काइश्शि सिल अर्थात् काइशि गिवत साइच्चा : कोइँच सुनुवार समुदायका लोक नाटकहरुको विवेचना

-काेइँचबु काःतिच (उकुसु)

टन्टलापुर घाम छ । मानिसहरु तल माथि यताउता रमिता हेर्न बसेका छन् । ढोल बजाउनेहरु गोलो घेरा लगाएर नाचीरहेका छन् । दुई जना सिकारीहरु दुम्सीको सिकारमा निस्केका छन् । उनीहरुले दुम्सी हिड्ने बाटो पहिल्याउँदै गफ गर्दै छन् ।
ढोलको द्रुदु छिलिङ छिलिङ ताल बजाएर दुम्सी डाकीरहेका छन् । दुम्सी विस्तारै आफ्नो वासबाट निस्केर चर्दै चर्दै आउँछ । र, ढोले नाच्ने घेराभित्र पस्छ । ढोलको ताल फेरिन्छ । दुकुम छिल छिल आवाज निकालेर बज्छ । दुम्सी ढोलको बजाउने ढोलेको घेराबाट उम्केर निस्किन खोज्छ तर ढोल बजाउँदै दुम्सी छेक्ने प्रयास हुन्छ । सिकारीहरुले दुम्सीलाई सिकार गर्न पच्छाउँछन् । तर चलाख दुम्सीले सिकारीको सबै जाल थाहा पाउँछ र घेराबाट फुत्केर निस्कीन्छ । त्यसरी घेरा तोडेर बाहिर निस्केको दुम्सी पच्छाउँदै सिकारहरु दुम्सी खेदाउन जान्छन् । ढोलको ताल पनि फेरिन्छ । ढोलेहरु गजब्बले कम्बर मर्काइ मर्काइ नाच्छन् । र दुम्सीको खोजी गर्छन् ।
फेरि ढोलको तालबाटै दुम्सी बोलाउने काम हुन्छ । दुम्सी मकै वारी पुगेर पनि मकै सबै काटेर खाएर सकेको घिस्याउँदै बोकेर फेरि आइपुग्छ । ढोलेहरुले बाटो छाडेर घेराभित्र हुल्छन् । अनि थुन्छन् । ढोलको ताल फेरिन्छ । सिकारीहरुले दुम्सी मार्ने कोशिश गर्छन् । तर दुम्सी मार्न धेरै गाह्रो हुन्छ । दुम्सीले नजीक आएका सिकारीलाई उसको काँडाले प्रहार गर्छ । जोगिँदै जोगिँदै सिकार गर्नुपर्ने हुन्छ । अन्तमा सिकारीले दुम्सीलाई झुक्याएर मार्छ । त्यसपछि ढोलको ताल परिवर्तन हुन्छ ।
दुम्सी मारेपछि ढोल बजाउन रोकिनुहुँदैन । सिकारीहरुले चाइँसिकारीलाई पातमा दुम्सी मारेको आछु चढाउँछन् । अनि त्यसलाई मन्त्र गरेर पुन बौराउँछन् । अनि सबै खुशी हुन्छन् । नाच्दै खुये खुये भन्छै घरभित्र दुम्सी बन्ने कलाकारलाई सिकारीले अँगालो हालेर घरभित्र हुल्छ र एकजोर सागुन खट्टे चिरो राखेर पितृ र प्रकृतिको पिदार गर्दै सबैलाई दुम्सी बनेको कलाकारले पाती लगाउँदै ठूलोलाई ढोग्ने र सानाबाट ढोग थाप्ने गर्दछ । अनि पिदार गरेको प्रसाद सबैले बाँडेर खाने जाँडपानी खाने गरिन्छ ।

परिवेश
यो लोकनाटक गर्नको लागि खासै तामझम चाहिँदैन । यो नाटक गर्नैपर्छ भन्ने वाध्येता भने छैन । तर यो नाटक गर्नको लागि वाद्यवादन बजाउन जान्ने र मुक्दुमि ज्ञान भएको व्यक्तिको भने आवश्यकता हुन्छ । यो नाटकले कोइँचको सिकारीयुगबाट कृषियुगमा प्रवेश गरेपछिको परिवेशलाई समेटेको छ ।

१. समय
कोइँचहरुले वैशाख पूर्णिमाको दिन शाँदार पिदार गर्छन । शाँदार पिदार गाउँघरमा तीनदेखि ५ दिनसम्म गर्ने चलन छ । यसरी शाँदार गर्दा कुलपुरोहित आ–आफ्नो टोल वा थरको घरमा ढोल बजाउँदै सुरो भित्राउँदै नाच्दै घुम्ने चलन छ । यसरी गाउँ घुम्दा देखिइने लोक नाटक हो । यो दिनको समयमा खुला आकाशमुनि गरिन्छ ।

