जिन्दगी त किताब रैछ : सम्झनाका फुलहरू नियाल्दा

अतीत मुखिया

जिन्दगी त किताब रैछ जति पढेनी सकिने ।
जिन्दगी नै गणित रैछ जति जोडेनी सकिने ।
अरबबाट फारसहुँदै भारतसम्म फैलिएको गजल विधालाई मोतीराम भट्टले वि.सं. १९४० ताका नेपाल भित्राएको भन्ने भनाई अधिकांश साहित्य समालोचकहरूमा भएको पाइन्छ । सुरुसुरुमा सुषुप्त अवस्थामा रहेको नेपाली गजल विधा पचासको दशक पछाडि भने निकै नै मौलाएको पाइन्छ । गजल संरचनाको गहन अध्ययनबिना नै मैले पनि अरूको गजल पढे–सुनेकै भरमा एवम् साथीभाइको लहलहैमा गजल रचना गर्न आरम्भ गरेको थिएँ । जानीनजानी रचिएका तीनै गजलहरूको बिटो बाँधेर साठीको दशक प्रारम्भकालमै ‘अभिशप्त आशिष’ नामक गजल सङ्ग्रह प्रकाशन गरेको थिएँ । सायद यसैले होला प्रस्तुत गजल सङग्रह ‘सम्झनाका पूmलहरू’का गजलकार तारा बहिनीले यसभित्र अटाउने गजलहरू मलाई मेलमार्फत पठाएर भूमिकाको लागि आग्रह गर्नु भएको ।
यहाँनेर गजल सङ्ग्रह ‘अभिशप्त आशिष’ प्रकाशन पछाडि लागेका साहित्यिक ठेसबारे मैले मेरा व्यक्तिगत अनुभूतिहरू उल्लेख गर्नैपर्ने हुन्छ । सरलार्थमा भन्नुपर्दा तत्काल मैले गजलबारे बुझेर लेख्नुभन्दा लेखेर प्रकाशन गरेपश्चात् बुझ्ने भूल गरेको थिएँ । गजल सङ्ग्रह प्रकाशन भएपश्चात् मात्रै मलाई ती मेरा भूलहरूको महसुस भएका थिए । आदरणीय दाइ मनु ब्राजाकी तथा डा. कृष्णहरी बरालजस्ता दिग्गज दाइहरूको साथ सङ्गतले मलाई महसुस गरायो । गजलका शिर्षपदका दुई हरफ (सेर)लाई गजलको भाषामा ‘मतला’ भनिँदो रहेछ भने यसपछिका सेरहरूलाई ‘मिसरा’ भनिँदो रहेछ । त्यही मतलासँग अनुप्रास मिलाइएर रचिने गजलका अन्य सेरका तुकबन्दीयुक्त अनुप्रासलाई ‘काफिया’ भनिँदो रहेछ । मतलालाई आधार बनाएर रदिफ, काफिया तथा बहर छुट्टाएर गजलको संरचना बन्दो रहेछ । यिनै दिग्गज दाइहरूको सङ्गतले मिसरा–ए–उला, मिसरा–ए–सानी, काफिया, रदिफ, मतला, मक्ता तथा तखल्लुस जस्ता गजलका विस्तृत व्याकरणसम्बन्धि ज्ञान बटुल्ने अवसर पाएँ । तथापि गजल रचना गर्दा मात्रा मिलाएर गरिने बहरसम्बन्धमा म आज पनि अनजान तथा सिकारु नै छु ।
तारा बहिनीको गजल लेखन प्रथम प्रयास यस सङ्ग्रहमा समेटिएका गजलहरू सरसरती हेर्दा केही गजलमा पूर्णअनुप्रास (काफिया)को प्रयोग देखिन्छ भने अधिकांस गजलका सेरहरू प्राय एकाक्षरी वा शब्दांश अन्त्यानुप्रास (काफिया)को प्रयोग भएको देखिन्छ । केही गजलहरूमा सहायक अन्त्यानुप्रास (हमकाफिया)को समेत प्रयोग भएको पाइन्छ ।
सधँैभरी साथमै दिन काट्ने बाचा गरेर छेउ लाग्यौ ।
हात थाम्ने भनी मन साट्ने बाचा गरेर छेउ लाग्यौ ।
यस गजलको मतलामा काट्ने शब्दको अनुप्रासमा ‘साट्ने’ शब्द पूर्णअनुप्रासको रूपमा प्रयोग भएर ‘बाचा गरेर छेउ लाग्यौ’ सहायक अन्त्यानुप्रासको प्रयोग पाइन्छ ।

