बेलायतमा नारी दिवस !

 

-भावना परिष्कृत सुनुवार

विगत वर्षहरू जसरी यस वर्ष पनि संसारभरिका महिलाहरुले “१०६ औं” अन्तर्राष्ट्रिय नारी दिवस मार्च आठलाई विभिन्न नारी जागरण कार्यक्रमहरु सहित धुमधामले मनाउदै छन् ! उसो त पुरै हप्ता नारी दिवस सप्ताहको रुपमा महिला अधिकार सम्बन्धि चर्चा परिचर्चा गरिदै मानिने महिला दिवस अर्थात (इन्टरनेसनल वूमेन्स डे) बिश्व महिला दिवस हो !

प्रत्येक नारी दिवसमा एउटा एउटा मुख्य बिषय (थिम) मा आधारित नाराहरु बनाइन्छ l प्रत्येक देशले आ-आफ्नै समसामयिक बिषयहरुलाई समाबेस गरी नाराहरु बनाउने गर्दछन । गत बर्ष (“१०५ औ” सन् २०१५) को नेपालको लागि राष्ट्रिय नारी दिवस नारा (राष्ट्रिय महिला आयोगबाट) “लैगिकमैत्री संविधान महिला हिंसाको निदान” रहेको थियो र यो बर्ष १०६ औँ नारी दिवसको लागि अन्तर्राष्ट्रिय नारा “लैगिक समानताका लागि पाइला हाराहारी, सन् २०५० सम्म हिसाव बराबरी” भन्ने रहेको छ र नेपालको लागि “संविधानलाई व्यवहारमा उतारौं, महिला अधिकार सुनिश्चित गरौँ” भन्ने रहेको छ । यी नाराहरुलाई नाराको रुपमा मात्र सिमित नराखेर कार्यात्मकरुपमा अगाडि बढाउनु सबैभन्दा महत्वपूर्ण रहन्छ l यसरी नारी चेतनासँग सम्बन्धित नाराहरु निर्माण भई वैचारिक जागरण भई बिकासको यस अवस्थासम्म आइपुग्नुमा नारी जागरणको सिंगो इतिहास जोडिएको छ भन्नुमा कुनै अत्युक्ति नहोला ।

अन्तर्राष्ट्रिय नारी दिवसको इतिहासलाई फर्केर हेर्ने हो भने बिगत एक सय छ बर्ष ताका प्रारम्भिक चरणको कालखण्डलाई हामीले स्मरण गर्नुपर्ने हुन्छ l २९ फेब्रुअरि सन् १९०९ ताका, नारी मुक्ति आन्दोलनको सन्दर्भमा, जसको प्रथम अध्याय लेखिने काम सयुक्त राष्ट्र संघमा केही सामाजिक, जागरुक र चेतनशील महिलाहरुबाट थालनी भएको थियो l त्यसपछि सन् १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा अन्तर्राष्ट्रिय महिलाहरुको बृहत भेला भएको थियो l जसमा १७ वटा देशका १०० जना भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो l पुरुषसरह श्रमिक महिलाहरुले समान ज्याला र सुविधाहरु पाउनुपर्ने, सदियौदेखि नारी माथि सामाजको नाममा, धर्मको नाममा, जाति र बर्गको नाममा हुँदै आइरहेको बिभिन्न खाले बिभेदहरु, लैगिक र अमानबीय ब्यबहारहरुको बारेमा खुलेर संघर्षको यात्रालाई अघि बढाउनेजस्ता साहसिक कार्यको थालनी भएको थियो ती अग्रज महिलाहरुबाट l जसको फलस्वरुप लैगिक विभेद, सामाजिक, शैक्षिक, राजनीतिक, सांस्कृतिक, आर्थिकजस्ता विविध क्षेत्रहरुमा भएको शोषण, दमन र विभेदको बिरुद्धमा आवाज बुलन्दित गर्दै, अन्तर्राष्ट्रिय स्तरसम्म प्रभाव जमाउन सफल भए ती नारी अग्रजहरु l सन् १९११ मा यस प्रकारको महिला जागृतिले बिभिन्न राष्ट्रमा एउटा क्रान्तिको आन्दोलन चर्काउन सफल भएको थियो । सोही समयमा पहिलो पटक अन्तर्राष्ट्रिय नारी दिवस मनाउने क्रमको शुभारम्भ गराई छाड्यो उक्त क्रान्तिले l यही क्रमलाई निरन्तरता दिदै रसियाका नारीहरुले १९१३ मा ८ मार्चको दिन नारी दिवस मनाए l यसै समयदेखि सबै युरोपेली राष्ट्रका नारीहरुले समेत मार्च ८ कै दिन नारी दिवसलाई मनाउन थाले महिलामुक्ति र संघर्षको अभियानलाई अगाडि सारेर l सन् १९१७ ताका आइपुग्दा रसियाका नारीहरुले विश्व युद्धको बिरुद्ध, शान्तिको निम्ति, रोटीको निम्ति, प्रेमको निम्ति, महिलाहरुको मत अधिकारको निम्ति तथा सबै क्षेत्रमा पुरुषसमान हक अधिकार प्राप्तिको निम्ति मार्च आठकै दिन महिला विभेद मुद्दाको आवाजलाई झनै बुलन्दित पार्दै लान थाले l जसको फलस्वरूप रसियाका नारीहरुले मत अधिकार सुनिश्चित गराउन सफल भएका थिए l यसरी नै सन् १९१७ देखि १९७६ सम्म मार्च आठले नारी दिवसको निरन्तरता पाइरह्यो l सन् १९७७ मा संयुक्त राष्ट्र संघले नारी दिवस मनाउने सबै राष्ट्रका प्रतिनिधिहरुलाई बोलाएर, आठ मार्चकै दिन pratyek वर्ष अन्तर्राष्ट्रिय नारी दिवस मनाउने निर्णय गर्दै आधिकारिकरुपमा घोषणा गरेको थियो l त्यसपश्चात आठ मार्चमा मनाइने उक्त नारी दिवसले बिश्वब्यापी रुप लिंदै आजको अवस्थासम्म आइपुगेको हो चेतनशील र जागरुक नारीहरुको दरिलो पाइलाको झड्काले गर्दा ।

