कोइँच संस्कृतिमा खुकुरी

अतीत मुखिया कोटेश्वर

कोइँच (सुनुवार) भाषामा खुकुरीलाई चुःब भनिन्छ । चु को अर्थ काँढा र ब को अर्थ भएको भन्ने हुन्छ । चुःब शव्द चलनचल्तिको भाषा हो । मुग्दुमि भाषामा चुःबलाई दाबे वा खारे भनिएको पाइन्छ । दाबे भन्नाले फलाम बाहेकका कुनैपनि धातुहरुबाट निर्मित कर्दभन्दा केही ठूलो खुकुरी हुन्छ भने खारे भन्नाले फलामबाट निर्मित खुकुरी जस्लाई चलनचल्तिको भाषामा चुःब भनिन्छ । कोइँच मुग्दुममा हसिया र खुकुरी बिषेशत सुन, चाँदी, तामा, पित्तल र काँसबाट बनाइने कुराको उजागर गरिएको पाइन्छ । ससि मुग्दुममा उल्लेख भएका सलाकमा इँगि खुर्मि र दुमा खुर्मि को उल्लेख पाइन्छ । इँगि खुर्मि भन्नाले सर्वव्यापी परमात्मा इँगिले चलाउने हसिया हो जो सुन र चाँदिको हुन्छ । सुनको हसियालाई सुनाखुर्मि र चाँदि तथा पितलको हसियालाई रुपाखुर्मि, ह्रोँपाखुर्मि भनिएको पाइन्छ । दुमा खुर्मि भन्नाले पुर्खाहरुले चलाउने हसिया जो तामा, पितल, फलाम जस्ता धातुहरुबाट बनेका हुन्छन जस्लाई आमखुर्मि, वामखुर्मि आदि नामका हुन्छन् । यसरीनै खुकुरीको उल्लेख पनि मुग्दुममा भएको पाइन्छ । मेग्यो मुग्दुमको खलो र मुइलि मुग्दुमको पिदारहरुमा उल्लेख भएअनुसार तोष्यखारे, मामाखारे, दामाखारे, फुल्पिङखारे, दावेखारे , सुनाखारे, रुपाखार,े ह्रोँपाखारे भनेर बिभिन्न प्रकारका खुकुरीहरुको उल्लेख गरिएको पाइन्छ । कोइँच मुग्दुमि ब्यक्तिहरुले आजसम्मै पनि मुग्दुमि कार्यगर्दा पितल र तामाका हसिया एवं कर्दहरु खेलाउने गरेको पाइन्छ । यसरी खेलाइने कर्द कोइँच मुग्दुम अनुसार कुनैपनि नाअ्सो (मुग्दुम जान्ने मुग्दुमि व्यक्ति)को मृत्यु भएमा मृत नाअ्सोले खेलाउने खारे (स्यानो खुकुरी वा कर्द) नयाँ बन्ने उत्तराधिकारी नाअ्सोलाई विधिपूर्वक नबुझाएसम्म मृतकको लास सतगतका लागि उठाउन मिल्दैन । यो परम्परा आदिमकाल देखिकै प्रथाकारुपमा कोइँच समुदायमा चलिआएको पाइन्छ ।
खुकुरीको प्राचीनताबारे अध्ययनगर्दा संसारकै सवैभन्दा पुरानो मानिएको धर्म भनेको वोन धर्म हो । यहि वोनधर्मकै एक साखा किराँत धर्म हो । वर्तमान भारत, भारतवर्ष हुन अगाडि यहा किरातहरुको आदिम वस्ति भएको तथ्य विभिन्न इतिहासकारहरुले उजागर गरेको पाइन्छ । हिन्दु धर्मका प्राचीन ग्रन्थ बेदमा पनि विभिन्न किरात राजा तथा राज्यको उल्लेख हुनुले पनि किरात धर्मको प्राचीनताको पुष्टि गर्दछ । विक्रम सम्वत प्रारम्भ हुनुभन्दा सात हजार वर्ष पूर्व अर्थात इ।स।प। ७०००का आसपास लिःब्ला (धनुषकाँण)को आविस्कार भएको मान्यता इतिहासकारहरुको छ । ऐ। शि। बाबुराम आचार्यका अनुसार हिमालबाट आउने भोटवर्मेलीहरु इ।स।प। तेश्रा सहस्रब्दिमा अर्थात बिक्रम सम्वत सुरुहुनु भन्दा तीन हजार वर्ष पहिले नै पशुपालन र खेति समेत गर्दथे । तामो र अरु धातुका उपयोग गर्नपनि जान्दथे । संभवत यीनै भोटवर्मेली मूलका किरातहरुले खुकुरीको निर्माण गरेको हुनु पर्दछ । मुंग्दुममा उल्लेखित तामा र पित्तलका हसिया र खुकुरीले यो सन्दर्भको पुष्टि गर्दछ । यस आधारमापनि मुग्दुमलाई इ।स।प। १०००० अगाडिको भन्ने अन्दाज गर्न सकिन्छ ।
