पहिचानको लागि सिरहाको कोइँच (सुनुवार) हरु पुनः जुर्मुराए

चुप्लु दाम्लोच
२९ चैत्र, डोहटिया । तीन दशकदेखि संगठित हुने प्रयास गरेका सिरहाली सुनुवारहरु पटक पटक संगठीत हुनबाट विचलीत भए पनि हरेस भने खाएका छैनन् । डम्बरबहादुर सुनुवार, जिल्लाकै बुद्धिजीवी मध्ये एक, का अनुसार गंगाबहादुर सुनुवारको अध्यक्षता गठित सो समितिले कोइँचको आर्थिक उन्नतिको काम थाल्ने योजना लिए पनि तत्कालिन समयका कोषाध्यक्षको गद्दारीले सो उद्देश्य पुरा हुन सकेन ।
५० को दशकमा सुनुवार सेवा समाजको उपाध्यक्ष महेन्द्रमान सुनुवारले सिरहाली सुनुवार उत्थान समिति गठन गरेेर थाकेको कोइँचलाई सुनुवार सेवा समाजमा आवद्ध गराउने प्रयास गर्नु भएको थियो । त्यसपछि लोकप्रिय र सुनुवार महिला समाजका अध्यक्ष सिर्जना सुनुवारले सुनुवार महिला समाज गठन गर्नु भयो । तर पनि कोइँच संगठित हुने क्रम भने उत्सहजनक रहेन ।
यस जिल्लाबाट सुनुवार सेवा समाज सातौं समितिमा विनोद सुनुवार केन्द्रिय सदस्य समेत रहनु भएको थियो । गंगा सुनुवार सुनुवार विद्यार्थी समाजको प्रतिनिधि भएर राष्ट्रिय सम्मेलनमा भाग लिनु भएको थियो भने हेमबहादुर सुनुवारले सुनुवार सेवा समाजको राष्ट्रिय सम्मेलनमा भाग लिनु भएको थियो । उत्सुकता र जाँगर भए पनि धेरै कोइँचहरु वीच एक-दुइ जना कोइँच मात्र संगठित हुनु पर्छ भनेर चम्किँदा, कसिँदा त्यसले सही गति लिन नसक्दो रहेछ । सबैमा उस्तै र उत्तिकै चेत हुनु पर्दोरहेछ भन्ने सत्य अनुभुति सिरहाली कोइँचमा रहेको पाइन्छ ।
तीसको दशकमै मुल्याङ्कन मासिकका सम्बाददाता भएर सिरहा गोल बजारमा पत्रिका पसल थापेर बसेको डम्बरबहादुर सुनुवार भन्नु हुन्छ, म नेपाल कम्युनिष्ट पार्टी चौमामा आवद्ध थिएँ । पञ्चायतकालमा राजनीति गर्न साह्रै गाह्रो थियो । पटक पटक जेल चलान भइयो । अनि भूमिगत राजनीतिमा सक्रिय हुनु पर्‍यो । मैले जातीय मुक्ति भए पछि मात्र देशको विकास हुन्छ भनेर ३९ सालमै यहाँको कोइँचहरुलाई संगठित गरेँ । तर संगठित हुनु पर्छ र दशत्व र बाहुनवादी सोँचबाट मुक्त हुनु पर्छ भनेर ममा मात्र चेत पसेर नहुने । सबै कोइँचमा त्यस्तो चेतनाको विकास हुन सकेना या त हामीले त्यस्तो चेतको विकास गर्न सकिएन । चहँदा चहँदै पनि हामी सिरहाका कोइँच पछाडि पर्‍यौं । पछि चितवान राष्ट्रिय सम्मेलनबाट विचारको मतान्तर भएपछि राजनीतिबाट पनि पछि हटेँ । पारिवारिक जीवनमा पनि ठूलो दुर्घटना भयो । अझै पनि कोइँच गोलवद्ध हुनु पर्छ भनेर कराउन भने छाडिएको छैन ।
स्वास्थ्यकर्मी मिना सुनुवारले भन्नुभयो हामी संगठित भएर मात्र केही हुँदो रहेन छ । कोइँच पहिचानको चेत बोकेर संगठित भयौं भने मात्र हाम्रो मुक्ति हुने रहेछ । यहाँ सुनुवार विद्यार्थी समाज, सुनुवार महिला समाज र सुनुवार सेवा समाज गठन भएको हो । अहिले कहाँ गयो थाहा छैन । यहाँ कोइँचलाई मातृभाषा आउँदैन, भेषभूषा छैन, संस्कार संस्कृति छैन । हामी कोइँच हौं भन्छौं तर कोइँचको केही चिनारी छैन । शाँदार पिदारसम्म गर्न सकेको छैनौं ।
स्वास्थ्य स्वयम्सेविका माया सुनुवारले मातृभाषा बोल्न नआएकोमा पीडानुभूति भएको बताउँदै अगाडि भन्नुभयो- हामी कोइँच हौं भन्छौं, हाम्रो मातृभाषा आउँदैन, अर्काको भाषा बोल्नु परेको छ । सबै भन्दा मातृभाषाको आवाश्यकता छ । यो हाम्रो भाषा हो त ? होइन । हामी मैथलि बोल्छौं, मगर, तामाङ बोल्छौं ।
सिरहाली कोइँचको कोइँच पहिचानको संकटलार्इ न्युनीकरणको लागि सुनुवार सेवा समाजका प्रथम उपाध्यक्ष रणवीर सुनुवार र कोषाध्यक्ष उत्तमकुमार सुनुवारको उपस्थितिमा पुनः आदिवासी जनजाति कोइँचको तर्फबाट नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् सिरहाका प्रतिनिधि पृथ्वीराज सुनुवारको संयोजकत्वमा सिरहा जिल्ला सम्मेलन आयोजक समिति र गंगाकुमारी सुनुवारको संयोजकत्वमा असनपुर गाउँ सम्मेलन आयोजक समिति गठन गरेका छन् ।

Share

Leave a Reply

Your email address will not be published.