कोइँच सुनुवारहरुबीच पुनः यस्तो दशा नदोहोरियोस्

विशेष सम्पादकीय

किरात कोइँच सुनुवारहरुको सामाजिक संरचना बुझ्न नसकी सुन कमाउने सुनार भनेर राजधानीको एउटा पत्रिकाले छापिँदाको आक्रोशबाट संगठित भएर आफ्नो पहिचान स्थापित गर्नुपर्दछ भन्ने हेतुले २०४५ सालमा सुनुवार सेवा समाजको जन्म हुन पुगेको सर्वविदितै छ । पञ्चायती कठोर शासकहरुको आँखा छल्दै संगठित भएका कोइँच सुनुवारहरुले बहुदलीय व्यवस्थापश्चात् खुलेर अगाडि आउने मौका मिल्यो ।

संस्था केवल समाजमा आफ्नो पहिचान स्थापित गर्ने हेतुले स्थापना भएकोले केही समयसम्म सामाजिक संस्थाका रुपमा निर्विवाद अगाडि बढ्यो । जहाँसम्म केही राम्रा कामका थालनी भए अनि सुनुवारहरुबीच संगठित हुने सुनौलो अवसर पनि जु¥यो । यस किसिमले चौथो समितिसम्म आइपुग्दा केही मतमतान्तरका आवाजहरु गुन्जन थाले । ती आवाजहरु भित्रभित्रै चर्किन थाले पनि सुनुवार सेवा समाजले कुनै पनि प्रतिउत्तर दिन चाहेन अन्ततः ती आवाजहरु केही हदसम्म हौवा भएको सबै कोइँच सुनुवारहरुले बुझे ।

२०४६ पश्चात् दलीय राजनीति स्थापना भएपछि पाँचौ समितिबाट राजनीतिक खिचातानीको झड्का महसुस कोइँच सुनुवारहरुले गरे । जसका कारण निकै समय पदाधिकारीबीचको समन्वय हुन नसकी दुईतीनजना पदाधिकारीहरुमाथि मात्र यसको जिम्मेवारी रहेको हो कि भन्नेसम्मको बोझ महसुस भयो । राजनीतिक अभिष्ट प्रवेश भएको यो समितिबाट प्रस्ट देखिन्छ । जुनबेला नेपाली कांग्रेसका व्यक्तिहरुले नेतृत्व लिएकै कारण निकै कटाक्ष रहेको सुनिन्थ्यो । यो कटाक्ष उत्पन्न हुन स्वभाविक पनि थियो यस अर्थमा कि संस्था खण्डित गर्ने मनस्थितितिर केही समूहहरुको सोचाइ बढिसकेको थियो । संस्थामा रहेका चलअचल सम्पत्तिलगायत संस्थाबाट सञ्चालित सांस्कृतिक कला प्रशिक्षण केन्द्र बन्द गर्ने खेल सुरु भयो । अन्ततः सांस्कृतिक कला प्रशिक्षण केन्द्रलाई तुहाउन दुवै पक्षको ठूलो हात रह्यो ।

माइक्रोसफ्टका सिनियर इन्जिनियर टंकराज सुनुवारद्वारा प्रदान गरिएको कम्प्युटर, प्रिन्टरलगायत संस्थाका सांस्कृतिक बाजागाजा पटक–पटक गरी चोरी भयो । यसपछि पदाधिकारीहरु संस्थाको कार्यालयमा उपस्थित हुन पनि चाहेनन् कारण संस्था रहेको घरभाडा दिनानुदिन बोझ हुँदै गएको थियो । एकातिर पार्टी मानसिकताले जरो गाडिदै गयो अर्कोतिर संस्था रुग्न हुँदै गयो । यसैक्रममा देशमा राजनीतिक खिचातानीले गर्दा २०५६ को आमनिर्वाचनमा केही कोइँच सुनुवारहरुले उम्मदेवारको टिकट प्राप्त गरे । जसअनुसार रामेछापबाट कमलप्रकाश सुनुवार, हरिकुमार सुनुवार र राधादेवी सुनुवार, ओखलढुंगाबाट चम्पक सुनुवार, सिरहाबाट हिराबहादुर सुनुवार, सिन्धुलीबाट खड्गबहादुर सुनुवार र रामबहादुर सुनुवार र पाँचथरबाट बुद्धमाया मुखिया रहेका थिए ।

