कोइँच समाजमा ढोक्ने सेवु फ्लाःचा संस्कृति

-कोइँचबु काःतिच
कोइँचमा आफुभन्दा मान्यजन, ठूलाहरुलाई ढोग्ने चलन छ । त्यसैगरी खाना वा पानी दिँदा वा पाहुनाहरुलाई खाना खुवाउँदा अनिवार्य ढोग्ने गरिन्छ । ढोग्नु कोइँच संस्कृतिमा एउटा ठूलो संस्कार पनि हो । कसैले टिका लगाएर वा शिर उठाएर सम्मान गर्दा पनि ढोगिन्छ । जसले ढोक्यो उसले आफुभन्दा ठुला सबैलाई ढोक्छ । त्यसरी ढोक थाप्नेले पनि फेरि आफुभन्दा ठुलोलाई ढोक्नुपर्दछ । यो ढोक्ने संस्कृतिको आधारमा पनि अवश्य हाम्रा सामाजशास्त्र पढ्ने भाइबहिनीहरुले कोइँचको समाज विकासको गोहो पहिल्याउन सक्नेछन् । हामी सजिलै अनुमान गर्न सक्छौं हाम्रो समाजमा संयुक्त परिवारमा बस्ने प्रचलनबाट भर्खरै मात्र सानो परिवारमा बामे सरेको हो । बिहेवारीमा त सम्धी ढोक अर्थात् कोकोर्मि अनिवार्य हुन्छ नै । यो ढोक जस्तोसुकै विवाह अपनाए पनि अनिवार्य छ । त्यसैगरी सेवुगावु फ्लातेक संस्कार नै छ कोइँचहरुको विवाहमा । बेहुलाले बेहुलीलाई आफ्नो नातागोता चिनाउदै र बेहुलीले बेहुलालाई आफ्नो नातागोता चिनाउँदै ढोग्ने वा आफुभन्दा साइनोले सानोबाट ढोक थाप्ने चलनलाई ढोकभेट फुकाउने सेवु फ्लाःचा चलन हुन्छ । यसरी ढोकभेट गरेपछि अब नातासम्बन्ध बाँधियो वा दाजुभाईहरुले आफ्नै वंशको परिवार एकै चुप्लुको सदस्य मान्ने र माइतीहरुले पनि फलना वंशालाई छोरीचेली दियौं, कसैगरी छोरीचेली अभर प¥यो भने समात्ने आधारको रुपमा गाउँले दाजुभाई साँची बसेर ढोक समेत थापेर ज्वाइँचेला मानेको दसीप्रमाण भएको मानिन्छ । यसरी ढोकभेट गर्दा साइनो अनुसारको करकोसेली, शिर उठाउनी पैसा पनि दिनु पर्ने चलन छ । यसरी ढोकभेट नगर्दा दाजुभाई वा माइतीमा तेरो श्रीमतीलाई आजसम्म चिनेको छैनौं । तेरो लोग्नेलाई आजसम्म चिनेकै छैनौं । खोइ कहिले चाहिँ ढोकभेट गरेर चिनाइस् भनेर निहु खोज्ने चलन समेत छ।
तर मरोपरोमा भने शोकाकुलको बेला ढोग्नु हुँदैन भन्ने मान्यता छ । शुद्धाइको दिनमा फेरि अरुबेला जस्तै मेलै ढोकाभेट गर्ने चलन छ ।
ढोगका प्रकार :
कोइँचमा ढोग्दा भन्ने शब्द र ढोग्ने तरिका पनि विभिन्न थरिको हुन्छ ।
नामसेवाल : कसैलाई अनुनयविनय गरेर ढोग्दा नाम सेवाल भनिन्छ (टिकाराम मुलिच) । तत्कालीन अवस्थामा नेपाल आदिवासी जनजाति महासंघमा सबै आदिवासीको मातृभाषामा अभिवादन कण्ठस्थ गर्ने र एकार्कामा साटासाट गर्ने र अफिसमा लेखेर राख्ने सल्लाह भएपछि सुनुवार सेवा समाजसँग कोइँच भाषामा नमस्कारलाई के भनिन्छ भन्दा नामसेवाललाई नमस्कार भनिन्छ भनेर महासंघमा सुचिकृत गरेपछि भने जनसाधारणमा नमसेवल प्रचलित भएको हो (लोकप्रिय सुनुवार) । तर विशेषगरी पिदारनाम्दार गर्दा देवताहरुलाई फाँक चिरो चढाएर अनुनयविनय गर्दा नाअ्सो पोइँबोले नामसेवाल भनेर विन्तीभाउ गर्ने गर्छन् । अहिले यसलाई नमस्कारकै पर्यायको रुपमा लिने गरिएको छ ।
दुकु (ढुकु) : आफुभन्दा ठूलाबढा (छोरा नातिले बाजेबजु, बुबाआमा, बढाबढी, काकाकाकी, फुपु, दाजु, दिदी, बुहारीले आमाजु सासु) लाई ढोक्नुलाई दुकु भनिन्छ । यो विशेषगरी विशेष चाड र साँस्कृतिकि कार्यमा ढोगिन्छ ।
जिनी : साना नानीहरुले ठूलाहरुलाई दुई हातको बुढी र्औला निधारमा राखेर ढोग्नुलाई जिनि भनिन्छ । यो बालबोलीमा भनिने नमस्कार हो ।
कोकोर्मि (सम्धी ढोक) : यो विशेष गरी बेहुला र बेहुलीको बाउ वीचको ढोक हो । यसलाई सम्धी सेवु भन्ने गरिन्छ । तर कोइँचमै चाहिँ कोकोर्मि भनिन्छ । (स्रोत ः चन्द्रबहादुर सुनुवार प्रधानबुढा) शायद कोकोर श्याँबु दिँदै सम्धी सेवु गरिने भएर पनि हुनसक्छ ।
कुर्मेन : देवी देउता वा आफुभन्दा ठूला तर खुट्टामा ढोग्नु नपर्ने नातेदारलाई ढोक्नुलाई कुर्मेन भनिन्छ ।
गाउतालास : टाढैबाट हाइ हेल्लो गर्दा आफुसमानको साथीलाई ढोग्नुलाई गाउतलास भनिन्छ (भिमप्रकास सुनुवार) ।
चेरेदोया : आफुभन्दा ठूलोलाई ढोग्दा वा दर्शनभन्दा चेरेदोया भनिन्छ (भिमप्रकाश सुनुवार) ।
सेवु : सामान्यरुपमा सबैलाई ढोग्दा वा ढोक गरेँ, नमस्ते है भन्दा सेवु वा सेवु पाता भनिन्छ ।
माँगेन : कतै झगडा भयो वा कसैको शिर ढल्यो र एक बोतल वा पोङ रक्सी र भेटी राखेर शिर उठाउने ढोग र पिदारलाई माँगेन पिदार भनिन्छ (पदमबहादुर सुनुवार र बुद्धिबहादुर सुनुवार)।
ढोक्नु धेरैलाई सामान्य झैं लाग्ला तर ढोक्नुसँग कोइँचको गहिरो साँस्कृतिक सम्बन्ध छ । ढोकभेट फुकाउने (सेवु फ्लाःचा) भन्ने कोइँचमा संस्कार नै छ । ढोक्नु हाम्रो संस्कृतिको अभिन्न अंग पनि हो ।-

Share

Leave a Reply

Your email address will not be published.