कोइँच भूमिको नापजाँच सम्पन्न हुँदै

चुप्लु दामलाच

१ जेठ, जेसे । दोलखाको जिरी गा.वि.स हुँदै आज ओखलढुंगाको पत्ले गा.वि.स पुगेर कोइँचको भूमि, भूअधिनत्व तथा प्राकृतिक स्रोतको वारे गरिएको अध्ययन सम्पन्न हुँदै छ । भूमि, भूअधिनत्व तथा प्राकृतिक स्रोत अध्ययन समिति, सुनुवार सेवा समाजले कोइँच भूमि, त्यस भूमिमा भएको खानी, प्राकृतिक स्रोत -वन, पानी, खोला, खर्क) का वारेमा पहिलो चरणको सूचना सङ्कलन कार्य आज सम्पन्न गर्ने भएको छ । यस समितिले कोइँचको जनजीवन, सामाजिक चालचलन, खाना तथा लवाइखवाइ संस्कृति, मुइलि-मुइग्योका वारेमा पनि सूचना सङ्कलन गरेको छ । राजनीतिकरुपमा नेपालमा आदिवासी जनजातिलाई जातीय स्वायत्तता प्रदान गर्ने नगर्ने भन्ने विषय संविधान सभामा छलफल भइरहँदा कोइँचको स्वायत्त भूमि कहाँदेखि कहाँसम्म हो भन्ने हचुवा सिमाङ्कन भइरहँदा यस अध्ययनले सही र तार्किक तथ्य पस्किन सक्ने छ । साथै कोइँचको पहिचानको सही सन्दर्भ यस अध्ययनले पुरा गर्ने जिकीर अध्ययन समितिका सङ्योजक रणवीर सुनुवारको छ । सङ्कलित सूचनाहरुलाई तत्काल प्रसोधन गरिने जानकारी पनि उहाँले गराउनु भयो ।

दोस्रो चरणको अध्ययन भित्री मधेशमा रहेका कोइँचका वारेमा र तेस्रो चरणको अध्ययन मूल वस्ती -पुर्ख्यौली भूमि) बाट विस्थापित कोइँचका वारेमा गरिने भएको छ । यसरी गरिएको अध्ययनले कोइँचको भूमिमा कति थरी कोइँच छन्, उनीहरु कहाँ कसरी वस्ने गरेका छन् । उनीहरुको अवस्था के कस्तो छ र ती कोइँचको सामाजिक, साँस्कृतिक तथा भौतिक उत्थानको लागि के कस्तो योजनाहरु आवश्यक छ र छन् भन्ने सिफारीस सहयोग गर्ने दाता, साझेदार संस्था, सरकार, र सरकारसँग सम्बन्धित निकायलाई  गर्न सकिने भएको छ । लिखु ४ जलविद्युत परियोजनाको वारेमा सुनुवार सेवा समाजद्वारा गठित अध्ययन समितिका स्थलगत अध्ययन टोलीले कोइँचको सम्पूर्ण भूमिको प्राकृतिक स्रोतको अध्ययन गरिनु पर्ने सिफारीस गरेपछि कोइँचको भूमि, भूअधिनत्व तथा प्राकृतिक स्रोत मामिला अध्ययन समिति गठन भएको हो । अहिले लिखु ४ जलविद्युत परियोजनाले आदिवासी कोइँचलाई पार्ने असरको वारे अध्ययन रिपोर्ट एसियन इण्डिजिनिअस पिपल प्याक्ट, चिङमाइ थाइल्याण्डबाट प्रकाशित हुँदै छ । जसले विश्वव्यापीरुपमा कोइँचको अधिकारवारे जानकारी गराउने आशा राखिएको छ । डा. लाल रापचाको प्राविधिक उपकरण तथा आवश्यकीय अन्य सहयोगबाट यो अध्ययन सम्भव भएको हो । उहाँले यस अध्ययन प्रतिवेदनलाई छाप्ने व्यवस्था गर्ने जानकारी उहाँले गराउनु भएको छ भने कानुनीरुपमा डा. बि.बि. मुखियाले विश्लेषण गर्नुहुने छ । स्थलगत अध्ययन गर्नु पुर्व अध्ययनटोलीलाई डा. लाल रापचा, डा. वि.वि. मुखिया, भूगोलविद् खगेन्द्र जबेगु, तथ्याङ्कविद योगेन्द्र गुरुङ, जिपिएस तथा जिआइएस प्रविधिका वारेमा प्रकाश झाले अभिमुखीकरण प्रशिक्षण गराउनु भएको थियो ।

Share

Leave a Reply

Your email address will not be published.