किल्लोको बोली र पिपलडाँडाको ओडार

–शोभा सुनुवार ‘जुलियट’
थिँःकाप पिपल डाँडा स्कुलको डिल । दारको रुख नजिकै एउटा ठूलो ओढार । ओढारबाट मान्छे आवाज जावात गर्न सजिलै सकिन्छ । बेला मौकामा केसरासी फिजाएर ओढारमाथि सिरिरी हावामा कावा खेल्नुको मज्जा नै बेग्लै । यही मौकामा इत्रिएर पिपलका पातहरु फेर फेर आवाज दिन्छन् । ओडारमाथि खुट्टा हल्लाउँदै उ पारि चुप्लु (ओखलढुङ्गा) को रागन, लेःति, जिलि, चप्लेटीका गरागरा र कान्लाकान्ला रमिता हेर्नु र मनमनै लिकु (लिखु नदी) को नागबेली बहव पच्छाउँदै ढाँडे, सिरिसे र थोलो मामाघरमा खेल्न पुग्नुको असिम आनन्द अविस्मरणीय लाग्छ । बिसाउँदै बिसाउँदै कानमा ठोकिन आउने लिखुको सुस्केरासँगै पाकेका पिपलका दानाले जिस्किएर टुक्क जिउमा हान्दा झसङ्ग तर्सिएर होसहवास उड्छ ।

आदिवासीको लागि हेरका खोलानाला, रुखविरुवा, ढुङ्गा, ओडार, पहारा हावा पानी नै देवीदेवता हुन् । यसैले हामी प्रकृतिपूजक हौं ।

चिँकुम (धोब्नी), सारौं (सारु) अनि तुँःतुकुर्मा (ढुँकुर) आएर ओडारमा विसाउँछन् । पखेटा फिजाउँछन । फट्फटाउँछन् । अनि खुट्ट तन्काउँदै उडेर जान्छन् । कहाँ पुग्छन् थाहा छैन । उनीहरुसँग उड्न पाए ? मनमा हातको पाताबाट पखेटा उम्रेको कल्पनामा चुर्लुम्म डुबेर दिन जान्छ । तर हरेक बिहानको सुर्यको किरणसँगै जहिल्यै त्यो ओढारमाथिको डिलमा बसेर यताउता गर्दै घुम्दै चोफ्ले (चिबे) खुब चिर्बिराउँछ । के बोल्छ के । बुझ्न सकिन्न । किल्लो (कल्चुडा) विहानै चिच्चाउँछ । हाम्रो घर ओढार नजिकै भएकोले घरभित्रैबाट चराको संवाद, विलौना सजिलै सुन्न सकिन्छ । म सुत्ने बार्दलीबाट सधैं सुन्छु । र, मनमा कुरा खेल्छ, यि चराचुरुङ्गीहरले के भनेका होलान् ? मनमा भएको कोतुहल सधैं मनमा दबाएर राख्न सक्दिन र एक दिन आमालाइ सोध्छु, ‘आमा त्यो किल्लो बिहानै किन कराएको ?’
‘छि छि आके तामी चैमी मार दुम्मा , ना दाब्शा ते जादिम्मे मुलै काका ब्लाक गोल्शा रेलो पा इप्शो बातेम छि गो दा मार पाङ माइ उने श्यादा दुम्ता आ दुखी कर्मा’ भन्दै सासुले छोरी बुहारीलाई बर्बराउने गरेको हो । सासु एकदम जाँगरे थिइ । घरको सबै काम उसैले गर्थि । अनि गोठको काम पनि भ्याउँथिन् । तर छोरी बुहारीहरु भने गोठमा घाम झुल्किँदासम्म सुत्थे । अनि आफुले आधा काम सक्दा पनि छोरी बुहारी मस्त सुतेको सुतेकै गरेको देखेर पुच्छर फिजाएर बर्बराउने गर्थि । यसरी बर्बराउँदै गोठ नजिकै गाईभैंसीहरुको लागि खोलाखोल्सा घाँस काट्दै जाँदा ओडारको ढिस्कोमाथि डालेघाँस काट्दा लडिन । र, त्यहीँ उनको प्राण गयो । पछि उनले किल्लोको जुनी लिइन । यसैले हरियो घाँस र पानी भएको ठाउँ र ओडारमा बास बस्ने विहान घामको झुल्कोमा बर्बराउने गरेको हो । यता उता हलाएर घुम्दै उसले गाली गरेको हो । भावाना सधै यो ओढार माथिको ढुङ्गा मा बिहानै आएर पोख्छ ।’
किल्लोले पनि कसरी कोइँच लोः बोलेको होला ? मनमा अति कौतुहल भयो । त्यही दिनदेखि बिहानै पिच्छे किल्लो बर्बराएको सुन्ने गरेँ । र, उसको बोलीसँग गोठमा सुतीरहेको छोरीबुहारीको कल्पना गर्छु ।
………..
किल्लो कराउँने वित्तिक्कै आमा थोलोच टंककुमारी सुनुवारबाट पुस्तान्तरण भएकोे त्यही मिथक मेरो मानसपटलमा चलचित्र जस्तै सलल बग्छ । मानौ आमाले काखमा लिएर मेरो कपाल सुम्सुमाउँदै किल्लोको मिथक सुनाइरहनुभएको छ । म उहाँको काखमा आनन्दले उँघ्दैछु । आदिवासीको लागि हेरका खोलानाला, रुखविरुवा, ढुङ्गा, ओडार, पहारा हावा पानी नै देवीदेवता हुन् । यसैले हामी प्रकृतिपूजक हौं ।

-लिखु तामाकाेशी १, कुपिण्डे ।।

Share

Leave a Reply

Your email address will not be published.