कोइँच (सुनुवार) कलाकार तथा चलचित्रकर्मीको सपना कस्तो हुनु पर्छ ?

–कोइँचबु काःतिच
चलचित्र निर्माणमा वृद्धि गर्दै जाने : दशौं योजनाको लक्ष्य । चलचित्र निर्माणात्म कार्यमा परिणात्मक वृद्धि गर्दै गुणात्मक चलचित्र निर्माण कार्य तर्पm लगानी बढ्दै गएको : दशौं याजनासम्मको उपलब्धि स्थिति ।
अद्यावधिक स्थितिको समीक्षा पृ.३८५
चलचित्र निर्माण पेशालाई मर्यादित र व्यवसायिक बनाई मौलिक नेपाली कथानक चलचित्र निर्माण गर्न उत्प्रेरित गर्ने ।
दीर्धकालीन सोच पं ३८७
नेपाललाई आकर्षक चलचित्र क्षेत्रको रुपमा विकास गरी चलचित्र सम्बन्धी सेवा सुविधा तथा पूर्वाधार मुलुकभित्रै स्थापना गर्ने ।
परिमाणात्मक लक्ष्यहरु पृ. ३८७
चलचित्र निर्माणमा निजी क्षेत्रलाई प्रोत्सहन गर्दै नेपाललाई अन्तराष्ट्रिय चलचित्र छायाँकन स्थलको रुपमा विकास गर्दै जाने ।
रणनीतिहरु पृ.३८८
चलचित्र क्षेत्रलाई मर्यादित व्यवसायको रुपमा विकास गर्दै मौलिक नेपाली चलचित्र निर्माणमा प्रोत्साहन गरिनेछ । चलचित्रमा अत्याधुनिक प्रविधिको उपयोगमा जोड दिइनेछ । चलचित्र क्षेत्रलाई व्यवस्थित र नियामित गर्न आवश्यक ऐन नियमको तर्जुमा गरिनेछ । चलचित्र जाँचपास व्यवस्थालाई सरल, पारदर्शी, वैज्ञानिक र झन्झटरहित बनाइने छ ।
नीति तथा कार्यनीतिहरु पृ.३९०
विभिन्न भाषामा मौलिक नेपाली चलचित्र निर्माण गर्ने, चलचित्र निर्माणमा नयाँ प्रविधिको प्रयोग गर्ने, फिल्म स्टूडियोको स्थापना गर्ने, छायाँकन स्थलहरुको पहिचान गर्ने ।
कार्यक्रमहरु पृ ३९१
चलचित्र विकास वोर्ड : कार्यक्रमहरु । १०.३३ (रु. करोडमा) । कैफियत : संस्था स्रोत ।
अनुमानित बजेट व्यवस्था पृ. ३९३

उल्लेखित बुँदाहरु अध्याय : ३३ सूचना तथा सञ्चार विषय अन्तर्गत तीन वर्षीय अन्तरिम योजना (१०६४/५६–२०६६/६७) मा नेपाल सरकार राष्ट्रिय योजना आयोग, सिंहदरवार, काठमाण्डौ, नेपाल मंसिर, २०६४ मा चलचित्र सम्बन्धि उल्लेखित समिक्षा तथा योजना हुन् । यी योजनाहरु के प्रष्ट पार्छ भने जनआन्दोलन भाग २ २०६२/६३ पछि पनि आदिवासी जनजाति सम्बन्धि चलचित्र निर्माणमा नीति निर्माण तहमा कुनै योजना र नीति नबनेको प्रष्ट देखिन्छ । यस परिस्थितिमा आदिवासी चलचित्रकर्मीहरुले कसरी आफ्नो हकाधिकार स्थिापित गर्ने सम्बन्धमा आदिवासी जनजाति कोइँच (सुनुवार) कलाकार तथा चलचित्रकर्मीले आफ्नो अवधारणाको आधार यसरी शुरुआत गरे राम्रो हुने छ :
*    वर्तमान कलाकारिताको दृष्टिमा कोइँच (सुनुवार) कलाकार तथा चलचित्रकार्मीहरुको इतिहास त्यति लामो छैन । हुन त मुलाधारका भनिने खस नेपाली भाषाको चलचित्रको विकास पनि त्यति लामो भने छैन । सत्य हरिश्चन्द्रलाई नै लिने हो भने पनि छ दशक वरपर मात्र भएको छ । तर सामाजिक तथा साँस्कृतिक संरचना अनुरुप समाजको गतिविधि प्रदर्शन गर्ने साँस्कृतिक कलाकार भने अन्य आदिवासी जनजातिमा जस्तै कोइँच (सुनुवार) समाजमा पनि उहिल्यैदेखि थिए र छन् । कास, चेँगु, शाँदार, गिल चाडपर्व तथा जन्म, विवाह, मृत्यु संस्कार जस्ता कोइँच समाजको जीवनयापनसँगै जोडिएर आउने सामाजिक तथा साँस्कृतिक परम्परालाई निरन्तरता दिने जन्मजात कोइँच कलाकारहरुको इतिहासलाई भने उनीहरुको समाजको उत्पत्तिसँगै जोेडेर हेर्नु पर्दछ ।
*    आधुनिक नेपाली साहित्य तथा कलाकरिताको विकास गीत, कथा, नाटकबाट नै शुरु भएको पाउँछौं । नेपाली कला–साहित्यको विकासलाई यस स्थितिमा पु¥याउन दार्जीलिङको योगदानलाई अवश्य पनि नेपाली कला–साहित्य तथा चलचित्रका महरथीहरुले भुल्न सक्दैनन् । आधुनिक नेपाली नाटकमा आफ्नो छुट्टै इतिहास निर्माण गरेको नाटक ‘अनि द्यौराली रुन्छ’ का लेखक तथा निर्देशक मनबहादुर मुखिया (उनका कृतिहरु विश्वविद्यालयको पाठ्यपुस्तकको रुपमा पढाइ हुन्छ नेपाल र भारत दुवै मुलुकमा), काठमाडौंको टोलटोलका डबलीमा हवाइन गिटार र बाँसुरी सिकाउँदै हिड्ने २० को दशकका चर्चित कलाकार र वर्तमानका वरिष्ठ चित्रकार टेकवीर मुखिया (तपाईँहरुले देख्नु भएको प्रतिनिधि सभाको लोगो (व्याज)–२०४८ सालको र हाल संविधान सभाको लोगो जो सभासदले आफ्नो छातिमा टाँसेर हिड्छन, का डिजाइनर पनि हुन्), मुसुमुसु हाँसी देउ न लै लै जस्ता खस नेपाली भाषामा पप गीत गाउने तथा संगीत भर्ने पहिलो व्याण्ड ‘हिमालयन ग्रुप (पहिलो नेपाली व्याण्ड पनि मानिन्छ)’ का पे्रंmकलिन मुखिया, उद्घोषणका महरथी पाण्डव सुनुवार (जसले नेपाली सञ्चार माध्यममा व्यावसायिक उद्घोषण तथा फोन इन कार्यक्रम र रेडियो नेपाललाई जनमुखी बनाउन एफ एम तथा क्षेत्रीय प्रसारणको अवधारणालाई अगाडि ल्याए), विभिन्न नेपाली चलचित्रमा कला निर्देशन गरेर नेपाली समाजलाई जीवन्त राख्ने काम गरेका कला निर्देशक तथा कलाकार विश्व मुखिया, नेपाली गीति भण्डारमा झर्रो नेपाली लोकगीत संकलन गायन गर्ने अतीत मुखिया, ताहिरा सुनुवार, लोकप्रिय सुनुवार, टेकबहादुर सुनुवार, आदिवासी कोइँच (सुनुवार) समाजका अग्रज कलाकार हुन् । तर यी सबै कलााकारहरुलाई वर्तमान स्थितिमा कसैले नामोच्चरण समेत गरेको पाइँदैन । यी सबै कोइँच कलाकारहरु शौखको रुपमा मात्र कलाकार भएको पाइन्छ । व्यवसायिक कलाकार बन्न नसकेको कटु सत्य हामी वीच छर्लङ्ग छ । यसको प्रमुख कारण उनीहरु आदिवासी कोइँच हुनु पनि हो भन्ने हामीलाई लागेको छ ।
