Recent Comments

शोभाका सोभित कविता नियाल्दा

–अतीत मुखिया

सेँसेन !
चेरिङ लल जिनेथुम्तुु
बोकेन
सुनि दुम्ने थुम्तु ।
(जाग !
पूर्वमा लाली छाइसक्यो
उठ
बिहानी भईसक्यो ।) मुरिमि पृ. १०४
साहित्य सृजनाका सम्बन्धमा मैले पहिलेदेखि भन्दै आएको छु कि देख्नुको मनन र भोग्नुको अनुभूति जब जब अक्षरमा रुपान्तर हुन्छ तब त्यो साहित्य बन्छ । किनकी साहित्य सृजनामा प्रतिनिधि पात्रका रुपमा कतै आफैंलाई अरु बनाएर त कतै अरुलाई आफु बनाएर प्रस्तुत् गरिएको हुन्छ । यसरी नै मैले कविताका बारेमा पनि कविता कर्ता र कारकबीच कार्यको अनुवाद एवं द्रष्टा र दृश्यबीच दृष्टिको सचित्र रुपान्तर हो भनेर पनि भन्दै आएको छु । आज मलाई यिनै मेरा पूर्वभनाईहरुका खाँचामा कवयित्री शोभा सुनुवार ‘जुलियट’ का कविताहरुलाई पर्गेल्ने इच्छा जागेको छ ।
नारी स्रष्टा हुनुको नाताले हाम्रो समाजमा हुँदै आएका लैङ्गिक विभेदका विरुद्ध कविता जन्माउँदै खुरिनदाँखिन कविता सङ्ग्रह प्रकाशन गरिसकेकी स्रष्टा शोभाको यो कविता सङग्रहभित्र केवल लैङ्गिक विभेदका बारेमा मात्र नभएर जातिविभेद, धार्मिक विभेद एवं भाषिक विभेद माथि पनि सचेतना पर्गेल्ने जाँगर थपिएको पाएँ । यो हुनु पनि आवश्यक छ किनकि आजको साहित्य बहुलबाद तर्फ उन्मुख छ । मस्तिष्कको जाँतोमा अनुभूतिका दानाहरु पिनेर सृजनाको ना्ङलोमा कविताका सामल निफन्न चाहाने स्रष्टा शोभाको चाहनाका प्रयोगहरुलाई मापन गर्न आजसम्म विकाश भएका साहित्यमा स्थापित वादहरुका आधारमा केही दृष्टिकोणहरु बनाउन उपयुक्त ठाने मैले । थाहा छैन मेरा मापनका फिता एवं ढक तराजुहरुले सही दृष्टिकोण पर्गेल्न सक्षम हुन सक्ने हुन वा होइनन् ? कारण कविताको अनिर्धार्यता सम्वन्धमा वरिष्ठ साहित्यकार डा. इन्द्रबहादुर राई ज्यूको भनाई “निर्धार्यता विइङ हुन्छ, अनिर्धार्यता विकमिङ अत विइङ अण्डर इरेजर छ ।” सँग म शत्प्रतिशत सहमति राख्ने गर्छु ।
शोभा बहिनीका सबैजसो कविता सर्सर्ति हेर्दा केही कविता कोइँच मातृभाषामा रचिएर खसभाषामा अनुवाद गरिएका र केही कविता खस भाषामा रचेर मातृभाषामा अनुवाद गरिएको मेरो ठम्याई रह्यो । नेपाली खस भाषाबाट कोइँचमा अनुवाद गरिएका कबिताहरु भन्दा कोइँच भाषामै रचिएका कविताहरु निकै गहकिला देखिन्छन । सायद आफ्नै मातृभाषामा कविताका शब्दशैली तुन्नु, बुन्नु र सजाउन सजिलो भएर होला ।
… जिलोचङा लहरे सगुन नु सुरोम पिदारमि
कोङ–ग्लेजके ताम–रानु गिखाइ केशा
सुरो जाअÞल दे आदारनाम्दार पाःता
बुरोचमि बालि होपो फुसु पिदार पा
खादिमुदिकालि साङ्सो चोशा ब्लेत्ताङ
ग्युरोचमि ख्येँगु, गिल, कास पा
याब्ले होपो किकि–पिपिआनकालि मिम्ताङ
नेल्लिकालि खुँरिन–दाँखिन पा चेरे साप्पा पुइँता… इ“ जारिनारि पृ. ६
अधिकांश कविताहरु मुक्दुमि बिम्व एवं प्रतिकले सजाइएका छन् । सालिवा, रापवा शाँदर (उधौली उभौली चाड), सगुन, ख्येँगु, कास, गिल, समिबु पिदार, गिँजो पिदार, बिँग्यो पिदार जस्ता समय सूचक प्रतिकहरु तथा इँगि, दुमा र पार्मोसिरिजस्ता प्रकृतिपरक बिम्व एवं सुरोम, वादेम तथा मेसेल्मि जस्ता याब्लेगुब्ले (पुर्खा) अर्थाउने प्रतिक तथा बिम्वहरुले अधिकांश कविताहरुलाई मुक्दुमि बनाएको पाइन्छ । टि. यस. इलियट, सेन्ट ब्युभ तथा ब्रुन्तायर जस्ता पश्चिमा साहित्यकार एवं समालोचकहरुको चस्मा पहिरिएर हेर्ने हो भने शोभा बहिनीको यस किसिमका कविताहरु शास्त्रीयवाद अन्तर्गत पर्ने देखिन्छन जसलाई उनीहरुले क्लासिसिजम भनेर सम्बोधन गरेकाछन् । उनीहरुका मतमा सौन्दर्यको अमूर्तता र सर्वोच्च आदर्शहरुका अनन्त स्तरलाई प्रस्तुत् गर्नु नै क्लासिक्स हो, जो सधैं वस्तुगत, संयत र सन्तुलित रहन्छ । देश काल परिस्थिति अनुसार ऐतिहासिक मान्यतालाई मध्यनजर राखेर नयाँ संरचनाको निकास दिनुपर्दछ भन्ने मान्यताबाट शास्त्रीयवाद पनि अछुत रहन सकेन र नव–शास्त्रीयवादको स्वरुप साहित्यमा देखा प¥यो जो शास्त्रीयवादभन्दा परिस्कृत भएकोले परिस्कारवाद पनि भनियो ।
