Recent Comments

यायावर कोमल मन : अविरल भोगाइका खोल्मा

–काःतिच
अविरल बगिरहेछ खोला
अविरल चलिरहेछ हावा
अविरल फूलिरहेछन् फूलहरू
अविरल घुमिरहेछ पृथ्वी ।
यी खोला, हावा, फूल र पृथ्वीको
अविरल गतिसँगै
जन्म–जन्मान्तर
बाँचिरहनुपर्छ हामीले ।
–अविरल
मन अविरल बहकीरहन्छ– कहिले पुरै समाज परिवर्तनको ठेक्का बोकेर, कहिले सबैको पीडा निदानको ओखती बन्ने सपना बोकेर, कहिले नियतीलाई निरीह स्वीकार गरेर । आखिर प्रकृतिको नियम न हो, निरन्तर चलिरहन्छ, समयको वेगमा अविरल बगिरहन्छ । मृत्यु साश्वत सत्य हो यसैले जन्म सार्थक बनाउन जन्म–जन्मान्तर बाँच्नुपर्छ ।
तर भने जस्तो कहाँ हुन्छ र ? एकामनको समाज कहाँ हुन्छ र ? भनिन्छ, हात्तीको देखाउने र खाने दाँत अलग अलग हुन्छ । हाम्रो समाजमा पनि कतिपय राम्रा कोमल मनका धनीहरु वीच त्यस्तै मनमा रामराम बगलीमा छुरा भएका मान्छे पनि त हुन्छन् । यस्तै भोगाइ छ विभिन्न गाउँ–ठाउँका नेपाली समाजसँग नजिकबाट हिमचिम गर्दा अविरल कविता सङ्ग्रहका कवयित्री तारादेवी सुनुवार अर्थात् यायावर कोमल मनको–
आहा !
कति सुन्दर आवरण
जो बाहिरैबाट देखिन्छ
तर देखिँदैन
आवरणभित्रको कालो रूप
समानताको नारा फलाक्छ
एकाउन्न प्रतिशतको हिसाब लाउँदै
महिला अधिकार
र दाइजो विरूद्धको गीत गाउँदै
घरबाट बुहारीलाई निकाल्छ ।
–नैतिकताको विद्यालय

आफ्नै घरआँगन, छरछिमेकमा देखे भोगेका असमान व्यवहारप्रति कवयित्री मुर्मरिन्छिन् । खपी नसक्नुको आक्रोश छ मनमा । त्यही आक्रोशलाई नैतिकताको विद्यालय, हक, जनसागर, भूकम्पालाई चेतावनी, प्रमुखको चटारो, प्रश्न तिमीलाई र मान्छे मार्फत पोख्छिन् । थाहा छ सबैलाई, नारी विनाको संसार अधुरो हुन्छ । तैपनि द्वैद्व चरित्रका सामाजिक प्रतिष्ठाहरुलाई देखेर यायावर कोमल मनमा आचाक्ली आवेगको ज्वालामुखी विस्फोट हुन्छ –
कसले दियो हक ?
आफ्नो खुशी फुलाउन
अरूको रहरलाई भाँच्ने
कसले दियो हक ?
ती अबोध बालिकालाई
गर्भमै हत्या गर्ने
कसले दियो हक ?
छोरा पाउँ भनी आर्शिवाद माग्दै देवीलाई
राम्बोलेको मन्दिरमा निर्दोष प्राणीको बली चढाउने
–हक