*    कोइँच संस्कृति तथा भाषाको अभिलेखीकरण, प्रवद्र्धन गर्न अहिलेसम्म कुनै पनि व्यक्ति, संस्था तथा सरकारी निकायले गीत गायन, नाटक प्रदर्शन तथा चलचित्र निर्माणमा चासो दिएको पाइँदैन । डि.बि किरातीद्वारा लिखित तथा लोकप्रिय सुनुवारद्वारा अनुवादित नाटक ‘मुलकेम’ प्रज्ञा प्रतिष्ठानको नाटक महोत्सवमा एक पटक मञ्चन भएपछि अरु पूर्णाङ्की नाटक मञ्चनतिर कसैको चासो गएको पाइँदैन । दुइ वर्ष पहिले मनप्रसाद सुनुवारको एकाङ्की नाटक ‘तोज’ लाई उत्तम सुनुवारको निर्देशनमा ललितपुरमा मञ्चन भए पछि अहिलेसम्म कुनै पनि नाटक मञ्चन गरिएको छैन । पछिल्लो समयमा उत्तम सुनुवारको एकाङ्की नाटक पाठ्यपुस्तकमा छापिएको भने पाइन्छ । उनैले ५ वर्ष अगाडि अनुवाद गरेको शिल थाअ्था (भोकालाशहरु) किशोर नेपालको नाटक पुस्तकको रुपमा आए पनि मञ्चन भने हुन सकेको छैन । त्यस्तै गरी गीत संगीत क्षेत्रमा सेरेम फु साङ्गीतिक समूहको पहिलो प्रस्तुति ‘सेरेफ फु’ पहिलो प्रस्तुतिकै रुपमा रह्यो दोस्रो एल्बम निस्कन सकेन । झण्डै १५ वर्षपछि सुनुवार महिला समाजको पहिलो प्रस्तुति ‘तामिचाइमि’ ले जन्म लिएको छ । तेस्रो सुनुवार भाषाको एल्बम शायदै देख्न सकिने परिकल्पना गर्न सकिन्छ । जीवन सुनुवारले दुइवटा गीत रेकर्ड त गरेका छन् तर एल्बमकै रुपमा आउन भने सकेको छैन । बरु एउटाको म्यूजिक भिडियो भने बनाइ सक्नु भएको छ भने चलचित्र संसारमा कोइँच समाज पसेकै छैन भन्दा पनि हुन्छ । अहिलेसम्ममा कोइँच ‘सुनुवार जाति एक परिचय’ नामको वृतचित्र सुनुवार सेवा समाजको प्रस्तुतिमा निर्माण भएको पहिलो वृतचित्र हो भने दास्तवेजको रुपमा संकलित वृत्तचित्र ‘शाँदार पिदार आ पारपुकि’ दोस्रो वृतचित्र हो । त्यस्तै गरी नितान्त निजी प्रयासबाट निर्मीत पहिलो वृत्तचित्र हो हनोक सुनुवारद्वारा निर्मित तथा अमृत सुनुवारद्वारा निर्देशित ‘शाँदार पिदार’ र अमृत सुनुवारद्वारा निर्माण तथा निर्देशन भएको ‘शाँदार’ । यस पछाडि निर्माणाधीन रुपमै रहेको अर्को वृत्तचित्र शाँदार गर्भ मै टक्सिएको छ । त्यस्तै गरी अमृत सुनुवारकै निर्देशनमा मनोज सुनुवारले बनाएको शेतथि खेमेर र चुप्लु समाजले बनाएको तोरी सम्बन्धी लघु चलचित्र सार्वजनिक भएका छन् । यी सबै निजी प्रयासका वृत्तचित्रका अवधारणा तथा लेखन उत्तम सुनुवारले गरेका हुन् । कथानक चलचित्र बनाउने सन्दर्भमा कहीँ कतैबाट आवाज समेत उठेको पाइँदैन न त कोइँच (सुनुवार) भाषा, संस्कृति रक्ष गर्छु भनि लागेको संघसंस्थाहरु नै जागरुक भएर लागेका छन् । वरु प्रशिक्षणको क्रममा अभ्यासकै लागि भए पनि नव प्रतिभा लक्ष्मी सुनुवारले ‘ग्ला पला गे’ कथानक छोटो कोइँच भाषाको चलचित्र बनाएकी छिन् । तर उनको यो कार्यलाई प्रोत्सहन गरी अगाडि बढाउन अन्य स्रोत र समाज लागेको पाइँदैन ।

आदिवासी जनजाति कोइँच कलाकार तथा चलचित्रकर्मीको चुनौति र संभावनाहरु
क) समस्या र चुनौतिहरु
*    आदिवासी जनजाति कोइँच कलाकारहरुले आफ्नो कलालाई व्यावसायिक बनाउन नसक्नेमा उनीहरुको समाज र संस्कृति विपरित राज्यको सूचना तथा सञ्चार नीति एवं योजना प्रतिकुल हुनु ः सरकारको योजनामा नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाँकान स्थलको रुपमा विकास गर्ने, चलचित्र निर्माण पेशालाई मर्यादित व्यवसायको रुपमा विकास गर्ने, अत्याधुनिक प्रविधिमा जोड दिने, चलचित्र जाँच पास व्यवस्थालाई सरल, पारदर्शी, वैज्ञानिक र झन्झटरहित बनाउने, चलचित्र क्षेत्रलाई व्यवस्थित र नियमित गर्न आवश्यक ऐन नियमको तर्जुमा गर्ने कुरा त उल्लेख छ । तर आदिवासी चलचित्र प्रवद्र्धनको लागि कतै पनि एक शब्द उल्लेख भएको पाइन्न । न त चलचित्र सम्बन्धि ऐन नियम बनाउने तहमा आदिवासी जनजातिको प्रतिनिधि नै पाइन्छ् । तसर्थ यस्तो निकायले बनाएको नीति नियमले आदिवासी जनजातिलाई सम्बोधन गर्छ भन्ने कल्पना नगरौं ।
*    आदिवासी जनजाति कलाकार तथा चलचित्रकर्मीहरुको प्रतिकुल नेपाली समाज हुनु ।
*    नेपाली समाजको यथास्थितिवादी सोच्ने प्रवृतिमा परिवर्तन नहुनुु ।
*    नेपाली चलचित्रवृत्तमा सिर्जीत मनुवादी सौन्दर्य चेत, सोंच र मान्यता ः लामो नाक, ठूला–ठूला आँखा, लामो चिउँडो, अग्लो जीउडाल भएको खस बाहुन परिवारका कलाकार वा अन्य समुदायका भए पनि खस बाहुन जिउडाल परेको हुनु पर्छ भन्ने सौन्दर्य चेत । जसको कारण नेपाली चलचित्रको छ दशक लामो इतिहासमा गुण्डागर्दी, लुटपाट, बुद्धि नभएको भूमिकामा आदिवासी जनजाति अनुहारले नै प्रथामिकता पाउने गरेको छ भने असभ्य समाजको रुपमा चित्रित गर्नु पर्दा आदिवासी समाजलाई नै नकारात्मकरुपमा प्रस्तुत् गरिएको पाइन्छ ।
*    परम्परागत यथास्थितिवादी राजनीति ः विभिन्न आदिवासी समुदायलाई राज्यको सदरमुकामबाट बञ्चित गर्ने गरी राज्यको संरचना निर्माण गरिएको हुँदा कुनै पनि जिल्ला वा अञ्चलको सदरमुकम आदिवासि जनजातिको सरेकमा छैनन् । यसरी सदरमुकाम नहुँदा व्यपारीक स्थल बन्न सक्दैन वा शहर वजारको विकास हुन सक्दैन । शहर वजारको विकास नहुनु भनेका चलचित्र देखाउन चाहिने भवनको निर्माण नहुनु अर्थात् साधन स्रोत नपाउनु पनि हो । त्यस्तो आदिवासी जनजाति संस्कृतिलाई केवल प्रयोगका लागि प्रयोग मात्रै गरि उपदेयताहीन गराइएको पाइन्छ ।
*    राज्यको शिक्षा नीति ः नेपाली चलचित्रलाई हेर्ने दृष्टिकोण हिन्दुवादी सोँच भएकोले अन्य सोंच र भाषामा चलचित्र बन्न सकेका छैनन् ।
*    अस्वस्थ प्रतिस्पर्धा र गुटबन्दी ः खस नेपाली भाषाको चलचित्रमा आदिवासी नेपाली कलाकारहरु प्रायः पर्दा पछाडि नै पारिन्छन् र उनीहरुले रोजेको भूमिका पाउँदैनन् । यदि त्यसरी आफुले रोजे जस्तो चलचित्र नपाए नखेल्ने भन्ने अडान लिएको खण्डमा नेपाली चलचित्रका माफियाले अन्य चलचित्रमा पाएका राम्रो भूमिका समेत खोसेर नेपाली चलचित्र बजारबाट नै बाहिर निकाल्ने प्रवृतिको शिकार बन्नु परेको पाइन्छ ।
