कोही छ सहासी कोइँच सामिबु ? रिखी तर्पणीमा सम्मिलित कोइँच चाड : जुन अहिले खोज्दा बेनामी भै दियो ।

555282_528405990561058_953555223_n-कोइँचबु काःतिच
दुध कुण्डा गयौं
सुनपाति ल्यायौं
सै बाम्बु सै सै
सै बाम्बु सै सै
हिजो विहानैदेखि रक्षा बन्धनको शुभकामना लिइयो । तर मैले उहाँहरुलाई सेम टु यू भन्न बाहेक अरु केही सकिन । मलाई रक्षा बन्धन होइन रिखी तार्पनिको याद आइरहेको थियो । यो समय हिमाली तिर्थको समय हो । कोइँचहरु यसलाई सिदी लाचा भन्छन् । र, दुध कुण्ड, पाँचपोखरी जान्छन्, दुध, मकै, फर्सि, काँक्रा, जाँड, रक्सी चढाउँछन् । नाच्छन् । त्यसको बदलामा सुःरो वापत सुनपाति, धुपी लिएर फर्किन्छन् ।
कोइँच मात्र होइन मंगोलियन मूलका आम आदिवासी जनजातिहरुको तीर्थव्रतको दिन हो खसबाहुनको हिन्दू ज्योतिषशास्त्र अनुसार सबैले शुभकामना आदानप्रदान गरीरहेको रक्षबन्धनको दिन । ऋषिलाई तर्पण दिने दिन भएकोले यस दिनलाई ऋषि तर्पणी पनि भनिन्छ हिन्दू धर्ममा ।
हामी आदिवासी जनजाति कोइँचहरु यस दिन आफ्नो गाउँघरमा जे जे प्राप्त हुन्छ तिनै खानेकुराहरु बोकेर लेकाली तिर्थमा निस्कीन्छौं । पोइँबो, ग्याँमिहरु जामा पगरी लगाएर ढ्याङ्ग्रो ठोक्दै उकालो लाग्छन् । नुहाउँछन् र आफ्ना गुरुको शिर उठाउँछन् । कोइँचहरु यस दिन पोइँबो, ग्याँमी र नाअÞसोको घर घरमा नाअसो, पोइँबो, ग्याँमी भाग लिएर आदारसम्मान प्रकट गर्छन् । जो जो तिर्थाब्रतमा निस्किँदैनन् उनीहरु आ-आफ्नै घरमा एक जोर सागुन राखेर पिदार नाम-दार गर्छन् । लागामा चेनचेन पाति र निक बÞाकु फेर्छन् ।
हो, आज विहान मलाई सामाजिक सञ्जालमा मेरै गाउँ काःत, लिनडाँडा माइला, नाताले भतिज पर्ने -सर्वसाधारणले लट्टे भनेर चिनीने) पोइँबोको तस्वीर माल्हाती कोइँचले पोस्ट गरेको देख्दा ती दिन ताजा भएर आयो । ग्लोग-गाको साने पोइँबोको घरमा आमासँग मकैको झुत्ता बोकेर शिर उठाउन गएको । जाँडको पोङ, मकै, काँक्रो, फर्सी बोकेर नाच्दा बर्च्छाले पोइँबो ग्याँमिको मझेरी भत्काएको पुरानो खिया परिसकेको यादमा साँध लागेर टल्किन खाज्यो । दुध कुण्डा गयौं, सुनपाति ल्यायौं, सै बाम्बु सै सै, सै बाम्बु सै सै गीत गाउँदै नाचेको ।
मेरो ठूलीआमा (बुबाको जेठी श्रीमती जो खिँजीको मुलिच तामी हुनुहुन्थ्यो, उनलाई सर्वसाधारणले बहुली बुढी भनेर पनि चिन्ने गर्दाछन्) पनि ढोल बजाएर दुधकुण्ड (सिदी) जानु हुन्थ्यो रे (उनै ठूली आमाको भदै खिँची लुजुका मामा सन्तबहादुर सुनुवारकानुसार अरुले ढ्याङ्ग्रो बजाए पनि उहाँले भने भगवती खेलाएकोले ढोल बजाउनु भएको रे ।) । उहाँ छुनाखाना नसकिने उच्चाकोटीको ग्याँमी हुनुहुन्थ्यो रे । उनै मामा सन्तबहादुरको भनाइ अनुसार उहाँको एउटा छोरा (मेरो दाजु) विरामी पर्दा चिन्ता बसेर उसको भविश्य वारेमा जे बताउनु भयो अखिर त्यही भयो रे । उहाँ दुधकुण्डा जाँदा उता पुर्वाको खालिङ, कुलुङ, बाहिङ, थुलुङ राइ पोइँबो ग्याँमिहरुसँग हानबाण चलाउनु हुन्थ्यो रे । खिची काःत पेलु जेठा नर बहादुर काःतिच (पेलु कालु भनेर चिन्छन्) ले भन्नु भए अनुसार उहाँदेखि सबै र्राई पोइँबो ग्याँमि डराउँथे रे । उनी भर्खरको जवान हुँदा ढोल बजाउने साथी जाँदा एक जना राइ विजुवाले दुधकुण्डा जाने बाटोमा बाटो छेक्यो रे । ठूलीआमाले बाटोमा बर्च्छा (भाला) गाडी दिनु भो रे । अनि त त्यस समूहका सबै राइहरु त्यही बर्च्छा वरिपरि आथाथा भन्दै उफ्री पाप्री गरेर नाचेर घुमी रहे रे । अनि त्यो राइ पोइँबोले अक्षेता भेटी राखेर गुरु मानेर ढोकेपछि सबै निको भए रे । उनको भनाइ अनुसार कोइँचको निम-लो र र्राईको देवा देखि सधैं डराउनु पर्छ रे ।
दुधकुण्डमा नाच्न नजाने पोइँबो ग्याँमिहरुले घरमै उनीहरुको दिव्य शक्तिले झर्झराउँदो शीत सहितको सुनपाति ढ्याङ्ग्रोमा थापेर आफ्नो जजमानलाई बाँड्थे भन्ने जनकथन सुने पनि त्यस्तै दृश्य भने मैले कहिल्यै देख्ने मौका पाइन । न त पाँचपोखरी गइयो न त दुधकुण्डा ।
यसरी रक्षा बन्धनको शुभकामना बाँड्ने कोइँचहरुले आफ्नो भर्जिन चाड र परम्पराको शुभकामना चाहिँ किन बाँड्न नसकेका होलान् भन्ने मनमा कता कता कुरा खेली रहृयो । तर अर्को मनले हाम्रो चाडबाडको अभिलेखन नै कहाँ छ र कोइँचले थाहा पाउँछन् भन्ने पनि लाग्यो । जे होस् आदिवासी जनजातिको इतिहास लिखित दस्तावेजमा होइन अलिखित दस्तावेज, भाषा, संस्कार संस्कृति, धर्मकर्ममा खोज्ने पर्छ भन्ने कुरा सही रहेछ । लिखित इतिहासमा आफुलाई खोज्ने धेरैले आफु को हुँ भन्ने बिर्से पनि अलिखित इतिहासलाई नै सत्यतथ्य मान्दै आएका परम्परा धन्दै आएका केही कोइँचहरुले आफ्नो धर्मकर्म रीतिथिति बिर्सेका छैनन् भन्ने कुरा अझै पनि गाउँघरमा गरिने संस्कार संस्कृतिले प्रमाणित गरिदिएको छ । ति कोइँचहरुलाई मुरी मुरी धन्यवाद अनि त्यस्तो दुर्लभ तस्वीर पोस्ट गर्ने माहलती कोइँचलाई पनि । कोइँच समाजमा गूरु पूजा गर्ने, जजमानले पुरोहितलाई शिर उठाउन जाने यस दिनलाई खस भाषामा रिखी तर्पनी पुर्ने -ऋषि तर्पणी पूर्णिमा), रक्षाबन्धन भनिए ता पनि कोइँच भाषामा के भनिन्छ भन्ने कुरा भने विस्तारै कोइँच समाजले बिर्सी सकेको छ । परम्परा मन्दै आए पनि त्यो परम्परा मान्ने दिनको नाम भने ऋषि तर्पणीसँग सम्मिलन भएर रिखी तर्पनी बनेको छ । कोही छ यस चाडको वारेमा थप खोजी गर्ने सहासी कोइँच सामिबु ? अब पनि हामी यसरी नै निदाएर बस्ने हो ?
दुध कुण्डा गयौं
सुनपाति ल्यायौं
सै बाम्बु सै सै
सै बाम्बु सै सै

 

Share

2 Comments to कोही छ सहासी कोइँच सामिबु ? रिखी तर्पणीमा सम्मिलित कोइँच चाड : जुन अहिले खोज्दा बेनामी भै दियो ।

  1. thari kayaba says:

    कातिच यि मेारेा,
    देाम दार्षेा लेा का तात

  2. thari kayaba says:

    कातिच यि मेारेा,
    देाम दार्षेा लेा का तात

Leave a Reply

Your email address will not be published.