वास्तवमा कसैको बोली काँच जस्तो छर्लङ्ग पारदर्शी हुँदैन । सिधा बोल्छु भन्नेहरुमा पनि केही लाक्षणिक कला शैली अवस्य हुन्छ नै । यसैले नारीहरुले बोल्ने सिधा बोलीमा पनि अवश्य केही कुरा लुकेको हुन्छ । नारीको आफ्नै भाषा पनि हुनसक्छ जसरी पुरुषको हुन्छ । नारीको भाषा पुरुषले बुझ्न सक्दैन । र, नारीले गरीको सबै अनुभूति पुरुषले पोख्न सक्दैन । उ सर्वसुन्दरी, र कोमलाङ्गिनी मात्र म
होइन उ विद्रोह हो र नयाँ क्रान्ति हो । सामाजिक, राजनीतिक, धार्मिक लगायत अनेक जालाहरुले बुनिएका नारी मनहरु नारी विनाको संसार, आमाको आर्शिवाद, अब उठ्नुपर्छ, नैतिकताको विद्यालय, हक, जनयुद्धमा एक्लिएकी आमा, परदेशी प्रतिक्षा, पीडा, पोखिएको खुशी, प्रश्न तिमीलाई, प्रेम दिवस, यतै रमाउ“ला, जीवन, यौवन, रूप पनि कति, रोए“, बसन्तको छहारी, पीडाभित्रकी चेलीलाईमा छताछुल्ला पोखिएका छन् । असमानता, उत्पीडनको ढाकारले थिच्दा अन्तरमनमा उद्वेगको ज्यालामुखी किन विस्फोट नहोस् तर प्रकृतिका अनुपम छटाको मुलायम स्पर्शमा स्खलित हुनु यायावर मनका लागि कमजोरी हुनसक्छ । मानवीय सेवा भावना र जीवन यापनलाई काखी च्यापेर जहाँ जहाँ पुग्छिन् कवयित्री त्यहीँ त्यहीँको प्रकृतिसँग लहसिनु शायद जन्मजात शौख हो । र त, प्रकृतिको अनुपम बछिटामा रुमलिन्छिन्–
कुस्मा !
तिम्रो सुकोमल पाउ छोएर
काली, मोदी बगिरहन्छ
दुर्लुङ्ग डाँडा माथि
सुख दुःख बाँड्दै कुहिरो उडिरहन्छ
पारी मुस्कुराइरहेका
बलेवाको आँखाहरूले
तिमीलाई सद्भाव पस्किरहन्छ
कुस्मा !
तिमीलाई सधैं सधैं व्युँझाएर
काली र मोदी नदी
अविरल सुसाइरहँदा
दुर्भाग्य !
मेरो देश निदाइरहेको छ ।
– कुस्मा

कुस्मा, गाली खाने काठमाडौं, जुम्ला, प्रदेश नं. ४, रोल्पा, बयलवाटा, दोलखाको तस्वीर, सङ्घीयतामा प्रदेश नं. ५, रूकुम रोल्पा, सङ्घीयतामा प्रदेश नं. ३ शिर्षकका कविताबाट कवयित्री प्रकृतिसँग कति नजिक छन् भन्ने सजिलै अनुमान गर्न सकिन्छ ।
जव प्रकृतिसँग प्रेम हुन्छ । सायद अन्य विषयले आकार्षित गर्दैन । प्रकृतिभन्दा परको माया क्षणिक महसूश हुन्छ । त्यसै पनि यायावर कोमल मन कहाँ एकै ठाउँ अडिन्थ्यो र ! ‘क्षितिज पारि’ लाई छाडेर ‘जाने भए’ पनि ‘फरक गन्तव्य’ समात्न अनुरोध गर्छिन् अर्थात् आत्मबल जाग्छ । यसैले सतर्कता अपनाउन पुग्दछिन् र साहास बटुल्छिन् फरक गन्तव्यको बाटोमा कवयित्री–
आज जीवनको आकाशमा
आयौ यसरी तिमी
गंगा सरी अविरल बगेर आयौ
भेट भो यो समयको दोभानमा
तर डर लाग्छ बेस्कन
डुब्छु कि कतै आँशुका सागरमा
पर्छु कि कतै वियोगको भमुरीमा
मलाई खिम्ती जस्तो
मिसिनु छैन तामाकोशीमा
असिना जस्तो खस्नु छैन
खुसीको बलेसीमा
माया अटुट् हुन्छ,
तर गाँसिनु छैन मायाको पातमा
–फरक गन्तव्य

कोमल मन यति संवेदनशील हुन्छ । हरेक पीडालाई आफ्नै पीडा महसुश गर्दछ । एकहोरो गाली खाइरहनु पर्ने काठमाडौंको पीडालाई अन्तरआत्मले छाम्न पुग्दछिन्–
आफ्नो दुखेसो
सबैले सुनाउँछ काठमाडौंलाई
बदाम चपाउँदै
पान खाएर थुक्दै
रक्सी पिएर पिसाब गर्दै
भएभरको गाली गर्छ
सराप्छ काठमाडौंलाई
तर कसैले
दुख्छ÷दुख्दैन भनेर
कहिल्यै सोध्दैन काठमाडौंलाई ।
–गाली खाने काठमाडौं

अविरल कविता सङ्ग्रहका कवयित्री स्वैरकल्पनाको कुरा गर्दिनन् । अविरलभित्र जे जति कविताहरु समेटिएका छन् सबै यथार्थपरक छन् । कवयित्री पेशाले मानवाधिकारकर्मीको भूमिका निर्वाह गरिरहेकीछिन् । दिनरात गाउँघरका दिदीबहिनीसँगै हातमा हात काँधमा काँध मिलाएर हिड्छिन् । र त, कवयित्रीको कविताभरि अविरल असमानता र उत्पीडनका आवाजहरु छताछुल्ला पोखिएका भेटिन्छ ।
हरेक कोमल र अन्जान मनहरुको दुःख पीडा सुम्सुमाउँदै घुम्दा मायामा पनि कतै न कतै स्वार्थ लुकेको भेट्छिन् कवयित्री । तै उनी आफैं भने निःस्वार्थ मायाको पक्षपाती छिन् । मायामा समर्पण पोख्छिन् । भौतिक सुखाभोगसँग कुनै पनि आशक्ति छैन । यस्तो नाताको कल्पना गर्छिन् जहाँ कुनै कोणबाट पनि नाता प्रमाणित हुन नपाउँदै नाता गाँसिन पुग्छ । सामिप्यता बढ्छ –
संवाद हुँदा मन मनै दुवै त्यतै हराऔं है
अन्देखा भए पनि अमर प्रीत बनाऔं है ।
भए भेट राम्रै भयो नभए चित्त बुझाऔं है
टाढैबाट भए पनि सदासदा सुझाऊ है ।।
–छ नाता कतै

दश वर्षे जनयुद्धले थाङ्थिलो पारेको हाम्रो नियतिलाई अति सरल ढंगले व्यक्त गर्न खप्पिस छिन् यायावर कोमल मन । जनयुद्धमा एक्लिएकी आमा, पारी भित्ताको रोडमा गाडी दौडिँदा छोराको अनुहार झल्झली देख्छिन् । दश वर्षे जनयुद्धको तितो याथार्थ वा विडम्वनालाई आमा बनेर भावविहल हुन्छिन्–
बाँचेका सन्तान
जसले युद्धसँगै घर छोडेर गए
आज युद्ध रोकियो
आएनन् ती गएकाहरू
जो जीवितै छन्
तर फर्किएनन् तीनका मन
भत्काएका उजाड
आँगनमा उभिएर
मृत्यु पर्खिरहेकी आमा
पारी हेर्दै भन्छिन्
नानी !
युद्धले मेरो जीवनको आँगन भत्काए पनि
बनाइ दिएको छ नि आज
त्यो पारी पारी गाडी चल्ने नयाँ रोड ।
–जनयुद्धमा एक्लिएकी आमा

एक्ली आमाको मन । रुकुम रोल्पाले दिएको उत्पीडन, असमानताको आभास र विकास । यही असमानता र उत्पीडनभित्र, गाउँले आमा दिदीबहिनीहरुको पीडाबोध गरेकी कवयित्री, यायावर कोमल मनलाई एक दिवसीय माया पस्किने कृत्रिम रमझमले कतै पनि छुँदैन–
साइत कुर्न पर्दैन प्रेमलाई
मौसमी खेती जस्तो
सदावहार
मुटुको ढुकढुकीमा
चलिरहेका छौ, चलिरहने छौ
मिर्मिरेको उषामा गोधुली साँझमा
हरेक श्वासप्रश्वास, धड्कनमा
बहिरनेछौं, धड्किरहेका छौ
दिवसको साँधुरो घेराभित्र
राख्न सक्दिनँ म प्रेमलाई
वार्षिक कार्ययोजना बनाएर
वार्षिक स्मरणमा सीमित
बनाउन सक्दिन म सम्झनालाई ।
–प्रेम दिवस