आम कोइँच सुनुवारहरुको प्रतिनिधित्व हुने आशामा सुनुवार युवाहरुको एक टिमले ‘सुनुवार उम्मेदवार सहयोग समिति’ बनाइ निर्वाचनका लागि आर्थिक संकलनमा अग्रसर हुँदा देशविदेशका सुनुवारहरुबाट दिल खोलेर सहयोग प्राप्त भयो । जुन सहयोगबाट एक मात्र उम्मेदवार रामेछापबाट कमलप्रकाश सुनुवार निर्वाचित भए । सुनुवारहरुको प्रतिनिधिका रुपमा अगाडि सारिएका कमलप्रकाश सुनुवारले कहिल्यै आफ्नो समाजलाई फर्केर हेर्न भ्याएनन् । बरु पटक–पटकको अभिव्यक्तिमा सुनुवारहरुले के गरे मेरो लागि भन्ने पनि सुनिन थाल्यो । यस्ता अभिव्यक्ति दिनु कतिको उचित थियो भन्ने कुरा आम सुनुवारहरुले सजिलै बुझिसकेका छन् ।

यसपछि सुनुवार सेवा समाज पटक–पटकको आह्वानपछि पाँचौ कार्य समितिले पाँच वर्षपछि सम्मेलन गर्न सफल भयो । उक्त सम्मेलनपश्चात् राजनीतिक ध्रुविकरण स्पष्ट रुपमा देखियो । राप्रपा नेतृत्व भएको संस्था भन्ने हल्ला बेलाबेलामा सुनिन थाल्यो र एकहदसम्म राप्रपाकरणको झल्को झल्किएको पनि यथार्थ हो । राजनीतिक आक्षेपका लागे पनि यो समितिले ऐतिहासिक कार्य संस्थाको भवन निर्माण सम्पन्न भने गरेको छ । जुन संस्थाको भवन निर्माणका लागि देश–विदेशका सुनुवारहरुले छाती खोलेर सहयोग गरे पनि राजनीतिक पटाक्षेपका कारण केही समूह असहयोगको खेल खेल्न पछि परेन । पटाक्षेपले स्पष्ट रुप देखाउँदै जाँदा सातौं सम्मेलनमा खुलेर एमालेको प्रवेश भयो । त्यतिबेलासम्म संस्थामा राजनीतिक विजारोपण भइसकेको थियो ।

राजनीतिक विजारोपण बढ्दै जाँदा देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको थियो । आदिवासी जनजातिका मुद्दा संघीय राज्य, आत्मनिर्णयको अधिकार र राज्यमा समानुपातिक प्रतिनिधित्वको चर्को आवाज उठिरहेको थियो । जसमा नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा हुँदा जातीय संस्थाको प्रतिनिधि अनिवार्यता थियो । यसमा सुनुवार सेवा समाजले सहभागिता जनाउँदा संस्थागत उपस्थिति न्यून रह्यो । जहाँ दुइतीनजना पदाधिकारीहरुमा मात्र सीमित रह्यो । चर्को विरोध उठिरहँदा सुनुवारहरुको उपस्थिति न्यून भएको टिप्पणी पनि अन्य संस्थाबाट नउठेका होइनन् । यी कुरा उठ्दाउठ्दै अर्को जमात सुनुवारहरुको उपस्थिति सोही कार्यक्रमहरुमा बाक्लो देखिन्थ्यो । यसबाट के स्पस्ट हुन्छ भने संस्थागत नेतृत्व शून्य बनाएर पार्टीको उपस्थिति बलियो छ भन्ने प्रमाणित गर्न खोजिएको स्पस्ट देखिन्थ्यो ।