मार्च आठको दिनलाई संसारभरका बिकसित र बिकाससोन्मुख देशहरुमा नारी अधिकारसंग सरोकार राख्ने बिभिन्न संघ संस्थाहरुले नारी जागरण सम्बन्धी बिभिन्न कार्यक्रमको आयोजना गरी मान्ने गर्दछन । सामाजिक, राजनीतिक, शैक्षिक, कला तथा साहित्य, खेलकूद, पत्रकारिता, चिकित्सा लगायत बिभिन्न बिधामा उत्कृष्ट नारीहरुलाई सम्मान गर्ने प्रचलन छ । उक्त दिन विश्वका अग्रज महिलाहरुको सम्झना गरिनुको साथै नारी मुक्तिको निम्ति योगदान पुराउने नेपाली नारीहरुमा अनुराधा गुरुङ्ग कोइराला, साहना प्रधान, पारिजात, दिल शोभा शाक्य आदि जस्ता व्यक्ति व्यक्तित्वहरुको सम्मानमा चर्चा परिचर्चा गरिन्छ । यसरी बिश्वभर १०६ औँ नारी दिवस मनाइरहेको सङ्गोपंगोमा बेलायतमा बसोबास गर्ने नेपाली नारीहरुको बिभिन्न संघसंस्थाले पनि नेपालभित्र रहेका असहाय नारीहरुको निम्ति शिक्षा, स्वास्थ्य, रोजगारमूलक बिभिन्न शीप तथा अन्य विविध क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले च्यारिटी कार्यक्रमहरु गरेर मान्दै आइरहेका छन । यसै प्रसंगमा नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतले आफ्नो स्थापनाकाल सन २०१२ देखि आठ मार्चलाई मनाउदै आइरहेको छ । यो बर्ष पनि लैगिक समानताका लागि पाइला हाराहारी सन् २०५० सम्म हिसाब बराबरी भन्ने अन्तर्राष्ट्रिय मूल नारालाई आत्मासात गर्दै, बेलायतमा नेपाली महिलाहरुको अबस्था, घरेलु तथा सामाजिक हिंसा त्यसको पहिचान र निवारणलगायत नारी चेतनामा आधारित विविध कार्यक्रमहरुका साथ १२ मार्च शनिबारको दिन भब्यरुपमा मनाउन गइरहेको छ ।