अनि मायाको नाटक गरेर प्रेम दिवस मनाउँदै आफु माथि चढ्न मायालुकै खुन चुस्न तम्सिने मान्छे नामक सामाजिक पशुको चरित्रलाई विना हिच्किचाहट साविती वयन पेश गर्छिन्–
आफू अमर हुन
आफूमात्रै फैलन
कहिले अरूको खुन चुस्छ
सधैं अरूको खुसी लुट्छ
आफू माथि चढ्न
अरूलाई तल खसाल्छ मान्छे ।
–मान्छे

मान्छे के गर्छ के गर्दैन ? के हो के होइन ? त्यसको जानकारी पस्किने जिम्मेवारी मात्र हो कवयित्रीको । सचेतनाको एउटा पाटो । तर कवयित्री स्वभावैले प्रकृतिप्रेमी हुन् । त्यति मात्र कहाँ हो र ? जसरी धेरै मान्छेहरुले आफु जन्मेको थाँतथलो बिर्सीदैनन् त्यसरी नै जन्मथलोलाई, यदि कतै स्वर्ग छ भने त्योभन्दा पनि ठूलो र आस्थाको केन्द्र मान्छिन् । यसैले जन्मथलो प्रति माया, सद्भाव, आस्थाका शब्दगुच्छा वर्षाउँछिन् –
दोलखा !
सायद प्रकृतिले रंगीन तिमीबाटै सिके होला
तिम्रो सुन्दरतालाई आँखामा बोकेर
तिम्रो सम्झनालाई हृदयमा उनेर
तिम्रो काखमा खेल्दै हुर्किएकाहरू
आज कहाँ कहाँ पुगे होलान्
छाँगाको संगीत
फूलको सुवास
बादलको पछ्यौरी ओढेर
म बाँचिञ्जेल तिमीसँगै रमाउँछु ।
–दोलखाको तस्वीर

शायद जन्मथलोको हार्दिकताको आलिगानमा त्यहीँको लवाइखवाइ, र सामाजिक जनजीवनभित्र लुकेको सौन्दर्यमा प्रेमानुभूतिको गहिराईसम्म चुर्लुम्म डुबुल्की मार्दै असिम प्रेमानन्दको उच्छ्वास पोखेको हुनुपर्छ कवयित्रीले –
… चोलीको तुनाबाट
तप्प तप्किँदा
पोल्टोमा परी साँचिन्छौ झैं लाग्थ्यो
हत्पत पटुकीको फेरबाट
हाम फाल्यो
पटुकीको फेर छोड्यो
झर्दैझर्दै गयो
गुन्यूको मुजामा …
– रुझायो

अविरल कविता सङ्ग्रहभित्र साँच्चिकै अविरल यथार्थका सङ्लो कलकल कवितामय जल अविरल बगीरहेको छ । अविरल कविता सङ्ग्रह वास्तावमा कवयित्रीको जीवन भोगाइका यथार्थ यात्रा स्पर्श हो । पाठकलाई कतै पनि कवित्व छाँटेर शब्दको भारी बोकाएको महशूस गर्न दिँदैन अबिरलले । अविरलभित्रका कवितामा स्थानीयता अर्थात् रैथाने शब्दका स्वाद वाल्छ्याल पाउँछौं । लाग्छ कविताहरुको रसास्वदन गर्दा पाठकहरु कहिले जुम्ला पुग्छन् कहिले रुकुम रोल्पा त कहिले कुश्मा कहिले काठमाडौ, दोलखा । अचम्मको अविरल काव्यिक यात्रा महशूस हुन्छ । कहिले ५. प्रदेश, कहिले ३ नं. त कहिले ४ नं. प्रदेश घुमाउँछिन् । लाग्छ कवयित्रीले नेपाल घुमाउने ठेक्का लिएकी छिन् । अर्थात् पथप्रदर्शकको जिम्मा उनैलाई छ । हरेक कविताहरुमा छलछाम र अतिरञ्जन पाइँदैन । कविले जे देख्यो त्यही नढाँटी पाठकलाई पस्केकी छिन् । हुनसक्छ, यही काव्यिक पथप्रदर्शकको सिलसिलमा जिन्दगीलाई यौवन छँदै सक्दो उपयोग गर्न सकिए मात्र जिन्दगीको सार्थकता हुनसक्ने अनुभूति छ कवयित्रीमा –
व्यर्थैमा हावासरि हुन्छ ।
वैंश हुँदाको जिन्दगी
काँडाबीच गुलाबसरि
वैंश नहुँदा जिन्दगी गुलाबबीच काँडासरि
जोवन हुँदाको जिन्दगी
सिमलको भुवासरि
जोवनविनाको जिन्दगी
व्यर्थैको हावासरि
–जिन्दगी

