All about Sunuwar

सुनुवार सेवा समाजको नौऔं राष्ट्रिय सम्मेलन हुँदै

सुनुवार डट ओआरजि समाचारदाता
2073/Baisakh, Ilam

आदिवासी जनजाति कोइँच सुनुवारको प्रतिनिधिमुलक संस्था सुनुवार सेवा समाजको राष्ट्रिय सम्मेलन यही आउने वर्ष २०७३ वैशाख २४ र २५ गते स्थापना दिवसको अवसरमा भव्यरुपमा हुने भएको छ । देश तथा विदेशका प्रतिनिधि तथा पर्यवेक्षक गरी लगभग ३ सय भन्दा बढी कोइँचहरु जम्मा हुने जानकारी महासचिव तथा संगठन प्रमुख समीर मुखिया सुनुवारले जानकारी दिनुभयो । राष्ट्रिय सम्मेलनमा सुनुवार सेवा समाजको जिल्ला, नगर, गाउँ समितिबाट १ महिला अनिवार्यसहित ३ जना प्रतिनिधि हुनुपर्ने समाजको विधानमा उल्लेख छ । यस वर्ष विदेशस्थित सम्पर्क समितिहरु कतार, दुबई, साउदी, मलेसिया, कोरियाबाट पनि एक एक प्रतिनिधि र सुनुवार समाज, हङकङ, किरात सुनुवार सेवा समाज बेलायत, सिक्किम मुखिया सुनुवार कोइँचबु, भारतीय सुनुवार समाज दार्जिलिङ, खरसाङबाट पनि पर्यवेक्षक बोलाइने जानकारी प्रथम उपाध्यक्ष रणवीर सुनुवारले बताउनु भयो ।
२८ औं स्थापना दिवसको पावन अवसरमा सम्पन्न गर्न लागिएको सो सम्मेलनमा विभिन्न संस्था र व्यक्तिहरुलाई पनि सम्मान गरिने अध्यक्ष मनप्रसाद सुनुवारले जानकारी गराउनु भएको छ । विनासकारी भुकम्पको वेला सहयोग गर्ने संस्था किरात सुनुवार सेवा समाज बेलायत, सुनुवार समाज हङकङ, सुनुवार सेवा समाज कतार, सुनुवार सेवा समाज मलेसिया, सुनुवार सेवा समाज इलाम जिल्ला समितिलाई कदर पत्रसहित सम्मान गरिने भएको छ । त्यस्तै गरी खेलकुदको क्षेत्रबाट सुनुवारको नाम उच्च राख्ने खेलाडीहरु भावना सुनुवार स्क्वायसमा साग गेममा कास्य पदक विजेता, वेद सुनुवार र उपेन्द्र सुनुवार अन्तराष्ट्रिय म्याराथुनमा प्रथम, गोमा सुनुवार गंगा सागर कायक प्रतियोगितामा प्रथम त्यस्तै गरी विभिन्न मार्सल आर्टमा पदक विजेता खेलाडीलाई पनि सम्मान गरिने भएको छ ।
जिम्मेवारी सुम्पिएअनुसर विभागीय कामका संयोजकहरुले कार्यक्रम के के, कसरी गर्ने भन्ने खाका पेश नगरेको भए तापनि भव्यरुपमा झाँकीसहित सम्मेलन गर्नका लागि अनुमानित ७ लाख खर्च लाग्ने जानकारी कोषाध्यक्ष तथा आर्थिक विभागीय प्रमुख उत्तम सुनुवारले जानकारी गराउनुभयो । यसको लागि विभिन्न कोइँच दाताहरुको भर पर्नु बाहेक अर्को विकल्प नरहेको पनि उहाँले बताउनुभयो । यसको लागि संस्थाको पदाधिकारीलाई रु. दश हजार, सदस्यहरुलाई पाँच हजार, जिल्ला समितिलाई रु. पच्चिस सय, गाउँ समितिलाई रु. एक हजार र विदेशस्थित सम्पक समितिलाई रु. पाँच हजार दायित्व तोकिएको पनि उहाँले जानकारी गराउनु भयो ।
स्वयम्सेवक, बास तथा भान्सा व्यवस्थापनमा मोहन, प्रेम, नारायन सुनुवार, झाँकी तथा संस्कृति व्यवस्थापनमा अमृत सुनुवारलाई जिम्मेवारी सुम्पिएको सचिव अमरदिप सुनुवारले जानकारी गराउनु भयो ।
एकातिर सुनुवार सेवा समाजले उठान गरेको वल्लो किरात स्वायत्त प्रदेशलाई संविधानसभाले सम्बोधन नगरेको अवस्था छ भने संस्थाभित्रकै पदाधिकारी र सदस्यहरुमा आदिवासी जनजातिको अधिकार सम्बोधन भएको भन्नेहरु पनि रहेको हुँदा ९ औं राष्ट्रिय सम्मेलनले अब आउने कार्य समितिलाई के कस्तो जिम्मेवारी सुम्पिने हो खासै निक्र्यौल नभएको अवस्था पनि देखिन्छ । अहिलेसम्म सडक र सदनमा उठेका कुरा अधुरै राखेर वर्तमान एकल जातीय बाहुनवादी सरकारसँग सती जाने निर्णय हुन्छ कि आदिवासी जनजाति सुनुवारको हक अधिकारको लागि निरन्तर वहस पैरवी गर्ने घोषणा हुन्छ हेर्न भने बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *