नजिकको देउता हेला : नोब्लाले झस्कायो ।

–कोइँचबु काःतिच
जब हामी (सुनुवार सेवा समाज सचिवालय समूह) कोइँच किपटीय मुखिया तथा पुर्व प्रधानपञ्च चन्द्रबहादुर सुनुवारको प्रस्तर सालिक अनवरनको लागि रामेछापको लिखुतामाकोशी १ सा्ब्ला कुपिन्डे पुगियो अनयसै फर्किँदा नोब्रा लेक हुँदै फर्किने सल्लाह भयो ।

कार्तिक ३० गते । जगमनेडाँडामा मुखिया चन्द्रबहादुरको सालिक अनुवरण बजार बसेको थियो । उहिले एकराते बजारको सम्झना गराउँथ्यो । सबै सहभागीहरु नाचगानमा स्वःस्फुर्त सहभागी थिए । तस्वीरमा भेटी चढीरहेकै थियो । अझै पनि मुखियाप्रति आस्था घटेको थिएन । वास्तवमा कोइँचको मुखिया अन्य मुखिया जस्ता शोसकी मुखिया थिएनन् । धेरैको सोँचाइ हुन्छ मुखिया भनेको रैती मारा हुन्छन् । तर वास्तममा मुखिया शब्दमा घोत्लिनु अलिकति न्याय हुन्छ होला । मुखिया चार किसिमको पाइन्छ १. थर मुखिया : तराइको विन, कुमाल, मगर (सुनेको) को थर मुखिया हुन्छ । २. मालअड्डा अर्थात् सरकार अफिसको मुखिया : सरकारी काम गर्ने मालअड्डामा मुखिया पद हुनेगर्छ अहिले यो पद खारेज भइसक्यो । ३. ठेकेदार वा छपेली मुखिया : अहिलेको पार्किङ शुल्क उठाउने वा बालुवा खनी निकाल्ने ठेकेदार जस्तै जग्गाको तिरो (कर) उठाउने छपेली मुखिया । यी मुखियाहरुमा जनताप्रति कुनै उत्तरदायित्व हुँदैन । काेइँच किपटमा आएर मुखिया बनेका अन्य जातिकाे मुखिया वा अन्य ठाउँका मुखिया । ४. किपटीय मुखिया : परापूर्वकालदेखि जंगल खोरिया फाँडेर मानिस बस्न लायक बनाउने आदिवासी पहिलो बासिन्दाको सुरक्षा र व्यवस्थापन गर्न समुहले चुनेको चक्रीय प्रणाली अनुसार नीति नियाम कार्यान्वयन गराउने किपटीय मुखिया । यस्ता मुखियाले नराम्राे जनता मारा काम गरे दाजुभाइ मिलेर मुखिया खाेसेर अरुलाइ सुम्पिने परम्परा छ । काेइँच किपटीय मुखिया निरंकुश र हैकमी बन्न पाउँदैनन् । उनीहरु माथि संस्कृति निरन्तरताकाे दायित्व पनि थपिएकाे हुन्छ । त्यसकाे अवशेष अझै प्लेत्तिमा शाँदार गर्दा गुठेर राँगा  बस्नेतले बाँधी दिने चलन छ । चन्द्रबहादुर तीनै किपटीय मुखिया थिए । यसैले उनीमाथि गाउँलेको सम्मान देखिन्थ्यो ।

चिसो सिरेटो चल्दै थियो । जम्मा भए गाउँले दाजुभाइ नाचीरहेका थिए । सुनुवार सेवा समाजका उपाध्यक्ष र महासचिव कार्यक्रमबाट नोब्रा हुँदै फर्पु घरतिर लाग्नुभयो । त्यसरी उहाँहरुको आगमन र प्रस्थान २६ सय मिटर अग्लो नोब्राबाट भएपछि हामी (रणवीर सुनुवार, शोभा सुनुवार र मेरो) पनि त्यही बाटो समाउने कि भन्ने कुरा भयो । तर हामीसँग मोटरसाइकालको साथसाथै स्कुटर थियो । कच्ची भर्खरै खनेको लेकको बाटो । त्यसमाथि कोही मानिस नहिड्ने जंगलको ठाउँ । तर हामीलाई कोइँच किपटको दृश्यपान गर्नुथियो । उपाध्यक्ष अमृतले मंसिर १ गते विहानै अध्यक्षलाइ खबर गर्नुभयो “बाटो एकदम सही छ । एकघण्टामा फर्पु आइपुगिन्छ । मोटरसालकलमा चाहिँ एक दुइ ठाउँ कुपिण्डेबाट उकालो आउँदा नोब्रा निस्किनुभन्दा तल ओर्लिनुपर्छ तर स्कुटर चाहिँ के हुन्छ मलाइ अलिकति भेउ भएन ।” त्यसपछि हामीलाई जोश आयो । एकदुइ ठाउँ मात्रै हो भने बोकेर पनि स्कुटर कटाउँछौं ।

