‘किनार’

‘किनार’ By निराकार

खोलामा बग्ने स्वतन्त्र पानीलाई
दिशानिर्देश गर्छ किनार
पानीको वहकाईसंगै
पलपल आफु काटिइंदै, खिइंदै
खोला/ नदि इत्यादिलाई आकार दिन्छ
समुन्द्र सम्मको यात्रा तय गरिदिन्छ
हरेक पल तिरस्कृत नयाँ छालहरुसित चुम्वन गर्छ
उनीहरुको नुनिलो बेदनालाई आफुमा समाहित गर्छ
स्वागत गर्छ, विदाई गर्छ ।

किनारहरु बिस्तारित हुने मात्र होइनन्
खुम्चन्छन् पनि
तर बिस्थापित भएका होइनन्
खहरेका उत्तेजित भेल थाकेपछि
किनारहरु बगरसंग सुस्ताउँछन्
खहरेले बोकेको आँसुहरुलाई
किनारले थेक्न खोज्छ, पुछ्न खोज्छ
शान्त भएर सुम्सुम्याउँछ
किनार हरबखत कुनै न कुनै रुपमा
बाँध पनि बनिदिन्छ
मजबुद बनिदिन खोज्छ
किनारहरु मजबुद भएरै नै हो
खोला, नदि र समुन्द्रले गहिराई चुम्छन् ।

किनारको आडमा,
झुण्डिएका झुलुङे पुलहरुमा झुलिंदै
एकछाक बिचार निचोरेर निस्किएका पसिनाहरु
शहरियाहरुको कमारा बन्न पारी तर्छन्
रित्तिएर वापस आउँछन् ।
लत्रीएका तुइनहरुमा झ्याइँकुटी हुँदै
अधुरो इतिहासको द्वेष हटाएर
अर्को इतिहास लेख्न
पुस्तकहरु पाठशालामा पुग्छन्
मुटुभरी आक्रोष भिरेर फर्किन्छन् ।
निस्वार्थ मुहानमा उम्रेका
निश्चल प्रत्येक नयां पानीहरु
एकोहोरो माथिबाट घोट्दै तलतिर बग्ने प्रबृत्ति लिएर
गरिबी र अभावको गन्द बोकेर
पैतृक घर्षणहरुको आडमा
किनारलाई लगातार काट्दैछन्
प्रेमले अंकमाल गरेजस्तो गर्दैछन्,
रगड्दैछन्
कोतार्दैछन्
चिथोर्दैर्छन्
छिया छिया पार्दैर्छन्
तुइन र झुलुङ्गे पुलहरु बरु भत्किएर जालान्
तर कहिल्यै बोझ ठान्दैन
आफु धुजाधुजा भएर सब सहि दिन्छ किनार ।

किनार स्थिर होइन,
यथास्थिति पनि होइन
गतिशील र परिवर्तनशिल छ यो ।
किनार मान्छेका झुण्डहरु हुन्
मान्छे किनारले भोगेका सबै कथा ब्यथाहरु हुन्
र, कथा ब्यथाहरु –
मान्छेलाई जमिनमाथि उचालेर राख्ने
उस्को टाउको भित्र बिराजमान गिदीका नसाहरु हुन्
मान्छेको काँधमा झुन्डिएको
एक जोडी परिश्रमी हातहरु हुन् ।

Share

2 Comments to ‘किनार’

  1. Kaatich says:

    किनार स्थिर होइन,
    यथास्थिति पनि होइन
    गतिशील र परिवर्तनशिल छ यो ।
    किनार मान्छेका झुण्डहरु हुन्
    मान्छे किनारले भोगेका सबै कथा ब्यथाहरु हुन्
    र, कथा ब्यथाहरु –
    मान्छेलाई जमिनमाथि उचालेर राख्ने
    उस्को टाउको भित्र बिराजमान गिदीका नसाहरु हुन्
    मान्छेको काँधमा झुन्डिएको
    एक जोडी परिश्रमी हातहरु हुन् ।
    … sandarvik ra utkrista kabita. mero lagi.

  2. Kaatich says:

    किनार स्थिर होइन,
    यथास्थिति पनि होइन
    गतिशील र परिवर्तनशिल छ यो ।
    किनार मान्छेका झुण्डहरु हुन्
    मान्छे किनारले भोगेका सबै कथा ब्यथाहरु हुन्
    र, कथा ब्यथाहरु –
    मान्छेलाई जमिनमाथि उचालेर राख्ने
    उस्को टाउको भित्र बिराजमान गिदीका नसाहरु हुन्
    मान्छेको काँधमा झुन्डिएको
    एक जोडी परिश्रमी हातहरु हुन् ।
    … sandarvik ra utkrista kabita. mero lagi.

Leave a Reply

Your email address will not be published.