२. मञ्चन स्थल
काइशि गिवत साइतेक लोकनाटकलाई अहिलेसम्म विशेश मञ्च बनाएर मञ्चन गरेको पाइँदैन । यो नाटक गर्दा घरको ठूलो फराकिलो आँगन हुनु आवश्यक हुन्छ । साजसजावटको कुनै पनि सामाग्री चाहिँदैन । तर अन्नवाली भएको भर्खर विरुवा पलाएको घर हुनु आवश्यक छ । अनि शिकारीले सिकार गर्ने धनुषवाण, डोरी, खुकुरीहरु भने हुनुपर्दछ ।

संवादयोजना
यो लोकनाटकको संवाद गेयात्मक हुन्छ । विशेषगरी मुक्दुम जान्ने र कुलपुरोतिहरुले सलाकहरु गाउदै प्रश्नोत्तर गर्ने गर्दछन् । यस नाटकको संवादलाई आदिम कोइँच जनजीवनको समयमा बोलिने भाषालाई प्रयोग गरेको देखिन्छ । यस नाटकको संवाद आदिमकालको झझल्को दिनुमा वादवादनहरुको प्रयोग पनि हो । वाद्यवादनले सबै कुरा वताउने गर्दछ । गीतसंगीतको रुपमा पोइँबो ग्याँमि नाअÞसो वा मुक्दुम जान्नेले सालाक नामक कोइँच सासी मुक्दुम भन्ने गर्दछन् । यसरी मुक्दुम भन्दा एकजनाले सोध्ने अर्कोले जवाफ दिने गरिन्छ ।

क) भाषा
यहाँ संवाद भनेर खासैगरी त्यस्तो कुनै निस्चित संवाद हुँदैन । दुम्सीले वनजंगल घुमेर के के खाएको हो त्यही अनुभुति सालाक नामाक गेयात्मक विधाबाट बताउने गर्दछ । भाषिक हिसावले सर्वसाधारणले बुझ्ने भाषा प्रयोग हुँदैन । पूजा प्रार्थना गर्दा बोलिने मुक्दुमी भाषाको वढी प्रयोग भएको पाइन्छ । जस्तै ः
काला जाङानु कालोओलो पाइत्ति
शोकोत जाङानु शोकोओको पाइत्ति ।।

ख) गीत/संगीत
परम्परागत रुपमा गाउँदै आएको सालाकको लयमा काइशिले आफ्नो अनुभूति बताउने गर्दछ । गीतमा काइशिले बालीनाली किन खानु परेको भन्ने वाध्येता प्रस्तुत गरेको हुन्छ । अनि मानिसको उत्पत्तिको कथा भनिएको हुन्छ ।

ग) वाद्यवादन
यो लोक नाटकमा ढोलझ्याम्टालाई अलग गर्ने हो भने नाटक मञ्चन सम्भव नै हुँदैन । यो नाटकको आत्म भनेकै ढोलझ्याम्टा हो । काइशिलाई बोलाउने, चर्न पठाउने, मार्ने अनि पुन जगाउने काम सबै ढोलझ्याम्टाको तालमा निर्भर हुन्छ । गीत गाउनु वा भाषिक सम्बाद यसमा गौण देखिन्छ । तर ढोलझ्याम्टा नभएको अवस्थामा काइँशि गिवत साइत्तेक लोक नाटक असम्भव हुन्छ ।

चरित्रचित्रण तथा अभिनेयता
यस नाटकमा सबै पात्रहरु पुरुष हुन्छन् । जति धेरै ढोलझ्याम्टा हुन्छ उतिनै वाद्यवादन बजाउने पात्रको आवश्यकता पर्दछ । एक देखि दुई जना पात्रले काइश्शिको चरित्र निर्वाह गर्दछन् । एक देखि दुई जना पात्रले सिकारीको चरित्र निर्वाह गर्दछ । नाअÞसो पनि आवश्यक हुन्छ ।

लुकेको कारण वा मिथक
उमेरले भरिपूर्ण भएका दुई दाजुबहिनी सुयुकि र सुयुपिमा एकापसमा पुनः आकार्षण बढ्न थाल्यो । एकार्कामा मस्किने, जिस्किने जस्ता क्रियाकलाप गर्न थाले । यो देखेर कालिपिपि एकद चिन्तीत हुनुभयो । कालिपिपि झोक्राएको देखेर दुवै जना गम्भिर भए । के अनिष्ठ हुन लाग्यो भनि कालिपिपिलाई सोधे । यस भुमिमा अर्को जोडी मानिस नभएको तर सुयुकि र सुयुपि जुमल्याहा दाजुबहिनी भएको हुँदा विवाह हुने नसक्न बताउनुभयो । यदि दुवैले कालिपिपिको वचन नमाने इँगिले बज्रले हानेर फेरि बाल्यअबस्था मै फर्काई दिने बताउनुभयो । विविध मुक्दुमि ज्ञान र विद्याले निपुण सुयुकि र सुयुपिले दिव्यदृष्टि लगाएर विगतलाई हेर्नुभयो । साँच्चिकै उनीहरुको लालाक सुसुक अवस्थामा जागेको यौना तृष्णालाई अवैध ठानी इँगिले फारे (अग्नि बज्र) हानेको देखेर झसङ्ग भएर झस्किएर व्युँझनुभयो । त्यसपछि सुयुकि र सुयुपिले अनेक जुक्तिहरु गम्न थाल्नुभयो । कालिपिपिलाई मानिस बाहेक अन्य जीवमा चोला फेरेपछि विवाह हुनसक्छ कि सक्दैन भनि सोध्नुभयो । कालिपिपिले पार्मोसिरिलाई सोध्नुभयो । पार्मोसिरिले तायारिप्चि सायारिप्चिसँग सल्लाह गर्नुभयो । चोला बदलेपछि विवाह हुनसक्ने निस्कर्ष निस्क्यो । अनि कालिपिपिले सुयुकिलाई चोला बदल्न सके विवाह हुनसक्ने बताउनुभयो ।
कालिपिपिको मुखबाट यस्तो वचन सुनेपछि मुक्दुमको विद्याले दुमा पोको दुध खाएर हुर्किएको हुँदा आफुलाई दुमा पोमा परिणत गर्नुभयो । आफ्नो दाजु सुयुकि दुमा पो भएको हुँदा रुँदै कराउँदै बाटो छेकेर सुयुपिले समात्ने धेरै प्रयास गरिन । समात्न नसके पनि सुयुपिले पछि पछि लखेट्न भने छाडिनन् । यसरी दुमा पो लखेट्दा लखेट्दा धेरै दुःख पाइन ।
मुक्दुम विद्याले दुम्सी बनेको हुँदा सुयुकिलाई पनि वनमा के खानुहुन्छ के खानु हुन्न भन्ने थाहा थिएन । उसले काला गिठा खाँदा “कालोवालो” स्वाद पायो । भ्याकुर खाँदा “शोकोओको” स्वाद पायो । भोकको झोँकमा दुमा पो बनेको सुयुकिले वनमा भएका सबै कन्दमूल, मुना गुबोहरु सबै बिमाख गर्न थाल्यो । सबै कुरा काट्ने, खन्ने, खाने गर्न थाल्यो ।
कालिपिपिको पालानपोषणमा हुर्केकी सुयुपि दुमा पो बनेको सुयुकिलाई लघार्दै हिड्दा हिड्दा भोक, प्यास र थाकानले लखातरन्न बनिन् । अनि भोकले लखतरन्न बनेकी सुयुपिले पनि दुम्सिले जे जे खायो त्यही त्यही खाना चाख्न थालिन । दुबै बनमै रमाउन थाले । वन बुटा सबै मास्दै गए । यस्तो अवस्था देखेर पार्मोसिरि चिन्तित भए । तायारिप्चि सायारिप्चिसँग के गर्ने भनि सोध्नुभयो । अनि तायारिप्चि सायारिप्चिले सुयुपिलाई सुयुकि मारेर मान्छेको जुनी दिन लगाउनु भन्नुभयो । त्यसैले पार्मोसिरिले पनि सुयुपिलाई दुम्सीलाई वाण हानेर मारी मुक्दुम विद्याबाट मान्छे बनाउन अह्राउनुभयो । पार्मोसिरिको आदेशानुसार सुयुपिले दुम्सी हिड्ने बाटोमा ठूलो खाडल खन्नुभयो । दुम्सी खाडलमा फस्यो । चारैतिर घेरेर सुयुपिले वाण हानी दुम्सि मार्नुभयो । अनि खलो गाउँदै चाइँसिकारी, बायाबेधालाई बुझाई सुयुकिलाई दुमा पोबाट पुनः मानिसको औतारमा जीवित पार्नुभयो । सुयुकि दुमा पोबाट मान्छे भएका हुँदा दुमा होपो भए र सुयुपि कालिमामाले ग्लुम्शो भएका हुँदा ग्लुमाहोमो भएन । अनि आनिलासिरि, तायारिप्चि–सायारिप्चि, पार्मोसिरि, कालिपिप मिलेर सारा जीवजन्तु, चाराचुरुङ्गिको लावालस्कर लगाइ धुमधामसँग दुमा होपो ग्लुमा होपोको विवाह गराइदिनुभयो ।
यही कथाको सम्झनामा अहिलेसम्म कोइँचहरुले आफ्नो पुख्र्यौली थलोमा काइश्शि गिवोत साइत्तेक लोक नाटक गर्दै आएका देखिन्छ । तर यो नाटक आधुनिकताको नाममा चरम साँस्कृतिक अनिक्रमणका कारण लोपोन्मुख अवस्थामा रहेको छ । कहिले काहीँ जाँगर चलेको अवस्थामा युवाहरु पुर्खाको विँडो थाम्ने काम गरेको देखिँन्छ ।

– तिसुप काःत खिँचि ४ चुप्लु (ओखलढुंगा)

Share

Leave a Reply

Your email address will not be published.