देखिएनौ छितिज पारि नियाल्दा किन बैगुनी ।
देखिएनौ हिमाल पारि चिहाउँदा किन बैगुनी ।
यहाँ एकाक्षरी अनुप्रास ‘दा’ को सहायक अन्त्यानुप्रास (हमकाफिया)को रूपमा ‘किन बैगुनी’ प्रयोग गरिएको छ ।

पालुवामै चुँडेर किन टुक्रायौ मेरो यौवनलाई ?
चुँडाएर लुछेर किन टुक्रायौ मेरो यौवनलाई ?
यहा ‘चुँडेर’ र ‘लुछेर शब्दको ‘एर’ शब्दांश अनुप्रासमा ‘किन टुक्रायौ मेरो यौवनलाई’ सहायक अन्यानुप्रास (हमकाफिया)ले गजल सजाइएको देखिन्छ । यसरी नै मन लागेको छ, नाम थियो, घायल छु, दिन हजुरलाई जस्ता हमकाफिया भएका गजलहरु देखिन्छन् । तर केही गजलहरुमा भने मूल अनुप्रासको गडबडी पनि भएको पाइन्छ ।

जिन्दगी त किताब रैछ जति पढेनी सकिने ।
जिन्दगी नै गणित रैछ जति जोडेनी सकिने ।
यहानेर किताब शब्दको अनुप्रास गणीत शब्दलाई राखिएको देखिन्छ जुन अमिल्दो अनुप्रास हो । यो गणीत शब्दको ठाउँमा हिसाब राखिएको भए अतिउत्तम हुने थियो । यसो नभएर हमकाफियामा गएर शब्दांश अनुप्रास मिलाउने प्रयत्न गरिएको देखिन्छ । एकाक्षरी वा शब्दांश अनुप्रास विम्वात्मक गजलमा घतलाग्दा हुन्छन् । सरल शब्दका गजलमा पूर्णानुप्रासले नै वाहवाही बटुल्ने भनाइ दिग्गज गजलकारहरूको पाइन्छ ।

तारा बहिनीका गजलहरू सरल भएरै सरस छन् । उहाँका गजलमा प्रेम, कौतुहलता, पीडा, जिज्ञासा एवम् भ्रमजस्ता विषयवस्तुलाई कलात्मक तवरले उनेर सङ्ग्रहको माला तैयार पार्ने प्रयास गरिएको देखिन्छ । गजल जटिल शब्दले भन्दा सरल शब्दले नै सुन्दर र सरस हुने विधा मानिन्छ, जुन यो गजल सङ्ग्रहमा पाइन्छ । लेख्दै नलेखि बस्नुभन्दा केही लेखेर पस्कनु राम्रो हो । यात्रा थालेपछि मात्र गन्तव्यमा पुगिन्छ । जतिजति पाइला चालिन्छ उतिउति नै अनुभव बटुल्न सकिन्छ । अतः तारा बहिनीले गजल विधामा साहित्यिक यात्रा प्रारम्भ गर्नु भएको शुभ साइतले स्वच्छ, सुन्दर र चुलिन्दा गन्तव्य पाओस् । आगामी दिनहरूमा पनि यसरी नै साहित्यका मीठा घतलाग्दा रचनाहरू पढ्न पाउने अभिलाषाका साथ सफल साहित्यिक भविष्यको कामना गर्दछु ।

फूलबारी नगरमार्ग, कोटेश्वर
(२०७८।०४।१८)

Share

Leave a Reply

Your email address will not be published.