*    साझा समस्या गर्न नसक्नु ः गुटवन्दी नेपाली चलचित्र क्षेत्रमा आदिवासी जनजातिको साझा समस्याको पहिचान नगरी संघर्षका एकल प्रयास भइरहेको छ । संगठित हुन नसक्नु आदिवासी कलाकार तथा चलचित्रकर्मीको समस्या हो ।
*    सामुहिक स्वार्थभित्र वैयक्तिक स्वार्थ पहिचान गर्न नसक्नु ः विशेषगरी आदिवासी कलाकारहरु अन्तरमुखी स्वाभावका हुने र सजिलै अरुले बुनेको जालमा पर्ने भएका कारण पनि पलायन हुँदै जने समस्या बढी छ ।
*    आदिवासी जनजाति कलाकार, चलचित्रकर्मी सम्बन्धित विषयमा पूर्ण ज्ञान नहुनु, प्रशिक्षित नहुनु र आफु, आफ्नो जाति र नेपाली समाजको सोचाइ बुझाइलाई चिन्न, बुझ्न नसक्नु ।

ख) सम्भावना र अवसर
*    माथिका समस्याहरु हल हुँदा राज्य पुनसंरचनाको यस घडिमा समवेशी चरित्रको राज्यको संयन्त्रहरु बन्ने छ । त्यस्तो संयन्त्रमा आदिवासी जनजाति कलाकार तथा चलचित्रकर्मीको पनि प्रतिनिधित्व हुने छ ।
*    सकरात्मक नीति निर्माण भएपछि आदिवासी जनजाति कलाकारहरुले समान औसर पाइ देश विदेशको पछिल्लो समयको सीप कौशल सिक्न पाउने छन् र स्वतः दक्ष र व्यवसायिक हुँदै जाने छन् ।
*    आर्थिकरुपमा सवल बनेपछि उनीहरुले विशुद्ध नेपाली समाज र संस्कृतिको चलचित्र बनाउने छन् । जसले विश्वमा मौलिक नेपालीपन बाँड्न सक्नेछ ।
*    वहुल साँस्कृतिक आदानप्रदान हुने भएको हुँदा सबै समुदायको संस्कृति जोगाइ आदिवासी जनजाति कलाकार तथा चलचित्रकर्मी आपैंmले राष्ट्रिय÷अन्तराषर््िट्रय वजार खोजी गर्ने छन् ।

आदिवासी जनजाति कोइँच कलाकार तथा चलचित्रकर्मीले राख्नु पर्ने दीर्घकालीन सोंच
आदिवासी जनजाति कोइँचको हक अधिकारप्रति जनवाकलता गर्ने, आदिवासी जनजाति कोइँच कलाकार तथा चलचित्रकर्मीको तर्पmबाट राज्यको नीति निर्माणमा प्रतिनिधित्व गर्ने एवं कोइँच भाषा, धर्म कला, संस्कृति प्रवद्र्धन गर्न आवश्यक सम्पूर्ण आवश्यकता एकै स्थलबाट पूरा गर्ने साझा मञ्च (थलो) को निर्माण गरिने छ ।

आदिवासी जनजाति कोइँच कलाकार तथा चलचित्रकर्मीमा हुनु पर्ने ध्येय
*    आदिवासी जनजाति कलाकारका निम्ति प्रोत्साहन कोष स्थापना गरिने छ ।
*    दक्ष जनशक्तिको विकासको लागि प्रशिक्षण व्यवस्था गरिने छ ।
*    आदिवासी जनजातिको चलचित्रको वजार व्यवस्थापन गर्न परम्परागत मान्यता भत्काउने संयन्त्रको निर्माण गरिने छ र विना भेदभाव आदिवासी चलचित्रहरु चलचित्र भवनमा प्रदर्शन गर्न लगाइने छ ।
*    आदिवासी जनजातिको मूर्त अमूर्त सम्पदाको अभिलेखीकरण गर्न आदिवासी कलाकार तथा आदिवासी जनजातिको संस्थालाई चलचित्र उपकरणको व्यवस्था गरिने छ ।