… अवरोधका नुम्बुर जति नै चुलिए पनि
म म्याच फिक्सिङमा हार्ने खेलाडी जस्तो
स्वनाम जाकटी राख्ने हरुवा यात्री होइन
फेरि पनि
मलाई वनतरुलको खाडाल नसम्झनु
खबरदार !
अब मैले,
विजयका ज्वालामुखी गर्भधान गरीसकेकी छु ! उरुर पृ. ८४
सायद यो सङ्ग्रह अन्तर्गतको कविताका यी हरफहरु नवशास्त्रीय परिस्कारवाद अन्तर्गत पर्ने मेरो ठम्याई छ । स्रष्टा शोभाका केही कवितालाई हेर्दा उनको कवितात्मक अभिव्यक्तिभित्र यथार्थवाद र प्रकृतिवादको पनि झल्को पाउन सकिन्छ । दार्शनिक प्लेटोको दर्शनमा इन्द्रिय अनुभूतजन्य वस्तुगत अनुभूति नै यथार्थवाद मानिन्छ जो आदर्शवादभन्दा अलग र मनोगतभन्दा वस्तुगत हुने गर्दछ । वस्तुसत्यमा विश्वस्त यथार्थवादी दृष्टि प्रकृतिसँग अनुवद्ध रहने हुँदा यथार्थवाद र प्रकृतिवाद एकार्काका पूरक मानिन्छन् । यसरी प्राकृत बिम्वले यथार्थको पुष्टि गरिनु स्रष्टा शोभाको अर्को सोभित कौशलता देखिन्छ ।
एउटा मन–
अहा !
लटरम्म पाकेको बेल
हेर्दा खाउँ खाउँ लाग्ने
नुहिएर लरक्कै हाँगाहरु
लोभिएर बुरुक्क हाम् फाल्छ । …
… न मेरो भोकको भर्जन
न त मेरो संस्कारको कुनै दर्शन
न त मेरो अधिकारको कुनै पहिचान… इमामि पृ. ५२
उत्तराधुनिक चिन्तनभित्रको विनिर्माणवादी आँकलन केलाउँदै नयाँ निर्माणका लागि बिनिर्माण गरिनु पर्छ भन्ने कवितामयी ठहर हाम्रो समाज अनुकूल देखिन्छ । पुरानो सत्ताको विनिर्माण पश्चातको सत्ता निर्माणमा पनि सर्वसम्मिलित समावेशीभित्र आत्मनिर्णयको अधिकारसहितको सत्ता निर्माण मात्र विनिर्माण हो । सत्ता फेरिनु मात्र विनिर्माण हैन । सायद कविताका यी हरफहरुले यसै भनेको हुनुपर्दछ र यसले स्रष्टाको कविता रचना गर्ने कौशलताको पुठ दिन्छ ।
नेपाली जनसमुदायमा एउटा लोकोक्ति पाइन्छ ‘गर्भैदेखि जानेर जन्मने कोही हुँदैन” । मानिसले जन्मेपछि क्रमशः सिकेर ज्ञान आर्जन गर्दछ । प्रकृतिले मानिसलाई अनुभूति पर्गल्ने क्षमता प्रदान गरेको हुन्छ र यो अनुभव नै टि. यस. इलियटको शब्दमा प्रौढता हो । वादे वादे जायते तत्वबोध भने जस्तै कसैलाई पनि एकैचोटी प्रौढता प्राप्त हुँदैन यसका लागि जिज्ञासा जागिरहनु पर्दछ । आइज्याक न्यूटनले वास्तबिक रुपमा हाँगाबाट खसेको स्याउलाई अवास्तविक जिज्ञासा नराखेका हुँदा हुन त गुरुत्वाकर्षणको वास्तविकता पत्तै लाग्ने थिएन । यो कविता सङ्ग्रहमा देखिने केही कमिकम्जोरी औंलाउनु पर्दा भावानुवाद गर्दा केही कविताहरुमा भाव नै फरक पर्न जाँदा अनुवाद नभएर अलग अलग कविता हुन कि झैं देखिन्छन् । केही कवितामा बिम्व प्रयोगमा सन्दर्भको ख्याल राख्नुपर्ने देखिन्छ, सान्दर्भिक सन्दर्भले नैे कविताको सौन्दर्य बढाउँछ । अन्तमा साहित्यको करेसाबारीमा कलमको कोदालो लिएर सृजनाको आबादी बढाउन कम्मर कसेर लागि परेकी बहिनी शोभालाई आगामि दिनहरुमा गहकिला प्रतिनिधि कविता जन्माउने प्रसुति बेथा लागिरहोस् अन्तरमनकै शुभकामना ।

पूmलबारी मार्ग, कोटेश्वर

Leave a Reply

Enable Roman to Nepali languages (To type in English, press Ctrl+g OR just Click on the letter)

Subscribe
Archives