मनमा झाँगिएको छ । इलाम घुम्नुको सार्थकता पुवा मझुवाको कोइँच गाउँ घुमेपछि मात्र पुरा हुनेरहेछ, मन त्यसै त्यसै पुलकित भइरहेछ फेन्चेम मायामा ।

Share

Leave a Reply

Your email address will not be published.