यस्ता सानातिना भूलले गर्दा नै आठौं सम्मेलनमा भएका भाँडभैलोहरु शायद यसैका परिणाम थिए । संस्थामा राजनीतिक रुप विकराल हुँदै गएका कारण नै आयोजक समितिले आफ्नो जिम्मेवारी निर्वाह गर्न नसकेको पनि स्वीकारि सकेका छन् । राजनीतिक विजारोपणले जन्मिएको भद्रगोल स्थिति आयोजक समितिको प्रतिनिधि चयनका त्रुटिहरुले देखाइसकेको छ । जुन ठाउँबाट प्रतिनिधि चयन हुनुपर्ने थियो त्यो नभएर संगठन विभागको कमजोरीको फाइदा उठाउँदै असम्बन्धित प्रतिनिधि प्रवेशले विवादका विषय चुलिएको थियो । यही विवादका कारण जिल्ला प्रशासन कार्यालयदेखि सर्वोच्च अदालतसम्म संस्थाले अनावश्यक झन्झट व्यहोर्नु परेको थियो । जसले गर्दा पुनः साधारणसभाको आह्वान गर्न संस्था बाध्य भयो ।

सुनारको आक्षेप मेटाउन स्थापित भएको यो संस्था आज अपरिपक्व राजनीतिक उचाचाक्लीले आम सुनुवारबीच कोकोहोलो मात्र मच्चाएको छैन आफू सुनुवार भए पनि जनजाति दलित उत्थान केन्द्र नामको संस्था चलाएर बसेका व्यक्तिहरुले यसलाई पुनः दलित महासंघमा दर्ज गराउन त प्रयासरत छैन भन्ने सम्पूर्ण सुनुवारहरुको मनमा शंका उब्जिएको छ । अर्कोतर्फ संस्थाप्रति माया अत्यन्त भएको भन्ने जिम्मेवार भद्रभलाद्मीहरुले नै संस्थाको प्रतिवादीका रुपमा खुलेर अभिव्यक्ति दिँदा छर्लङ्ग भएको छ कि को सँग कति माया रहेछ यो संस्थाप्रति ? यस्तो दहिचिउरे अभिव्यक्तिका कारण यो संस्था आज अवसानको घडीमा पु¥याउने कोसिस भएको छ । त्यसैले यो संस्थाको रक्षा गर्न तमाम सुनुवारहरुको दायित्व होइन र ?

Share

One Comment to कोइँच सुनुवारहरुबीच पुनः यस्तो दशा नदोहोरियोस्

  1. Koich says:

    पाँचौ समितिबाट राजनीतिक खिचातानीको झड्का महसुस कोइँच सुनुवारहरुले गरे …उत्तम बिस्लेसन खुलेर नै ../
    पटक–पटकको आह्वानपछि पाँचौ कार्य समितिले पाँच वर्षपछि सम्मेलन गर्न सफल भयो ….. ठिक, … तर आर्थिक अपारदर्शिता को प्रश्न उठेपछि मैनुटिंग किताप समेत हराइयो /
    केही समूह/केहि व्यक्ति असहयोगको खेल खेल्न पछि परेन …..घोसित र अघोसित रुपमा …/
    …स्वो:घोसित भद्र भलाद्मी …….ले गर्दा नै यो अवस्था भन्नु दुइमत नहोला /
    ..संस्थाको प्रतिवादीका रुपमा खुलेर अभिव्यक्ति दिँदा छर्लङ्ग भएको छ कि को सँग कति माया रहेछ यो संस्थाप्रति ? यस्तो दहिचिउरे अभिव्यक्तिका कारण यो संस्था आज अवसानको घडीमा पु¥याउने कोसिस भएको छ यो पनि ठिक …

Leave a Reply

Your email address will not be published.