कोइँच मुग्दुममा फलाम बाहेक अन्य धातुहरुको पनि हसिया तथा खुकुरीको उल्लेख हुनु, कोइँच मुग्दुमी व्यक्ति नाअ्सो, पोइँव, ग्याँमिहरुले मुग्दुमि कार्यगर्दा परम्परा अनुसार आजपनि तामा र पित्तलका खुर्मि तथा खारे प्रयोगमा ल्याउनुले यही सावित गर्दछ कि फलाम पत्तालाग्न अगाडिदेखि नै हसिया र खुकुरीको निर्माण भैसकेको थियो । यसका अतिरिक्त सात हजार वर्ष पुरानो मानिएको अथर्ववेदको दशौं काण्डको चौथो अध्यायको चौधौं मन्त्रमा उल्लेख भएअनुसार एक किरात कुमारीले सुनको हसियाले पाहाडमाथि जडिबुटि खनेको विवरणलाई सान्दर्भिक बनाउदापनि मुग्दुममा उल्लेखित हसिया र खुकुरीको प्राचीनता सात हजार वर्ष भन्दापनि पुरानो मान्न सकिन्छ ।
खुकुरी किरातहरुको प्राचीन तथा पवित्र हतियार हुदैहुदै सम्पूर्ण नेपालीहरुकै साझा एवं मौलिक हतियारका साथै सुधौली सन्धि पश्चात संसारकै सुपरिचित हतियार बन्न पुग्यो र नेपालकै राष्ट्रिय हतियार बन्ने सौभाग्य पायो जस्को पछाडी यसको मौलिकता नै प्रमुख कारण हो । जाहासम्म बाहिरी प्रभावको सम्वन्ध छ त्यस विषयलाई मनन गर्दा केही प्रभाव अवश्यै परेको पाइन्छ । विभिन्न किरात मिथकका अनुसार खुकुरीको बेँड वारपार छेडिनु हुदैन भन्ने छ । तर आजकल स्याँगि, खुँडा तथा केही विदेशी हतियारको बेँडजस्तै गरेर कब्जावाल बेँडको निर्माण भएको पाइन्छ । खोत(दाप) पनि तरवारको म्यान जस्तैगरी छालाले मोरेर बनाएको पाइन्छ । स्वयम किरातहरुले समेत मुग्दुममा उल्लेख भए अनुसारको सेमसेमतुली, पदमतुली र ¥यामतुली अंकित काठको खोत (दाप) बनाउन छाडिसकेको पाइन्छ ।
१। चुइँचे : खुकुरीको टुप्पो
२। दावे : धारभन्दा माथिको गहिरो भाग
३। नाँथेरे : बिटपट्टिको अग्लोभाग
४। फोअका/कुलाँ :बिट मुनीके बुट्टा
५। गोर : काँजो
६। वेथोस/बेथो : बिँड
७। चुः(सेमसेमतुलि) कौड/नाथ्री
८। गोजा : धार
१। चुइँचे ः— कोइँच भाषामा खुकुरीको टुप्पालाई चुइँचे भनिन्छ । चुइँचेको शाब्दिक अर्थ शिखर हो अतः मुग्दुमी अर्थमा खुकुरीको टुप्पोलाई हिमालको चुचुरो बा शिखरको रुपमापनि लिइएको पाइन्छ ।
२।दावे ः— खुकुरीको धारभन्दा माथी र विटभन्दा मुनिको गहिरो भागलाई दावे भनिन्छ । यसका अतिरिक्त मुग्दुमि व्यक्तिहरुले खेलाउने पितलको स्यानु खुकुरीलाई पनि दावे भनिन्छ । यस्तो कर्द आकारको खुकुरी केवल मुग्दम गर्दामात्र प्रयोग गरिन्छ । दावेको किरात कोइँच मुग्दुमी अर्थ कुण्ड भन्ने पनि हुन्छ । यही दावे शव्दको आधारमा गाग्रोको गहिराईलाई दावा र सानो गाग्रोलाई पनि दावा भनिए झैं खुकुरीको गहिरो भागलाई पनि दावे भनिन्छ । तर किरात वान्तावा भाषामा भने खुकरीलाई नै डाबे भनिएको पाइन्छ ।