जोवनलाई अचेटेर राख्न त सकिँदैन । जोवन हुँदाको अनुभूति अविरल मनमस्तिष्कमा लिकु, ङाकु, खिम्कु बनेर बगीरहन्छ । ताँबे बनेर ठिङ्ग उभीरहन्छ । निरन्तर, अविरल मायाको खिम्ती सलल बगिरहन्छ ।
कवयित्री तारादेवी सुनुवार अर्थात् यायावर कोमल मनले यथार्थको धरातलमा उभिएर आफ्नो घरआँगन, छरछिमेक वरपरका देखेभोगेका भोगाईका अविरल खोल्मा ठडाएकी छिन् । अविरलमा समेटिएका कविताहरुमा देशप्रेम छताछुल्ला पोखिएका छन् । कवयित्रीले नेपालभन्दा बाहिरको कुनै कल्पना गर्न सक्दिनन् । नेपाली नारीको पिडालाई गहिरोसँग बुझेकी हुनाले पनि कवयित्रीमा सरल र सरस तारिकाले कवितामा पस्किने कला छ । कतै नारी सचेतनाको कुरा छ – अव उठ्नु पर्छ भन्छिन् । जसले जे सुकै चर्चा परिचर्चा किन नगरोस् आफ्नो गन्तव्य पथबाट विचलीत नहुन सल्लाह पस्किन्छिन् त कतै सम्झना, समर्पण, माया, पीडा, बाध्यताको भ¥याङका खुड्किलाहरु गन्न पुग्छिन् । क्षितिज पारि, जाने भए, सपनाको यात्रा, तिमिसित, छ नाता कतै, बानी, पीडा, पोखिएको खुशी, माफ गर, शुभकामना, रुझायो कवितालाई राम्ररी छाम्ने हो भने नारी कोमल मनको आत्म छाम्न सकिने छ ।
यायावर कोमल मन कतै भावुक हुन्छिन् । प्रकृतिमै जीवन देख्छिन् । यतै रमाउँला, वसन्तको छहारीमा कवयित्री प्रकृतिसँग अचाक्ली इत्रिन्छिन् । शायद उनी मान्छेको जिन्दगी बादल जस्तै ठान्छिन् । घरि वल्लो क्षितिज, घरि पल्लो क्षितिज वहीरहन्छ । बादल जस्तै आकार विहीन जिन्दगी । अविरल, परदेशीको प्रतिक्षा, जीवन, जिन्दगी, यौवन, बादल कवितामा कवयित्रीको दार्शनिक मनलाई राम्ररी छाम्न सकिन्छ । जेवु, यायावर कोमल मनको अविरल भोगाइका खोल्मा । त्यसै त्यसै दार्शनिक बन्छ यायावर कोमल मन–
बादल आउँछ
मनमा उमंग ल्याइदिन्छ
झरिले आँत रूझाइदिन्छ
बादलले
आँखै अचिएको गाउँबेसी सुटुक्क लुकाइदिन्छ
घरि क्षितिजमा पुग्छ
घरि छेवैमा आउँछ
यसरी बादल
सधैं जिस्किरहन्छ ।
–बादल

– काठमाडौं
kaatich@gmail.com, 9851155488

Share

Leave a Reply

Enable Roman to Nepali languages (To type in English, press Ctrl+g OR just Click on the letter)

Subscribe
Archives
Facebook