*    राज्यको कोषबाट आदिवासी जनजातिको भाषा संस्कृतिमा चलचित्र निर्माण गर्न अनुदानको व्यवस्था गराइ आदिवासी जनजातिको भाषा संस्कृतिमा चलचित्र निर्माण गरिने छ ।
*    आदिवासी जनजातिको ज्ञान सीप प्रवद्र्धन गर्ने खालका चलचित्रहरुको निर्माण गर्ने र दर्शकको ध्यानाकर्षण गर्ने खालका चलचित्र निर्माण गर्ने वातावरण सिर्जना गर्न सञ्चार माध्यममा सार्वजानिक हितका लागि निशुल्क समय छुटाउने र प्रथामिकताका आधारमा त्यस्ता चलचित्रहरुलाई प्रसारण गर्नु पर्ने बाध्येत्तात्मक कानुनको व्यवास्थ गर्न लगाइने छ ।
*    कलाकार पनि समाजको एक अंग हो भन्ने सामाजिक सोंचको विकास गराइने छ ।

आदिवासी जनजाति कोइँच कलाकार तथा चलचित्रकर्मीले लिनु पर्ने उद्देश्य
*    आदिवासी जनजाति कलाकार तथा चलचित्रकर्मी भएकोमा गौराम्वित दक्ष व्यवसायिक कलाकारको वृद्धि गर्ने ।
*    आदिवासी जनजातिका विषय वा भाषामा बनेका चलचित्रहरु देशको विभिन्न हलहरुमा प्रदर्शन गर्ने गराउने ।
*    प्रत्येक मुलाधारका चलचित्रहरुले पनि आदिवासी जनजातिका ज्ञान, सीप र उनीहरुको परम्परामा आधारित चलचित्र बनाउन लगाउने वा वाध्य पार्ने ।
*    जागरुक दर्शकहरुको संख्यामा वृद्धि गर्ने गराउने ।
*    फरक धारको विषय वस्तुमा बनेको चलचित्रहरुले लगानी उठाउने वातावरणको सिर्जना गर्ने गराउने ।
*    नयाँ कलाकारको आगमनलाई वृद्धि गर्ने गराउने ।
*    राज्यको चलचित्र तथा कलाकार सम्बन्धि नीति नियम आदिवासी जनजाति कलाकार, चलचित्रकर्मी तथा चलचित्र अनुकूल बनाउना लगाउने ।
*    आदिवासी जनजातिको साझा मुद्दामा चलचित्रहरु निर्माण गर्न गराउन लगाउने ।
*    आदिवासी जनजातिको हक अधिकारप्रति सचेत बनाउने ।

आदिवासी जनजाति कोइँच कलाकार तथा चलचित्रकर्मीले अपनाउनु पर्ने नीति÷रणनीति
*    दक्ष, लगनशील र अध्ययन तथा अनुसन्धनमा उन्मुख, आदिवासी जनजातिको ज्ञान, सीप र कौशल प्रवद्र्धन गर्ने सोंच बोकेका समर्पित दक्ष कलाकारको उत्पादन गर्ने ।
*    आदिवासी जनजाति कलाकार तथा चलचित्रकर्मीको भविष्य सुनिस्चित बनाउने कार्यक्रम सञ्चालन गर्ने ।
*    राज्य तथा सम्बन्धित निकायलाई साँस्कृतिक सम्पदा संरक्षण गर्ने नीति नियम बनाउन लगाई तत्काल कार्यन्वयन गर्ने ।
*    आदिवासी जनजातिको हकहित प्रति सचेत तथा उनीहरुको साझा मुद्दामा प्रतिवद्ध रहनको लागि सबै आदिवासी जनजाति कलाकार तथा चलचित्रकर्मीलाई प्रशिक्षित गर्ने ।
*    राज्यको मूल कानूनमा आदिवासी जनजाति कलाकार तथा चलचित्रकर्मी र चलचित्रको विधागत विषयमा प्रतिकूल धारा उपधाराहरु नराख्ने सरकारलाई प्रतिवद्धता गराउने ।
*    आदिवासीको भूमिमा कुनै पनि चलचित्रले प्रदर्शन गर्दा आदिवासी जनजातिसँग स्वतन्त्र पूर्व सूसुचित सहमति लिनु पर्ने ।