मङ्सिर १ गते । एक घण्टामा फर्पु पुगिने भएपछि हामी चाँडै काठमाडौ‌ पुगिने अनि कोइँच किपट पनि हेरिने लोभमा घरघर पसेर विदावारी हुँदै विहान १० बजे कुपिण्डे जगमनेबाट सोलिङ गरेको बाटैबाटो उकालो लाग्याैं । सोलिङमा मोटरसाइकल कुदाउँनुको दुःखद कुरा भनेकै गजबले थेचारिनु हो । चाइनिज उपचार टियान्सी गरे जस्तै । अध्यक्ष रणवीर र म बाइक छौ‌ं । कोषाध्यक्ष शोभा सुनुवार स्कुटरमा । उकालै उकालो । उकालो चढ्नुको मज्जासँगै पारी खिँचि रगीन थोलोदेम्बा पिकेको पहाडी श्रृंखलाको क्षितिजलाई धित्मरुञ्जेली दृश्यपान गर्दैछौं । लेकको बाटो । भर्खरै घाम लागेको छ । रातभरि झरेको तुसारो पग्लेर बाटो गिलो बनेको छ । ठाउँ ठाउँमा मोटरसाइकल, स्कुटी चिप्लिन्छ । अध्यक्ष ओर्लेर घरी स्कुटी घचेट्नु हुन्छ, घरी मोटरसाइकल । ठाउँ ठाउँमा ओर्लेर मोटरसाइकाल र स्कुटी घचेड्नुपर्दा हामी स्याँ स्याँ र फ्याँ फ्याँ हुन्छौं । तै पनि हामीलाइ कति पनि दुःख मनाऔं छैन । लेकको चिमाल, भँडारे, बुलुका पातहरु वर्षौ झरेर मलिलो बनाएको लोभ लाग्दो माटो छ । हिवा लहरहरु छपक्कै डाकेर आधुनिक आल्मुनिय तारजालीलाई चुनौति दिइरहेकै छ । बुकी फुलहरु सेताम्मे पाखाभरी फुलेर निलो आकाशलाइ चुम्बन गर्न आँगालो फिँजाइरहेको छ । घाम ओर्लेर लिखु चुम्न खोज्दै छ । हामी भने नोब्रा चुम्न ठ्याँसठ्याँस कनिरहेका छौं । पत्कर बन्ने धुनमा रहेका लेकाली जंगलहरु फेनेरेल्फु जस्तै पाटा पाटा बनेर इन्द्रेणी आभाश पस्कीरहेका छन् । बल्ला हामी नोब्राको घाँटी छिचोलौं। घाँती छिचाेल्दै गर्दा साँच्चिकै घाँटीमा माछाको हड्डी अड्के जस्तो भयो । बडेमानको लिखु ४ जलविद्युतको हाइडेन्सन फलमे पिल्लर नोब्राको घाँटीमै अड्किएर अइजेरु पलाएकाे रहेछ। तै पनि हाइटेन्सन लाइन छल्दै नुम्बुरसँग तस्वीर लियौं र नोब्रा घाँटी फड्केर खिम्ती पानीढलो नाःमादि (नमाडी)लागियो । हामी टुप्पीमा बासेर नमाडीसँग जिस्किन थाल्यौं । अघि भर्खरको उकालो चढ्दाको दुःख सबै खल्लामखुर्लुम्म एकै क्षणमा स्खलित भएर गयो । एक क्षण नै भए पनि अद्भुत आनन्द लियाैं ।