नेपालको सन्दर्भमा नारी दिवसलाई महिलाहरुको समस्या समाधान र नारी मुक्तिको आन्दोलनसंग जोडेर मनाउन थालेको तीन दशक बढी पार भइसकेको अवस्था छ यधपि नारीहरुलाई समाज र राज्यले गर्ने विभेद र हेर्ने दृष्टिकोण उस्तै हुनाले समस्या जहाँको तहीं छन्, झन् गम्भीर हुँदै गएको महसुस हुन थालेको छ । एकातिर समयको परिवर्तनशीलता संगसंगै गणतान्त्रिक, लोकत्रान्त्रिक ब्यबस्था भइसकेको अवस्था र संघीय समाबेशी लोकत्रान्त्रिक व्यबस्थाको क्रममा विभिन्न बर्ग, क्षेत्र, जाति र समुदायका जनताले आ-आफ्नो हक अधिकार सुनिश्चित गर्नको खातिर लागि परेको बर्तमान परिपेक्षमा आधा आकास ढाक्ने र आधा धर्ती ओगट्ने नारी शक्तिलाई, मात्री शक्तिलाई राज्यले पुरुषहरु समान अधिकारको ग्यारेन्टी गर्न टड्कारो रूप नलिएको र दोस्रो कोटिको ब्यबहारभित्र पार्दै उलझाई रहेको छ। यसैगरी ग्रामिण परिवेशभित्र शिक्षाको उज्यालोबाट बन्चित नारीहरु माझ त झनै नारी मुक्ति बिषयसंग जोडिएको नारी दिवस मार्च आठले प्रभाव जमाउन रत्तिभर पनि सकेको छैन l पिछ्वाडा वर्ग, राज्यले समेत अपहेलना गरेको दूर दराजका कयौं दुर्गम बस्तीमा पुरुषहरुको अवस्था नै दयनीय छ भने नारी र बाल बालिकाहरुको अवस्था त कल्पना गर्दा मात्र पनि आत्माकम्पित गराउने खालको छ । यसै गरी आदिबासी नारीहरुको समस्या गैरआदिबासी नेपाली नारीहरुको समस्या भन्दा केही फरक प्रकृतिको छ । यिनको समस्यालाई पहिचान गरी निदान गरिनुपर्ने कुरामा सबै सरोकारवाला निकायको ध्यान आकृष्ट हुनु जरुरी छ । बिगतदेखि बर्तमानसम्म पनि नेपालभित्र अन्तर्राष्ट्रिय नारी दिवस महिला हिंसा र लैंगिक विभेद अन्त्य गरिनुपर्ने विषयमाथि केन्द्रित थियो र छ पनि l अन्तर्राष्ट्रिय स्तरबाट नै पनि महिला हिंसा रोक्ने माग गर्दै बिभिन्न खाले कार्यक्रमहरु भइरहेको पनि देखिन्छ l हाम्रो देश नेपालको सन्दर्भमा भने जति नै महिला अधिकार र लैंगिक विभेद अन्त्य गर्नुपर्ने नीति निर्माण भए तापनि, दिनानुदिन महिलाहरु माथि बर्बर घरेलु तथा सामाजिक हिंसा, बलात्कारजस्तो जघन्य अपराध भई नै रहेको छ । यसरी महिला हिंसा बढ्नुको मूल कारण राज्यको कमजोर कानूनी प्रक्रियाको साथै, सामाजिक, धार्मिक, सांस्कृतिक कारणहरु नै मुख्य जिम्मेवार छन् l घरभित्रदेखि विभेद खेप्दै नारी समाजको मैदानसम्म बिभिन्न खाले जायज नाजायज नीति नियमको शिकार बन्दै प्रताडित भइरहेकी छिन् । पिंढी जतिसुकै परिवर्तन भएपनि, समाज जतिसुकै शिक्षित भए पनि र सभ्य भए पनि नारीप्रतिको सामाजिक सोच भने पुरानै संस्कारको घेराभित्र कैद छ अझै पनि l पुरातनबादी सोच र पुरुषबादी मानासिकताउपर शुद्धिकरण नभएसम्म नारी मुक्ति सम्भव छैन l तसर्थ यो अन्तर्राष्ट्रिय नारी दिवस चेतनशील नारीरुको मात्र अभिभारा नभइकन समाजको, राज्यको नारी मुक्तिप्रतिको गहन जिम्मेवारी हो प्रमुख सरोकारको बिषय हो । बोक्सीको आरोपमा, दाइजो नल्याएको आरोपमा, छोरा नजन्माएको आरोपमा, छाउपडी, कम्लरीजस्ता कुरीतिको अवशेषको रूपमा नारी प्रताडित हुँदैनन्, बलात्कार बेचबिखन हुँदैन, घरेलु हिंसाको शिकारबाट नारी मुक्त हुँदैनन्, राज्यको हरेक तह र तप्कामा पुरुषहरूसरह अधिकारहरु सुनिश्चित गरिदैन र पूर्णरुपमा शारीरिक र मानसिकरूपमा नारीहरु चारै प्रहर सन्तुलित र सुरक्षित रहँदैनन् तबसम्म नारी दिवस मान्नुको कुनै सार्थकता हुँदैन ।

प्रत्येक वर्ष अन्तर्राष्ट्रिय नारी दिवस मान्नुको पछाडि कुनै खुशियालीको उत्सव थिएन र छैन पनि तर कामना गरौँ भविष्यमा खुशियालीको उत्सव बनोस् भनेर । १०६ औं अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना देशभित्रका, विश्वभरिका नारीहरुलाई !!!

सचिव – नेपाल आदिवासी महिला महासंघ बेलायत

Share

Leave a Reply

Your email address will not be published.