*    आदिवासी जनजातिको पूख्र्यौली थलोमा कुनै पनि चलचित्र निर्माण गर्दा आदिवासी जनजातिको सामाजिक तथा साँस्कृतिक विश्वास, मूल्य–मान्यता प्रति आँच आउने गरी चलचित्र निर्माण तथा छायाङ्कन गर्न नदिने ।
*    आदिवासी जनजातिको भूमि वा पोशाक वा साँस्कृतिक, सामाजिक चालचलनलाई विषय बनाइ त्यस विषयमा सुधार गर्ने खालका सकारात्मक र नाकरात्मक भूमिका दुबै समावेश गरिएको सन्दर्भमा बाहेक आदिवासी जनजातिको पोशाक लगाएर उनीहरुको नैतिक पतन हुने वा उनीहरुको स्वाभिमानमा धक्क पर्ने खालको खालनायिकी भूमिका निर्वाह गर्न नपाइने ।
*    आदिवासी जनजाति र उनीहरुको साँस्कृतिक, सामाजिक परम्परालाई विषय बनाइ निर्मित चलचित्रमा आदिवासी जनजाति कलाकारहरुकै भूमिका अनिवार्य गर्ने ।
*    नाफाको ध्येयले निर्मित आदिवासी जनजातिको विषयमा बनेका चलचित्र वा वृत्तचित्रहरुको निस्चित नाफा सम्बन्धित आदिवासी जनजातिलाई दिनु पर्ने ।
*    राज्यले चलचित्र निर्माण गर्न इजाजत दिँदा हरेक चलचित्रले राज्यको कुनै पनि मूर्त अमूर्त सम्पदालाई प्रवद्र्धन गर्न आफ्नो चलचित्रमा अनिवार्य समावेश गरेको हुनु पर्ने नीति निर्माण गर्न लगाउने ।
*    आदिवासी जनजाति भाषा वा उनीहरुसँग सम्बन्धित चलचित्र निर्माण गर्दा राज्यले विशेष व्यवस्था गर्नु पर्ने नीति बनाउन लगाउने ।
*    कुनै पनि सञ्चार माध्यममा प्रचारप्रसारको लागि आदिवासी जनजातिको चलचित्रलाई सार्वजानिक हितका लागि सामानुपातिक ठाउँ उपलब्ध गराउनु पर्ने वाध्येत्मक कानुनको व्यवस्था गराउने ।
र, अन्तमा
निश्चय पनि सरकारको नीति तथा प्राथमिकताभित्र यी योजना तथा कार्यक्रमहरु पर्दैनन् । यसैले हामीले प्रथामिकताको आधारमा अन्य विभिन्न समान उद्देश्य भएका संस्थाहरुसँग साझेदारी÷सहकार्य गर्न सकिने विषयहरु पहिचान गर्दै सो सम्बन्धि नीति विकास गरी चरणवद्धरुपमा दवाव तथा संघर्ष कार्यक्रम, जनवाकलता कार्यक्रम, संस्थागत विकास कार्यक्रम, सशक्तिकरण कार्यक्रम, बजार प्रवद्र्धन कार्यक्रम, सम्पदा संरक्षण कार्यक्रम, साँस्कृतिक आदानप्रदान कार्यक्रम, बाँच र बचाउ कार्यक्रम, सम्बन्ध विस्तार तथा प्रचारप्रसार कार्यक्रम, चलचित्र पर्यटन कार्यक्रम, स्रोतको खोजी कार्यक्रमलाई अगाडि बढाउनु उपयुक्त हुने  अवधारण कोइँच (सुनुवार) कलाकार तथा चलचित्रकर्मीमा हुनु पर्ने देखिन्छ । यस्ता कार्यक्रम आदिवासी जनजाति कलाकार तथा चलचित्रकर्मीहरु सबैले एक जुट भएर अगाडि बढाएमा हिन्दू एकात्मवादी नेपाली समाजमा अबश्य पनि आदिवासी जनजातिको आफ्नो हकाधिकार प्राप्त हुनेछ ।
(लेखक सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजका सल्लाहकार हुन्)

Share

Leave a Reply

Your email address will not be published.