उन्मुक्त पुस्त म

–जेँःतिच हितराज सुनुवार

यो खासमा,
मेरो सवालमा भन्नुपर्दा,
बाल्यकाल र किशोरावस्थाको
आफैंले नउब्जाएको, तर खेदो गरिरहने
एउटा ठुलै पहाड हो अथाव एउटा ठुलै समस्या हो
को हुँ म सुनार हुँ कि सुनुवार हुँ ?

म सानो हुँदा
विद्यालयमा पढ्दा
अरूहरूले जातभात सोध्थे
जातभात नमान्ने रैथाने भुमिपुत्र
सुनुवार हुँ भनेर मेरो चिनारी पस्किँदा नि,
शिक्षकहरुले
विधार्थीहरुले
स्टाफहरुले
सहपाठीहरुले नै
वरिष्ठले
कनिष्ठले
पत्रकारले
लेखकले
सप्पै सप्पैले
मलाई जबर्जस्ति सुनार बनाउन खोज्थे
र, बनाउँथे नै
ताजुब लागेर आउँथ्यो मलाई, म को हुँ ?

आजकल समेत त्यस्ता प्रश्नहरू ओइरीरहन्छन्
जुन प्रश्नले मलाई मेरो चिनारीमाथि शंका गरीरहेको हुन्छ,
मेरो असली चिनारी माथि थप गलगाँड लाधीदिन खोज्छ
र प्रतिउत्तरमा आगो ओकाल्न मन लाग्छ
हुन त यो पक्कै नि मेरो दोष होइन, न त कुनै कोइँचको नै
यसैले
प्राण प्रतिज्ञा गर्दैछु
पहिलाको जस्तो म मात्रै रहिन
म मौलाएर हामीमा जवान भईसकेको छु ।
म सचेत बनेर हामी भईसकेको छु ।
हाम्रो चिनारीमा दाग लगाउँने
तिम्रो नियत बुझीबुझी निम्छरो भएर बस्न सक्दिन
अब न म तिमीसित भयवित नै छु ।

अब मलाई तिम्रो
खोटो तर्कसँग डर छैन
किन डराउँनु ?
के म अपराधी हो र ?
के हामी अपराधी हौ र ?
कसैलाई किन चासो ?
कसैलाई किन टाउको दुःखाइ ?
म सुनार हुँ कि सुनुवार ?
मेरो चिनाजानी मैले गराउने हो
मेरो व्यवहार मेरो बोली मेरो संस्कृतिले
म को हुँ भनेर चिन्न सकेनौ र !
तर तिमी बुझ्दैनौ जति नै भने पनि
तिमी बुझेर पनि बुझ पचाउँदै छौ
कि
म सधैं तिम्रो अगाडि हिनताबोध बाँचुँ ।
…………………………
अनारमुनि, विर्ता बजार, झापा

Share

One Comment to उन्मुक्त पुस्त म

  1. गोपाल तामाङ says:

    प्रतिभा प्रस्फेटन हुँदैरहेछ।खुसी लाग्यो ।लेखनले निरन्तरता पाअोस्,बधाइ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *