आदिवासी जनजाति रेडियो र रेडियो लिखुको अनुभव

DSC_0072–कोइँचबु काःतिच
जहाँ यातायात, पानी, विजुली बत्ती र बजारको त कुरा नगरौं बस्ने सामान्य कुनै भौतिक पूर्वाधारसमेत नरहेको ठाउँमा, त्यो खेर गएको बाँजो पहाडी डाँडामा रेडियो स्थापना गर्छु भन्नु जस्तो महामूर्खता अरु केही हुन सक्दैन । तर यस्तै महामूर्ख काम गरेका छन् कोइँच (सुनुवार) हरुले । कोइँच भाषाको पहिलो रेडियो कार्यक्रम किङ–लो चुप¬लु नामक आधा घण्टाको कार्यक्रमलाई आम कोइँच दाजुभाई दिदीवहिनीहरुले मन पराएपछि हौसिएर रामेछाप जिल्लाको गुप्तेश्वर गाउँ विकास समिति वडा नं. २ झलमलेमा रेडियो लिखु नामक रेडियो स्थापना भएको छ । नेपालमा सबै रेडियो विज्ञापन बजारको पहुँचका लागि बजार खोजेर रेडियो स्थापना गर्ने चलन छ । हुन त फ्रिक्वन्सी मोडुलेसन (एफ. एम.) व्याण्डको रेडियोले खास स्रोता र सानो क्षेत्रलाई लक्षित गर्ने भए पनि नेपालमा भने राष्ट्रिय प्रसारणकै रुपमा पूर्वदेखि पस्चिमसम्म एकै पटक प्रसारण भइरहेको पनि छ ठूला सञ्चारगृहहरुको लगानीमा । यस्ता ठूला सञ्चारगृहको अगाडि आना सुकी उठाएर रेडियो सञ्चालन गर्नु निस्चय पनि वहुलट्ठीपन हो । यस्तै वहुलट्ठीपनले खोलिएका धेरै रेडियो विस्तारै बन्द हुँदै छन् । त्यस्तो जटिल अवस्थामा पनि आफ्नो व्यापार व्यवसाय, राजनीतिक पहुँच नभएका साथै राज्यका कुनै पनि संयन्त्रमा आफ्नो उपस्थिति नभएका सिमान्कृत कोइँचहरुले आदिवासी जनजाति सामुदायिक रेडियो घोषणा गरेर रेडियो स्थापना गर्नु पागलपन नै मान्नु पर्छ । र, पनि त्यो पागलपनले एक वर्ष पुरा गरेको छ । विभिन्न वाधा व्यवधानका बाबजुद पनि दैनिक १० घण्टा रेडियो प्रसारण भएको छ । कोइँच भाषामा कार्यक्रम सञ्चालन हुने होइन कि कोइँच भाषाबाटै रेडियोको विहानी सेवाको उठान गर्दै रेडियोको सबै कार्यक्रमको लिंक उद्घोषणसहित बेलुकीको सेवाको समापन पनि कोइँच भाषामै गरिन्छ । कतै औपचारिक प्रशिक्षण नलिएका भुइँफुट्टा कोइँच युवाहरु काम गर्दै आपैmं सिक्दै अनुभव गर्दै आदिवासी जनजातीय कोइँचपनको रेडियो सञ्चालन गरीरहेका छन् । आफ्नै भाषाको सञ्चारमाध्यमको अभ्यास गरिरहेका छन् ।
आदिवासी जनजातिको लागि रेडियो नै किन ?
रेडियो त्यस्तो शक्तिशाली माध्यम हो किनभने यो एकै पटक धेरै श्रोताहरु माझ चाँडोभन्दा चाँडो पुग्छ र टेजिभिजन दर्शक र समाचारपत्र पाठकहरु भन्दा सजिलै एकार्कासँग मन लागेको विषयमा स्रोतासँग अन्तक्रिया गर्न सक्छ । रेडियो विभिन्न प्रकारका हुन्छन्– सामुदायिक, व्यापारिक, सरकारी र आदिवासी जनजाति । तर जति प्रकारको रेडियो भए पनि उनीहरुको साझा लक्ष्य भनेको श्रोताहरुसँग तत्काल र उपयुक्त किसिमले सम्बन्ध विस्तार गरिरहने सम्पर्कमा रहिरहने नै हो ।
रेडियो यस अर्थले पनि शक्तिशाली र महत्वपूर्ण छ कि यसले अन्य सञ्चारभन्दा तुरुन्त सूचना प्रवह गर्न सक्छ । र, यसको प्रविधि पनि सजिलो छ । सजिलै सूचना पाउन सक्दछन्, समाचारपत्र, टेलिभिजनमा जस्तो किन्नु पर्दैन र समय खर्च पनि गर्न पर्दैन । यसको आवाज जुनसुकै ठाउँमा जुनसुकै अवस्थामा पुग्न सक्छ । गाडि हाक्नुस्, धारामा पानी भर्नु होस्, हलो जोत्दै गर्नुहोस्, अफिसमा काम गर्नुहोस्, भात पकाउनुहोस्, पढ्दै गर्नुहोस् तपाई जहाँ भए पनि रेडियोको उपस्थिति हुन्छ । रेडियो सुन्नको लागि छुट्टै समय खटाउनु पर्दैन । र, यो समावेशी छ । कसैलाई वहिस्कार गर्दैन । गरिब होस् धनी, पढेको होस् या त निराक्षर सबैलाई रेडियोले समेट्न सक्छ । यसो भनी रहँदा रडियो सञ्चालन भने बढो जटिल र चुनौतिपूर्ण पनि छ ।
तर आदिवासी जनजातिहरु राज्यको सुविधाबाट बञ्चित भएका हुँदा आफ्नो कुरा सुन्ने सुनाउने सजिलो माध्यम रेडियो भएको हुँदा रेडियो महत्वपूर्ण देखिन्छ । र, अहिले प्रायः आदिवासी जनजाति रेडियोको स्थापना हुनेक्रम जारी छ । यही क्रममा राज्यबाट वहिस्कृत बनेका कोइँचहरु लगायत आदिवासी जनजातिको आवाजलाई एकट्ठा गरि सबै माझ पस्किन रेडियो लिखु सञ्चालन भइरहेको छ ।
श्रोत साधनको उपलब्धता
रेडियो स्थापना गर्न जति सजिलो छ त्यसलाई निरन्तर सञ्चालन गर्न बढो चुनौतिपूर्ण छ । आदिवासी जनजाति रेडियो भन्ने वित्तिक्कै यसको चिनारी धुन कस्तो हुने ? यस्को स्टेशन परिचय धुन कस्तो हुने ? यी धुन निर्माण गर्दा प्रयोग गर्ने बाजा कस्ता हुने ? विहानको धुन कस्तो रहने र बेलुकी कस्तो धुनको प्रयोग गर्ने, आदिवासी जनजाति गीत संगीत, श्रृङ्गार, रस कस्तो हुने भन्ने अनेक तर्क वितर्क, प्रश्नहरुले निरन्तर ठुङ्नु कुनै अनौठो कुरा त होइन । सँग सँगै आदिवासी जनजातीयपन छाडेर दक्षिण भारतीय मुलुकको संगीतबाट प्रेरित संगीतकार, संगीत संयोजक, वाद्यवादकले आदिवासी जनजाति बाजा बजाउन नजान्नु नसक्नु र जो बजाउन जान्ने आदिवासी जनजाति जन्मजात कलाकार छन् उनीहरुमा आधुनिक प्रविधि र स्टुडियो ज्ञान नहुँदा रेडियोलाई चाहिने ठेट नेपालका आदिवासी जनजाति धुन नपाउनु बढो पिरलोको विषय भएको छ । हुन त यी सबै कुरा बन्न सक्ला तर त्यस्तो गीत संगीत उत्पादन गर्ने प्रयाप्त समय र पैसा नहुनु अर्को समस्या रहेको हामी जोसुकै आदिवासी जनजातिले महसुश भइरहेको छ । विहान बजाउने आदिवासी जनजाति संगीत, भजन, प्रवचनहरु अहिलेसम्म उपलब्ध छैनन् । सम्भवतः आदिवासी जनजातिको संस्कार, संस्कृतिमा दिउँसो र बेलुकी पूजा आराधना गरिने भएकोले पनि हुन सक्छ । अहिलेसम्म मुक्दुम सम्बन्धि प्रवचन गर्ने चलन नभएको हुँदा मुक्दुम प्रवचन दिने र प्रवचनको रेकर्डहरु साथै मुक्दुम वाचनका रेकर्ड अभाव रहे । साथ साथै आदिवासी जनजाति सोँच र दृष्टिकोणका मानव संसाधनको खाँचो रह्यो । निस्चय पनि साधारण वा अहिले वजारमा चलेको रेडियोको शैलीमा कार्यक्रम चलाउनको लागि समाचार संकलनको लागि मानिस पाइएला तर आदिवासी जनजाति दृष्टिकोणलाई आत्मसत गर्ने जनशक्तिको अभाव रेडियो लिखुले महशूस गर्यो । अल्पसंख्याक आदिवासी जनजाति भएको र कुनै पनि व्यापार व्यवसाय नभएकोले पनि आर्थिक स्रोतको अभाव रह्यो ।

रेडियो लिखुको उपलब्धि
किङ–लो चुप–लु कोइँच भाषाको पहिलो रेडियो कार्यक्रमको विस्तारित रुप रेडियो लिखु कोइँच भूमिमा सञ्चालन भएको एक वर्षमै केही उपलब्धिहरु देखा पर्न थालेको छ । मुख्यतः कोइँच भाषाको वक्ताहरु बढ्ने क्रम जारी छ । कोइँच मात्र होइन कोइँच भूमिका अन्य जातिहरुमा पनि कोइँच भाषा बोल्ने इच्छा बढीरहेको छ । सबै जातजातिले कोइँच भाषामा स्वागत, नमस्कार, वधाई, शुभकामना दिने चलनको विकास भएको छ । कोइँच भाषा, संस्कृति वारे सबैले बोल्ने बहस गर्ने क्रम जारी छ । कोइँच भेषभूषाको वारेमा बहस गर्ने र व्यवसायिक उत्पादन तथा विक्री क्रम बढेको छ । खसीकरण भएका धेरै कोइँच गाउँका नामहरुको पुरानो नामहरु पुनः स्थापित भएका छन् । आदिवासी जनजाति भनेको के हो ? समावेशी, सकारात्मक विभेद, समानुपातिक प्रतिनिधित्व तथा मानव अधिकारको विषयमा कोइँच भूमिका सबै जनताहरु जागरुक बनेको सूचाङ्क प्राप्त हुन थालेको छ ।
घाँस काट्दै गर्दा, पत्कर सोर्दै गर्दा, मही पर्दै, खाना पकाउँदै, बारीमा कोदो टिप्दै, धान काट्दै, गाई बाख्रा चराउँदै गर्दा अन्य विभिन्न काम गर्दै गर्दा पनि रेडियो लिखु सुनिरहेका हुन्छन् । सिधा श्रोताहरुसँग सम्पर्कमा रहेर विभिन्न जनचेतनामूलक कार्यक्रम पस्किन सकिने अनुभव रेडियो लिखुले बटुलेको छ । जसले गर्दा अल्पसंख्याक आदिवासी जनजातिका लागि रेडियोको भूमिका महत्वपूर्ण रहेको अनुभूति भईरहेको छ । यसैले २४ घण्टाको प्रसारणमा आधा घण्टा आदिवासी जनजाति मातृभाषामा चलाइने कार्यक्रम मात्र सामुदायिक तथा व्यवसायिक रेडियोको वजार विस्तार भएको अनुभूति आदिवासी जनजाति रेडियो रेडियो लिखु सञ्चालन भएपछि महशूस गरिएको छ ।
र, अन्त्यमा
रेडियो लिखुको प्रवद्र्धनको क्रममा आदिवासी जनजातिले लगनी गरेको एफ एम व्याण्ड रेडियोका सञ्चालक, लगानीकर्ताहरुसँग सल्लाह सूझाव लिन जाँदा यस्तो अनुभूति भयो कि हामी आपैंm प्रति र आफ्नो क्षमता प्रति विश्वस्त रहेन छौं । सबैले भन्नु भयो आदिवासी जनजातिको नभन्नु है । रेडियो चलाउनु पर्यो नि अरु जातिले सहयोग गर्दैनन् । त्यसैले हामीले पनि दुई खाले नीति लियौं, कोइँचहरुलाई हामी कोइँचहरुको आफ्नो रेडियो हो सबैले सहयोग गर्नु परेऊ भन्यौं । सबैले सहयोग गरे । उता अन्य जाति विशेषगरी खस बाहुनलाई हामी सबैको सामुदायिक रेडियो हो सहयोग गर्नु परेऊ । तर अहिलेसम्म एक पैसा उनीहरुबाट सहयोग भएन । तै पनि हामीले सामुदायिक रेडियो भन्दै बखान गर्दै हिड्यौं । हामी आपैंm पनि अलिकति डरायौं अरुले सुझाएको हुँदा । तर जब कोइँच युवाहरुले यसो गर्नु हुँदैन भन्दै तर्क अगाडि सारे, हामीले जतिसुकै गरे पनि जतिसुकै भने पनि खस बाहुन लगायत अन्य जातिले कोइँच सुनुवारको रेडियो, तिमीहरुको रेडियो भनेर भिल्ला लगाइदिन्छन् । सहयोग गर्दैनन् र गरेका पनि छैनन् । बरु खुलेर आदिवासी जनजाति रेडियो भन्नु पर्छ । खुलेर सबै सामु बोल्नु पर्छ । यहाँ मात्र होइन सन्सारमा आदिवासी जनजाति रेडियो स्थापना भएका छन् भने हामी किन डर मान्ने ? हाम्रो रेडियो लिखुले खस बाहुनले सञ्चालन गरेको रेडियोमा जस्तो २४ घण्टामा एक दुई घण्टा मातृभाषालाई समय छुटाएर वीस, बाइस घण्टा खस भाषा प्रसारण गर्ने, हिन्दू दर्शनमात्र प्रसारण गर्ने जस्तो विभेद नगर्ने । सबै भाषा, जातजातिको कार्यक्रम समानुपातिकरुपमा समावेश गर्ने ।
अहिले रेडियो लिखुले पहिचान र विकासको लागि सञ्चार, आदिवासी जनजाति रेडियो रेडियो लिखु भन्ने मुख्य वैचारिक वहस अगाडि सारेको छ । सम्बन्धित क्षेत्रका स्रोताहरुले रेडियो लिखुको अभियानलाई स्वीकार गर्न थालेका छन् भने आदिवासीविज्ञहरुले पनि विस्तारै चासो राख्न थालेका छन् । र, सुहाउँदो रेडियो कार्यक्रम पनि प्रसारणको लागि उपलब्ध गराईदिने क्रमको शुरुआत हुनथालेको छ । अहिले रेडियो लिखुले नियामित आधा घण्टाको आदिवासी जनजाति रेडियो पत्रिका सेँदा उत्पादन गरी देशव्यापीरुपमा प्रसारणको सञ्जाल विस्तार गर्ने सपना पालेको छ । यो अभियान आदिवासी जनजतिको साथ सहयोग रहेको अबस्थामा मात्र सम्भव छ । सबैलाई थाहा भएकै कुरा हो ।

Share

Leave a Reply

Your email address will not be published.