३। नाँथेरे ः— बिटपट्टिको अग्लो भाग जाहाबाट खुकुरी केही निहुरिएको हुन्छ लाई नाँथेरे भनिन्छ । यो हेर्दा पाहाडको आकार भएको हुदा घामलाग्ने ठाउको रुपमा नाँथेरे भनिएको हुनसक्छ ।
४।फोअ्का/कुलाँ ः— विटपट्टिको काँजोदेखि नाँथेरेसम्म काटिएको बुटालाई फोअ्का भनिन्छ । मुग्दुमि भाषामा फोअ्काको अर्थ मौलो हुन्छ । खुकुरीबाट काटमार पनि गरिने हुदा प्राकृतिको प्रतिक (फोअ्का)मौलोको बुटा काटिन आवश्यक ठानिन्छ । कतैकतै यसलाई कुलाँको अर्थमापनि लिइएको पाइन्छ ।
५।गोर ः— मुग्दुमि भाषामा ग्योरको अर्थ गुफा आकारको देवस्थान वा मंदिर भन्ने हुन्छ र गोरको अर्थ त्यो मन्दिरभित्र पस्ने मूलद्वार भन्ने हुन्छ । खुकुरीको बेँड नफुटोस भनेर काँजोको मूलद्वार बनाएर लगइएको हुन्छ । कसैकसैले यही गोर र नाँथेरे नामलाई सन्दर्भ बनाई गोरखनाथको गुफा भन्ने सन्दर्भ जोडेको पनि पाइन्छ तर कोइँच मुग्दुममा गोरखनाथबारे कुनै उल्लेख पाइदैन । संभवत यो ग्योर (गुफा जस्तो मंदिर),गोर (प्रवेशद्वार) र नाँथेरे शव्द जोडेर अपभ्रंसित अर्थ लगाइएको हुन सक्छ गोरखनाथको गुफा । खुकुरी सम्वन्भि अनुसन्धानकर्त कविताराम श्रेष्ठको भनाई अनुसारपनि “सम्भवतः खुकुरीको भौतिक रुपको परम्परा पूर्णतः चल्न लागेपछि आफ्नो प्रभुत्वको लागि नाथपन्थीहरुले गोरखनाथसंग तादात्म्य गराएका हुन ।”
६। वेथोस /वेथो ः— कोइँच भाषामा बिँडलाई बेथोस वा वेथो मात्रपनि भन्ने गरिन्छ । यो वेथोसको ग्योरमा लाहा भरेर खुकुरी जाम गरिएको हुन्छ । भने किरात बाहिङ भाषामा समुच्चा खुकुरीलाई नै बेथो भनिएको पाइन्छ ।
७।चुः (सेमसेमतुलि) ः— खुकुरीको कौडा ÷ नाथ्री लाई चु भनिन्छ । कोइँच चलनचल्तिको भाषामा चुःको अर्थ काँढा हुन्छ । खुकुरीको कौडा त्रिशुल आकारको हुन आवश्यक छ जस्लाई मुग्दुमि भाषामा सेमसेमतुली भनिन्छ । कोइँचहरु यो बुट्टा खुकुरीमा मात्र नभै ढोल, मौलो, ढेङग्रो आदि कुराहरुमा पनि यो चिन्हको प्रयोग गर्दछन । सेमसेमतुली (सुयुकिकि) आदिम पुरुषको प्रतिक मानिन्छ भने पदमतुली (सुयुपिपि) आदिमस्त्री प्रकृतिको प्रतिक मानिन्छ ।
८। गोजा ः— कुनैपनि धारिला हतियारको धार कति लागु बा तिखोछ भनेर हातको औँलाले हल्का स्पर्श गरेर गरिने अनुभवलाई गोजा भनिन्छ । यही अनुभवका आधारमा कोइँच भाषामा खुकुरीको धारलाई गोजा भनिएको हुनसक्छ । खोत (दाप) ः— (कोइँच कारिगर द्वारा निर्मित काठको दाप)
१. ग्योर तथा गोर
२. पदमतुलि
३. र्‍याँमतुलि
४. केपचोक
कोइँच मुग्दुमी मान्यता अनुसार खोत (दाप) लाई प्रकृतिको प्रतिक मानिन्छ । र्‍याँमतुलि (नं।३को बुटा) स्त्री जनेन्द्रियको प्रतिक मानिन्छ भने पदमतुलि (नं।२ को बुटा) गर्भाशयको प्रतिक मानिन्छ ।

[ad][ad]

Share

6 Comments to कोइँच संस्कृतिमा खुकुरी

  1. Rimsho dumt hanaiyo Dr Kavitaram nu Karna Jetichami blesho Tsub article yo kotsaa naila hoi ngawa.

  2. kormoch says:

    धन्यवाद लेखकलाइ ! खुकुरी को बयान पढेर, सुनुवार जातिमा यस्को महत्व धेरै रहेछ भन्ने कुरो बुझियो । आउँदा दिनहरुमा पनि यस्तै महत्वका लेखहरु निरन्तर आइरहोस ।

  3. januka sunuwar says:

    rochak lageyo, jana jibro ma boldai aaieko taara bashatabik artha thaha nbhaeka kura haru bujhana pakoma khusi pani lageyo.dhanayabaad dai

  4. Atit Mukhiya says:

    धन्यवाद यहाहरुको सुझावहरुनै मेरो लेखनको निखार हुनेछ मन्ने ठानेको छु र अझै अरु सुझावको आसामा रहनेछु पुन धन्यवाद नमसेवल ।

  5. Atit Mukhiya says:

    धन्यबाद कोर्मोचाजी लेख पढेर प्रतिकृया जनाइदिनु भएकोमा । कोँइच पहिचानका लागि यो आवश्यक महसुस गरेर यो क्षेत्रमा लागिपरेकोचु अहिले। तपाईहरु जस्ताको साथ पाइयो भने बिस्तारै हामी कोँइचहरुको पहिचान सर्वत्र फैलाउन सकिने विस्वास लिएकोछु ।

  6. Bapuns Sunuwar says:

    Dhannebad Atit ji tapain le sankalan gari prakashit gari dinu bhyako ma malai sarai khushi lageu yesta kura haru lai aba hamile bristrit rup ma brihet rupma prasrtut gari jogaundai ra bujhaundai lanu parchha harek koinch lai ekatako miththi ma bannu parchha sathai yes lai yestai sano chhoto aritikal ma matra simit nabanai anne pustak ko rup ma wa record gari suruchhit rup ma pani rakhi rakhnu parchha . jahan pahila ko gaun gaun ma gayera itihasik kura haru sabai ko sankalan gari euta shangraha laye ko sthapana garnu pardachha . lauta banki kura pachhi lekhadai garaun la hai anke seu blaita mulat kali/

Leave a Reply

Your email address will not be published.