All about Sunuwar

लोककवि गणेशलाल श्रेष्ठको नाममा अक्षयकोष

सुनुवार डट ओआरजि समाचारदाता ।
लोककवि गणेशलाल श्रेष्ठको नाममा पाँच लाख रुपैँयाको अक्षयकोष स्थापना गरिने भएको छ । लोककवि गणेशलाल श्रेष्ठको एक सय पाँच औं जन्मजयन्तीको अबसरमा हेटौंडामा आयोजित साहित्य गोष्ठीमा यस्तो जानकारी दिईएको हो । लोककवि श्रेष्ठको छोरा केशवलाल श्रेष्ठले साहित्य गोष्ठी गरिएको प्रति धन्यवाद व्यक्त गर्दै कोष सञ्चालन गर्न रकम उपलव्ध गराउँने घोषणा गरे ।
कार्यक्रम नेपाल भाषा खलः, मकवानपुरले आयोजना गरेको हो । कार्यक्रम भीम बिराग संगित साहित्य कला प्रतिष्ठानका अध्यक्ष तुल्सी थापाको प्रमुख आतिथ्य तथा नेपाल भाषा खलः मकवानपुरका अध्यक्ष मंगलकृष्ण मानन्धरको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा साहित्यकारहरु राजबावु पहाडी, देवराज खरेल र नियमराज शाक्य निर्णायक रहेका थिए । कार्यक्रममा अनिता न्यौपाने, गणेशकुमार श्रेष्ठ, योगेश्वर श्रेष्ठ, ओमप्रकाशबावु मल्ल, सुनकुमार मानन्धर, राजकुमार लामिछाने, उमेश तिमल्सिना, शंकरमान श्रेष्ठ र नारायणबहादुर श्रेष्ठले कबिता प्रस्तुत गरेका थिए । प्रथम, दोश्रा, तेश्रा कबिता बाचकलाई क्रमशः दश हजार, पाँच हजार र तीन हजार रुपैँया पुरस्कार तोकिएको थियो । तर प्रतियोगी कबिता चार वटा मात्र भएको भन्दै प्रतियोगिता पुनः पछि गर्ने बताईएको छ ।
कार्यक्रममा नेवाः देय् दबूका मकवानपुर अध्यक्ष देवप्रसाद श्रेष्ठ, नेवाः साँस्कृतिक पुचःका मकवानपुर अध्यक्ष बिष्णुगोपाल महर्जन, हेटौँडा उपमहानगरपालिकाका प्रबन्धक बीके महर्जन लगाएतले मन्तव्य व्यक्त गरे । कार्यक्रममा साहित्य संगम मकवानपुरका अध्यक्ष सुवाश खनाल, निबर्तमान अध्यक्ष आरसी रिजाल लगाएतको आतिथ्य रहेको थियो । कार्यक्रमअघि नेपाल भाषा खलःको हलभित्रमा स्थापित लोककवि गणेशलालको अर्धकदको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो ।

को हुन् त गणेशलाल ?
लोककबि गणेशलालको जन्म बिक्रम सम्बत् १९६८ साउन ७ गते मकवानपुरको भिमफेदीमा भएको थियो । सानैदेखि साहित्यप्रति रुची भएका उनले पहिलो कृतिको रुपमा नेपाली भाषामा भजनगित संग्रह मेरा दुई पुष्पाञ्जली(१९९९), दोश्रो कृति भजन, ब्यङ्ग्य, गित नेपाल भाषामा निफ्वः स्वाँ(२०१३), तेश्रो नेपाल भाषामा लोकं ह्वागु म्ये(२०४६) र मृत्युपर्यान्त अन्तिम निफ्वः स्वाँ म्येचा(२०५८)मा प्रकाशित भएको थियो । त्यस्तै उनको नेपाली भाषामा एक सय ३५ गित÷कबिता संग्रहको पर्खाईमा छ । उनको “भिमफेदी बजार कस्तो भयो हाल……”, “पहिले छोरा थियो, अहिले बावु भईयो अब बाजे हुने पालो ……” बोलको गित २०३३÷३४ सालमा चर्चित रहेको नेपाल संगित समाज मकवानपुरका संयोजक प्रमेन्द्र महर्जन बताउँछन् । उनका अनुसार गित रचना, संगित, गायनसँगै मञ्च तथा सडक नाटकमा समेत सशक्त अभिनय क्षमता गणेशलालमा थियो । लोक साहित्य परिषदले मणोपरान्त २०५६ सालमा श्रेष्ठलाई लोककविको उपाधिसहित सम्मान गरेको थियो ।
लोककवि गणेशलालको श्रीमती नारायणदेबी, छोराहरु सागरलाल र केशबलाल तथा छोरीहरु बिमलादेबी, कमलादेबी र देबकी रहेका छन् । २०४२ साल साउन ९ गते उनको जण्डिसका कारण हेटौंडामा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *