त्रासैत्रास आडेर काठमाडौं यात्रा – मनभरि त्रास : बसमा बास

विहानै हिड्नेबेला फोन आयो । उठाएँ । मंगलवार हिड्न लागेको ? – उताबाट जानकारी आयो । अँ – उतरा दिएँ । विहानै खाना पाक्यो । दिदी, दाजु र भाउजुले राम्ररी जानु, भीरको बाटो छ – सुझाउनु भो । म लुखुर लुखुर आफ्नो बाटो लागेँ नौ बजेतिर । स्वर विज्ञानमा विश्वास गर्छु । त्यसैले कुनै साइत हेर्ने चलन छैन हिड्दा । त्यसैले नाकका प्वाल छामेर कुन नाकबाट सास चलेको छ याद गरेँ । दाहिने सास चलेको रहेछ तर देब्रे खुट्टा ढोकाबाट अगाडि सारीसकेको रहेछु । त्यस्तैमा बाटो लागेँ ।
उत्तर दिशा भएर घरबाट निस्केको म घर आगाँनबाट दक्षिणतिर लागेँ । मनिषाले काठमाडौंमा सामान लैजान भनेको हुँदा फोन लगाएँ । लागेना । उत्तमलाई फोन लगाएँ । त्यता पनि फोन स्वीच अफ रहेछ । सेल्पु हुँदै क्लुपा, तोषिपा भीर हुँदै गोठ डाँडाबाट चोकति पुल तरेर सेनी उकालो चढ्दै थिएँ । एक्लै उकालै उकालो । भीरको बाटो कटेर जंगलै जंगल । सुनसान, अनकण्टर । सेनी पाउरहाउस हुँदै माथि पुरानो घर कटेर जंगलमा हिड्दै थिएँ । अचानक पछाडि उता माप्रा भीरतिर ट्याक्टरले ढुंगा बोकेर आए जस्तो आवाज आयो । के करायो ? अचम्मले पछाडि फर्केर हेरेँ । अलि घोरिएर हेरेँ । आवाज नजिकीँदै आयो । यस्तो जंगलमा पनि के करायो यसरी भन्ने लाग्यो । त्यो आवाज झन् झन चर्किँदै मतिर आयो । हेर्दा हेर्दै परबाट भुइँ नै थर्काएर मतिर आएको प्रष्ट देखेँ । ल, के पो आयो, यो जंगल वीचमा मन झस्केर त्रसित बने । भूत हो कि न त कुनै अकल्पनीय जनवार के हो के हो अनेक तर्कना मनमा एकैचोटी उम्रिन पाउँदा नपाउँदै म उभिएको भूइँ नै हल्लिन थाल्यो । त्यसपछि मात्र मलाई यो भुइँचालो हो भन्ने याद भयो । रुख सबै हल्लियो । माथिबाट गोली बर्षे जस्तै ढुंगा बर्षिना थाले । त्यतिबेला मलाई कतै भाग्ने आँट आएन । अब ढुंगाले किचेर मर्ने भएँ भन्ने मात्र मनमा उब्ज्यो । म उभिएको ठाउँ सहित पहिरो गयो भन्ने लाग्यो । म ट्वाँ परेर उँभो मात्र हेरिरहेँ । मुखबाट राम राम भन्ने शब्द अप्रत्यासित फुस्के छ । ढुंगा मेरो सिधा आयो भने छलिन्छु भन्ने होस चाहिँ रह्यो । तर यताउता सर्ने आँट आएन । हेर्दाहेर्दै घरै जत्रो ढुंगा मेरो दाहिने बज्रेर उँधो चोकतितिर गयो । विस्तारै भूइँको कम्पन कम भयो । ढुंगा माथिबाट झर्न रोकियो । अनि हस्याङ फस्याङ अगाडि उकालो तर पचेङ दौडिने कोशिस गरेँ । के सक्नु ? स्याँस्याँ र फ्याँ फ्याँ भएँ । आत्तासले मनमा जरोको नसा तीब्ररुपमा फैलियो । ख्लिनु फर्केर आउँछ भन्छन् गाउँमा । अवश्य पनि अर्को झड्काको भुइँचालो जान्छ भन्ने लागीरहेको थियो । बल्ला बल्ला सेनि पुच्छार, बेँबेर जाने दोबाटोको सल्ला डाँडा निस्केँ । अब भने बाँचे जस्तो लाग्यो ।
डाँडामा निस्केर फोन लगाउन थालेँ । कतै फोन लाग्दैन । घरमा दिदीलाई फोन लगाएँ । फोन गयो उठेन । जिएसएम मोबाइलमा टिरिङ फोन आयो । हेरेको गंगाको फोन रहेछ । फोन लगाउँछु लाग्दैन । सबैतिर फोन गरेँ लाग्दैन । बल्ला गंगाको फोन आयो । उठाएँ । कहाँ हुनुहुन्छ ? उताबाट सोधियो । म ठिकै छु, भन्ने जवाफ दिएँ र ढुक्का भएँ । उता घर तिसुप गैराघरबाट पनि फोन आयो दाजुको कहाँ छस् भनेर । मैले सेनि खिजी चण्डेश्वरीमा छु । सन्चै भएको उतरा दिँदै दिदीको फोन उठेन कहाँ हो ? भनेर सोधेँ । दिदी कहाँ गएको केही थाहा भएन । त्यताबाट उता साल्बु रगनी जाउँ त बाटै मुनि सुख्खा पहिरो लगातर गइरहेको थियो । त्यसैले सेनिबाट सिधै उकालो चढेँ । उकालै उकालो । स्याँ स्याँ । सास बढीरहेको थियो । मन एक तमासले डर लागिरहेको थियो । अलिकति माथि उक्लेपछि बरपिपल चौतरा रहेछ । त्यहीँ झोला फ्यात्त फालेर बसेँ र फोन लगाउन फेरि सुरु गरेँ । कतै फोन लागिरहेको थिएन । हुँदा हुँदै फेरि भुइँचालो आयो । वरपिपल नै उँधोमुन्टो भए जस्तो, भुइँ नै पल्टिए जस्तो । भुइँ काँपीरह्यो । सँग सँगै वारिपारि बुङ्ङा धुवाँ फालेर भुइँ बम पड्के जस्तै पड्कीँदै सुख्खा पहिरो जान थाल्यो । वारिपारि घरहरु दुङ दुङ ढले । धुलै धुलो भयो लिखुकोशी पुरै भूभाग । क्षत विक्षत मन । त्रसित वातावरण । सेनिका मानिसहरु घर छाडेर चौरमा जम्मा भएको देखिए अलिकति माथि उक्ले पछि । भुइँ फट्ट फाटेका थिए । जहाँ टेक्यो त्यही पहिरो जाला जस्तो । डाँडामा बस्नै त्रास । आफैं पनि त्रासदी ओडेर हिडीरहेको थेँ । म जानु पर्ने सैपु ढाँडे भए पनि कसरी बाटो काट्ने ? मनमा डर लागीरहेको थियो । त्यसैले सिधै सेनी माथि देउरालीतिर उक्लिएँ ।
सेनीमै केहीवेर बसेर उकालै उकालो उक्लिएपछि कच्ची रोड भेटेँ । र, साथ साथै तर्सिएँ । भर्खरै खनेको रोडको भीत्ताबाट ढुंगा झरिरहेकै थ्यो । भीर छ होस गरेर जानु होला है, सेनीकै एक जना भाई सुझाए अनुसार त्यो भीरको सडक खण्ड दौडेर नाघेँ एक्लै । पुलै डाँडा निस्कनु अगाडि सुख्खा पहिरो माथि डोजर बिसाएर बसेको थियो । पहिरोबाट आएको धुलोले पुरै गाउँ धुलम्मे पारेको हुँदा मैले पनि केही धुलो नचाहँदा नचाहँदै खानु प¥यो । पुलै पुग्दा गाउँका सबै मानिसहरु जम्मा भएर बसेका रहेछन् । यस्तो भुइँचालो आउँदा पनि कहाँ हिडेको होला ? डर लागेन कि क्या हो मानिसहरु सोद्धै थे । एक क्षण चिनजान गरियो । सोसुप गोङ्रोच भिनाजुसँग भेट भो । एक जना बहिनीले पानी बाँढीरहेकी रहिछिन् । मलाई पनि दिइन् । स्वट्ट स्वाट्ट दुई मग पानी पिएँ । त्यसपछि साल्बु पुग्दा पुरै घर भत्केको रहेछ कमलकृष्ण, बालकृष्ण सुनुवारको । बालकृष्ण सुनुवार मलाई क ख रा सिकाउने गुरु पनि हुनुहुन्छ । उहाँले ढाँडे जाँदा छोटो बाटो पहिरो जानसक्ने भीर भएको हुँदा गाउँ नै गाउँ चप्लेटीबाट जान अह्राउनु भो । ठूला र अग्रजले भनेको कुरा काट्न सकिना । सबै मानिस सडकमा निस्केर बसेका थिए । म सडकै सडक रगनी गैरागाउँतिर लागेँ । बाटोमा बेदबहादुर महतरा भेट भो । उहाँहरुको टिम ओखलढुंगामा पहिलो पटक विजुली उत्पादन भएको पावर हाउसमा बिजुली भूकम्पले काटिएकोले बनाउन हिड्नु भएको रहेछ । त्यसपछि रगनीको पुराना शिक्षक गंगाबहादुर सुनुवारसँग भेट भो । उहाँले पनि यसपाली के भएको हो ? भन्दै बाटैमा ल बसौं भनेर समात्नु भयो । उहाँहरुसँग पनि विदावारी हुँदै अगाडि बढेँ । उता पर वेदबहादुर असई पनि सडकमै जम्मा भएर बस्नु भएको रहेछ । रगनी गैर गाउँको जोर धारा धमिलोभएकोथियो । म सडकै सडक हिडेँ । धुलै धुलो । गाउँको सबै ठाउँमा पानीको मूल फूटीरहेको थियो । म जिली निस्के । पुरै पहाड फुटेको थियो । कतै छाप्रोमा जम्मा भएर खसी काटेर खाई रहेको थिए । मेरो खुट्टा दुखी रहेको थियो । घाम माथि माथि पुगेको थियो पूर्वी पहाड रगनी र पोकलीको । म लिम्ती झर्दै थिएँ । भिरमा डर बोकेर । तलबाट पोकलीको पुच्छार लिखु तीर हुँदै सुमोहरु तीनवटा पोकलीतिर हुइँकिए । म लिम्तीमा झरेर लखातरन्न विसाएँ । र डराउँदै । पुन लिखु ४ को नमूना घर हुँदै सैपुको ढाँडेतिर लागेँ । ढाँडेपुग्दा अनुप र राम सुनुवार राहत पाल थन्काउँदै रहेछन् । अनुपले मेरो साथी भनेर एक जना खैरेलाई चिनायो । चिनजान भयो र मेरो व्यक्तिगत रुपमा संकलन राहत हो दाई रेडियोबाट भन्नु परेउ भनेर अनुपले जानकारी गरायो । रामले गाडी फर्किँदै छ । भेटिन्छ छिटो जानु भनेको हुँदा बाटो लागेँ बसपार्कतिर । गाडि आइपुगेको थियो अरनिकोसुपर एक्सप्रेस । गिद्देहोटल भत्के छ । आजकोभुइँचालाले । मलाई समिरले टिकटको कुरा गरिसकेकोले ढुक्काले त्यहाँ जाँदै थिएँ । तर सबैले टिकट फिर्ता गरेछन् । अन्तमा हामी ५ जना मात्र यात्री भए छौं । खाना खान दिनेकाम हाम्रो । सुत्ने जोहो आफैं गर्नु होला ठूल दाई भनेर साहुले भन्यो । र, खाना खाएर आधा बस स्टप खुला चौरमै खाट निकालेर सुते । म, एक जना डाइभर र खलाँसी त्रास ओडेर बसमा सुत्यौं । मानिसको जीवन यस्तै रहेछ । भइँचालोको त्रास बसको बास । एक किसिमको अविस्मरणीय अनुभव । भोली काठमाडौंपुग्ने धोको बोकेर चुपचाप बसमा बास बसियो । पछि आफ्ना पनि सन्तानले उहिले नब्बेसालको भुइँचालोका बारेमा मैले अग्रजलाई सोधे जस्तै मलाई पनि कुनै दिन सोधिने छ यही कथा सबैलाई सुनाउनेछ, मनमनमा गुन्दै।
क्रमश : ====

Share

Leave a Reply

Your email address will not be published.