आँखाले भ्याइञ्जेली हिमालै हिमाल । नेपालको समयमानक हिमाल जात्नदुमा (गौरापर्वता) त यहीँ आँखा अगाडि अँगालो मारौंला जस्तै । अहा कति रमाइलो । कति स्वर्गीय आनन्द । थाकेका हामी हावासँग शत्रुता साँध्दै घरी उफ्रिन्छौं खुशीले घरी फनन घुम्छौ्र । साँच्चिकै हाम्रो किपटलाई भर्जिन पर्यटन स्थल बनाउन सकिन्छ भन्ने हामीले महशूस ग¥यौं ।

के छ र हेर्ने ? गाउँ गएर के गर्नु छ र । यस्तै यस्तै गन्गन सुन्नमा आउँछ हाम्रै कोइँचहरुको मुखाराविन्दबाट । शायद उहाँहरु हजाराैं खर्च गरेर अन्य गाउँठाउँमा हाइकिङ नाम दिएर जानुकाे सट्टा यहाँ आउँनु भयाे भने नजिककाे देउता हेला भन्ने उखानलाइ चरितार्थ गरेछाैं भनेर चुक्चुकाउनु हुने छ । यसैले त आफ्नै गाउँठाउँकाे प्रवर्द्धन गर्न खाेज्ने, विकासे सोँच भएका राधादेवी सुनुवार (चाइँडाँडा (ताँबे) मा रिसोर्ट बनाउने साेँच) महेश कोर्मोचा (थोलेदेम्बामा साइकलिङ, रुइलिमा बान्जी हान्ने सपना) चम्पक सुुनुवार (ग्रामिण कृषि व्यवसायको अवधारण) लाइ सम्झना पुग्नु हुने छ । तर अग्रगामी नेताहरुको कुरा नसुनिनु पनि दुःखद पक्ष रहेछ गाउँको विकासको लागि । हामीलाइ नाेब्रा डाँडाले ती विगतका काेइँच गाउँका काेइँच नेताले बाँडेकाे वा बुनेकाे सपना सम्झना गरायाे र गाउँकाे भर्जिन पर्यटनकाे लागि झस्कायाे ।
नाेब्रा डाँडाकाे प्रवर्द्धनकाे वाधक भनेकाे यातायात सुविधाको पहुँच रहेछ । स्थानीय सरकार र नेताहरुले सडकस्तरोन्नतिमा जोड दिनुपर्ने रहेछ । अनि खाना र बास व्यवस्थाकाे लागि प्राेत्सहान कार्यक्रम ल्याउनु पर्नेरहेछ । तर विकासको नाममा विकासे बाजेहरुको कमिसनको खेलमा लागेर नोब्राको अस्मिता लुटियाे भने त्याे यहाँकाे स्थानीय बासिन्दाहरु माथि अन्याय हुन्छ । यहीँका बासिन्दासँग नै मिलेर उनीहरुको परम्परागत जीवनशैली, स‌ंस्कृति, लवाइखवाइ र खानपानलाई आधुनिकतामा अपग्रेड गर्नु भने आवश्यक छ । भ्यु टावर, गुम्बा, माने, छाेर्तेन, मन्दिर बनाउँदैमा स्थानीय स्वाद पस्किँदैन । नाेब्ला जस्तो छ त्यस्तै भर्जिन हुनुपर्छ अनि मात्रै हाम्रो माटोको सुवास आउने पर्यटन स्थल बन्ने छ । कृत्रिम भ्युटार र दुरविना विना नै नामादिका ओख (नमाडे) याअ्ता र साब्लाको साब्लाज जेँःतिचको लेकाली खर्क नोब्रा लेक वास्तवमै रामेछाप दोलखा, सोलु, ओखलढुंगा, सिन्धुलीको पहाडीश्रृंखलका साथै हिमश्रंखल लाङटाङ र रोल्वालिङ हिमश्रृंखललाई नजिकैबाट अवलोकन गर्न सकिने प्राकृतिक अवलोकनस्थल हो भन्ने कुरामा हामी विश्वास्त भयाैं । र सबै कठीन यात्रालाइ भुलेर अल्हादित भयाैं ।

Share

Leave a Reply

Your email address will not be published.