गुइँदा

–शोभा सुनुवार जुलियट
गुइँदा कोइँच समाजमा मानसिक उपचार पद्धति हो । विशेषगरी कुनै पनि छोरी मान्छे निरन्तर विरामी भयो भने विरामी बनाउने अनिष्ठकारी दुरात्मालाई छक्काउने एक किसिमको तान्त्रिक मानसिक उपाचार विधि हो । यस्ता विधिहरु कोइँच समुदायमा धेरै छन् । वास्तवमा संसारका जुनसुकै जातजातिमा यस्ता स्वास्थोपचारकै लागि विभिन्न संस्कार संस्कृतिको जन्म भएको पाइन्छ । कोइँच समुदायमा पनि यस्ता धेरै जन्म, विवाह, मृत्यु संस्कारदेखि जीवनशैली र परम्पराहरुमा विविधता छ । ती हरेक साँस्कारिक कार्यको अर्थ हुन्छ, विधि छ । त्यही परम्पराले नै दैनिक जीवन चलेको छ । अन्नबाली लगाउनेदेखि उठाउनेसम्म विभिन्न संस्कार छन् । हरेक महिना फरक फरक विधि र परम्पारिक संस्कार छन् । खाँदा, बस्दा, बिरामी पर्दा उपचार गर्ने समेत विभिन्न खाले संस्कार पद्दतिहरु छन । कोइँचमा पोइँब ग्याँमिबाट राम्रो नराम्रो काम गर्ने चलन छ ः बिरामी पर्दा दबाइमुलो गर्ने जडिबुटी उपचार, धेरै थलिएर बिरामी हुँदा बाँदो उठाउने, एक क्षणमा बिरामी भएमा रोल्चा, सुइच्चा परम्परा । यसैले कोइँच समुदायमा सर्वप्रथम नाडी विचार र लिँक्यु हेरेर विमारको पहिचान गर्ने र त्यसको उपाय खोज्ने गरिन्छ । यस्तै यस्तै उपचार मध्ये गुइँदा (कतै कतै गोइँदा पनि भनिन्छ।) पनि एक हो । जब सानो उमेरमा बच्चा बिरामी पर्छ जति उपचार गर्दा पनि निको नहुँदैन, जडिबुटी, झारफुक पनि लाग्दैन त्यतिबेला अब बाँच्दैन भन्ने लागेपछिको अन्तिम उपचारको उपाय भनेकै गुइँदा हो । खासमा गुइँदाको अर्थ ग्लुइँचा हो । कसै कसैले यसलाई गुइ बÞार्चा भन्ने पनि गर्दछन् । यसको खास अर्थ भनेको आफ्नु कुल परिवारबाट छुटाएर वा निकालेर अर्काको हातमा थमाउनु भन्ने बुझिन्छ । मानसिक रुपमा अब मेरो होइन । मलाई किन दुःख दिइरहन्छस् । ल मैले निकाली सकेँ । अर्काको हातमा सुम्पेँ । मेरो कुनै पनि ग्रहदशाले उसलाई अब असर गर्दैन भन्नको खातिर गुइँदा उपचार गर्ने चलन रहँदै आएको छ । खासमा यो नराम्रो ग्रह दशा फाल्ने उपाय हो । यो जो पायो त्यहि घरमा गरिँदैन । जसको घरमा कास गरेको छ, त्यो घरमा तारा लगा हुन्छ । तारा लागाभित्र गुइँदा राखिन्छ । जसको घरमा ख्येँगु मात्रै गरेको छ त्यस्तो घरमा कालपिपि लगामा गुइँदा राखिन्छ र जसको घरमा कास ख्येँगु नै गरिएको हुँदैन त्यस्तो घरमा भने बाहिर कतै कसैले नछुने गरि चोखो स्थान खोपा वा मारुमा गुइँदा राखिन्छ वा फालिन्छ । बिरामी बच्चालाई भाकेर, बिरामी निको होस भनेर पोइँब ग्याँमिले आफ्नो कुलदेउता जगाएर रातको समयमा गुइँदा फाल्ने गरिन्छ । यसरी यो विधि गरेपछि बच्चा निको भएर ठूलो भएपछि फेरि गुइँदा फिर्ता लिने गरिन्छ । कुनै पनि बच्चामा पोइँबो ग्याँमिको थुङ देखियो भने पनि गुइँदा फाल्ने गरिन्छ । गुइँदाबाट फिर्ता नगरेमा बिहेबारी भएपछि जायजन्म हुँदैन भन्ने जनविश्वास छ । त्यसैले यसरी गुइँदा हालेको मान्छेलाई विहे गर्नुपूर्व नै गुइँदा फर्काउने गरिन्छ । गुइँदा फर्काएपछि जायजन्म हुने बिश्वास रहेको छ । यसरी गुइँदा निकाल्दा जुन पोइँबो ग्याँमिले गुइँदामा हुलेको छ उसैले निकाल्नुपर्दछ । यदि पोइँबो ग्याँमि मरिहाल्यो भने उसकै चेलाले त्यो गुइँदा फर्काउने जिम्मा हुन आउँछ । गुइँदा फर्काउँदा गुइँदा राखे जसरी नै रातमा चिन्ता बसेर विशेष विधिविधान पुरा गर्नु पर्दछ । जहाँ गुइँदा हुलिएको छ त्यस स्थानलाई छोप्न सेतो कपडा चाहिन्छ अनि एक पाथी वा बोतल रक्सी, भेटी अनि फेटा चाहिन्छ । त्यो गुइँदा ढाकेको सेतो कपडा झिकेर घरमा ठूलो मुलि बागे, बागे नभए आमालाई आमा पनि नभए पोइँब ग्याँमिलाई फेटा बाँधी दिनुपर्दछ । गुइँदामा महिलाको भुमिका अहम् रहेको हुन्छ । कुनै पनि जिनिएको कुनै रोग हो भनेर पत्त नलागेको अति नराम्रो बिमारलाई सदा सदाको लागि विदा गर्ने वा रोगोपचार गर्ने कोइँच समुदायको उपचार पद्धति अहिले विरलै प्रयोगमा आएको पाइन्छ ।
…………………………………………………………………………………..
स्रोत : उत्तमकुमार सुनुवार, काःत, चुप्लु । पोइब प्रेमबहादुर सुनुवार लामागाउँ साब्ला । यामबहादुर सुनुवार वाइबि दार्खा राष्नाइलु ।
Share

Leave a Reply

Your email address will not be published.